साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्यामव्यङ्ग्यको वर्षा !

सिर्जनात्मक समर्पण, निरन्तरता र योगदान गणना हुन छाडेको आजको समयमा श्यामबहादुरहरू सही मूल्याङ्कनमा पर्दैनन् ।

Nepal Telecom ad

हाँस्नु र हँसाउनु मानिसको स्वभावजन्य विशेषता हो । यसरी नै कुनै असङ्गति र कमजोरी देखेपछि हाँस्नु र मनमा घोचपेचपूर्ण व्यङ्ग्यभाव पलाउनु स्वभावजन्य प्रवृत्ति हो । यी विशेषता अर्थात् स्वभाव र प्रवृत्तिले कलात्मक भाषाका माध्यमद्वारा निबन्धको रूप ग्रहण गर्दा हास्यव्यङ्ग्यको स्वरूप र संरचना निर्माण हुन्छ । व्यञ्जनामूलक अर्थवहन गर्ने प्रयोजनपरक हाँसोभित्र व्यङ्ग्यको समेत घुलमिल हुन पुग्दा हास्यव्यङ्ग्यको सिर्जना हुन्छ सायद । हास्यले आलोचनात्मक दृष्टिकोण राखेपछि व्यङ्ग्य निस्किन्छ । त्यसैले सामान्य हसाउने स्तरमा रहुन्जेल सामान्य हाँसो रहन्छ । कुनै तात्पर्य मिसिएर सत्यको उद्घाटन गर्दै पाठकको बौद्धिक तहमा प्रभाव पार्न थालेपछि भने त्यही सामान्य हाँसोले हास्यव्यङ्ग्यको स्वरूप लिँदै जान्छ ।

यसरी हँसाउने र व्यङ्ग्य गर्ने क्रममा कोही अर्कालाई हेरेर हाँस्छन् र अर्कैका कमी कमजोरीमाथि व्यङ्ग्य प्रहार गर्छन् । कोही मानवीय प्रवृत्तिमा देखापर्ने आफैभित्र अन्तर्निहित आफ्नै अर्थात् मानवीय साझा कमीकमजोरीमाथि व्यङ्ग्य गर्दछन् । हास्य र व्यङ्ग्य दुवै शब्दका अलग अलग स्वतन्त्र अर्थ भए पनि हास्यव्यङ्ग्य निबन्धमा यी दुवैको सम्यक सन्तुलनजन्य मिश्रण भने अत्यन्त अपेक्षित रहन्छ । दूधमा मिलेको चिनीजस्तै यी दुवैको सन्तुलित मेलबाट नै सफल हास्यव्यङ्ग्य साहित्यको सिर्जना हुन्छ । नेपाली हास्यव्यङ्ग्य साहित्यमा हास्यव्यङ्ग्य निबन्ध शिरोमणि भैरव अर्यालका अतिरिक्त अरू हास्यव्यङ्ग्य लेखकमा त्यही स्तरको यो पक्ष अर्थात् हास्य र व्यङ्ग्यको सम्यक सन्तुलन भेटिएको अनुभव हुँदैन ।

