राजेन्द्र पुडासैनीमाथिको आदेश
कसैलाई जोर जबर्जस्ती गर्न माथिको आदेश भनी दिएपछि काण्ड पुगिहाल्यो । गोली हान्न, मान्छे मार्न माथिको आदेश भनिदिएपछि ऐन, कानुन, नियम केही नचाहिने ।

राजेन्द्र पुडासैनी :
तपाईँ जन्मनुहुन्छ, माथिको आदेशले । तपाईँ मर्नुहुन्छ, त्यो पनि माथिकै आदेशले । अतः माथिको आदेश भन्ने कुरा जन्मेदेखि नमरुञ्जेलसम्म चलिरहने श्रृङख्ला हो ।
माथिको आदेशको आवश्यकता कहाँ पर्दैन र ? यदि तपाईँ सामान्य घर व्यहारको कुरा गर्नुहुन्छ भने त्यहाँ पनि माथिकै आदेशको कुरा आउँछ । घरमूलीको आदेश नपाई चामल, दाल, पिठो,चिनी केही खरिद हुँदैन । सासूको आदेश नपाई एक छाक खाना पकाउन बुहारीहरू सक्दैनन् । कति चामल हाल्ने, कति दाल हाल्ने, के तरकारी पकाउने यी सबै गर्न बुहारीलाई सासूको आदेश कुर्नुपर्छ। तर माथिकै आदेश कुर्नुपर्छ । यस्तै रहेछ यहाँको चलन !
तपाईँ सरकारी कर्मचारी हुनुहुन्छ भनेमाथिको आदेशको मैले महिमा गान सुनाउनु पर्दैन होला । यदि तपाईँ सरकारी कर्मचारी होइन भने म महिमा गान सुनाउँछु, ध्यान दिएर सुन्नुहोला । सरकारी कार्यालय (मानौँ मन्त्रालय) मा सचिवदेखि पियनसम्म माथिको आदेश बिना कुनै काम गर्न सक्दैनन् । माथिको आदेश बिना एउटा माखो पनि मर्ला भन्नु छैन । मन्त्रीको आदेश नपाई सचिवले, सचिवको आदेश नपाई सह–सचिवले, सह–सचिवको आदेश नपाई उप–सचिव एवंप्रकारले पियनसम्म माथिको आदेश कुर्नैपर्ने हुन्छ ।
एउटै संस्थामा काम गर्ने, सोही संस्थामासँग आवद्ध कर्मचारीलाई त एउटा सानो कामको भने लागि माथिको आदेश कुराउने वा कुर्नपर्ने चलन छ भने जनताको कामका लागि यी संस्थालेकति कुराउलान् त ? जनता? तपाईले साधारण जनताको कुरा गर्नु भएको हो कि के हो? यी साधारण जनता भनेका त कहिले पो मारमा परेका छैनन् त ? कुनै ठाउँमा युद्ध चल्छ सेनापति मासुभात खाएर बस्छन्, लड्ने त सिपाही न हुन्? देशमा जुलूस र हड्ताल हुन्छन्, नेता सबै कोठे राजनीतीमा व्यस्त हुन्छन्, पुलिसको लाठी र गोली खाने थिनै साधारण जनता त हुन् । देशमा महङ्गी बढ्छ, नेपालमा बसेर अमेरिकाको हैसियत हुनेहरूलाई के फरक पर्छ र ? महङ्गीको मार खाने यिनै जनता न हुन् ।
अतः माथिको आदेश भनेको कर्मचारी तन्त्रको वैशाखी हो । योबिना कर्मचारी तन्त्र लङ्गडो वा अपाङ्ग हुन्छ ।
जहाँसम्म सेना, पुलिसको प्रश्न छ यहा त माथिको भन्नासाथ खेल खतम । कसैलाई थुनछेक गर्न, कसैको खानतलासी गर्न– कसैलाई जोर जबर्जस्ती गर्न माथिको आदेश भनी दिएपछि काण्ड पुगिहाल्यो । गोली हान्न, मान्छे मार्न माथिको आदेश भनिदिएपछि ऐन, कानुन, नियम केही नचाहिने । जसलाई जे गरे पनि पुग्ने यो माथिको आदेश कहीँ मनपरीतन्त्र नहोस् ।
अब तपाईँ हामी केही समय नेपाली राजनीतिको कुरा गरौँ । नेपाली जनता सार्वभौम सत्ता सम्पन्न छन् । अतः नेपाली राजनीतिको सबैभन्दा माथि जनता छ । देशमा लोकतन्त्र आयो । संविधानसभाको मिति तोकिएको छ, जनताको इन्छाले तोकिएको हो कि पार्टीको चाहनाले ? देशमा संविधानसभाको चुनाव गरिँदैछ, पार्टीको लागि गरिदैंछ कि जनताको लागि ? जनताको आदेश नपाई तपाईँहरू चल्नसक्नु हुन्छ ?
यसै प्रकारले अन्तर्राष्ट्रिय राजनीति पनि माथिकै आदेशले चल्ने त हो । अमेरिकी आदेश नमानेपछि इराकमा सद्दामको कुन हविगत भयो? अफगानिस्तानमा तालिवानको कसरी पतन भयो ? एडिबिको सर्त नमान्न खोज्दा मेलम्चीमा कसरी भूकम्प गयो ?
अतः माथिको आदेश हर क्षेत्रमा लागू हुन्छ चाहे त्यो राजनीतिक धार्मिक, शैक्षिक कुनै निकाय किन नहोस् । स्कुलमा शिक्षकको आदेश नमान्दा विद्यार्थीले कुखुरा बन्नुपर्ने र उठ–बस गर्नुपर्ने हुन्छ । पण्डितको आदेश नमान्दा जजमानका पितृको उद्धार हुँदैन । शासकको आदेश नमान्दा शासितले दण्डित हुनुपर्छ । नेताको आदेश वा पार्टीको आदेश नमान्दा कार्यकर्ता पार्टीबाटै निष्काशित हुनुपर्छ । लक्ष्मणको अर्ति नमानी लक्ष्मण रेखा पार गर्दा कसरी सीताहरण भयो । यहाँसम्म कि ‘त्रिशुल बाबा’ ले भूकम्प जान भविष्य वाणी गरे माथिकै आदेशले । निर्धातिर समयमा भूकम्प जान सकेन त्यो पनि माथिकै आदेशले । भविष्यमा कुनै ठाउँ शहर वा गाउँमा भूकम्प जानेछ त्यो पनि माथिकै आदेशले । हाँ,हाँ, हाँ …….. ।
०००
गोरखापत्र, (२०६४ साउन २६)
Subscribe
Login
0 Comments
Oldest






































