राजेन्द्र पुडासैनीदुर्गन्धित राजनीतिमा सुगन्धित फूल
पार्टीको गुनगान नगाउने र पार्टीका गतिविधि अस्वीकार गर्नेहरू क्रमशः पाखा लाग्दै जानेछन् । कालोलाई कालो र सेतोलाई सेतो भन्नेहरू गलहत्याइनेछन् । अर्थात सत्यवादीहरू प्रायः झुटो आरोपले जकडिनेछन् ।

राजेन्द्र पुडासैनी :
राजनीति फोहरी खेल हो । फोहोर खेल्नेहरू फोहरी खेलाडीहरू हुन । यी खेलाडीहरूको मुख्य विशेषता भनेको सत्यलाई झुठो र झुठोलाई सत्य प्रमाणित गर्नु हो । यिनीहरू सधैं रातलाई उज्यालो हुन्छ भन्छन् । तपाईं भन्नुहुन्छ, रात कसरी उज्यालो हुन्छ । उनीहरू तथ्य प्रमाण जुटाउन लाग्छन् र भन्छन् रात सधै उज्यालो हुन्छ । ए बाबा यो कसरी सम्भव छ ? उनीहरू भन्छन असम्भव शब्द त केवल मुर्खहरूको शब्दकोषमा मात्र पाइन्छ । उनीहरू जुनेली रातलाई देखाएर भन्छन, के रात अध्यारो हुन्छ त ? उनीहरू वैवाहिक समारोहमा बालिएका झिलिमिली वत्तीहरू देखाएर भन्छन्, रातकसरी अध्यारो हुन्छ ? यतीले नपुगे उनीहरू साक्षीको रुपमा लाटोकोशेरोलाई उभ्याएर सोध्छन, भन त बाबु लाटोकोशेरो रात अध्यारो छ त ? उस्ले जवाफ दिनेछ ‘अहँ रात अध्यारो छैन । अध्यारो भए त म देख्दै देख्दिन थिए नि । म मेरा वचेराहरूको आहार कसरी खोज्न सक्थे र ? म कसरी आफ्नो गुँडमा फर्केर आउन सक्थे र ?’
ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाललाई भ्रष्ट मुलुकहरूको रुपमा दर्ज गर्दै भ्रष्टताको अंकभार दिएको छ । हाम्रा नेताहरू भ्रष्टाचार हुन दिन्न, भ्रष्टहरूको मुखै हेर्दिन भन्नुहुन्छ । देशमा लामो समयदेखि चर्चा चुलिँदै आइरहेका वाइडवडी, गिरीवन्धु टि स्टेट, ललिता निवास प्रकरण, बालमन्दीर जग्गा हिनामिना, भुटानी शरणार्थी प्रकरण, टिकापुर जग्गा, सुनकाण्ड जस्ता प्रकरणले के को साक्षी बसेको छ त ? नयाँ दुलहीले घुम्टोले अनुहार ढाके जस्तो कतिपउ भ्रष्टाचारीहरू आफ्नो अनुहार देखाउन नसकेर हिँडिरहेका छन् । अनुहार नै छोपेपछि कसरी मुख देख्न सकिन्छ र हेर्न ? मुख हेर्नु भन्दा त हरकत हेर्नु पो जाती हुन्थ्यो नि ?