शक्तिवल्लभ अर्यालले संस्कृतमा लेखेर आफैले अनुवाद गरेका हास्यकदम्ब (१८५५) सँगै नेपाली वाङ्मयमा भित्रिएको भनिने निबन्धको हास्यव्यङ्ग्य धारा भानुभक्तका फुटकर हास्यव्यङ्ग्य कवितामा आएर अरू फस्टायो । ‘शारदा’ को प्रकाशनसँगै प्राथमिक चरणको विकासयात्रा प्रारम्भ गरेको नेपाली हासव्यङ्ग्य निबन्ध वासुदेव शर्मा लुइँटेल, केशवराज पिँडाली, भैरव अर्याल, श्रीधर खनाल, रामकुमार पाँडे, बालमुकुन्ददेव पाण्डे, श्याम गोतामे, सूर्यबहादुर पिवा प्रवृत्ति हुँदै विकासको शिखर चुम्दै अघि बढ्यो। यसपछि पनि हास्यव्यङ्ग्य निबन्धको सिर्जनामा अनेकौं प्रतिभा समर्पित रहेका छन् । मोहनराज शर्मा, हरिबन्दी, विश्व शाक्य, नरेन्द्रराज पौड्याल, मुकुन्द आचार्य, चोलेश्वर शर्मा, विमल निभा, रुद्र खरेल, रघु घिमिरे, नरनाथ लुईटेल, मुन पौडेल, श्यामबहादुर लामा, नरमेन्द्र लामा, लक्ष्मण गाम्नाङेका कलम यस क्षेत्रमा उल्लेख्य रहेका छन् । यही सन्दर्भमा श्यामबहादुर लामाको हास्यव्यङ्ग्य निबन्धको सृजनधर्मिताको अध्ययन गरिनुपर्छ । श्यामबहादुर लामा नेपाली हास्यव्यङ्ग्य निबन्धको फाँटमा स्थापित नाम हो । “… विचारमा हास्यव्यङ्ग्य प्रदूषणरहित बम हो । यसले सामाजिक विकृति र विकारलाई आफ्नो शिकार बनाउँछ” भन्ने मान्यता राख्ने लामाको सृजनाको प्रमुख प्रवृत्ति पनि यही नै हो- ‘सामाजिक विकृति र विकार’ मुक्त नयाँ नेपालको निर्माण गर्ने प्रयत्नमा यस क्षेत्रबाट सहयोग पुयाउनु । आज समाजका हरेक पक्ष विकृत बनिरहेको छ । सबै क्षेत्रले विश्वासको सङ्कट भोगिरहेका छन् । आम मानिस न सुशासन दिन पर्ने राज्यसंयन्त्रहरूबाट सुशासन पाइन्छ भन्ने विश्वास गर्न सक्ने अवस्थामा छ, न त सधैं न्याय दिनु पर्ने न्यायालय र न्यायप्रणालीबाटै निष्पक्ष न्याय पाइन्छ भन्ने कुरामा ढुक्क हुन सक्ने अवस्थामा छन् । हरेक क्षेत्रमा विकृतिले घर गरेको छ । सामान्य जन यिनै विकृतिले जन्माएका उत्पीडन, अत्याचार, अन्याय र भ्रष्टाचारको ताण्डव नृत्यको पन्जामा जकडिएको छ । भानुभक्तदेखिको भोलिवाद र नातावाद, अझ पार्टीको चम्चावादमा रूपान्तरित भइरहेका छन् । यिनै चम्चावादको चौतर्फी दादागिरीका कारण अवमूल्यन हुन पुगेका दक्ष प्रतिभा, दक्ष जनशक्ति, प्राज्ञिक प्रतिभा, सृजना र साधनाले खारिएका साहित्यकार संस्कृतिकर्मी जति सबै नै नक्कली सिक्काले धपाइएका सक्कली सिक्काजस्तै बनेको छ । यिनको नियति कि त विदेशी माटोमा भास्सिनु, कि स्वदेशमै नक्कलीहरूका चुरीफुरी हेरेर बस्न अभिशप्त बनिरहेको छ । यो सामाजिक विकृति आजको क्यान्सरभन्दा बढी घातक सामाजिक रोग बनिरहेको छ । अनि यही रोगले अनियमितता, अन्याय, अत्याचार, पद तथा अख्तियार दुरूपयोग, भ्रष्टाचारजस्ता सङ्क्रामक रोगाणुहरूको सहउत्पादन गरिहेको छ । श्यामबहादुर लामाका निबन्धहरूको आधारभूमि यिनै पृष्ठभूमि हुन् । अघिल्लो सङ्ग्रहमा जस्तै यो हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमा सङ्ग्रहीत निबन्धहरूका मूल आवाज पनि यिनै विकृति, विसङ्गति र सामाजिक विभेद रहेका छन् । लामाका निबन्धमा अन्तर्निहित स्वार्थ समाजलाई यिनै विकृतिबाट मुक्त बनाउने अभियानमा सहयोगी बन्ने प्रयास नै हो । लामाबाट यो समाजले पाउँदै आएको महत्त्वपूणर् योगदान पनि विकृतिमुक्त समाज निर्माणमा हास्यव्यङ्ग्यका माध्यमबाट सकेको पाठकीय चेतना अभिवृद्धि गर्नु नै हो । यसमा उनको कलम सफल छ र पढेपछि पाठकमा यिनले यस्ता सामाजिक विकृति विरुद्ध एउटा स्पष्ट सोचको विकास गर्छन् । नेपाली हास्यव्यङ्ग्य निबन्धको इतिहासमा उनको नाम हटाइदिने हो भने यसले निश्चय पनि पूणर्ता पाउन सक्दैन, यो मेरो ठम्याइ हो ।

