राजेन्द्र पुडासैनीमैले किन आत्महत्या गरेँ ?
ए गाँठे, यत्तिकैमा एक जना दौरा सुरुवाल कोट लगाएका मानिस त्यही घरतिर आउँदै थिए । उनी ढाका टोपी ढल्काउदै, चुच्चे जुत्ता टल्काउदै त्यतै आइरहेका थिए । नजिक आएपछि त सबै चकित परे ।

राजेन्द्र पुडासैनी :
शिर्षक पढेपछि तपाईं त्यसैगरी अलमलिनु भयो होला, जसरी भिडभाडमा छुटेको एउटा बच्चा अलमलिन्छ । लेखकहरूले आत्महत्या गरेको त तपाईंहरूले सुन्नु भएकै छ । नेपालका लेखक भैरव अर्यालले आत्महत्या गरेका थिए । नोवेल पुरस्कार प्राप्त अमेरिकी लेखक अर्नेष्ट हेमिङ्वेले पनि आत्महत्या नै गरेका थिए । तर यहाँ भने आत्महत्या गरिएको लेखकले नै आत्महत्या गर्नुका कारण बताउदै लेखिरहेका छन् । तसर्थ यो लेख विश्वको सर्वश्रेष्ठ आश्चर्यमा पर्छ भने आत्महत्या गरेको व्यक्तिले लेखेको लेखका रुपमा यस्ले गिनिज वुक अफ वर्ल्ड रेकर्डमा दरिने मौका पाएको छ ।
कोही भन्छन् यस्तो लेख लेख्ने लेखकले मानसिक सन्तुलन गुमाएको हुनुपर्छ । कोही भन्दै थिए यस्तो लेख पढने पाठकहरूले चाहिँ पक्कै सन्तुलन गुमाएको हुनुपर्छ । अझ कोही चाहि भन्दै थिए लेख छाप्ने प्रकाशकले चाहिँ सन्तुलन गुमाएको हुनुपर्छ । तर लेखकले चाहिँ आत्महत्याको कुनै कारण खुलाएका थिएनन् ।
लेखकले सुसाइड नोट लेखेका भए वास्तविक काराण खुल्न सक्दथ्यो । उनलाई लाग्यो होला अनेक चोट, ठोकर, हण्डर, अपमान, बेइज्जत जुन उनले भोगे यी सबै कारण उल्लेख गर्ने हो भने उनको सुसाइड नोट अत्यन्त लामो हुन्छ र सुसाइड नोट नामक उपन्यास नै तयार बन्छ । अनि यही कृतिलाई नोवेल साहित्यिक पुरस्कार दिइनेछ । मरिसकेपछि दिइएको पुरस्कारको के औचित्य ? आफू जीवीत छँदा सधैं चोट र अपमान अनि मरेपछि पुरस्कारको ओइरो ।
लेखकको मृत्युलाई लिएर उनका छिमेकी, आफन्त, परिवारका सदस्य सवैसँग सोधखोज गरिएको थियो तर वास्तविक कारण खुल्न सकेको थिएन । प्रारम्भिक रुपमा गरिएको अध्ययन अनुसार उनको कसैसँग प्रेम सम्बन्ध भएको र प्रेममा धोका पाएपछि उनले आत्महत्या गरेको हुनसक्दथ्यो । अर्को अनुमान अनुसार उनको परीक्षा सोचे जस्तो नभएकोले विरक्तिएर आत्महत्या गरेको हुन सक्थ्यो । झन अर्को अनुमान अनुसार आर्थिक संकटले उनले आत्महत्या गरेको जस्तो देखिन्थ्यो । यी सवै अनुमान मात्र थिए । प्रशासनले उनको मृत्युलाई लिएर थप अनुसन्धान अगाडि बढाउँदै थियो ।
मानिसहरू सहानुभूति दर्शाउन भेला भएका थिए । उनका धर्मपत्नी, धर्मछोरा, धर्मभाइ सवैलाई जन्मेपछि मर्नुपर्ने सृष्टिको नियमलाई सम्झाउँदै थिए । चार, पाँच जना अलग बसेका थिए । तिनीहरू भन्दै थिए हामीले यो विचरालाई अलिअलि चाेट र खोट दिने बाहेक अरु केही गर्नै सकेनौ । मानिस वडा भद्र थियो । कहिल्यै रिसाउँदैनथ्यो । बरु बुद्धको मूर्ती रिसाउन सक्थ्यो उ रिसाउँदैनथ्यो ।