बेरोजगारीले देशलाई आक्रान्त पारिरहेको छ । वेरोजगार, अर्धवेरोजगार र पूर्ण वेरोजगार जस्ता रुपमा वेरोजगारी मौलाइरहेको छ । स्कूल, कलेज र युनिभर्सिटीले दिएको प्रमाणपत्ररुपी लाइसेन्स प्राप्त गरेका युवाहरू सरकारसँग रोजगारी मागिरहेका छन् । एक मात्र संस्था लोकसेवा आयोगको विज्ञापन खुल्दा पनि केटाकेटीले दशै आएर रमाए जस्तै रमाउनु पर्नेछ । पहिले त विज्ञापन खुल्न गाह्रो, खुलेपछि परीक्षा हुन गाह्रो, नतिजा प्रकाशन भएपछि नाम फेला पार्न गाह्रो । प्राप्त भएका प्रमाणपत्र के जिरा मरिच पोको पार्न दिइएको हो र ? जुन सरकारले नागरिकलाई प्रमाणपत्र दिन्छ, तर रोजगारी दिन सक्दैन त्यो प्रमाणपत्र के काम ? न त सरकारले आफूले दिएको प्रमाणपत्र नै फिर्ता लिन्छ । कस्तो भयावह अवस्था । आज प्रत्येक दिन दुईदेखि तीन हजार युवा विदेश पलायन हुँदैछन । शिवरात्रीमा शिवजीको दर्शन गर्न भक्तहरूको भिड लागे जस्तो विदेशिनेको ताँती लाग्दैछ । युवाहरूको उडानसँगै उनीहरूको सपना पनि उड्दैछ । सपनासँगै अनगिन्ती इच्छा र खुसी उड्दैछ ।
महँगीले आकाश छोएको छ । खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य, शिक्षा अत्यन्त महँगिएको छ । एक तोला सुनको मूल्य १,६०,०००।– पुगेको छ । तराइमा दहेज प्रथाको अवशेष छदैछ । गरिव, निमुखाहरूले खर्च कसरी धान्लान् ? पैसासँग सम्बन्ध गास्नुपर्ने वाध्यता छ । पसलै पिच्छे सामानको छुट्टै मोलमाेलाई छ । मूल्य निर्धारण गरिएका सामान समेत मनलाग्दो छ । नाफाखोर, कमिशन र कालाबजारी बढ्दै छ । अनुगमन फितलो छ । उपभोक्ता अधिकारमा उपभोक्तानै सचेत छैनन् । म्याद गुज्रेका खाद्यान्न र औषधी खुलमखुल्ला विक्री हुन्छ । तरकारीमा विषादी र किटनाशक औषधिको प्रयोग बढ्दो छ । क्वारेन्टाइन परीक्षण नाम मात्रको छ । कम तौल, निम्न गुणस्तर, मिसावट व्यापक रुपमा देखिएको छ । उपभोक्ता हित संरक्षण मन्च, मन्चमै समिति छ ।
विश्वव्यापीकरणको यस युगमा नेपाल पनि अछुत रहन सक्दैन । अन्तर्राष्ट्रिय राजनीतिले नेपालको राजनीतिलाई प्रभावित पारेको छ । विश्वका प्रमुख वादहरू समाजवाद, साम्यवाद, पुजीवादका अतिरिक्त नेपालको सन्दर्भमा निम्न वादहरू पनि महत्वपूर्ण मानिन्छन् ।
बर्वाद : चारैतिर बर्वादी छ । वैदेशिक हस्तक्षेप वढदै छ । नेताहरूलाई चीन परस्त, भारत परस्त, अमेरिका परस्त आरोपहरू लाग्ने गर्दैछ । चाइना कार्ड, भारत कार्ड, अमेरिकी कार्डहरू पनि चर्चामा छन्। देशका सीमानाहरू मिचिएका छन् । अपराधको राजनीति र राजनीतिको अपराधीकरण हुँदैछ । गरिव झन गरिव र धनी झनझन धनी बन्दैछन् । उद्योगहरू धमाधम बन्द हुँदैछन् । खेतबारीहरू बाझो छाडिएका छन् । युवाहरू विदेश पलायन हुँदैछन् । मानिस मरेको खण्डमा लास बोक्ने, मलामी जाने मानिस नभएर गाउँहरू सुनसान छन् । आयात धेरै र निर्यात कम हुँदैछ । किसानहरूलाई मल र विउ नपाएर भौतारिनु परिरहेको छ । यसरी देश बर्वादीतिर उन्मुख हुँदैछ ।