भैरव अर्यालकै सम्पादनको गोरखापत्र शनिवासरीय परिशिष्टाङ्कमा वि.सं. २०२५/२०२६ तिर ‘धर्मपुत्र’ शीर्षक हास्यव्यङ्ग्यबाट प्रकाशनयात्रा प्रारम्भ गरेका निबन्धकार लामाको साहित्ययात्रा यस हिसाबले चार दशक पूरा गरिसकेको छ । उनको पहिलो हास्यव्यङ्ग्य सङ्ग्र्रह ‘मेरो गोरु’ भने वि.सं. २०५२ मा मात्र प्रकाशनमा आयो । त्यतिबेलाका हास्यव्यङ्ग्यको विकासमा समर्पित ‘मुस्कान’ जस्ता पत्रिकाका साथै ‘मधुपर्क’ जस्ता पत्रिकामा निरन्तर प्रकाशित भइरहेका छन् श्यामबहादुर । उनको लेखनमा निरन्तरताका साथै वैचारिक स्पष्टता र भुइँमान्छेका समस्याको प्रकटीकरण तर्फ समर्पित रहनुले पनि उनलाई सफल हास्यव्यङ्ग्यकारमा स्थापित गरेको छ । उनी कम लेख्छन्, तर राम्रो लेख्छन् । यो पनि उनको एउटा विशेषता नै हो ।

हास्यव्यङ्ग्यकार बालमुकुन्ददेव पाण्डेले भन्नुभए जस्तै ‘हास्यव्यङ्ग्यको मुख्य उद्देश्य समाजमा प्रचलित कुरीति एवम् विकृतिहरूलाई सहज किसिमले प्रहार गर्नुका साथै पाठकलाई मनोरञ्जन प्रदान गर्नु हो ।’ (आधुनिक नेपाली हास्यव्यङ्ग्य, सं. भाउपन्थी, नेपाल प्रज्ञा प्रतिष्ठान, २०६६)। श्यामबहादुर लामाका हास्यव्यङ्ग्य निबन्धले यसरी नै समाजमा प्रचलित कुरीति एवम् विकृतिहरूलाई सहज किसिमले प्रहार गर्दै पाठकलाई स्वस्थ मनोरञ्जन प्रदान गरेका छन् ।

हाँस्नु सजिलो छैन । हँसाउनु त झनै सजिलो हुने कुरा भएन । त्यसमाथि हसाउँदा हसाउँदै गम्भीरतापूर्वक सोच्न बाध्य तुल्याउनु झन् सजिलो छैन । हरक्षण स्वार्थ, लेनदेन र सबै कुरालाई व्यापारजन्य व्यवसाय बनाउने मनहरू निश्चय नै प्राकृतिक हाँसो हाँस्न सक्दैनन् । त्यसैले यो हाँस्ने हँसाउने काममा जो जो समर्पित हुनुहुन्छ, सबैको प्रयास स्तुत्य छ, लामाको जस्तै । यति हुँदाहुँदै पनि लामाका निबन्धमा अझै खोजेजति हास्य र व्यङ्ग्यको सम्यक सन्तुलन सबैतिर भेटिँदैन । उनको मात्र होइन, भैरव अर्यालजस्तो केही सीमित नामलाई अपवाद मान्ने हो भने यो श्यामबहादर लामाको मात्र नभएर समग्र नेपाली हास्यव्यङ्ग्य साहित्यकै कमजोरीको रूपमा रहेको छ । अधिकांश नेपाली हास्यव्यङ्ग्य निबन्धमा कि एकोहोरो व्यङ्ग्य, कि सतही हास्य मात्र फेला पर्छन् भन्दा बढी नठानिएला । तर पनि लामाका निबन्धले समकालीन समग्र सामाजिक प्रवृत्तिलाई सफलतापूर्वक आफ्नो व्यङ्ग्यवाणको निशाना बनाए पनि यिनमा अझै अर्यालका निबन्धमा जस्तो विश्वजनिन साझा प्रवृत्तिका कमजोरीमाथि दृष्टिकेन्द्रित गर्ने दिशामा अभ्यास आवश्यक लाग्छ । तर उनको लेखनले समकालीन नेपाली हास्यव्यङ्ग्य लेखनमा स्पष्ट स्थान राख्दछ र टड्कारो पहिचान प्राप्त गरेको छ ।

