साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले किन आत्महत्या गरेँ ?

ए गाँठे, यत्तिकैमा एक जना दौरा सुरुवाल कोट लगाएका मानिस त्यही घरतिर आउँदै थिए । उनी ढाका टोपी ढल्काउदै, चुच्चे जुत्ता टल्काउदै त्यतै आइरहेका थिए । नजिक आएपछि त सबै चकित परे ।

Nepal Telecom ad

राजेन्द्र पुडासैनी :

शिर्षक पढेपछि तपाईं त्यसैगरी अलमलिनु भयो होला, जसरी भिडभाडमा छुटेको एउटा बच्चा अलमलिन्छ । लेखकहरूले आत्महत्या गरेको त तपाईंहरूले सुन्नु भएकै छ । नेपालका लेखक भैरव अर्यालले आत्महत्या गरेका थिए । नोवेल पुरस्कार प्राप्त अमेरिकी लेखक अर्नेष्ट हेमिङ्वेले पनि आत्महत्या नै गरेका थिए । तर यहाँ भने आत्महत्या गरिएको लेखकले नै आत्महत्या गर्नुका कारण बताउदै लेखिरहेका छन् । तसर्थ यो लेख विश्वको सर्वश्रेष्ठ आश्चर्यमा पर्छ भने आत्महत्या गरेको व्यक्तिले लेखेको लेखका रुपमा यस्ले गिनिज वुक अफ वर्ल्ड रेकर्डमा दरिने मौका पाएको छ ।

कोही भन्छन् यस्तो लेख लेख्ने लेखकले मानसिक सन्तुलन गुमाएको हुनुपर्छ । कोही भन्दै थिए यस्तो लेख पढने पाठकहरूले चाहिँ पक्कै सन्तुलन गुमाएको हुनुपर्छ । अझ कोही चाहि भन्दै थिए लेख छाप्ने प्रकाशकले चाहिँ सन्तुलन गुमाएको हुनुपर्छ । तर लेखकले चाहिँ आत्महत्याको कुनै कारण खुलाएका थिएनन् ।

लेखकले सुसाइड नोट लेखेका भए वास्तविक काराण खुल्न सक्दथ्यो । उनलाई लाग्यो होला अनेक चोट, ठोकर, हण्डर, अपमान, बेइज्जत जुन उनले भोगे यी सबै कारण उल्लेख गर्ने हो भने उनको सुसाइड नोट अत्यन्त लामो हुन्छ र सुसाइड नोट नामक उपन्यास नै तयार बन्छ । अनि यही कृतिलाई नोवेल साहित्यिक पुरस्कार दिइनेछ । मरिसकेपछि दिइएको पुरस्कारको के औचित्य ? आफू जीवीत छँदा सधैं चोट र अपमान अनि मरेपछि पुरस्कारको ओइरो ।

लेखकको मृत्युलाई लिएर उनका छिमेकी, आफन्त, परिवारका सदस्य सवैसँग सोधखोज गरिएको थियो तर वास्तविक कारण खुल्न सकेको थिएन । प्रारम्भिक रुपमा गरिएको अध्ययन अनुसार उनको कसैसँग प्रेम सम्बन्ध भएको र प्रेममा धोका पाएपछि उनले आत्महत्या गरेको हुनसक्दथ्यो । अर्को अनुमान अनुसार उनको परीक्षा सोचे जस्तो नभएकोले विरक्तिएर आत्महत्या गरेको हुन सक्थ्यो । झन अर्को अनुमान अनुसार आर्थिक संकटले उनले आत्महत्या गरेको जस्तो देखिन्थ्यो । यी सवै अनुमान मात्र थिए । प्रशासनले उनको मृत्युलाई लिएर थप अनुसन्धान अगाडि बढाउँदै थियो ।

मानिसहरू सहानुभूति दर्शाउन भेला भएका थिए । उनका धर्मपत्नी, धर्मछोरा, धर्मभाइ सवैलाई जन्मेपछि मर्नुपर्ने सृष्टिको नियमलाई सम्झाउँदै थिए । चार, पाँच जना अलग बसेका थिए । तिनीहरू भन्दै थिए हामीले यो विचरालाई अलिअलि चाेट र खोट दिने बाहेक अरु केही गर्नै सकेनौ । मानिस वडा भद्र थियो । कहिल्यै रिसाउँदैनथ्यो । बरु बुद्धको मूर्ती रिसाउन सक्थ्यो उ रिसाउँदैनथ्यो ।

विचरो लेखकले जीवनभर लेखिराख्यो तर एउटा किताब पनि प्रकाशन गर्न सकेन । पाण्डुलिपि बाेकेर कतिपय प्रकाशकका धाई मात्र राख्यो । नेताको दैलो चहार्ने कार्यकर्ता जस्तै लेखकले पनि धाउँदा धाउँदा जुत्ताको तलुवा सुकायो तर हात लाग्यो शून्य ।

