
अडबाङ्ग्रेलाई ग्वाङ्ग्रेको पाङ्ग्रे तालिम
अब भन्नोस्, यो कसरी हवादारी भयो ? राजनीतिको विद्यावारिधी गर्नेले खोज्ने कुरा हो- को हावादारी ? म भन्छु, तपाइँ हावादारी नभए पनि बाउ हावादारी, बाजे हावादारी । लौ भयो अब ?

प्रा. रामकुमार पाँडे :
हेर्नोस्, आफू मन्त्री कहिले हुने हैन मन्त्रीको तालिम दिनु लिनु विनिसित्ति भन्नु होला । थत् । यस्ता पाजि कुरा नि गर्नु ? जनताको सरकार हुँदा कुनै लाटा गाँडाले पनि निराश हुनुपर्दैन । कति टेर्लिङ सेण्टर छन् । आफूलाई सुहाउनेमा पस्ने र टेबल कुर्सिमा बस्ने । ग्वाङ्ग्रेसँग के तालिम लिने ? भन्नु होला । हो, गतिला बेस बेसलाई यहाँ प्रवेश छैन । अडबाङ्ग्रे अर्थात् ग्वाङ्ग्रेले दिनेकहाँ के जानु के लिनु भन्ने हैन । अर्ति भन्या घर्तिको पनि लिनुपर्छ । जान्नेलाई केको तालिम ? विचरा नेता भैसकेपछि कति गाह्रो हुन्छ । गधा गोठालो होस् कि पटके पोइल गएका सतभतार्नी ठूल ठूला पद लतार्ने भ’का देख्नु भा’ छैन ? कसै कसैको नामैले पद पाउने भाग्य हुन्छ । खाते प्रधानमन्त्री, भाते मन्त्री भ’का ठाउँमा के कुरा गर्नु ? कुनै प्रधान थरका व्यक्ति मन्त्री मात्र थपे प्रधानमन्त्री भएछ भन्छन् । कोही मण्डल थरवाला मन्त्री भए मन्त्रिमण्डल नै बन्छ । कुनै पत्नीलाई पति हुन मन छ भने कुनै सभाको वा समितिको सभापति देखि राष्ट्रकै राष्ट्रपति बन्न नपाइने हैन । गतिपति नभा’को भन्ने भेदभाव छैन ।
जमाना अब रोपनीको कहाँ छ ? आनाको छ । मानाको कहाँ छ ? किलोको छ । जसले जनताको मुटुमा किलो ठोक्न सक्छ उहिले भए हत्यारा, ज्यानमारा भन्थे । अहिले तिनलाई भी.आइ.पी बनाएर स-सम्मान सुरक्षा गार्डले बूट बजारेर सलाम ठोक्छ, हातको अटेचि बोक्छ । त्यति मात्र हो । गार्ड अफ अनर समेत यसरी हुन्छ जसरी पहिला आफू चोर हुँदा समाउने हतकडी लगाउने पुलिसले फुलिस हुँदै यसरी स्यालुट मार्छन् जसरी नेताले राजनीति भनेर सात खत टार्छ । लेखपढकै कुरा गर्ने हो भने पियनको बत योग्यता प्रवेशिका तोकिएला । नेताको कुनै सर्टिफिकेट चाहिन्न । मागिहाले नक्कली छ्यापछ्याप्ती पाइन्छ । नक्कली सक्कलीको के मतलब ? मतलबै राख्ने आए पनि उसकै नक्कली भनेपछि त्यो दमपच हुन्छ ।
