
मिसन– ८४
जताततै मेरै नाम छ पैसा धेरै गन्या छ पटक पटक मन्त्री हुन्छस जोतिसीले भन्या छ । लौ है भोट दिनु मलाई नै मेरै खप्पर दह्रो छ आफ्ना वचन पूरा गर्न यो कोर्काली खरो छ ।

हरि कोर्काली :
साथीहरू म पनि त
झुटो बोल्न सिक्दै छु
आगामी चुनाव लड्ने सुरले
उखान तुक्का घोक्तै छु ।
अरूको देश–विदेशमै खाता
डलरै डलरको खेती छ
आफ्नो चाहिं खल्ती खाली
ऋणै ऋणको गति छ ।
अरूका चोक–चोकमै महल
मेरो गाउँमै झोपडी छ
तपाइँहरूको पत्यार पाए
मन्त्री नै हान्ने खोपडी छ ।
खोपडीलाई थपडी दिन
चुनाव लड्न खोज्दै छु
भोट दिन नभुल्नु है
ओठ चिन्ह राज्दै छु ।
ओठ नै किन भन्नुहोला
बोल्न चाहिने ओठ नै हो
गर्नुओर्नु पर्दैन केही
मन्त्री बन्नु बोल्नै हो ।
छ्यास्स चुनाव जित्न पाए
सोजै मन्त्री पड्काउँथें
साथ दिने साथीहरूको
भाग्यको तेज भड्काउँथें ।
छोटो कदले के भो त
मोटो पित्ले भुँडी छ
गजेट बजेट जम्मै अट्छ–
च्याट्ट कस्न घुँडी छ ।
मन्त्री भए पैसैपैसा
छतमा ट्याङ्की थप्ने थें
सम्धी, साला, सालीको पनि
पानीट्याङ्की भर्ने थें ।
सिंहासनमा बसी गर्थें
अरबौंमा हिसाब
साथी–भाइलाई पिलाइ दिन्थें
फुत्किउन्जेल पिसाब ।
जताततै मेरै नाम छ
पैसा धेरै गन्या छ
पटक पटक मन्त्री हुन्छस
जोतिसीले भन्या छ ।
लौ है भोट दिनु मलाई नै
मेरै खप्पर दह्रो छ
आफ्ना वचन पूरा गर्न
यो कोर्काली खरो छ ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest