साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पनि सन्तभक्ति गर्छु !

किन पो डराउने हँ ? त्यमाथि डुब्नै लागिएछ भने पनि टुप्पी समातेर उतार्ने र सात पुस्तासम्म ऐश्वर्यको वैतरणी पार गराउने महात्माको पाउ र बलिष्ठ भक्तहरूको बलियो पाखुरा छँदैछन्। तिनलाई टपक्कै समातिहाल्छु भने किन पछाडि हट्नु र ?

Nepal Telecom ad

विजय चालिसे :

सर्वधर्मान्परित्यज्य, मामेकं शरणंब्रज
अहंत्वा सर्वपापेभ्यो, मोक्षयिष्यामी माशुचः । (भागवत्‌गीता १८।६६)

आजसम्म सांसारिक जञ्जालमा फसेर परिवारको उदरपोषणमा आफूलाई चुर्लुम्म डुबाइरहेको भए तापनि मभित्रको संस्कार, संस्कारजन्य भक्तिभाव भने ठ्याम्मै मरेको थिएन । त्यसमाथि एकदिन जटाजूटधारी साक्षत् कृष्ण भगवानकै नयाँ संस्करण हुन् कि झैं देखिने साधु महात्माको मुखारबिन्दबाट गीताको माथिको उपदेश सुनेपछि त ममा पनि तिनै महात्माको पाउ समातेर – लौ भगवान् मेरो र मेरा परिवारको पनि डुङ्गा पार लगाइदे्‌ेऊ भन्ने इच्छा प्रवल हुँदै गयो । अर्को मनले भने साधु महात्माको भक्ति र सेवा गरेर भुक्तभोगी भइसकेका एकजना साथीको भनाइ पनि झल्याँस्स सम्झायो –आजभोलि साधु–महात्माको भेष्मा चरेश र मूर्तिदेखि जाली नोटसम्मको व्यापार गर्ने मानिस पनि पाइन्छ । त्यसैले कताकता डर पनि लाग्यो, यस लोक र परलोक दुवै फलदायी बनाउने धोकोले माहात्माको भक्ति गर्न खोज्दाखोज्दै समाधिस्थल चाहिँ मामाघरको चिसो छिँडी हुनपुग्यो भने ? आफू पोल्टिस र पुल्टिसमा लग्या भए पनि भला मामाघरको चिसो छिँडी मन्त्री पदको प्रमाणपत्र बन्थ्यो । आफ्‌ना चेलाचाँटीले जुनसुकै मुद्दामामिलालाई पनि राजनीतिक रूप दिइहाल्थे । तर के गर्नु, आफू भइयो यता न उताको –पिँध नभएको गाग्रोजस्तै । मन ढक्क फुल्छ ।

मनमा जे भए पनि महात्माको आश्रमतिर यसो आँखा पुर्‍याउन थाल्छु र कान चाहिं भक्तमण्डलीको कुराकानीतिर ! कसैलाई त्यहाँ उपस्थित भएका सचिवज्यूको सम्बोधनले तेल–बेसार घस्दैछन्, कोही कसैलाई हातमोल्दै माननीयज्यूको मन्त्रले पूजाआजा गर्दैछन् ! कोही कसैलाई डाइरेक्टरसाबको चास्नी चटाइरहेका छन्, त कोही कसैलाई करसाब, जरसाबको ! भक्तहरू पनि विभिन्न खालका देखिन्छन् –कोही महात्माको वचनामृतमा चुर्लुम्म डुबेका, कोही भने माननीय, जीएम, डाइरेक्टरजस्ता महापुरुषहरूको सेवाचर्या र चिल्लोघस्न र चाप्लुसी गर्नमा व्यस्त ! अनि आश्रमको केही पर चाहिँ ताँती छन् सेना र पहेंला नम्बरप्लेटका महँगा महँगा सवारी साधनको ।

यस्तो देख्ता आफ्‌नो ढुकुरे छात्ती पनि गर्वले ढक्क फुल्छ– ओहो, कति महान् छ मेरो सरकार ! सरकारी मोटर र महँगो तेल खर्चेर पनि आफ्‌ना नीतिनिर्धारक कर्मचारीलाई धर्मकर्ममा लिप्त बनाएर सत्वगुणयुक्त बनाउने यस्तो योजना अरु कुन चाहिँ देशमा छ भन्नोस् त ! सँच्चै हिन्दुराष्ट्रको आदर्श पालन गरेको देख्दा अति नै खुशी लाग्छ । तपाईँ भन्नुहोला, यी कहाँ सत्वगुणी छन् र ? पञ्चमकारको पञ्चामृत र उपहार तथा सौगातका पूजासर्जाम नपाई यी केही गर्दैनन्, जनताको पसिनामा मोजमस्ती गर्ने मात्र हुन् यी ! अहँ म यो कुरा मान्दिन – जुनसुकै कुराको लागि पनि योग्यता हुनुपर्छ । तपाईं आफू त्यस ठाउँमा पुग्न सकिएन भनेर अरुको दोष देख्न पाइन्छ र ? खोई तपाईंमा त्यहाँसम्म पुग्ने योग्यता र क्षमता ? ल…भन्नोस् त – तपाई वैभवसम्पन्न कुलमा जन्मनुभयो ? कोही छन् तपाईंका साला, भिनाजु मामा, काका र त्यस्तै ठूला तहमा कुनै नातागोता ? कसैलाई आजसम्ममा कुनै उपहार नजरानाले शिरदेखि पाउसम्म पुर्न सक्नुभएको छ ? …छैन, अब यस्ता कुनै गुण र योग्यता नै नभई त्यो सम्मान पाइन भनेर अर्काको ईर्ष्या गरेर मात्रै हुन्छ त ? अनि उनीहरूले पञ्चमकार र यस्तै कोसेलीपातका पूजासर्जाम लिन्छन् भन्ने गुनासो होइन तपाईंको ? आयको दशांश दान गरेपछि जस्तो पनि पच्दछ र कालो पनि सबै सेतो बन्छ भन्ने हाम्रा पण्डितबाजेहरूले सुनाउँदै आएका ज्ञान बारे केही थाहा छैन तपाईंलाई ? अनि नबोल्ने शिवजी महाराज त पुजारी भट्ट्हरूलाई उपहार नदिउञ्जेल तेस्रो नेत्र खोलेर मागेको वरदान दिँदैनन् भने, यी त साक्षत् बोल्ने महादेव !

अब आफ्‌ना पूर्वसोचाइमा डर लाग्न थाल्छ । यस्ता ठूला ठूला महात्माहरूका बारेमा पनि मैले चाहिने नचाहिने के के पो सोचें ! महात्माहरू त्रिकालज्ञ र अर्काको मनका कुरा जान्ने हुन्छन् भन्छन्, कतै मेरो मनको कुरा पनि त्यसैगरी थाहा पाए भने ? यसो हेर्दा झट्ट लाग्यो पक्कै यिनले कृृष्ण भगवानको रूप लिएर आएका हुन्‌पर्छ, कृष्णले अर्जुनलाई दिएका वचनमा भनेजस्तै –
यदा यदाहि धर्मस्य, ग्लानिर्भवति भारत : ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ गीता ४/७ ॥
कै पालना गर्न यिनको यस लोक, हाम्रो हिमवत्खण्डमा अवतरण भएको हुनुपर्छ । एक त यिनको पुष्ट चिल्लो जिउडालले नै यिनी महात्मा हुन् भन्ने देखाउँछ । किन भने महान् आत्मामा अटाउन शरीर पनि त हृष्टपुुष्ट र ठुलै चाहिन्छ ! नभए खान नपाएर चाउरी परेको फुकीढल तपाईं हामी सबै नै महात्मा हुनुपर्ने, कसो ? तर त्यत्रो महत् आत्मा कसरी अटाउन सक्छ र हाम्राजस्ता साना शरीरमा ! अर्को कुरा, ल हामीजस्ता ऐरेगैरे भक्तलाई त महात्माले मूर्ख बनाए रे । नेपाल र नेपालीको टुप्पी समातेर कजाउँदै शाषन र भाषण गर्ने अनि नियम कानुन को घाँटी अट्ठ्याउने अङ्ग्रेजी ज्ञानले खारिएका यस्ता कञ्चन व्यक्तिहरूलाई त किमार्थ मूर्ख बनाउन नसक्नु पर्ने हो नि ? त्यसैले यी महात्मा साधारण होइनन्, पक्कै पनि धर्म र मानवको उत्थान गर्न साधुको रूप लिएर आएका साक्षात कृष्णभगवान नै हुन् !