नेता योग्य हुनुपर्छ भन्ने कुनै खाते राजनीति शास्त्रमा छैन । न त नेताको उमेरको हदै हुन्छ । आँखा कमजोर मात्र हैन देख्दै नदेख्नेको झन् आफन्तले हाइहाइ गर्छन् । किनकि देखेकाले त नदेखेझै गर्नुपर्छ भनेपछि नेताको आँखा भा’ नभा के मतलब ? जति रकम सहि गराए पनि यिनैको खाने काममा सदर । अझ कान नसुन्ने भएमा झन् फाइदा । जनताले जति चिच्याएर आफ्नो माग राखे पनि कुनै भागवण्डा पूरा गर्ने कुरा हावामा मिल्छ । अर्कालाई जति वदख्वाईं गरे पनि कुनै लछारपाटो लाग्ने हैन, दिमागकै कुरामा गर्ने हो भने । चौतारा र चिया पसलमा लाटागाँडाका अगाडि गफ हाँकेर घरघरै ग्यासको पाइप पुऱ्याउँछु भने भयो । अथवा दुधको पाइप भान्सामा पुऱ्याउँछु भने पनि भयो । दुधको पोका ओछ्यानमै पुऱ्याउने कति छन् कति ? जनताले नपत्याउने कुरै छैन ।
कुनै जँड्याहाले हामीलाई पनि जँडको पाइप कोठैमा पुऱ्याइदे भन्ने हिम्मत राख्दैनन् । किनकि हेर्नोस्, नेता राजनीतिको अभिनेता हुने प्रशिक्षण लिनेदेखि बन्द सत्रमा भन्या भन्या कुरा पास र पारित गर्दै बुद्धि विवेक बेचेर दिमाग चलाउन नपाउने ह्विप जारी गर्ने काम सजिलै हुन्छ । एउटा ग्वाङ्ग्रेलाई सल्लाहकार बनाए भैगो । जान्नेसुन्ने बुद्धि भकालाई भुलेर पनि सल्लाहकार नबनाउनु होला । आफूभन्दा जान्ने राख्यो भने दरबारको सचिवले मैं आफैं राजा भएर शासन चलाउने ठेक्का पाउन सकिन्न । अव ग्वाङ्ग्रेलाई राखेपछि कस्ता कस्ता बुद्धि सिकाउँछ । आफू जतिसुकै अडबाङ्ग्रे भए पनि ग्वाङ्ग्रेको तालिम पाएपछि चर्चाको पर्चा छर्ने पर्दैन ।
अब हेर्नोस्, जनतालाई सास रहुन्जेल आस देखाउन पछि पर्नु हुन्न । ठूल ठूला कुरा हाँकेर जनतालाई भुलाउन र मान्छेलाई झुलाउन कुनै कमी आउनदिनु हुन्न । ग्वाङ्ग्रेको तालिमको एक दुइ तुक्का सुन्नोस् । अर्थात् सल्लाहकारको बडे बडे बुद्धि प्रयोग गर्दा नेताको सुद्धि कसरी हराउँछ तिनका ताल न तिलका पाड्धुरे भाषणका झिल्का हेर्नोस् – यत्रा जनता छन् । काँचो कचिलो खान्छन् । प्रत्येक जनताको भुँडीबाट ग्यास उत्पादन खेर गैरहेको छ । कम से कम यो खेर गैरहेको ग्यास पाइपद्वारा स्टोर गर्न सकिए कम से कम तुरुन्त नेता र कार्यकर्तालाई ग्यासको वितरण गर्न सकिन्छ । अझ यसबाट जुन ध्वनि प्रस्फुटन हुन्छ, त्यसलाई जम्मा गरेर लाउड स्पिकरबाट टोलटोलमा तोपझै पड्काउन सके वम भन्दा वृहद् आवाजले चोरहरू कुलेलम ठोक्न बेर हुन्न । यो सुरक्षा प्रणालीमा हामी आत्मनिर्भर हुन सक्छौं ।
यो गजडिीगफ जस्तो लागे पनि अडबाङ्ग्रे मन्त्रीको दिमागी हैसियत योभन्दा माथि छैन भन्ने प्रमाण थुपै दिन सक्छ ग्वाङ्ग्रे तालिममा । हेर्नोस्, ग्वाङ्ग्रेकै तालिमले कति काम भएर अडबाङ्ग्रेको शासन टिकेको छ । भएको भत्काएपछि पो नयाँ बनाउन काम पाइन्छ, मर्मतका, निर्माणको कमिसन खाइन्छ । देशको ठूलाको सालिक मासिएपछि आफू खुस्कने डर हुन्न । अझ मनोनयनबाट आफ्नो बहुमत राख्न सके प्रजातन्त्रभित्र पनि हैकम चलाएर आफ्नो हैसियत बढाउन पाइन्छ । आफन्तको भर भएपछि जति खाए नि भयो । त्यसैले त अंशबण्डा, भागबण्डा भनेको नि ।