अन्तिम श्रद्धाञ्जलीको लागि लेखकको पार्थिव शरीरलाई कहाँ राख्ने भनेर चर्काचर्की चल्यो । कसैले सभागृह, कसैले प्रज्ञा प्रतिष्ठान त कसैले खुलामञ्च उपयुक्त हुने विचार राखे । लाशमाथि राजनीति पो चल्न थाल्यो । अन्तमा एउटा बृद्ध साहित्यकारले भने ‘लेखक भनेको खुल्ला किताव हो’ । यसैले उसको लाशलाई खुल्ला मञ्चमा नै राखौँ । धेरैले टाउको हल्लाएर समर्थन जनाए । जीवनमा एक कप चिया नसोध्नेहरूले समेत जेष्ठको गर्मीमा लामवद्ध भएर फूलको गुच्छा चढाएर श्रद्धाञ्जली दिए । लेखकको घरमा रुवावासी चल्दै थियो । कोही सुँक्कसुँक्क रुँदै थिए, कोही डाँको छोडेर त कोही छाती पिटीपिटी । आखिर उनले किन आत्महत्या गरे होलान् त ? कोही विचार बोकेर आउँदै थिए । कसैले टोकरीमा फलफूल त कसैले ट्रकमा फलफूल ल्याउँदै थिए । के यी फलफूलको क्वारेन्टाइन चेक गरिएको होला त ?

लेखकको मृत्युमा शोकसभा आयोजना गरियो । उनको सम्झनामा पन्ध्र मिनेट मौन धारण समेत गरियो । उनको तस्वीरमा समेत फूलमाला चढाइयो ।

लेखकको परिवारलाई सान्त्वना दिन आउनेहरूमा नारी लेखिका, साहित्यकारहरू पनि थिए । उनीहरू लेखककी विधवालाई सान्त्वना र समवेदना प्रकट गर्दै थिए । उनीहरू भन्दै थिए, नारीहरूका लागि पतिवियोग सबैभन्दा ठूलो पीडा हो । यस्ले नारीलाई विधवा मात्र बनाउदैन सबै खुसी खोसेर लिन्छ । उनीहरूको जीवन उजाड जस्तो बन्छ । वसन्तमा फूल फुल्छ, हरियाली छाउँछ सबैले मन पराउछन् । पतकरलाई कस्ले पो मन पराउलान् र ? चैत्रमा ढकमक्क फूलेको लालिगुराससँग सेल्फी खिच्ने धेरै हुन्छन् । नाङ्गो रुखमा कस्लाई सेल्फी खिच्न मनपर्छ र ? यस्तै यस्तै सहानुभूतिका स्वरहरू सुनिन्थे । उनीहरू शोकलाई शक्तिमा बदल्न सुझाव दिँदै थिए ।

कोही गरुड पुराण लगाउन त कोही भागवत पुराण लगाउन सुझाउँदै थिए । अन्तिम निष्कर्षमा गरुड पुराण नै मृत आत्माको शान्तिका लागि उपयुक्त ठहरिएको थियो । केही भने अगतिमा परेका मानिस कसरी मुक्त हुनसक्छ भन्दै थिए । के गरुड पुराणले यो भवसागर पार गराउला त ?

ए गाँठे, यत्तिकैमा एक जना दौरा सुरुवाल कोट लगाएका मानिस त्यही घरतिर आउँदै थिए । उनी ढाका टोपी ढल्काउँदै, चुच्चे जुत्ता टल्काउँदै त्यतै आइरहेका थिए । नजिक आएपछि त सबै चकित परे । उनी त लेखक पो रहेछन् जस्ले आत्महत्या गरेको ठानिएको थियो । परिवारका सदस्यले रुन्चेहाँसो हाँस्दै उनलाई अँगालो मारे । केही नयाँ आफन्तहरूले उनको शरीर छामछुम गरे यो पत्ता लगाउन कि उनी वास्तविक लेखक हुन् अथवा भूतप्रेत । लेखकले वास्तविकता बुझेपछि ठूलो स्वरमा अट्टहास गरे । उनले भने, मैले आत्महत्या गरेको छैन ।

०००
९८४१३७४६३७

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
10 months ago

आत्महत्या किन गरेको भन्ने भेउ त मैले पाउन सकिन।

Nepal Telecom ad
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
जाँड, रक्सी, चुरोट…

जाँड, रक्सी, चुरोट…

राजेन्द्र पुडासैनी
मुस्कान सहितको सेवा

मुस्कान सहितको सेवा

राजेन्द्र पुडासैनी
अहिंसा परमोधर्म

अहिंसा परमोधर्म

राजेन्द्र पुडासैनी
काल महिमा

काल महिमा

राजेन्द्र पुडासैनी
1
0
Would love your thoughts, please comment.x
()
x