रमेश विकलकै कर्मथलो आरुबारीमा वि.सं. २००७ सालमा जन्मेका हास्यव्यङ्ग्यकार श्यामबहादुर लामा आफूले साहित्य लेखनको प्रेरणा पनि रमेश विकलबाटै प्राप्त गरेको बताउँछन् । नेपाली साहित्यमा हास्यव्यङ्ग्य शिरोमणिका रूपम स्थापित भैरव अर्यालको नाउँमा स्थापित ‘भैरव नवप्रतिभा पुरस्कार-२०५१’ समेत प्राप्त गरेर आफ्नो लेखन क्षमताको पुष्टि गरेका छन् श्यामबहादुर लामाले ।

आजको युग साधना, सृजना र समर्पणभन्दा पनि आत्मविज्ञापनको युग बन्दै गएको छ । हल्लाको बजारमा आफूलाई बिकाउन नसक्नेहरू ठूलो सृजनधर्मीमा गाना हुन छाडेका छन् । यस्तै आजको युगमा सबै कुरालाई बजार मनोविज्ञानको आँखाले हेर्ने सञ्चारमाध्यम र तिनका गुमस्ता साहित्यिक टिपोटकारहरूको आँखामा जति नै साधनारत रहे पनि गुटगत विज्ञापन गराउन नचाहनेहरू चढ्न सक्दैनन् । उता सत्ता र तिनका गुट, नेता अनि साहित्यकार संस्कृतिकर्मीका बाहेक अरूको सिर्जनात्मक समर्पण, निरन्तरता र योगदान गणना हुन छाडेको आजको समयमा श्यामबहादुरहरू सही मूल्याङ्कनमा पर्दैनन् । राजनीतिक दलका सांस्कृतिक साहित्यिक नेतृत्वनिकट बन्न नचाहने स्रष्टाहरूको पनि योगदानका आधारमा सही मूल्याङ्कन हुन सक्दैन । यही यथार्थका शिकार हुन् श्यामबहादुरजस्ता सष्टाहरू !

हो, श्यामव्यङ्ग्यको वर्षा गर्न कस्सिएर निस्किएका छन्, श्यामबहादुर लामा फेरि दोस्रो यो सङ्ग्रहमा । यस सङ्ग्रहमा उनले प्रकाशित विभिन्न अठारवटा हास्यव्यङ्ग्य निबन्धका सुस्वादु मीठा परिकारहरू पस्किएका छन् । मायाको मीठो कुत्कुतीजस्तै लामाका मीठा यी परिकारले कतै कुतकुती लगाउँदै हँसाउँछन्, कतै भित्र मीठै गरी कोक्याउने कोर्रा हान्छन् ।