हेर्नोस्, नेता भएपछि जाँड नखाए पनि लागेको अभिनय गर्नुपर्छ । म पनि जनता हुँ । घरमा चुल्हो बाल्न ग्यास छैन । पानी खान धारो आउन्न । बत्ति बाल्न विजुली छैन । पेट्रोल नहुँदा एघार नम्बरको गाडी चलाउन पर्छ । महँगीको मारले घरको भार थाम्न तिघ्रा लुगलुग काँप्छन् । त्यति भन्नोस् सभामा तालिको पर्रा छुट्छन् । जोड साथ भन्नोस् ठूलो भुँडी छोप्नोस् र भन्नोस् आधुनिकीकरण गर्नेछु । गरीब मुलुकलाई आधुनिक हुन पैसा लाग्दैन सस्तै पर्छ । किनकि पाइन्ट सुराल धोती लगाउने एउटा लङाैटी भए काम चल्छ । विकसित देशमा हेर्नोस्, दुइ पाउको कुरालाई एक पाउ कपडाले छोपेर इज्जत जाँदैन झन् आकाश छुन्छ । जति सक्यो कम कपडाले पुऱ्यायो । आफ्नो रूप आकार देखाउन पाइने । आधुनिक बन्न पाइने । प्रकृतिले दिएको सौन्दर्य छोपेर आफैंलाई किन ठग्ने ?
विकसित देशका बाठा भएर भोज भतेरमा सकेसम्म नाङ्गिएर गए, अझ भनौं भने आकर्षणको केन्द्र बने । हामी पछौटे भएको लुगा धेरै लगाएर हो, पैसा पैसाको खति । पाखे पाखण्डी भन्छन्, त्यसै क्षति । यो हावामा भने पनि हावादारि नभन्नु होला । हावाले विजुलि बालेर देखाइदिन्छु । हुन नसक्ने के छ ? हुन नसक्ने नै हुन सक्ने बनाइ दिन्छ । यो लिङ्ग त परिवर्तन गर्न सकिन्छ भने नाथे जनताको शासनमा के गर्न सकिन्न ? जनतालाई भेडै भने पनि नेतालाई गोरु भन्ने हैनन् । अडवाङ्ग्रे पनि मन्त्री हुन सक्छ भन्ने प्रमाण कति छन् कति । अरूलाई गालि गर्ने आफ्ना दुकुटी भर्ने । पाएसम्म चारहात खुट्टा टेकी चर्ने, आफ्ना तालमेल परे ठाउँ सर्ने, गर्नु नगर्नु गर्ने । अब प्राधानमन्त्री नै भएपछि ग्वाङ्ग्रेको तालिम लिएपछि त झन् देशलाई छिनैमा कुम हल्लाएर स्विजरल्याण्ड बनायो । प्याट्ट खोलेपछि च्याट्ट भान्सामा ग्यास बल्ने सुविधा दिन केको महाभारत ? हावाले उद्योग चलायो, भन्टाको बोटमा केरा फलायो ।
गोवर ग्यासले वत्ति बल्छ भने घोडाको गोबरबाट भिटामिनको फ्याक्टरी चल्छ । हर्स पावर भन्या यही हो । गधाको ग्यासबाट केही नभए नेताको दिमाग चल्छ । स्यालको ग्यासले सिमानाको बत्ति बल्छ पाङ्ग्रेको अर्थ बुझ्नोस् त्यति भएपछि पाङ्ग्रा चल्छ । अब भन्नोस्, यो कसरी हवादारी भयो ? राजनीतिको विद्यावारिधी गर्नेले खोज्ने कुरा हो- को हावादारी ? म भन्छु, तपाइँ हावादारी नभए पनि बाउ हावादारी, बाजे हावादारी । लौ भयो अब ?
०००
जाेकतन्त्र जिन्दावाद ! (२०७७)
Subscribe
Login
0 Comments
Oldest