साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काल महिमा

काल महिमाको वर्णन गर्दै गर्दा हामीले अकाल, अनिकाल र सङ्कटकाललाई पनि कदापि भुल्न हुँदैन । औषधीमुलो नपाएर, लापरवाही गरिएर वा दुर्घट्नामा परेर कैयौँ मान्छे आज अकालमै मारिएका छन् ।

Nepal Telecom ad

राजेन्द्र पुडासैनी :

लेखको शीर्षकबाटै शुरु गरौँ । तपाईंलाई लाग्यो होला, यो त कवि शिरोमणि लेखनाथ पौड्यालको कविताको शीर्षक हो । यो साँचो पनि हो । तर आठ अरब भन्दा बढी जनसङ्ख्या भएको विश्वमा एक ठाँउको मानिसको अनुहार त कतिपय अर्को ठाँउको मानिससँग मिल्न जान्छ भने लेखक नै लेखक भएको यो देशमा एउटा लेखकको शीर्षक अर्कोसँग मिल्न जानु चाहिँ के नै आश्चर्य भयो र ? शीर्षक मिलेतापनि यो लेख कसैको कपिपेष्ट चाहिँ कदापि होइन ।

कालको महिमा गाउन हजार जिब्रा भएका शेष नागले त सक्दैनन् भने म एक जिब्रे मानिसले कसरी पो सकूँला र ? ‘काल’ शब्दले मानिसहरू त्यसरी नै अलमलिएका छन्, जसरी आमासँग छुटेको बच्चा भिडभाडमा अलमलिन्छ । कोही यो ‘समय’ हो भन्छन् अनि कोही चाहिँ यो ‘मृत्यु’ हो भन्छन् । समय भन्नेहरू काल तीन प्रकारका हुन्छ भन्छन्- भूत काल, वर्तमान काल र भविष्य काल । अर्थात हिजो, आज र भोलि । हो, यिनै भूत, वर्तमान र भविष्यले पनि रुखले हाँगा फिँजाए जस्तै अनेक हाँगा फिँजाएका छन् ।

काललाई मृत्यु भन्नेहरू यसलाई यमराजको रुप मान्छन् । न्याय अन्याय छुट्याउन बसेका न्यायाधीश जस्तै यमराज पनि पापी र धर्मात्मालाई खुट्याउने गर्छन । पापीहरू जेलरुपी नर्क चलान हुनेछन् भने धर्मात्माहरू स्वर्ग जानेछन् । अब एउटा गम्भिर प्रश्न उठ्छ, जिउँदो मानिसले स्वर्ग र नर्क देखेकै हुँदैन । मर्ने मान्छे फर्केर आउदैन । त्यसो भए यो स्वर्ग र नर्कको वखान कस्ले गर्‍यो त ?

माथिको यही गम्भीर प्रश्नमाथि हल पाउन मैले पनि एउटा अविष्कार केन्द्र खोेको छु- ‘आशा अविस्कार केन्द्र ।’ वैज्ञानिकहरूले चन्द्रमा र मङ्गल ग्रहमा यान पठाए जस्तै मैलेपनि यो अविष्कार केन्द्रमार्फत स्वर्गसम्म जाने नयाँ यान बनाउँदै छु । नासाका वैज्ञानिक भन्दा मेरा ‘आशा’ का वैज्ञानिकहरू झन के पो कम छन् र ?

मैले पनि यही अविष्कार केन्द्रबाट निर्मित यानद्वारा स्वर्गलोक पुग्ने परिक्षण उडानको प्रारम्भ गरेँ । यो एउटा सफल उडान थियो । म पनि यही यानमा सवार थिएँ । मेरो यात्रा सफल भयो । जसै म अवतरण गरेँ, त्यसपछि के भयो ? एउटी आमाले बच्चालाई कथा सुनाए जस्तै म पनि तपाईंहरूलाई यो वृतान्त सुनाउन गइरहेछु ।

