तिलकराज शर्मा पाैडेलपूरक बजेटमा पार्टीको प्रभाव
मेरो पनि यति राम्रो खल्ती छ तर खल्तीमा पैसा छैन" ऊ मेरो मुखमा हेरेर निर्वाचन आयोगका प्रमुख प्रधानमन्त्रीको मुखमा हेरेर रूञ्चे मुस्कानमा मस्केजस्तै मसँग मसक्क मस्की, म पनि दङ्ग परेँ ।

तिलकराज शर्मा :
हरेक राष्ट्र र विश्वभरिका विभिन्न संघसस्थाले हरेकवर्ष आफ्नो वार्षिक बजेट बनाएका हुन्छन् । वार्षिक बजेट र आय-व्ययको सन्तुलन मिलेमा मात्र हरेकको उन्नति प्रगति हुन्छ । यदि तोकिएको शीर्षकअनुसार बजेटको सन्तुलन मिलेन भने सम्पूर्ण कारोवार डामाडोल हुन्छ । मेरो वार्षिक बजेटको शीर्षक पनि करिबकरिव डामाडोलकै अवस्थामा पुगेको छ । अप्रत्याशित घटना-चक्र पार्टी फुट्ने-जोडने, नयाँ सदस्यता ग्रहण, लेवी परम्परा, बढ्दो महँगी आदिले गर्दा मेरो घरायसी बजेटमा पुनर्विचार गरी पूरक बजेटको व्यवस्था नमिलाए गाउँबाट सहर, सहरबाट विस्थापित भई देशै छोडेर नेटो काट्ने अवस्था नआउला भन्न सकिन्न । सन्तानले नेटो काट्दा आफै पनि फर्सीको भेट्नु काटेर छाक टार्ने बेला आयो भने पद-पगरी सम्मान र क्रियाशील सदस्यताले मात्रै केही लछारपाटो लगाउला जस्तो छैन । अर्थाभावको कारणबाट कर्मचारी संघको सदस्यता नवीकरण भएको थिएन । माउ पार्टी एकीकरण भएको खबर सुने, अब पुन नयाँ सदस्यता लिनुपर्ने भयो भने दशैं खर्चको पेश्कीमा समेत धक्का लाग्ने भयो । हिजो कार्यालयमा एकाउन्टेण्टलाई बोलाएर हाकिमसाहेबले समेत मन्त्रालयबाट बढतलबको तेरिज आएको छैन, गजेटले दिए, बजेटले भ्याए, उचित भए सूचित गर्नु भन्ने निर्देशन दिएपछि त झन् मेरो होसहवासै गुम होला जस्तो भएको छ ।
नेपाल गयो कपालसँगै, बर्मा गयो कर्मसँगै भनेजस्तो जुन व्यवस्था आए पनि जुन ब्यवस्था गए पनि आफ्नो अवस्या ज्यूँकात्यूँ थाती रहेकै छ । ऐसा छैन, वैसा छैन जता फर्के पनि पैसा छैन । कहिलेकाहीँ त कस्तो साइतमा जन्माइछन् भनेर आफ्नै वृद्ध आमालाई कोपरुँ जस्तो लाग्छ । हुन त कोपरेर पनि समस्याको समाधान कहाँ हुने हो र ? कोपरेर समस्याको समाधान हुने भए संसद अवरुद्ध पारी सभामुखलाई रोस्टममा घेरेर कोपर कोपरूँ भन्नेहरू पनि अहिले ऊ नै सभामुखलाई बिन्ति गर्दै विशेष अधिवेशन बोलाइदेऊ प्रभु , मनेर फिराद गर्दा कसको मन नधर्केला र । कसैको पत्थर झै मन छ भने त बेग्लै कुरा हो । अँ म त बजेटको कुरा गर्दा गर्दै संसदतिर पो बहकिन पुगेछु ।
