संप्रस पाैडेलफाइभ जी नेताको प्रतिबद्धता
अन्तर्राष्ट्रिय र राष्ट्रियको कुरा छोडौँ, जिल्ला तहको एउटा खेलाडी गाउँमा छैन । भैँसीलाई जाडोमा घाम ताप्न मैदान बनाउनुको के अर्थ ? भात खाने थाल छैन हग्ने कोपरा ?

संप्रस पाैडेल :
स्थान: व्युटीपार्लरको शिलान्यास र लेन्स स्यालुनको उद्घाटन 
पात्रहरू: नेता, हाँसे (गाउँको हाँसोमेसिन), साहुनी, श्री ५ बाजे, केटाकेटी
नेता: (चिया लिँदै)
यो चुनाव जितेपछि म गाउँमा यस्तो विकास गर्छु, कि तपाईंहरूले गुगल म्याप खोल्दा “अोराली गाउँ: Too much progress (ओराली गाउँमा उत्पातको विकास)” देखाउँछ ।
हाँसे:
नेताजी, अघिल्लो चुनावमा पनि यस्तो भन्नुभएको थियो, तर पल्लो गाउँको खोल्साको फरक फरक नाममा बजेट आइराख्या छ भन्छन् । तपाईँका इष्टमित्रहरूले कतिञ्जेल दोएर खाने ?
नेता:
त्यो नाउँ पुरानो देखिनु, बजेट नयाँ नयाँ शीर्षकमा आउनु पनि विकास हो— ‘गाउँले विरासतको संरक्षण’ भन्छन् त्यसलाई ।
०००
हाँसे:
तपाईंको नि:शुल्क बिजुलीको वाचा चाहिँ कहाँ पुग्यो ?
नेता:
पुग्यो नि ! त्यसका लागि त स्वीच अफ गरेर बस्नुपर्यो क्या । मेरो र तपाईंको दायित्व के के हो बुझ्नुपरेन ?
श्री ५ बाजे:
नेता, अघिल्लो पटक पानी ल्याउने भन्नु भएको थियो, गाउँमा आउने पानीको स्रोत त घटेको घट्यै छ ।
नेता:
यसपाला भ्यागुताहरूको सामुहिक बिहे गरिदिन पर्छ ।
(व्युटीपार्लरको शिलान्यास गर्छन् ।)
०००
स्यालुनका ग्राहक १:
क्रिकेट मैदान कहिले ?
नेता:
मैदान त पक्कै बनाउँछु, तर पहिले क्रिकेट खेल्न सिकाउने कसले ? अन्तर्राष्ट्रिय र राष्ट्रियको कुरा छोडौँ, जिल्ला तहको एउटा खेलाडी गाउँमा छैन । भैँसीलाई जाडोमा घाम ताप्न मैदान बनाउनुको के अर्थ ? भात खाने थाल छैन हग्ने कोपरा ?
ग्राहक २:
उसो भए प्रतिबद्धतामा किन हतार गर्नुहुन्छ ?
नेता:
म 5G स्पीडमा छु,
“को एमाले, को माअोवादी, को हो काङ्ग्रेसी
असीमा चुनाव जित्नेको मिसन चौरासी ।”
मिसनलाई नसघाउनेहरू व्यवस्था विरोधी हुन् । आउनुस् हातेमालो गरौँ । (स्यालुनवालासँग कैँची मागेर रिबन काट्छन् ।)
अन्तमा उपस्थितहरू पिच्च थुक्दै, घिच्चो निहुराउँदै, लिच्चो आदर्श भाषण अघौँची सुनेर ङिच्च हाँस्दै घर फर्किए ।
फाइभ जी नेता माइक थमाउँदै टेलिकमको थ्री जी सेवा बिस्तार बारे उपस्थित अध्ययन दललाई स्वागत गर्नका लागि अर्को टोलतिर प्रतिबद्धता व्यक्त गर्न दौडिए ।
०००
हेटाैँडा, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest








































