साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुस्कान सहितको सेवा

न कुनै आफन्त, न कुनै साथीभाई कहाँ बस्ने, के खाने ? कस्ले दिने बास ? गाउँमा पो बास पाइन्थ्यो । यो त शहर पो हो त । जे सुकै गर्न पनि पैसा चाहिन्छ । उनी कुहिरोको काग जस्तै बने ।

Nepal Telecom ad

राजेन्द्र पुडासैनी :

(यस कथाका घटना र पात्रहरू काल्पनिक हुन्, कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनसक्छ ।)

दलजीत थारुले पढेका छैनन् । झण्डै साठी वर्षको उमेरमा आएर यिनलाई अड्डा धाउने काम आइलाग्यो । अड्डा, अदालतका प्रकृयाहरू झन्झटिला हुन्छन् । नपढेका मानिसलाई कालो अक्षर भैसी बरावर ! फाइल कसबाट उठान हुन्छ, कसरी अगाडि बढ्छ र कहाँ गएर टुङ्गिन्छ यस्मा उनी बेखवर नै छन् । हुन त नागरिकहरूलाई सजिलो बनाउन नागरिक वडापत्र, हेल्प डेक्स लगायतको व्यवस्था कार्यलयले गरिरहेको हुन्छ । जब पढेकै छैन त नागरिक वडापत्र के हो ? हेल्प डेक्स के हो ? कसरी बुझ्‌ने ?

सरकारले कर्मचारीहरूलाई मुस्कान सहितको सेवा दिन अनुरोध गरेको छ । तर कर्मचारीहरू मुस्कुराउनै सक्दैनन् । उनीहरू तनावमा छन्, उनीहरू दवावमा छन् । माथिको आदेशले दवाव दिन्छ, अन्य असन्तुष्टिले तनाव दिन्छ । आखिर जीवन भनेको पनि तनाव, दवाव, खुसी र पीडाको संगम न हो । आउने, जाने समय निर्धारित हुन्छ । समयको पालना गर्नु कर्मचारीको जिम्मेवारी हो । तर गौँथलीको गुँडबाट फुत्त फुत्त गौँथलीहरू निस्किए झै कार्यालयबाट कर्मचारीहरू पनि सुत्त सुत्त निस्किन्छन । उनीहरू जान्छन्, कता त ? पहिले पहिले उनीहरू शेयर बजारतिर अघि बढ्थे । आजकल प्रविधि मैत्री जमाना आएको छ । सरकारले कार्यालयमा शेयर खरिद विक्रि कार्य गर्न रोकेको छ । यसैले अनलाइन कारोवार गर्न पाइँदैन । शायद अन्य काम विशेषले निस्किएका हुन सक्छन् ।

बेला बेलामा आन्तरिक र बाह्य रुपमा कार्यालयमा छड्के जाँच हुन्छ । यसो गर्न विभिन्न निकाय तोकिएका हुन्छन् । आन्तरिक रुपमा सम्बन्धित कार्यालयले छड्के गर्छ, अचम्म त के भने ढिला आउने कर्मचारीलाई किन ढिला आएको भन्दा उ रिसाउँछ । चाँडै जानेलाई किन छिटो हिँडेको भन्यो भने उ मुर्मुरिन्छ अनि बिदा स्वीकृत नगराई बस्नेलाई किन बिदा स्वीकृत नगरेको भन्यो भने उ चिढिन्छ । यो समस्या धेरै कार्यालयहरूको समस्या हो । अब कसरी मुस्कान सहितको सेवा उपलब्ध होला त ?

दलजीत थारु यताउती चहार्दै थिए । एक ठाउँमा धुम्रपान निषेध अर्थात नो स्मोकिङ लेखिएको थियो । उनले कोटबाट एउटा चुरोट निकालेर सल्काए अनि तान्न थाले । दोष यिनको होइन आदतको हो नत्र त आन्दोलनकारीले निषेधित क्षेत्र तोडे जस्ता किन निषेधित क्षेत्रमै धुम्रपान गर्थे होलान् र ? गार्डले देखेछ, उनलाई सम्झाई बुझाई गर्‍यो । उनले चुरोट मिल्काए ।

रिसेप्सनमा चार जना युवतीहरू हा हा र हो हो गर्दै थिए । सानी, ठुली, पातली र मोटी बीच बर्थ डे पार्टी मनाउन कार्यक्रम बारे छलफल चल्दै थियो । उनीहरू मम, पिजा, पुलाउ जस्ता खान्की बनाउने र सवैजना उस्तै लेहेंगाको पहिरनमा सजिने चर्चा चलाउदै थिए । यो सल्लाह हो कि हल्ला हो दलजीतले ठम्याउन सकेनन् । उनलाई एउटा शाखाबाट अर्को शाखा पत्ता लगाउन पनि कोलम्बसले अमेरिका पत्ता लगाउन भन्दा कठिन भएको थियो ।