तत्कालको घरायसी बजेट पनि पूरक बजेट ल्याएर समाधान गरेँ । अहिलेसम्म पनि “हाम्री दिदीलाई अन्याय भयो भनेर ससुरालीमा सालो र सालीले थर्काउन छोडेका छैनन् । पहलेपहिले त चाडबाडमा पनि धेरै खर्च हुँदैनथ्यो । म र मेरी सालीकी दिदी दुबै बसेर तोकिएको सतसष्ठी प्रतिशत र तेत्तीस प्रतिशत मिलाएरपछि पूरै सय प्रतिशतले कोसेलीपात र ज्वाईं भाञ्जा भाञ्जीको दक्षिणा धानेकै थियो । गत सालको वासलात अनुसार अनावश्यक खर्च भनेको त्यही हजुरबुबाको अभिनन्दन र चौरासी पूजा मात्र त थियो नि, तर त्यसले अहिले नयाँ नेपालसम्म आउँदा पनि प्रभाव परिरहेको छ ।
आजकलका नवधनाढ्यहरूले धनको तुजुक देखाउन अनेक थरिका बहाना बनाई धनखर्च गर्न थालेका छन् । त्यसको प्रभाव गरिव र मध्यम वर्गीय परिवारमा समेत परेको छ । आजकल त ठेवर र पास्नीदेखि पोइला गएकी स्वास्नी समेतको बर्थ डे मनाउने निम्तो आउँछ । कस्तो फसाद रित्तै हात जाऊँ भने कस्तो शिष्टाचार नभएको मान्छे भन्लान् भन्ने डर, कोसेली पात लिएरजाऊँ भने कौडी न सौडी बनारस दौडी भने जस्तो साथमा मोहर छैन । प्रजातन्त्र गएर लोकतन्त्र आए पनि आफूलाई भोकतन्त्रले कहिल्यै छोडेन । खास-खास महत्त्वपूर्ण उत्सवको निम्तो भए पनि एउटा कुरा हुन्थ्यो, विधवाको पुनः कन्यादान्, कसैको शनिवासरीय होली डे, कसैको बूढी हजुरआमा र बूढी सासूको बर्थ डे, कहीं समुद्घाटन र मैनबत्ती ज्वलन, कहीं शान्तिदीप प्रज्वलन, श्रद्धाञ्जली सभा त कतै समवेदना भेटघाट आदिले छोडेको छैन । रित्तै हात जान हुँदै भएन । कसैलाई खामभित्र दाम, कसैलाई दोसल्लाको मान, कसैलाई लड्डु र खुवा, कसैलाई भागलपुरे मलुवा, कसैलाई रुपन्देहीको हलुवा आदि साथमा नलिई जानै भएन ।
हिजै मात्र मेरै सहोदर प्राणेश्वरीसँग ठाकठुक पर्यो । उनको मितिनीको भाइको सात्लाको भान्जीको बर्थ-डेमा केक काट्ने भनेर चुल्है निम्तो आएको रहेछ । उक्त निम्तोमा नजाँदा कुरा काट्लान् भन्ने डर । कार्डको पछाडि पट्रिफर्काएर हेरै घर पत्ता लगाउने बाटो र चोक चौराहाको नक्सा पनि अंकित गरेका रहेछन् । नक्साको रिपोर्टमा लेखेको थियो । पहिलो निर्दल चोकबाट दक्षिण लागि बहुदल चोकबाट उत्तर मोडिने, ठीक मोडनेरै शान्तिचोकमा उता भनेर एउटा एरो चिह्न देखाएको छ, ठीक त्यसको लगभग साठी बैसठी मिटर पश्चिम लागेपछि द्वन्दपीडित चौतारो आउँछ, हो त्यो चौतारोलाई देब्रे पारेर पूर्व लागेपछि वार्ता रेष्टुरेण्टको साईनबोर्ड देखिन्छ । त्यसको आडैको भुईंतलामा रातो, वीचको तलामा नीलो र माथिल्लो तलामा पहेलो रङ्ग भएको तीनतले घर देखिन्छ, त्यो घरलाई दाहिने पारेर केही पर त्रिसठ्ठीचौसठ्ठी मिटर अगाडि बढेपछि ‘गणतन्त्र” बस बिसौनीसँगै संविधान सभाको साइनबोर्ड देखिन्छ । हो सोही साइनबोर्डबाट सोझै पश्चिमहेर्द पार्टी एकीकरण टोल आउँछ । त्यही टोलको पहिलो घर हाम्रो घर हो” भनेर उल्लेख गरिएको रहेछ ।