विचरो लेखकले जीवनभर लेखिराख्यो तर एउटा किताब पनि प्रकाशन गर्न सकेन । पाण्डुलिपि बाेकेर कतिपय प्रकाशकका धाई मात्र राख्यो । नेताको दैलो चहार्ने कार्यकर्ता जस्तै लेखकले पनि धाउँदा धाउँदा जुत्ताको तलुवा सुकायो तर हात लाग्यो शून्य ।
अन्तिम श्रद्धाञ्जलीको लागि लेखकको पार्थिव शरीरलाई कहाँ राख्ने भनेर चर्काचर्की चल्यो । कसैले सभागृह, कसैले प्रज्ञा प्रतिष्ठान त कसैले खुलामञ्च उपयुक्त हुने विचार राखे । लाशमाथि राजनीति पो चल्न थाल्यो । अन्तमा एउटा बृद्ध साहित्यकारले भने ‘लेखक भनेको खुल्ला किताव हो’ । यसैले उसको लाशलाई खुल्ला मञ्चमा नै राखौँ । धेरैले टाउको हल्लाएर समर्थन जनाए । जीवनमा एक कप चिया नसोध्नेहरूले समेत जेष्ठको गर्मीमा लामवद्ध भएर फूलको गुच्छा चढाएर श्रद्धाञ्जली दिए । लेखकको घरमा रुवावासी चल्दै थियो । कोही सुँक्कसुँक्क रुँदै थिए, कोही डाँको छोडेर त कोही छाती पिटीपिटी । आखिर उनले किन आत्महत्या गरे होलान् त ? कोही विचार बोकेर आउँदै थिए । कसैले टोकरीमा फलफूल त कसैले ट्रकमा फलफूल ल्याउँदै थिए । के यी फलफूलको क्वारेन्टाइन चेक गरिएको होला त ?
लेखकको मृत्युमा शोकसभा आयोजना गरियो । उनको सम्झनामा पन्ध्र मिनेट मौन धारण समेत गरियो । उनको तस्वीरमा समेत फूलमाला चढाइयो ।
लेखकको परिवारलाई सान्त्वना दिन आउनेहरूमा नारी लेखिका, साहित्यकारहरू पनि थिए । उनीहरू लेखककी विधवालाई सान्त्वना र समवेदना प्रकट गर्दै थिए । उनीहरू भन्दै थिए, नारीहरूका लागि पतिवियोग सबैभन्दा ठूलो पीडा हो । यस्ले नारीलाई विधवा मात्र बनाउदैन सबै खुसी खोसेर लिन्छ । उनीहरूको जीवन उजाड जस्तो बन्छ । वसन्तमा फूल फुल्छ, हरियाली छाउँछ सबैले मन पराउछन् । पतकरलाई कस्ले पो मन पराउलान् र ? चैत्रमा ढकमक्क फूलेको लालिगुराससँग सेल्फी खिच्ने धेरै हुन्छन् । नाङ्गो रुखमा कस्लाई सेल्फी खिच्न मनपर्छ र ? यस्तै यस्तै सहानुभूतिका स्वरहरू सुनिन्थे । उनीहरू शोकलाई शक्तिमा बदल्न सुझाव दिँदै थिए ।
कोही गरुड पुराण लगाउन त कोही भागवत पुराण लगाउन सुझाउँदै थिए । अन्तिम निष्कर्षमा गरुड पुराण नै मृत आत्माको शान्तिका लागि उपयुक्त ठहरिएको थियो । केही भने अगतिमा परेका मानिस कसरी मुक्त हुनसक्छ भन्दै थिए । के गरुड पुराणले यो भवसागर पार गराउला त ?
ए गाँठे, यत्तिकैमा एक जना दौरा सुरुवाल कोट लगाएका मानिस त्यही घरतिर आउँदै थिए । उनी ढाका टोपी ढल्काउँदै, चुच्चे जुत्ता टल्काउँदै त्यतै आइरहेका थिए । नजिक आएपछि त सबै चकित परे । उनी त लेखक पो रहेछन् जस्ले आत्महत्या गरेको ठानिएको थियो । परिवारका सदस्यले रुन्चेहाँसो हाँस्दै उनलाई अँगालो मारे । केही नयाँ आफन्तहरूले उनको शरीर छामछुम गरे यो पत्ता लगाउन कि उनी वास्तविक लेखक हुन् अथवा भूतप्रेत । लेखकले वास्तविकता बुझेपछि ठूलो स्वरमा अट्टहास गरे । उनले भने, मैले आत्महत्या गरेको छैन ।
०००
९८४१३७४६३७







































आत्महत्या किन गरेको भन्ने भेउ त मैले पाउन सकिन।