साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले तक्मा किन पाउने हजुर ?

न मैले गाँजा चरेसको व्यापार गर्न सकें न मैले अकुत सम्पत्ति कमाएर कर छल्न नै सिकें । न मैले विदेशी मुद्राको अवैध कारोवार गरेँ, न मैले ठमेलका बारमा नग्न चेली नचाउन नै सकें।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

आजकल बजारमा गणतन्त्रे तक्माको हल्ला चलेको छ । तक्माको हल्लासँगै मेरो नाम पनि नचलेको होइन, तक्मा पाउनेमा । तक्मा पाउनेमा म पनि पर्ने रे भने पछि म कताकति खुसी पनि भएको थिएँ, तर पछि तक्मा पाउनेहरुको नाम पत्रिकामा प्रकाशित हुँदा त्यहाँ मेरो नाम नदेखेपछि म भित्रभित्रै खिन्न भएँ । तर अहिले पो थाहा पाएँ । म तक्मा पाउन योग्य नै रहेनछु । मैले तक्मा पाएको भए त त्यो तक्माकै अवमूल्यन पो हुने रहेछ । हो हजुर म जस्तो तुच्छ मान्छेलाई तक्मा दिएर तक्माको अपमान गर्नु त भएन नि ।

हो हजुर ! मैले तक्मा पाउनुपर्ने कुनै कारण देखिनँ । गणतन्त्र नामधारी यो तक्मा पाउन त गणतन्त्रको लागि केही योगदान त गर्नुप-यो नि होइन र हजुर । मैले तक्मा पाउनुपर्ने त्यस्तो के नै पो गरेको छु र यो देशका लागि ? हो हजुर । तक्मा पाउनेहरुको नाम सार्वजनिक हुनु अगाडिसम्म त मैले पनि गणतन्त्र र देशको लागि केही गरेको छु, तक्मा पाउनेहरुमा म पनि पर्छ कि भन्ने मलाई आसा लागेको थियो हजुर । पछि म तक्मा पाउनेमा परिनँ भन्दा मलाई कता कता खल्लो लागेथ्यो, तर गोरखापत्रमा तक्मा पाउनेहरुको नाम हेर्दा पो बल्ल थाहा पाएँ हजुर । तक्मा पाउनको लागि म योग्य नै भएको रहेनछु । हो हजुर । त्यस्ता त्यस्ता दिग्गजहरुले पाउने गणतन्त्रे तक्मामा मैले आँखा गाडेर ठूलो भुल गरेंछु । यस्तो मेरो मूर्खताप्रति म आफैलाई दया लागेर आयो हजुर । त्यस्ता, देशभक्त इमान्दार, दिग्गज, विद्वान्, राष्ट्रवादी, जनसेवी गणतन्त्रवादीहरूले पाउने तक्मामा म कसरी आसे बनेँछु हजुर ?

हो हजुर ! ती तक्मा पाउनेहरुले देशको गणतन्त्रको स्थापना र विकासको लागि गरेको साम, दाम, दण्ड, भेदको नीति अवलम्बन मैले कहिल्यै गर्न सकिनँ हजुर । के गर्ने हजुर । गर्ने चाहे पनि म त्यो कला मसँग छैन । हो हजुर । मैले छल, छाम र छुल्याइँ र छुद्रयाइँ पनि गर्न सकिनँ, न त मैले चाकरी, चाप्लुसी र चुक्ली नै गर्न जानें हजुर । के गर्ने हजुर । भ्रष्टाचार गर्ने त झन कुरै भएन, कहाँबाट भ्रष्टाचार गर्न पाउनु कहिल्यै सरकारी जागिर खाको भा पो त हजुर । अनि अत्याचार र दूराचार पनि मेरो दिनचर्या बन्नै सकेन हजुर । हो हजुर । म यी सबै काम गर्न असक्षम छु भने मैले के का लागि तक्मा पाउने हजुर ?