निबन्धका कतिपय ‘यो काकी के भा’की’ जस्ता अनुप्रासात्मक शीर्षकले सुरुदेखि नै पाठकलाई आकर्षित गर्छन् । काले काले मिलेर खाऊँ भाले’ जस्ता जनजिब्रोमा प्रचलित उक्तिहरूले पनि उत्तिकै तान्दछन् । विषयको विविधता र व्यापकता छ निबन्धमा । यति भएर प्राय सबैमा समानखाले विकृति र तिनमा पनि सामाजिक तथा आर्थिक भ्रष्टाचार सन्दर्भहरूको पुनरावृत्तिका कारण कतै कतै प्रभावकारितामा पनि पुर्याएका छन् ।

सङ्ग्रहको पहिलो रचना ‘कालेकाले मिलेर खाऊँ भाले’ समकालीन विश्वमा चलिरहेको शक्ति आतङ्कको चित्रण गर्न सफल छ । यस दृष्टिले लामाका अन्य रचनाभन्दा यो निबन्धले राष्ट्रिय प्रवृत्तिको उल्लेख गर्दै विश्वजनीन चरित्र र प्रवृत्तिलाई समेत राम्ररी प्रकट गरेको छ । हुन पनि कामभन्दा हल्ला बढी गर्ने र समय भिड्कीसकेपछि सल्लाह गर्ने हाम्रो सनातन राजनीति अभ्यास र प्रशासनिक तथा योजनारूपी कर्मकाण्डका हुने सतही गतिविधिलाई यसले व्यङ्ग्यको झटारो हान्दै ढाड भाँचेको छ । यसरी नै विश्वशक्तिको दण्डा नचाएर अर्काको सार्वभौम अपमानित गर्दै मानवताका गोरा छालाहरूको कच्चा चिठ्ठा खोलिएको छ यसमा यो निबन्धमा लेखकले भनेजस्तै मानिसभित्र विद्यमान नियत, प्रवृत्तिको पहिचान र मूल्याङ्कन साँच्चै नै रंग, वणर् वा ब्राह्य कुराबाट मात्र गर्न सकिदैन । किनकि, कति काला अनुहारका गोरा मनहरू मानवताको हितमा आज पनि आफूलाई समर्पित गरिहेका छन् । उता कति छालाभित्रका काला मन भने शक्ति र प्रभुत्व कायम गर्ने होडमा मानवअधिकार र का नाउँमा आम मानवको मानवअधिकार र अर्काको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकता हत्या गरिरहेका छन् । तिनका तराजुमा सबै कुरा हतियारको व्यापारसँग जोखिने गरिन्छ । यसरी निबन्ध आजको विश्वमा वर्तमानले भोग्नुपरिरहेका नयाँ नयाँ हिटलरी साम्राज्यको विश्वसन्दर्भलाई राम्ररी प्रस्ट्याउन सफल देखिन्छ ।

यति मात्र होइन, निबन्धको शीर्षकले नै देखाउँछ आजको हाम्रै आम प्रवृत्ति हो यो कालेकाले मिलेर खाऊँ भाले को मिलेमतो । नेपाली लोकजीवनमा प्रचलित यो लोकोक्तिले राम्ररी नै मानवीय स्वार्थको उद्घाटन गर्नुका साथै आजको राजनीतिक भागबण्डा र त्यसले खोसेको राष्ट्रको भविष्य राम्ररी प्रस्ट्याएको छ । लोकोक्तिमा अन्तनिहित भावलाई लिएर सामयिक चिन्तनको पोको फुकाउँदै मानवीय दुनिंयत तथा दुषवृत्तिमाथि व्यङ्ग्यको तीखो छर्रा छाडिएको छ, र रमरम हास्यको जलप त हुने नै भयो ।

