आर.आर. चौलागाईंयमराजको फैसला
धेरै सोचविचारपछि यमराजले यस्तो फैसला सुनाए- ‘नेतालाई मर्त्यलोक नपठाउनू । यसले जनतालाई झूटो आश्वासन बाँडेको रहेछ । व्यापारीलाई पनि नपठाउनू । यसले पनि जनतालाई ठगेको रहेछ ।

आर. आर. चौलागाईं :
एक पटक एकजना नेता, एकजना व्यापारी र एकजना कविको सडक दुर्घटनामा मृत्यु भयो । दूतहरूले उनीहरूलाई यमलोक पुर्याए ।
यमराजले पालैपालो सोधे-
‘तिम्रो परिचय ?’
‘प्रभु, म नेता ।’
‘म व्यापारी ।’
‘म कवि ।’
यमराजले फेरि सोधे-
‘तिमीहरूको मृत्यु अकालमा भएको रहेछ । यहीँ बस्छौ कि फेरि मर्त्यलोक जान चाहन्छौ ?’
नेता-‘प्रभु ! म जान्छु । मेरो कार्यकाल सिद्धिएकै छैन ।’
व्यापारी-‘म पनि जान्छु प्रभु, मेरो कारोबार चौपट हुन्छ ।’
कवि-‘प्रभु ! म यहीँ बस्छु । जान्नँ । मर्त्यलोकमा मैले साह्रै दुःख पाएँ । म मुक्ति चाहन्छु प्रभु !’
धेरै सोचविचारपछि यमराजले यस्तो फैसला सुनाए- ‘नेतालाई मर्त्यलोक नपठाउनू । यसले जनतालाई झूटो आश्वासन बाँडेको रहेछ । व्यापारीलाई पनि नपठाउनू । यसले पनि जनतालाई ठगेको रहेछ । यो कविलाईचाहिँ यहाँ कदापि नराख्नू । उहीँ पठाउनू । यसले आफू दुःख पाएर भए पनि अरूको सेवा गरेको रहेछ । मर्त्यलोक साह्रै बदनाम भैसकेको छ । त्यहाँ यस्तै मान्छेको खाँचो छ ।’
०००
हेटौँडा
Subscribe
Login
0 Comments
Oldest








