धुमाई फिराई रुम्जाटार भने झै उनी त्यही रिसेप्सनमा आइपुग्छन् । नानी, मेरो एउटा फाइल थियो त्यो कहाँ पुग्यो होला ? नानीहरू सवै वर्थ डे को योजना बनाउँदै थिए । उनीहरूको योजना सुन्दा त अब राष्ट्रिय योजना आयोग नै खारेज गरिदिए हुन्थ्यो जस्तो लाग्थ्यो। पातली चाहिँले भनि ‘ए दाइ उहाँको फाइल दर्तामा छ कि एक पटक उहाँसँगै गएर सोधी दिनोस् त ।’ सायद उ कुनै कार्यालय सहयोगी हुनसक्छ । उक्त कर्मचारी दलजीतलाई लिएर जान्छ उनको फाइल मुख्य हाकिमको कोठाबाट ‘छलफल’ शाखामा पुगेको रहेछ ।

बिहानै खाना खाएर आएका थिए । कोठा कोठा चाहार्दा चाहार्दै उनलाई पनि भोक लागेर आयो । त्यसमा पनि कार्यालयको टिफिन ब्रेक कहिले टि ब्रैक त सामान्य नै हो । उनको नजर चमेना गृहतिर पुग्यो । कार्यालयमा मात्र होइन, चमेना गृहमा पनि विभिन्न शाखाहरू रहेछन् जस्तै पिजा, मम शाखा, पेष्ट्री, पेट्रिज शाखा, समोसा, चाउचाउ शाखा, जेरी स्वारी शाखा, मटन, चिकेन शाखा । उनलाई जेरी स्वारी नै उपयुक्त लाग्यो । पैसा तिर्ने बेलामा एउटी महिलाले सोधी बा तपाईं फोन पे गर्ने कि क्यास पे ? उनी अलमल परे । फोनबाट पनि पैसा तिर्न मिल्छ र नानी ? उनले अचम्म मान्दै सोधे । किन नमिल्नु र बा आजकल प्रविधिको जमाना छ । फोनबाट पनि तिर्न मिल्छ नि । उनले खाएको रकम नगदै तिरे । क्यान्टिन कि नानी चाहिँ व्यापार व्यवसाय फस्टाएर हो कि के हो, हँसिली रहिछन् । मुस्कान सहितको सेवा त यता पो उपलब्ध रहेछ ।

कार्यालयको समय सकियो । उनलाई भोलि फेरि आउनु पर्ने भयो । भोलि कहिल्यै आउदैन भन्छन् । उनलाई भने जसरी भए पनि भोलि आउनु नै छ । तर आज चाहिँ कहाँ जाने होला ? न कुनै आफन्त, न कुनै साथीभाई कहाँ बस्ने, के खाने ? कस्ले दिने बास ? गाउँमा पो बास पाइन्थ्यो । यो त शहर पो हो त । जे सुकै गर्न पनि पैसा चाहिन्छ । उनी कुहिरोको काग जस्तै बने । धन्य एक जना सज्जन फेला परेछन् र उनले धर्मशाला जान सुझाएछन् । खोज्दै, सोध्दै धर्मशाला पुगे । एउटा सानो कोठा फेला पर्‍यो । त्यही कोठामा भोलिको चिन्ता गर्दागर्दै भुसुक्क निदाएछन् । के भोलि उनको अड्डाको काम सकिएला त ?

०००
घट्टेकुला, डिल्लीबजार
मिति २०८२/१/१५
फोन नं. ४७७००५४, मोबाइल : ९८४१३७४६३७

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ramjee Lamichhane
Ramjee Lamichhane
11 months ago

गजवको सिर्जना! हार्दिक बधाई सर❤️❤️🙏🙏

Nepal Telecom ad
जाँड, रक्सी, चुरोट…

जाँड, रक्सी, चुरोट…

राजेन्द्र पुडासैनी
मैले किन आत्महत्या गरेँ ?

मैले किन आत्महत्या गरेँ...

राजेन्द्र पुडासैनी
अहिंसा परमोधर्म

अहिंसा परमोधर्म

राजेन्द्र पुडासैनी
काल महिमा

काल महिमा

राजेन्द्र पुडासैनी
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x