राजेन्द्र पुडासैनीकाल महिमा
काल महिमाको वर्णन गर्दै गर्दा हामीले अकाल, अनिकाल र सङ्कटकाललाई पनि कदापि भुल्न हुँदैन । औषधीमुलो नपाएर, लापरवाही गरिएर वा दुर्घट्नामा परेर कैयौँ मान्छे आज अकालमै मारिएका छन् ।

राजेन्द्र पुडासैनी :
लेखको शीर्षकबाटै शुरु गरौँ । तपाईंलाई लाग्यो होला, यो त कवि शिरोमणि लेखनाथ पौड्यालको कविताको शीर्षक हो । यो साँचो पनि हो । तर आठ अरब भन्दा बढी जनसङ्ख्या भएको विश्वमा एक ठाँउको मानिसको अनुहार त कतिपय अर्को ठाँउको मानिससँग मिल्न जान्छ भने लेखक नै लेखक भएको यो देशमा एउटा लेखकको शीर्षक अर्कोसँग मिल्न जानु चाहिँ के नै आश्चर्य भयो र ? शीर्षक मिलेतापनि यो लेख कसैको कपिपेष्ट चाहिँ कदापि होइन ।
कालको महिमा गाउन हजार जिब्रा भएका शेष नागले त सक्दैनन् भने म एक जिब्रे मानिसले कसरी पो सकूँला र ? ‘काल’ शब्दले मानिसहरू त्यसरी नै अलमलिएका छन्, जसरी आमासँग छुटेको बच्चा भिडभाडमा अलमलिन्छ । कोही यो ‘समय’ हो भन्छन् अनि कोही चाहिँ यो ‘मृत्यु’ हो भन्छन् । समय भन्नेहरू काल तीन प्रकारका हुन्छ भन्छन्- भूत काल, वर्तमान काल र भविष्य काल । अर्थात हिजो, आज र भोलि । हो, यिनै भूत, वर्तमान र भविष्यले पनि रुखले हाँगा फिँजाए जस्तै अनेक हाँगा फिँजाएका छन् ।
काललाई मृत्यु भन्नेहरू यसलाई यमराजको रुप मान्छन् । न्याय अन्याय छुट्याउन बसेका न्यायाधीश जस्तै यमराज पनि पापी र धर्मात्मालाई खुट्याउने गर्छन । पापीहरू जेलरुपी नर्क चलान हुनेछन् भने धर्मात्माहरू स्वर्ग जानेछन् । अब एउटा गम्भिर प्रश्न उठ्छ, जिउँदो मानिसले स्वर्ग र नर्क देखेकै हुँदैन । मर्ने मान्छे फर्केर आउदैन । त्यसो भए यो स्वर्ग र नर्कको वखान कस्ले गर्यो त ?
माथिको यही गम्भीर प्रश्नमाथि हल पाउन मैले पनि एउटा अविष्कार केन्द्र खोेको छु- ‘आशा अविस्कार केन्द्र ।’ वैज्ञानिकहरूले चन्द्रमा र मङ्गल ग्रहमा यान पठाए जस्तै मैलेपनि यो अविष्कार केन्द्रमार्फत स्वर्गसम्म जाने नयाँ यान बनाउँदै छु । नासाका वैज्ञानिक भन्दा मेरा ‘आशा’ का वैज्ञानिकहरू झन के पो कम छन् र ?
मैले पनि यही अविष्कार केन्द्रबाट निर्मित यानद्वारा स्वर्गलोक पुग्ने परिक्षण उडानको प्रारम्भ गरेँ । यो एउटा सफल उडान थियो । म पनि यही यानमा सवार थिएँ । मेरो यात्रा सफल भयो । जसै म अवतरण गरेँ, त्यसपछि के भयो ? एउटी आमाले बच्चालाई कथा सुनाए जस्तै म पनि तपाईंहरूलाई यो वृतान्त सुनाउन गइरहेछु ।
‘ए मनुवा त को होस ?’ श्री ७ इन्द्र महाराजबाट सोधनी भयो । प्रभू, म महामुर्ख राजेन्द्र ।
‘तँ यहाँ कसरी आइपुगिस् ?’
