राजेन्द्र पुडासैनीजाँड, रक्सी, चुरोट…
जमिनलाई पानी र पानीलाई जमीन देख्दै छु, बाबु ।” मुखमा सुप भएकोले मेरो मुख गनाएको थिएन । उनी आफ्ना घरतर्फ लागे । बाटोमा आउँदै गर्दा गाउँ आइपुगेछ ।

राजेन्द्र पुडासैनी :
नशा भनेको दशा हो । दशा लागेपछि के लाग्छ ? कि त टी.वी लाग्छ, कि त क्यान्सर जाग्छ । नशा वास्तवमा कुम्भकर्णको भाइ रहेछ । लागेपछि छुटाउनै गाह्रो । त्यसमा पनि नानीदेखिको बानी !
फलामलाई चुम्बकले ताने झैँ भट्टि–पसलेले मलाई तन्न थाल्यो । कोट, पाइन्ट लगाएँ अनि तैयारी गर्न लागे भट्टितिरको । यसो खल्तिमा हेरको त ठण्डारामा । कोट लगाएको बेला नाोट नहुँदाको भन्दा ठुलो चोट कुनै हुन्छ त ? यसो सोचे उनको फरिया भए पनि लिएर जाऊँ । पसलकी साहुनीलाई लगाउन भैहाल्छ । आजको दिन त टर्ला । अनि भोलि नि ? भोति त कहिल्यै आउँदैन । भोलि जब कहिल्यै आउँदैन भने के को भोलि । भोलि सोलि मार्दे गोली । जान भनेर उनको फरिया झोलामा हाले । यत्तिकैमा तल्लो तलामा उनको आवाज सुनियो । पर्यो फसाद । कपडाको पोको देखेर उनले झुण्डिएर मरिदिन्छु भनिन् भने के गर्ने ? फरियालाई छोडेर मेरो नजर पर्यो लालीमा जुन उनका दाजु फिनल्याण्ड जाँदा ल्याइदिएका थिए । त्यसैलाई टिपेर हिँडे ।
मैले सोचे भट्टीका साहुजी–साहुनीले पढेका छैनन् । फिनल्याण्डको भए पनि इङगल्याण्डको भनेर भनिदिन्छु । बेलायती भनेपछि कुकुरको त कत्रो मान हुन्छ, लालीको नहोला ? लालीलाई कोटमा हालेर लागे भट्टितिर ।
करिब एक घण्टाको बाटो थियो । चुरोटको तलतल लाग्र थाल्यो । अब के गर्ने ? तर बात सुल्झिहाल्यो । सोचे बाटामा भान्जाको दुकान पर्छ,उनैसँग मागुँला । केही वेरपछि भान्जाको पसल आयो । मलाई देख्नासाथ उनले सोधे, ओहो मामा, मामाकतातिर ? मैले भने शहरसम्म जाउँ भनेर नि भान्जा ! बैंकबाट एक–दुई हजार निकाल्न भनेर जान लागेको । उनले मलाई चिया पिएर जान भने । उनी चिया पकाउन लागेको समयमा मैले सुटुक्क तीन–चारवटा चुरोट बगलीमा हालेँ । मलाई चिया पिउन दिएको केही वेरपछि उनले चुरोट पाएनन् । यहाँको चुरोट कहाँ गएछ?उनले भने ।
मैले भने चुरोट सलाई त भान्जा बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । नत्र त बच्चाहरू चोरेर खान थाल्छन् । उनले भने के गर्ने मामा आफू एउटाले सबै हेर्न गाह्रो । अ साँच्ची त मामा पनि चुरोट पिउनुहुन्थ्यो कि ?!
