माधव पोखरेल गोज्याङ्ग्रेटुप्पी
नेताले यदि यो कुनै तरहले पालेछ टुप्पी भने आक्रोसी जनता उफ्रेर तिनको टुप्पी उखेल्छन् भरे ।

टुप्पीको इतिहास जे छ अहिले बुझ्दैन कोही पनि
यो हाम्रो शिरको छ उच्च तहमा देख्दैन कोही अनि
खाबो झैँ मुलको बनेर यसले हिन्दू चिनायो सबै
पाल्छन् यो शिरको त भाग बिचमा काटेर रौ नै सबै ।
पाल्थे यो पहिले ऋषी मुनिहरू जट्टा बनाई बुझौँ
लामो केश सधैँ रहन्छ शिरमा टुप्पी छ सँगै बुझाँै
हेर्दा सुन्दर यो कपाल बिचमा लामो धरामा छुने
डोरी झैँ तलसम्म झर्छ लहरा दाम्लो र नाम्लो हुने ।
रौ हो मानिसको शरीर बिचको शोभा दिएको छ नि
पाल्नेले इतिहास रच्छ जहिले जुम्रा उमारे पनि
जुम्राको घर हो र एरियल झैँ ठाडो हुने चालको
टुप्पी जो शिरमा रहन्छ जसको ठाडो हुने चोरको ।
टुप्पीको महिमा अपार सबमा पाल्नेहरू हो सुन
साथीले रिसमा समात्छ कहिले ठाडो छ टुप्पी जुन
नेताले यदि यो कुनै तरहले पालेछ टुप्पी भने
आक्रोसी जनता उफ्रेर तिनको टुप्पी उखेल्छन् भरे ।
टुप्पीको पगरी वनाउँछन अहो हेर्दै बडो शानको
टोपीको बदला भएर रहने देखिन्छ सम्मानको
जोगी वा तपस्वी र साधकहरू पालेर टुप्पी पनि
माहात्मा जनको कपाल सबभो टुप्पी सरी नै अनि ।
राखौ है सबले कपाल बिचमा टुप्पी बनाई अब
छोटै होस् तर यो रहोस शिरमा हिन्दूत्व बुझ्ने तब
हाम्रो हो पहिचान यो नजरमा बस्नेछ नामी बनि
देख्नेको मनमा सधैँ रहरिलो आस्था ठुलो होस् भनि ।
नेपाली मनको बनोस गहना टुप्पी सधैँ साथमा
अर्काको नगरौ सिको अब यहाँ पाइन्छ के हातमा
खौरेको शिरमा रहोस बिचमा आत्मा बनोस् स्वच्छता
टुप्पीले चिनियोस मानव यहाँ विद्वानको विद्वता ।
उदयपुर
Subscribe
Login
0 Comments
Oldest





