के गर्ने हजुर । मैले गाउँको अगुवा भएर छिमेकी छिमेकीलाई फुटाउन, छुटाउन र टुटाउन जानिन हजुर । न त नेता भएर जनतालाई थिच्न, मिच्न र पाएसम्म जनताको मानो मुठी घिच्न नै जानें हजुर । हो हजुर । न त समाजसेवी भएर सोझासाझालाई हकार्न, थचार्न, पछार्न र लछार्न नै जानें न त मैले विद्वान्‌का नाममा आफूले सदस्यता लिएको पार्टीका नेताले जे जे भन्छन् त्यसमा आँखा चिम्लेर ताली पड्‌काउँदै समर्थन नै गर्न सकें हजुर ।

हो हजुर । मैले ओल्लो कित्तामा फाइदा हुँदा ओल्लो कित्तामै बसेर लुट्ने र पल्लो कित्तामा फाइदा हुने जस्तो देखेपछि त्यतै फड्‌को मार्ने सुन्दर कला पनि जानिनँ हजुर । अनि मैले नत मानवअधिकारकर्मीका नाममा पार्टी पार्टी बिचका तँछाड मछाडका घटनामा चर्को स्वरमा बोल्न सिकें, न त पत्रकारका नाममा पार्टीका ठूला बडा नेताको गाथा नै गाउन जानें। न त राष्ट्रसेवकका नाममा जनताका छातीमा गोली बर्साउन नै जानें, न त नागरिक समाजका अगुवाको पगरी भिरेर दलका एजेन्डालाई काँध थाप्दै हिंडे हजुर । हो
हजुर । यीमध्ये मसँग कुनै योग्यता नै छैन भने मैले तक्मा किन पाउने हजुर ?

न मैले उद्योगपति भएर गुणस्तरविहीन सामान उत्पादन गर्न सर्के न मैले व्यापारीका नाममा दाल चामलमा बालुवा मिसाई त्यसबाट आएको फाइदाबाट पार्टीलाई चन्दा दिन सकें । न मैले गाँजा चरेसको व्यापार गर्न सकें न मैले अकुत सम्पत्ति कमाएर कर छल्न नै सिकें । न मैले विदेशी मुद्राको अवैध कारोवार गरेँ, न मैले ठमेलका बारमा नग्न चेली नचाउन नै सकें। तब यी सबै गर्न नसक्ने भएपछि मैले तक्मा किन पाउने हजुर ?

हो हजुर माथिका कामहरु कुशलतापूर्वक सम्पन्न गरेका दिग्गजहरुका तुलनामा गणतन्त्र ल्याउनको लागि मैले के नै गरेको छु र हजुर गणतन्त्रे तक्मा पाउनँ ? गणतन्त्रे आन्दोलनमा मेरो जाबो एउटा छोरो गोली लागेर मरेको र अर्को छरो आन्दोलनकै गोली खाएर लँगडो भएको न हो हजुर । जनताका छातीमा गोली हानेर चराझै पुर्तुक-पुर्लक लडाउन सक्नु पो बहादुरी त, छातीमा गोली थापेर प्राण त्याग गर्नु के को बहादुरी हो र हजुर ! कहीं कतै इतिहासमा मर्नेलाई बहादुर भन्ने गरिएको छ र हजुर ? मार्नेलाई नै त बहादुर घोषित गर्ने गरिएको छ नि होइन र हजुर ?

त्यसैले हो हजुर । यत्रा बहादुरहरुको योगदानको तुलनामा एकबारको मर्ने जुनीमा मेरो छोराले छातीमा गोली थापेर मृत्युवरण गर्नु कुन ठूलो कुरा भो र हजुर । मलाई चित्त बुझ्‌यो हजुर, मैले तक्मा पाउनुपर्ने होइन रहेछ र गणतन्त्रका लागि मृत्युवरण गरेको मेरो छोरो पनि यसको लागि योग्य रहेनछ हजुर । तक्माका लागि त तिनीहरु नै योग्य रहेछन् हजुर, जसको गोरखापत्रभरि नाम छापिएको छ हजुर ।

०००
हाइ, हाइ नेपाल बन्द (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x