‘ए मनुवा त को होस ?’ श्री ७ इन्द्र महाराजबाट सोधनी भयो । प्रभू, म महामुर्ख राजेन्द्र ।
‘तँ यहाँ कसरी आइपुगिस् ?’
प्रभू, म आफ्नो यानमार्फत यहाँसम्म आइपुगेँ ।
‘महामुर्ख भन्छस् ? कसरी यानको अविष्कार गरिस् त ?’
प्रभू महामुर्खत मैले पाएको उपाधि मात्र हो हाम्रो देशमा त कहिलेकाहीँ महामूर्ख सम्मेलन नै गरिन्छ । एकपटक मैले पनि उक्त उपाधि पाएको थिएँ, प्रभू ।
‘त्यत्रो अविष्कार केन्दै खोल्न पैसा कसरी जुटाइस् त ?’
यो त मेरो रगत पसिनाको कमाइ हो, भगवान् । घर घडेरी र खेतीपाती सबै बेचेर खोलेँ प्रभु ।
‘तँलाई सरकारले सहयोग गरेन ?’
प्रभु, सरकार त घाटा बजेटबाट चलिरहेको छ । नाफा बजेट छउन्जेल सरकारका प्रतिनीधिहरूकै साला-साली, भाइभतिजा, भान्जा-भान्जी, ज्वाँइ-छोरी पोस्न नै सकिएछ । अहिले त सरकार नै घाटामा चलेको छ, प्रभु । त्यसैले सरकारबाट एक पैसा पाउन सकिनँ ।
‘घर-घडेरी बेचेर पनि अविष्कार केन्द्र खोल्न सकिन्छ त ? कि दालमा केही कालो छ ?’

कतै कालो छैन प्रभु । पृथ्वीमा जग्गाको भाउ बढेर आकाश छोएको छ । सरकारको भरोसा हुँदैन । हाम्रो देशमा सरकार छिनछिनमा बदलिरहन्छ । राति निदाउँदा एउटा सरकार हुन्छ, ख्वामित बिउझिँदा त अर्कै भइसक्छ । मैले पनि भाउ अकाशिएको मौकामा नै बेचविखन गरेँ प्रभु ! अहिले म यही आकाशमार्गबाटै यहाँ आइपुगेको छु, सरकार !
तँ अब, के खान्छस्, भन् । अतिथी देवो भव ! भन्छन् । यहाँ आएको अतिथिलाई केही नखुवाई कसरी पठाउनु ?
प्रभु, मलाई सुगर-प्रेसर सबै छ । हाम्रो देशका किसानहरूले कृषि उपज बढाउन किटनाशक अ‍ैषधी र विषादी प्रयोग गरेका तरकारी, फलफूल अनि व्यापारीहरूले बासी सडेगलेका मिठाइ खुवाएर मलाई मात्रै एक सय सात थरी रोग लगाई दिएका छन्, भगवान ! अझ त्यसमा पनि…
मतलव ?

प्रभु हाम्रो देश नेपालमा अहिले प्रकृतिमाथि अतिक्रमण भएको छ, ख्वामित ! डोजरे विकासले गर्दा ऐंसेलु, चुत्रो काफल सबै हराइसके भगवान ! यो फलफूललाई पिज्जा, बर्गर, मोमोले विस्थापित गरेका छन् ।

नाथ, अनि यो पिज्जा, वर्गर, मोमो भनेको चाहिँ के हो ?
प्रभु, खाद्यवस्तुमा कतिपय अखाद्य पदार्थ मिसाएर बनाइएका परिकार हुन् । आज यिनै परिकारहरूको व्यापकता छ । भगवान ! बरू एक गिलास शुद्ध पानी पाए पिउँथेँ, भगवान !
पानी पनि शुद्ध र अशुद्ध हुन्छ र लाटा ?

प्रभु, नेपालमा आजकाल शुद्ध पानी पाउनै गाह्रो छ । शुद्ध भनेर बिक्री गरिएका मिनरल वाटरमा पनि कतै लेदो, कतै किरा फेला परेका छन् । झन् आजकल त हैजा फैलेर हैरानै छ, ख्वामित ।
ए नानी, यसलाई एक गिलास पानी ल्याएर देऊ ।
ऊ तेरो हातमा के छ ?

