आर.आर. चौलागाईंमौन विद्रोह
तिमीहरूले बनाएको झ्यालखानामा अहिले यस्तैयस्तै मौन विद्रोहको थाक लागेको छ र त्यो आकाशै थर्किने गरी विस्फोट हुनमात्रै बाँकी छ ।

आर. आर. चौलागाईं :
मौन विद्रोह
शक्तिको विद्रोहभन्दा
खतरनाक हुन्छ ।
त्यो दिन
म कराएको भए
म चिच्च्याएको भए
म उफ्रेको भए
अथवा हातखुट्टा चलाएको भए
मेरो विद्रोह
त्यही दिन सकिन्थ्यो ।
मलाई थाहा छ
हाम्रो जीवनमा
केही समयको लागि आँधी मडारिन सक्छ
तर हामीले सास फेर्ने हावा
जहिले पनि रहिरहन्छ
मलाई थाहा छ
हाम्रो जीवनमा
बाढी आउन सक्छ
तर वर्षापछि त्यो पनि सकिन्छ
मलाई थाहा छ
हाम्रो जीवनमा
बादल लाग्न सक्छ
तर त्यो पनि सधैँभरि टिक्दैन
मलाई थाहा छ
हाम्रो जीवनमा
चट्याङ पर्न सक्छ
तर त्यो पनि निमेषभरमै विलुप्त हुन्छ ।
अब हामीले धेरै कुर्नु पर्दैन
तिमीहरूको संसारमा
आँधी
बाढी
बादल
र चट्याङ
एक्कैचोटि हुन्छ
अनि तिमीहरू निमिट्यान्न भएर सिद्धिन्छौ ।
यो बुझीराख
तिमीहरूको विनाशमा
मेरो मौन विद्रोह पनि एउटा कारक हुन सक्छ
अनि यो पनि सुनीराख
तिमीहरूले बनाएको झ्यालखानामा
अहिले यस्तैयस्तै मौन विद्रोहको
थाक लागेको छ
र त्यो आकाशै थर्किने गरी विस्फोट हुनमात्रै बाँकी छ ।
०००
२०७९ कार्तिक २६
Subscribe
Login
0 Comments
Oldest







