प्रभू, म आफ्नो यानमार्फत यहाँसम्म आइपुगेँ ।
‘महामुर्ख भन्छस् ? कसरी यानको अविष्कार गरिस् त ?’
प्रभू महामुर्खत मैले पाएको उपाधि मात्र हो हाम्रो देशमा त कहिलेकाहीँ महामूर्ख सम्मेलन नै गरिन्छ । एकपटक मैले पनि उक्त उपाधि पाएको थिएँ, प्रभू ।
‘त्यत्रो अविष्कार केन्दै खोल्न पैसा कसरी जुटाइस् त ?’
यो त मेरो रगत पसिनाको कमाइ हो, भगवान् । घर घडेरी र खेतीपाती सबै बेचेर खोलेँ प्रभु ।
‘तँलाई सरकारले सहयोग गरेन ?’
प्रभु, सरकार त घाटा बजेटबाट चलिरहेको छ । नाफा बजेट छउन्जेल सरकारका प्रतिनीधिहरूकै साला-साली, भाइभतिजा, भान्जा-भान्जी, ज्वाँइ-छोरी पोस्न नै सकिएछ । अहिले त सरकार नै घाटामा चलेको छ, प्रभु । त्यसैले सरकारबाट एक पैसा पाउन सकिनँ ।
‘घर-घडेरी बेचेर पनि अविष्कार केन्द्र खोल्न सकिन्छ त ? कि दालमा केही कालो छ ?’
कतै कालो छैन प्रभु । पृथ्वीमा जग्गाको भाउ बढेर आकाश छोएको छ । सरकारको भरोसा हुँदैन । हाम्रो देशमा सरकार छिनछिनमा बदलिरहन्छ । राति निदाउँदा एउटा सरकार हुन्छ, ख्वामित बिउझिँदा त अर्कै भइसक्छ । मैले पनि भाउ अकाशिएको मौकामा नै बेचविखन गरेँ प्रभु ! अहिले म यही आकाशमार्गबाटै यहाँ आइपुगेको छु, सरकार !
तँ अब, के खान्छस्, भन् । अतिथी देवो भव ! भन्छन् । यहाँ आएको अतिथिलाई केही नखुवाई कसरी पठाउनु ?
प्रभु, मलाई सुगर-प्रेसर सबै छ । हाम्रो देशका किसानहरूले कृषि उपज बढाउन किटनाशक अैषधी र विषादी प्रयोग गरेका तरकारी, फलफूल अनि व्यापारीहरूले बासी सडेगलेका मिठाइ खुवाएर मलाई मात्रै एक सय सात थरी रोग लगाई दिएका छन्, भगवान ! अझ त्यसमा पनि…
मतलव ?
प्रभु हाम्रो देश नेपालमा अहिले प्रकृतिमाथि अतिक्रमण भएको छ, ख्वामित ! डोजरे विकासले गर्दा ऐंसेलु, चुत्रो काफल सबै हराइसके भगवान ! यो फलफूललाई पिज्जा, बर्गर, मोमोले विस्थापित गरेका छन् ।
नाथ, अनि यो पिज्जा, वर्गर, मोमो भनेको चाहिँ के हो ?
प्रभु, खाद्यवस्तुमा कतिपय अखाद्य पदार्थ मिसाएर बनाइएका परिकार हुन् । आज यिनै परिकारहरूको व्यापकता छ । भगवान ! बरू एक गिलास शुद्ध पानी पाए पिउँथेँ, भगवान !
पानी पनि शुद्ध र अशुद्ध हुन्छ र लाटा ?