मैले भने हैन भान्जा मैले आजकल चुरोट पिउनै छोडेको छु । पिएर अघाउने हैन । बरु म लागे पनि । ‘हस् त मामा, आउँदै गर्नोस् न’ उनले भने ।
बाटामा हिँड्दा मैले सोचे पक्कै भान्जालाई मैले चुरोट चोरे भन्ने लागेको छैन । मेरा कुरा उनले विश्वास गरेका छन् । चुरोट सल्काउन खोजेँ सलाई छैन । बाटामा आउँदै गरेको मान्छेसँग मागरे चुरोट सल्काएँ । सोचँे एउटा चुरोट नसकी अर्को त्यसमै सल्काउँछु । मनका कुरा खेल्न थाले सोचे मानिसहरू रक्सी चुरोट खाएपछि रोग लाग्छ भन्छन् । पीरभन्दा ठूलो अरु कुनै रोग छ त?पीरको औषधि दिन न डाक्टर सक्छ न वैद्य । पिरको दाँजोमा टी.वी. क्यान्सर त मामुली रोग त हुन् । यत्तिकैमा भट्टी पसल आइपुगेकोले साहुजीलाई सुटुक्क भने बेलायती लाली लिनुहुन्छ ? साहुनीलाई भैहाल्छ नि ।
उनले भने, “कस्तो लाली हो, विनसित्तिको पो हो कि ?” मैले भने, “धरोधर्म साहुजी बेलायती । बरु कति पैसा दिनुहुन्छ नि?” उनले भनेँ, “पैसा त म दिन्न । एक डबका जाँडसम्म दिन्छु ।” मैले भने, “एक डबका ? मानिस बीस रुपियाँ र तीस रुपियाँ भन्छन्, झन् साहुजी आफ्नो मानिस भनेको त । “जे सुकै भन् । दुई डबकाभन्दा बढी दिन सक्तिन,” उनले भने । अन्तमा दुई डबका जाँड र अलिकति भटमासको अचार दिन उनी राजी भए ।
जातले बाहुन भए पनि लतले ‘डाउन’ भएपछि कसको के लाग्छ ? मैले आफ्नो लगाएको जनैलाई एउटा किलामा झुण्डयाएर त्यहीँ दुई बडका जाँड र अचार खाएँ । जनै नभएकोले अब म ब्रतबन्ध नगरेको मानिस ठहरिएँ । ब्रतबन्ध नगरेकाले जे खाए पनि के भो र ? जाँडसाड पिएर तैयार भएँ घर फर्कन । जनै पनि लगाएँ । बाटामा आउँदा एकजना छिमेकी गाउँका भतिजा पर्ने मानिस भेट भए । मलाई नशा चढ्न सुरु भैइहाल्यो । अलि लरखराएर हिंडेको देखेर उनले भने, “काकालाई सन्चो छैन कि?” मैले भने, “दुई तीन–दिन भयो नसुतेको । यसैले जमिनलाई पानी र पानीलाई जमीन देख्दै छु, बाबु ।” मुखमा सुप भएकोले मेरो मुख गनाएको थिएन । उनी आफ्ना घरतर्फ लागे । बाटोमा आउँदै गर्दा गाउँ आइपुगेछ । मलाई देखेर कुकुर भुक्न लागे ।
“मलाई चिनेनौं मोरा हो ? म तिमीहरूको गाउँले । गाउँलेलाई गाउँलेले नै टोक्रन खोज्छौ ?” मैले भने । केही वेरपछि म घर आइपुगेँ ।
घरमा के पसेको मात्र थिएँ । मलाईभन्दा बढी नशा उनलाई चड्न लाग्यो । रिसाउदै उनले भनिन् “सधै रक्सी, सधैँ रक्सी ।” मैले भने, “आज रक्सी खाएको भए तिम्रो मासु खानु ।” “रक्सी नखाएरै यस्तो हालत भएको होला,” उनले भनिन् । मैले भने, “आज रक्सी खाएको भए जे किरिया पनि हाल्न सक्छु, आज त सिर्फ जाँड ।”
०००
गोरखापत्र (२०४९ असोज १०)
Subscribe
Login
0 Comments
Oldest







