भगवान, यो मोबाइल हो । आज हाम्रो देशका सबै नागरिकका हात-हातमा यही मोबाइल झुण्डिएको हुन्छ । हातमा औँठी, ब्रासलेट, घडी केही नहुन सक्छ तर मोबाइल पक्कै हुन्छ । मैले प्रभुलाई एउटा मोबाइल उपहार ल्याइदिएको छु, अर्कोचाहिँ आफ्नै लागि ल्याएको ख्वामित ! आज मानिसका मन, मस्तिष्क यही मोवाइल नै भएको छ । । साना साना शिशुहरू समेत मोबाइल नहेरी खानै मान्दैनन् । यसमा फेसबुक, ट्वीटर, भाइवर, सबै हुन्छ सरकार ! आज विश्व-ब्रह्माण्ड नै यही भएको छ ।

म पनि…………
तैँले के भन्न खोजेको ?
प्रभु, मेरो पनि यही मोबाइलबाटै स्वर्गको बगैँचामा बसेर एउटा, दुइटा सेल्फि खिच्ने विचार छ, भगवान । अनि रम्भा, उर्वसी, मेनका सबैसँग बसेर फोटो सेसन गर्न मन छ नाथ ।

ल ठिक छ, रम्भा, उर्वसी, मेनकासँग बसेर फोटो खिच्न म तँलाई अनुमति दिन्छु । तर दायाँबायाँ त गर्दैनस् नि ?
भगवान ! म विवाहित पुरुष हुँ । घरमा स्त्री र दुई-दुई जना बच्चा छोडेर आएको छु । दायाँबायाँ गर्ने कुरै आउदैन ख्वामित । अझ…
अझ के नि ?
भगवान, नेपालमा कानून एकदम कडा छ । आफ्नो स्त्रीलाई छुन पनि अनुमति चाहिन्छ । अनुमति नलिई छुँदा वैवाहिक बलात्कार हुन जान्छ । झन्, परस्त्रीलाई छुने त कुरै भएन । परस्त्रीलाई छुँदा होस अथवा नछुँदा नै किन नहोस कैयौँ मानिस महिला हिंसाको आरोपले जकिडिएका छन् । हाम्रो देश नेपालमा महिला हिंसाका कैयौँ उजुरी परेका छन् । अदालतमा महिला हिंसाका उजुरीका खातै खात छन् । उनले मेरो पिठ्युमा धाप मार्दै भने, केटो चलाख रहेछ ।

त्यसपछि स्वर्गको बगैँचामा बसेर अप्सराहरूसित सेल्फी खिचेर म आकाशमार्ग हुँदै फर्किएँ ।
काल महिमाको वर्णन गर्दै गर्दा हामीले अकाल, अनिकाल र सङ्कटकाललाई पनि कदापि भुल्न हुँदैन । औषधीमुलो नपाएर, लापरवाही गरिएर वा दुर्घट्नामा परेर कैयौँ मान्छे आज अकालमै मारिएका छन् । त्यस्तै खडेरी, अनावृष्टि, अतिवृष्टि भएर देशमा अनिकाल छाएर महंगीले जनताका ढाड सेकिएका छन् । राजाका शासनकालमा उत्पन्न सङ्कटकाल र त्यसले उत्पन्न गरेको कठीन परिस्थिति जनताले भोगेकै हुन । अत: कालका पनि काल ‘महाकाललाई’ हामी सधैँ पूजा गरौँ । जय महाकाल !

०००
काठमाडौं
मो.नं. ९८४१३७४६३७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाँड, रक्सी, चुरोट…

जाँड, रक्सी, चुरोट…

राजेन्द्र पुडासैनी
मैले किन आत्महत्या गरेँ ?

मैले किन आत्महत्या गरेँ...

राजेन्द्र पुडासैनी
मुस्कान सहितको सेवा

मुस्कान सहितको सेवा

राजेन्द्र पुडासैनी
अहिंसा परमोधर्म

अहिंसा परमोधर्म

राजेन्द्र पुडासैनी
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x