प्रभु, नेपालमा आजकाल शुद्ध पानी पाउनै गाह्रो छ । शुद्ध भनेर बिक्री गरिएका मिनरल वाटरमा पनि कतै लेदो, कतै किरा फेला परेका छन् । झन् आजकल त हैजा फैलेर हैरानै छ, ख्वामित ।
ए नानी, यसलाई एक गिलास पानी ल्याएर देऊ ।
ऊ तेरो हातमा के छ ?
भगवान, यो मोबाइल हो । आज हाम्रो देशका सबै नागरिकका हात-हातमा यही मोबाइल झुण्डिएको हुन्छ । हातमा औँठी, ब्रासलेट, घडी केही नहुन सक्छ तर मोबाइल पक्कै हुन्छ । मैले प्रभुलाई एउटा मोबाइल उपहार ल्याइदिएको छु, अर्कोचाहिँ आफ्नै लागि ल्याएको ख्वामित ! आज मानिसका मन, मस्तिष्क यही मोवाइल नै भएको छ । । साना साना शिशुहरू समेत मोबाइल नहेरी खानै मान्दैनन् । यसमा फेसबुक, ट्वीटर, भाइवर, सबै हुन्छ सरकार ! आज विश्व-ब्रह्माण्ड नै यही भएको छ ।
म पनि…………
तैँले के भन्न खोजेको ?
प्रभु, मेरो पनि यही मोबाइलबाटै स्वर्गको बगैँचामा बसेर एउटा, दुइटा सेल्फि खिच्ने विचार छ, भगवान । अनि रम्भा, उर्वसी, मेनका सबैसँग बसेर फोटो सेसन गर्न मन छ नाथ ।
ल ठिक छ, रम्भा, उर्वसी, मेनकासँग बसेर फोटो खिच्न म तँलाई अनुमति दिन्छु । तर दायाँबायाँ त गर्दैनस् नि ?
भगवान ! म विवाहित पुरुष हुँ । घरमा स्त्री र दुई-दुई जना बच्चा छोडेर आएको छु । दायाँबायाँ गर्ने कुरै आउदैन ख्वामित । अझ…
अझ के नि ?
भगवान, नेपालमा कानून एकदम कडा छ । आफ्नो स्त्रीलाई छुन पनि अनुमति चाहिन्छ । अनुमति नलिई छुँदा वैवाहिक बलात्कार हुन जान्छ । झन्, परस्त्रीलाई छुने त कुरै भएन । परस्त्रीलाई छुँदा होस अथवा नछुँदा नै किन नहोस कैयौँ मानिस महिला हिंसाको आरोपले जकिडिएका छन् । हाम्रो देश नेपालमा महिला हिंसाका कैयौँ उजुरी परेका छन् । अदालतमा महिला हिंसाका उजुरीका खातै खात छन् । उनले मेरो पिठ्युमा धाप मार्दै भने, केटो चलाख रहेछ ।
त्यसपछि स्वर्गको बगैँचामा बसेर अप्सराहरूसित सेल्फी खिचेर म आकाशमार्ग हुँदै फर्किएँ ।
काल महिमाको वर्णन गर्दै गर्दा हामीले अकाल, अनिकाल र सङ्कटकाललाई पनि कदापि भुल्न हुँदैन । औषधीमुलो नपाएर, लापरवाही गरिएर वा दुर्घट्नामा परेर कैयौँ मान्छे आज अकालमै मारिएका छन् । त्यस्तै खडेरी, अनावृष्टि, अतिवृष्टि भएर देशमा अनिकाल छाएर महंगीले जनताका ढाड सेकिएका छन् । राजाका शासनकालमा उत्पन्न सङ्कटकाल र त्यसले उत्पन्न गरेको कठीन परिस्थिति जनताले भोगेकै हुन । अत: कालका पनि काल ‘महाकाललाई’ हामी सधैँ पूजा गरौँ । जय महाकाल !
०००
काठमाडौं
मो.नं. ९८४१३७४६३७
Subscribe
Login
0 Comments
Oldest







