सङ्ग्रहको दोस्रो निबन्ध ‘नवीकृत नवयुवा’ नक्कली जवानी उमारेर मानसिक रागात्मक चाहना प्राप्त गर्ने वृद्ध कायाजस्तै वृद्ध पुस्ताबाट नेपाली राजनीति गतिहीन बनेको यथार्थ तर्फ लक्षित छ । यति मात्र होइन, यस्तै प्रवृत्तिले राजनीतिमा अपराधिकरणको संरक्षण भइरहेको सत्य उद्घाटन गर्नुका साथसाथै निबन्धले नयाँ पुस्ताले राजनीतिलाई सही मार्गमा प्रवृत्त नगराउन्जेल कपाल रङ्गाएर जवानीको भ्रम पाल्ने बुद्ध पुस्ताजस्तै भ्रमित रहेर सही बाटो लिन नसक्ने कुरा व्यङ्ग्यात्मक रूपमा प्रकट गरिएको छ । सडकमा देखिने पैदल यात्रीदेखि ट्राफिक प्रहरीसम्मको अराजकता र तिनै अराजकता कसैका लागि मड्सिरे खेती बनिरहेको सत्य रमाइलो पाराले प्रकट गर्छ तेस्रो निबन्ध ‘आफ्नो मान्छे’ ले भने सोही पृष्ठभूमिमा हुने गलत व्यवहार र कर्मचारीको भोलिवादलाई पनि प्रस्ट्याएको छ । चौथो शीर्षक ‘आफ्नै विवाह’ ले संसार २१ औं शताब्दीमा पुगिसक्दा पनि समाप्त हुन नसकेको बाल विवाह, अनमेल विवाहजस्ता सामाजिक विकृति औँल्याउँदछ । यी रोग हाम्रो आजको पनि यथार्थ हो । यही यथार्थलाई औँल्याएको छ यसले समाजमा विद्यमान अव्यवस्थामा, प्रशासनिक बेथिति लगायत सामयिक समस्या र विसङ्गतिमायि तीव्र व्यङ्ग्य प्रहार भएको तेस्रो निबन्धको शीर्षक भने त्यति सान्दर्भिक देखिँदैन ।

सङ्ग्रहको पाचौँ ‘बण्डापत्रको भण्डाफोर’ शीर्षक निबन्ध राजनीतिक र बाह्य हस्तक्षेपको अवस्था, गुन्डा र डनको भरमा चल्न थालेको समकालीर राजनीति अनि हिंसा, हत्या र आतङ्कको बढ्दो वर्चस्वमाथि सटिक व्यङ्ग्य गर्छ । यस्तै छैटो निबन्ध – ‘भ्रष्टाचाराय नम’ ले भ्रष्टाचार गरेर राजनीति र उत प्रशासनको बागडोर लिनेहरू रातारात कसरी करोडपति बनिरहेका छन् प्रस्ट्याउँदै भ्रष्टाचारी भने कतै नदेखिने रोचक विडम्बनाको अनौठो खेलप्रति कठोर व्यङ्ग्य प्रहार गरेको छ ।

लगभग यिनै केन्द्रीय भावको वरिपरि घुमेका छन् बाँकी निबन्धहरू पनि । ‘अन्तहीन प्रजातान्त्रिक अभ्यास’ भन्ने अर्को निबन्धको शीर्षकले नै बताउँछ निबन्धको मूल भाव । हुन पनि प्रजातान्त्रिक अभ्यासको नाउँमा हुने भ्रष्टाचार, निजीकरणका नाउँमा बढाइएको औद्योगिक परनिर्भरता, असंसदीय अभ्यास र सांसद् किनबेचजस्ता गैरसंसदीय अभ्यासमाथि जति नै प्रहार गरे पनि पुग्दैन । यी प्रवृत्तिहरूले प्रजातन्त्र स्वयम्को हँस्सी उडाइरहेको छ, अवमूल्यन गरिरहेको छ । सङ्ग्रहको आठौँ निबन्ध ‘बधाई छ क्रियापुत्रीहरूलाई’ प्रजातन्त्रको पुनरावृत्तिपश्चात् बजार अर्थतन्त्रको नाउँमा कमिसन खाएर राष्ट्रिय उद्योगहरू बेचेर मुलुकलाई परनिर्भर र पराश्रयी तुल्याउन खोलिएको भरौटे खेलका खेलाडीहरूको कच्चा चिठ्ठा निर्भिकतापूर्वक खोल्दछ ।