आँसुबाद : नेपालमा देखा परिरहेको अर्को महत्वपूर्ण वाद आँसुवाद हो । खाना, नान र छाना नपाएर गरिव र निमुखाहरू रुवावासी गदैछन तर यिनको आसु पुछिदिने कोही छैन । फाइदा जति सवै टाठावाठा र पार्टीका झोलेहरू लिदैछन । पिछडिएका, पछाडि परेकाहरू शोषणमा परेका छन् । ऐन, नियम, कानूनको यिनीहरू जानकार छैनन् । बोलवाला र हैकम ठूलावडाकै चलिरहेको छ । खोलानाला मिचिदैछन् । बालुवा, गिटी उत्खननको नाममा खोलाकिनारका वस्तीका जनता धपाइँदै छन् । गुण्डा, डन, दादाहरू धम्काउने, थर्काउने र सताउने गर्दैछन् । निरिह जनताका आँसु बग्दैछन् । सम्पूर्ण देशको अर्थतन्त्र दुइ चारसय मानिसहरूको हातमा छ ।
आफन्तवाद : आफ्नालाई पोस्ने र अरुलाई सोस्ने प्रवृत्ति नै आफन्तवाद हो । महत्वपूर्ण पदहरू जस्तै राजदुत, जि.एम., चेयरम्यान जस्ता राजनैतिक नियुक्ति गरिने स्थानहरूमा पार्टीका कार्यकर्ताको भर्तीकेन्द्र खोलिनेछ । पार्टीको गुनगान नगाउने र पार्टीका गतिविधि अस्वीकार गर्नेहरू क्रमशः पाखा लाग्दै जानेछन् । कालोलाई कालो र सेतोलाई सेतो भन्नेहरू गलहत्याइनेछन् । अर्थात सत्यवादीहरू प्रायः झुटो आरोपले जकडिनेछन् ।
हाँसोवाद : हुन त संसारमा जतिसुकै धनी नै भए पनि हाँसेर सधैं बाँचिरहेको हुँदैन । दुःख, पीडा, रोदन देखेपछि उ पनि दुःखी हुन्छ । तर हैकमवादी प्रवृत्ति र सामन्तवादी सोचका मानिसहरू अरुको दुःखमा धेरै सुख र खुसीको अनुभव गर्छन् । तिनीहरू अरुको पीडामा महलम लगाउनु त कता हो कता खिसीटिउरी गर्न थाल्छन् । तिनीहरू अरुलाई होच्याउने प्रवृत्तिमा लाग्दछन् । यस्ता प्रवृत्ति राजनीतिले मौलाएका दुष्परिणाम हुन् । यिनीहरू “मै खाउँ, मै लाउँ सुखसयल वा मोज म गरुँ” भन्ने मान्यता राख्छन् । आरोप–प्रयारोप चारैतिर छ । देशको चिन्तन गर्ने फुर्सद नै छैन ।
हैकमवाद : आफूभन्दा माथिका अगाडि झुक्ने र आफू भन्दा तलकालाई थिच्ने प्रवृत्ति राजनीति, कर्मचारीतन्त्र, संघ संस्थामा हावी छ । आफूलाई मालिक र अरुलाई दास सोच्ने प्रवृत्ति देखापर्दैछ । कानून, संविधान, नियम एकातिर छ भने हैकमवाद अर्कोतर्फ हावी हुँदै गइरहेको छ ।
माथि उल्लेखित प्रवृत्तिहरू दुर्गन्धित राजनीतिका परिणामहरू हुन् । आज यिनै दुर्गन्धित राजनीतिमा सुगन्धित फूलको खाँचो छ । यो भनेको व्यक्ति, पार्टी, व्यवस्था जे सुकै होस् देशलाई सही बाटोमा हाँक्न सक्ने, आर्थिक सम्बृद्धि र सुशासन दिन सक्ने र सक्षम नेतृत्वको आवश्यकता छ, जो दुर्गन्धित राजनीतिको सुगन्धित फूल हुन सकोस् ।
०००
९८४१३७४६३७
Subscribe
Login
0 Comments
Oldest






