यो टिपोट पढेपछि मलाई पनि जाऊँजाऊँ लाग्यो । वार्ताकी आमा त नगै नछाड्नेमा पहिलेदेखि नै छँदै थिइन्। निम्तो कार्डमा आजकल निम्तोचाहिँ गर्ने सकभर नआइदिए पनि हुन्थ्यो भन्ने भावनाले असमर्थताका लागि फोन सम्पर्क भनेर लेख्ने चलन पनि चलेको छ तर त्यो कार्डमा सो कुरा नलेखिएको पाएपछि मैले अनिवार्य नै होला भन्ने अर्थ लगाएँ ।
श्रीमतीको निम्ता मान्न जाने कचकच साविकबमोजिम नै छ । निम्ता मान्ने बहानामा सुनको चुरी, बाँकटे हरियो पोतेमा पहेलो काँडे तिलहरी जापानी साडी र चुच्चे चप्पल किनाउने दाउ, मैले भर्खर वजेटमा समावेश भएको सत्र प्रतिशतले कसरी धान्ने । अझै त्यत्ति मात्र भए त हुन्थ्यो, बाहिर हेर्दा चिटिक्क परेर लिपिस्टिक ओठमा लतपत पार्दा च्वाँक देखिएकी मात्र हो भित्री रोग धेरै छन्। परिवार नियोजनको चक्कीले काम गर्न छोडेपष्ठि ‘समानुपातिक जन्मी घरमा स्याहार पुगेन, सुत्केरी बिग्रिएको छ । सधैं पेट दुख्छ भन्छे । हात गोडाको जोर्नी दुख्छ भन्छे ढाड दुख्ने रोग छत्तीस सालदेखि नै थियो । दाँत कीराले खाएर दाहिने कम्पारापट्टिका बङ्गारा एउटै छैनन् । पाठेघरको अप्रेशन गरेको अब आउने वैशाख एघार गते दुई वर्ष पुग्छ ।
बेलाबेलामा अमेरिकन र भारतीय डाक्टरहरू घुम्ती टोलीमा आउँदा जँचाउन लैजाने गरेको छु । मेरो करार जागिरको असी प्रतिशत उसैको उपचारमा खर्च हुन्छ । बाँकी बीस प्रतिशतले सात दलको अधिवेशन खर्च र अर्को एकदलको स्वेच्छिक चन्दा धान्न गारो परेको छ । स्वास्थ्य उपचार शीर्षकमा बजेटले सीमा नाघेर पूरक बजेटको तर्जुमा नगरी नहुने भएको छ । पार्टी एकीकरणले पनि खासै प्रभाव पार्ला जस्तो छैन । आठै पार्टी एउटै भए पो एउटालाई चन्दा दिएर पार पाइन्थ्यो र ‘संविधान सभाकी आमालाई रातो साडी, लिपिष्टिक र पाउडर दलेर सडकमा देखेर भपात क्यारे। उसका भित्री रोगको बारे कसलाई के थाहा ।
अस्ति रेडियोमा सुनेको थिएँ, लेडी डायनाको लुगा लिलाममा बेचिदै छ भनेर ठूला ठूला विश्व नवधनाढ्यहरू लिलाममा भाग लिंदै छन् रे आफ्नो त पुर्पुरोमा नै छैन लेडी डायनाको कटु मात्रै उछिट्याउन पाएको भए पनि अहिले दिन बल्ने रहेछन् । आफ्नो भने टुपी विक्ला बरू, टोपी बिक्दैन । अस्ति भर्खरको कुरो हो. भुरालाई कापी किताब किन्न भनेर श्रीमतीजी र म दुबै बजारतिर लाग्यौ । उनले तना चुँडिएर पोलेर टाँसेको चप्पल कति भिरेर हिंड्नु दशैं आउन लागेको पनि छ एकजोर जापानी चप्पल किनाउने चाहना राखेर पुरानो चप्पल नलगाई खाली खुट्टा