हुन पनि आफ्नो क्षमताको विकास नै नगरी विश्व अर्थव्यवस्था प्रवेशको नाउँमा डब्लुटिओजस्तो औद्योगिक राष्ट्रहरूको स्वार्थमा ल्याइएको प्रणालीको सहभागीभन्दा मुलुक परनिर्भर विदेशी उत्पादनको बजारका रूपमा मात्रै परिणत हुँदै गयो । रोजगारी गुम्दै गयो, युवा जनशक्ति विदेशिन बाध्य बन्यो । उद्योगधन्दासँगै आर्थिक क्षमता कमजोर हुँदा हाम्रो आर्थिक बार्गेनिङ क्षमता पनि कमजोर हुँदै गयो । यिनै कुरासंग कुर्सी र सत्ताप्राप्तिको लोभमा राष्ट्रियता पनि विदेशी पाउमा चढाउँदै जाने प्रवृत्ति बढ्दै गयो । यो हाम्रो तीतो यथार्थ हो र यसलाई राम्ररी औँल्याएको छ लामाको ‘बधाई छ क्रियापुत्रीहरूलाई’ शीर्षक व्यङ्ग्य निबन्धले ।

यसरी नै ‘अन्याय’ शीर्षक निबन्ध सत्तासीन दलका मैमत्त कार्यकर्ता, सत्ता प्रभावित न्यायव्यवस्था र त्यसमा प्रवेश गरेको अन्यायले आज शक्तिको स्रोत जनता नभएर भ्रष्टाचारबाट आर्जित पैसा बन्दै गएको यथार्थ प्रकट गर्छ भने मुलुक खेलाडीको खेलमैदान बनेर बाह्य हस्तक्षेपको दादागिरी शिरमाथि पगिसक्दा पनि सत्तास्वार्थका कारण कोही बोल्न अघि नसरेको तीतो सत्य रोचक र घोचक ढङ्गमा प्रस्तुत गर्छन् निबन्धकार ‘फटबल कमेन्टरी’ शीर्षक निबन्धमा ।

एघारौं निबन्ध ‘डम्पिङ साइट’ फोहरमाथि समेत भ्रष्टाचार भइरहेको यथार्थ प्रकट गर्छ भने ‘बोकेको कुकुर’ राजनीतिमा प्रचलित ‘पुच्छरले कुकुर हल्लाउने’ उक्तिलाई राम्ररी सम्झाउँछ । हुन पनि सरकार बनाउन र ढाल्न समेत यस्तै पार्टी हल्लाउने कुकुरहरूको चर्तिकलाका कारण सिङ्गो राष्ट्रिय स्वाभिमान र अस्मिता समेत किस्तीमा सजाएर स्वामीभक्त कुकुरहरू मालिकको पाउमा चढाउन आतुर रहने प्रवृत्ति बढ्दै गएको छ । यस प्रवृत्तिको राम्रो चित्रण छ यसमा अर्को निबन्ध ‘यो काकी के भा’की’ ले धर्मको नाउँमा हुने असामाजिक कार्यव्यापार औँल्याएको छ भने ’भ्यागुताको विवाह’ सामान्य सामाजिक विसङ्गतिप्रति लक्षित रहेको देखिन्छ ।

यसरी नै चचां गर्न छुटेको अर्को ‘आफ्नो मान्छे’ ले फेरि पनि ट्राफिक प्रहरीको सवारी चालकप्रति हुने गलत व्यवहार र हाम्रा कर्मचारीको भोलिवाद प्रस्ट्याएको छ । भने ‘बाउले छोरो चिनेन’, ‘हिज एम्बेसडर्स गभरमेन्ट अफ नेपाल’, ‘लोपोन्मुख ढुकुर’, ‘मलाई रुन्चे लागेछ’ जस्ता सबै नै निबन्धका चिन्तन पनि राष्ट्रिय अस्मिता, वैयक्तिक स्वाभिमान, बदलिँदो सांस्कृतिक मूल्य, मान्यता र त्यमास देखिँदो विकृतिका साथै त्यसमा परिरहेको बाहिरी प्रभाव आदि नै हुन् । अस्तु ।

विजय निवास, आरुबारी २०७१ कार्तिक ९

‘रत्यौलीको ठट्यौली’ (२०७२), भूमिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x