
कन्फ्युजन
महादेवले प्रसन्न भएर द्राैपदीलाई पाँच पटक "तथास्तु" भनेर पाँचवटा पति पारेजस्तै "तथास्तु" भनिदिए र ती महिलाको जीवनमा महादेवजस्तै अर्धनग्न र गँजेडी पति परेकाे खण्डमा त्यसलाई उनीहरू वरदान मान्लान् कि अभिशाप !

रमेश समर्थन :
एक दिन पूजा गर्दै गर्दा बुढीका आँखा कुनै देवताकाे तस्वीरमा परेछन् । तस्वीरकाे देवताकाे मुसुक्क परेकाे अनुहार हेरेर आरती गर्दागर्दै उनले आरती गाउन छाडेर गाउन थालिछन् – “मुसुमुसु हाँसिदेऊ न लै लै मुसुमुसु हाँसिदेऊ !”
हिँजाे म पूजा गर्दै थिएँ र मेरा आँखा त्यहाँ रहेका लक्ष्मीनारायण , सीताराम, राधाकृष्ण र गाैरीशङ्करका तस्वीरमा यसरी अडिए मानाैं म ती तस्वीरहरू पहिलाे पटक देख्दै छु । मैले पहिले विष्णु र उनका अवतार राम र कृष्णलाई हेरें र उनीहरूसँगै रहेकी लक्ष्मी , सीता र राधाकाे रूपसँग तुलना गरें ।
अरे ! कति धेरै साम्य छ यिनमा ? यी देवी र देवमा ? दुबैकाे शिरमा मुकुट, दुबैका लामा केश, दुबैका आँखिभाैं आइब्राे पेनसिलले मिलाएका जस्ता, दुबैका ओठ लाली लगाएका जस्ता, दुबैका कानमा कुण्डल, दुबैका कण्ठमा कलात्मक स्वर्णहार, दुबैकाे अधाेवस्त्र रङ्गीन, दुबैका हातमा बाहुबन्ध र कङ्गन, दुबैका पाउमा पाइजू ! अन्तर छ त पुरुष रूप श्याम र स्त्री रूप गाैरवर्णकाे छ । देवीले चाेली लगाएकी छन् भने पुरुषले उत्तरीय झुन्ड्याएका छन् । मलाई पहिलाे कन्फ्युजन भयाे यी देवहरू अर्धनारीश्वर हुन् कि देवीहरू अर्धनरेश्वरी हुन् ?
तर अर्धनारीश्वर त महादेवलाई पाे भनिन्छ ? के उनमा पनि यस्तै रूप छ ? मैले गाैरीशङ्करकाे तस्वीरलाई निकै गहिरिएर हेरें । अहँ, कतै केही साम्य छैन जसबाट शङ्करलाई अर्धनारीश्वर वा गाैरीलाई अर्धनरेश्वरी भन्न मिलाेस् । शङ्करका लट्टा परेका कपालकाे गुजुल्टाे त गाैरीकाे स्वर्णमुकुट, गाैरीकाे कण्ठमा स्वर्णहार त शङ्करकाे घाँटीमा नागहार, गाैरीका कानमा कलात्मक कुण्डल त शङ्करका कानमा कनफट्टा जाेगीले लाउनेजस्ता कुण्डल, पार्वतीका देह सुकाेमल त शिवकाे शरीर अरराे परेकाे, पार्वतीकाे वस्त्र रेसमी त शिवकाे बाघछाला, महेश्वरका पाउमा माेटामाेटा कडिया त उमाका पाउमा पाइजू । खै कहाँ छ यहाँ अर्धनारी वा अर्धनर रूप ? बरु उता छ अर्धमाथि अर्धकाे अर्ध प्लस गरेर हुनेभन्दा बढी नारीरूप वा नररूप । त किन भने हाेलान् शिवलाई अर्धनारीश्वर भनेर ? म कन्फ्युजनमा परें ।
लाैकिक जीवनमा यदि कुनै पुरुष यी देवताकाे जस्ताे पहिरनमा देखियाेस् त हाम्रा धारणाहरू फेरिन्छन् । उनीहरू कि क्लीब हुन्छन् कि जउवा हुन्छन् । म त भन्छु, तपाईं हामीले के कुनै देवी देवताकाे कुनै कुरा आफूमा स्थापित गर्न सकेका छाैं ? छैनाैं । अनि तिनले गुणकाे नभए पनि देवरूपकाे त अनुकृति गरेका छन् । धन्य छन् फुलमेकअपमा हिँड्ने छाेरानाति र अर्धनग्न हुने छाेरीनातिनी ! केही त देवत्व रहेछ उनीहरूमा !
अनि म कन्फ्युजनमा पर्छु त्यति बेला जब हाम्रा नारीहरू महादेवजस्तै पति पाऊँ भनेर व्रत बस्छन् । के कुनै दिन महादेवले प्रसन्न भएर द्राैपदीलाई पाँच पटक “तथास्तु” भनेर पाँचवटा पति पारेजस्तै “तथास्तु” भनिदिए र ती महिलाको जीवनमा महादेवजस्तै अर्धनग्न र गँजेडी पति परेकाे खण्डमा त्यसलाई उनीहरू वरदान मान्लान् कि अभिशाप !
अनि हाम्रा यस्ती महिलाहरूले मेराे लाेग्ने गँजेडी, भँगेडी र नसालु पदार्थ सेवन गर्छ भनेर प्रहरीलाई कम्प्लेन गरेकाे कुराले पनि कन्फ्युजन बढाउँछ किनभने म बुझ्न सक्दिनँ कि चाहेकाे वर पाउँदा पनि केकाे गुनासाे !
०००
रूपन्देही
Subscribe
Login
0 Comments
Oldest