नै हिँडेकी रहिछिन् । नारायणगढ सहिदचोकनेरको फेन्सी दोकानमा पुगेपछि मतिर फर्कदै भनिन् ‘हेर्नोस् न द्वन्द्वको बा, मेरो यति राम्रो कलकलाउँदो पैताला छ तर पैतालामा चप्पल छैन । अनि मैले उसलाई आफ्नो सेतो सर्टको खल्ती देखाउँदै भने, हेर न बार्ताकी आमा ! मेरो पनि यति राम्रो खल्ती छ तर खल्तीमा पैसा छैन” ऊ मेरो मुखमा हेरेर निर्वाचन आयोगका प्रमुख प्रधानमन्त्रीको मुखमा हेरेर रूञ्चे मुस्कानमा मस्केजस्तै मसँग मसक्क मस्की, म पनि दङ्ग परेँ । मेरो मनको कुरा उसले पूरै बुझी ।
यसपटकको मेरो घरायसी बजेट विश्लेषण गरेर हेरें । चुरोट, रक्सी, खैनी, सुर्ती, पान, चियामा गत सालको भन्दा धोरे मितव्ययिता पाइयो । छोरीको बानी बिग्रिएर होला चुईंगममा थोरै वृद्धि भएछ । उत्सवमा भन्दा श्रद्धाञ्जली र समवेदना भेटघाट गर्दा फलफूल र नरिवल मिश्रीमा थोरै खर्च बढेछ । वर्तमान देशको अवस्थाले होला अप्रत्याशित घटनाचक्रले छोरा स्कुलकलेजबाट फर्कदा घाइते भएर आउनाले घाउ खर्च बढेको छ भने यातायाततर्फ गत सालको तुलनामा दोब्बर फाइदा पुगेको छ किनकि प्रायः यातायात बन्द भइदिनाले प्रत्यक्ष लाभ पुगेको छ ।
केही अनावश्यक खर्च छोराछोरीको फेशन बढेको छ । जहाँ पायो त्यहीं पेट्रोल, मट्टितेल नपाइने हुँदा आगामी वर्ष इन्धनतर्फ छुट्टयाइएको बजेट पूरै बचत रहने देखिन्छ । प्रजातान्त्रिक र प्रगतिशील राजनैतिक दलहरू एकीकरणतर्फ उन्मुख भएकोले आठदलबाट घटेर २ दल मात्र कायम हुने सङ्केत देखापरेको हुँदा दलहरूलाई बुझाउनु पर्ने चन्दासहयोग न्यूनीकरण हुने आशा देखा परेको छ । “संविधान सभाको उमेर पुगेको छ भनेजस्तो केटो भेट्टिए गोडाको जल खाएर भए पनि विवाह उम्काउनु पर्छ केही खर्च बढ्ला ।
श्रीमतीको लुगा भत्तातर्फ भने साडी ब्लाउजगा छुट्याइएको बजेट बुट्टे म्याक्सी, लम्बेकुर्या-सुरुवाल र जिनको टाइट पाइन्टमा रूपान्तरित भएको हुँदा पचास दशमलब चारले खर्च बढ्ने देखिन्छ । आगामी सालको बजेटमा हजुर आमाको लुगा भत्तामा चर्को मूल्य वृद्धि हुने देखेको छु किनकि हरे राम हरे कृष्ण लेखेथे पछ्यौरा र घरेलु पहेलो साढी भए काम चल्थ्यो, अहिले महिला संगठनले विधवालाई रातो पहिरन लगाइदिने अभियान ल्याएपछि एकल महिला हाम्री हजुरआमाको पनि मन बढेको छ । रातो जापानी साडीसितै दोसल्ला र चुरा पोतेको पनि चाहना राख्नु भएको छ । त्यसैले यस वर्ष पनि पोहोरकै जस्तो पूरक बजेट ल्याउनै पर्ने देखेको छु ।
०००
चितवन
दाैरासुरूवाल र टाेपी आतङ्क (२०६५)
Subscribe
Login
0 Comments
Oldest








