त्यसरी आफ्‌नो शंसय नाश भएपछि मपनि महात्माको वचनामृत पान गर्न त्यहींको एक कुनामा बसिदिन्छु । महात्माका मुखारबिन्दबाट लोकपरलोक दुवै समान भएको् अमूल्य ज्ञान र प्रभूमा ली हुने अमोघ अस्त्रहरू एकपछि अर्को निस्कँदै जान्छन्, कुनै समाउन सक्छु, कुनै टिप्नै नपाई बीचैबाट फुत्केर जान्छन् ।

उहाँ भन्नुहुन्छ– हे भक्तजन, भगवान् कृष्णले जुन् कुरा उपनिषद्को साररूपी गीतामा आफ्‌ना भक्त अर्जुनलाई बताउनुभएथ्यो र अर्जुनले मोक्षप्राप्ति गरेर भगवान् कृष्णकै आत्मामा लीन हुने मौका मिलेथ्यो । म पनि आज मेरा भक्तजनलाई त्यही ज्ञानामृत पान गराउँदछु र आफूमा लीन गराउँदछु ।

“धन्य हो प्रभू…धन्य । प्रभू भगवान् कृष्णकै रूप हुनुहुन्छ । हामीले जानी नजानी गरेका सम्पूर्ण पापको नाश होस् प्रभू ! हजूरको वरद हस्त हमेशा शिरमा रहोस्, मोक्षप्राप्ति होस् !” ती सम्बोधनकर्ता महानुभावको अनुहारमा सबैको दृष्टि रोपिन्छ । पद, प्रतिष्ठा र ऐश्वर्यले दीप्त उनको अनुहारमा अलिअलि पूर्वकुकार्यका धमिलो पश्चातापको छाया पनि देखिन्छ । उनको त्यो आर्त पुकार सुनेर भगवान् अभयमुद्राको पारामा हात ठड्याउँदै भन्नुहुन्छ–

“घबराओ मत बच्चा… ! ससारमा जसले जे गर्दछ, त्यो उसको इच्छाले होइन, भगवान्‌कै इच्छाले मात्र हुने हो । भगवान्‌ले नचाहेमा कसैले चाहेर पनि एउटा सिन्कोसम्म भाँच्न सकिँदैन । चाहे राम्रो होस्, चाहे नराम्रो हामी सबै काम भगवाकै इच्छाको अधीनमा रहेछ गर्दछौं । भगवानकै प्रेरणाले गर्दछौं तसर्थ भगवान्‌को प्रेरणाले गरेको काममा फलको आशा नराखी जुन काम गरिन्छ र फल प्राप्ति भएमा त्यो भगवान् तथा भगवान्‌का प्रतिनिधिका रूपमा आएका हामीजस्तालाई निःस्वार्थ भावले (स्वार्थ भए पनि त्यसलाई गोप्य राखेर) अर्पण गरिन्छ भने यसको कुनै दोष लाग्दैन । त्यसैले वत्स, निर्भिक भएर कर्मपथमा अग्रसर होऊ त्यो चाहे सुकर्म होस् चाहे कुकर्म !”

“प्रभू….त्यसो भए किन त भगवान्‌का् प्रेरणाबाट गरिएका काममा पनि हामीलाई पाप र अपराध गरेको आरोप लाग्ने गर्छ ? हामीले भगवान्‌को प्रतिनिधिका रूपमा लिएका प्रसाद र नैवेद्यलाई पनि घूस भन्छन् र भ्रष्टाचारको आरोप लगाउँदछन् ? यस अज्ञानीको यो शंसय छेदन होस् प्रभू !” अर्का एक महापुरुष आफ्‌नो शंसय व्यक्त गर्दछन् । आफ्‌नो वर्गमाथि लागाइएको झुटो दोषको प्रतिवाद गर्छन् । उता महात्माद्वारा गरिएको गीतादर्शनको आधुनिक र समयानुकुल व्याख्या सुनेर सम्पूर्ण समर्पित भक्तहरूको आशा तेजपुञ्जले ढपक्कै ढाकिन्छ ।

“शंसय नै नरकको द्वार हो भक्तजन । तिमी जे गर्दछौ, निःशङ्क भएर गर ! अनि परमात्मा एकै छ , त्यसैले तिम्रो, मेरो र सबैका आत्मा अन्त्यमा गएर त्यही अविनाशी परमात्मामा लीन हुन्छ । तसर्थ हे वत्स ! जजसले तिमीलाई दोष दिन्छन् ती सबै अज्ञानी हुन् ! पूर्वजन्मको प्रताप र ईश्वरेक्षाका कारण कसैले पाएको ऐश्वर्यलाई घूस र भ्रष्ट धन भन्नु ती अज्ञानीहरूको नासमझी मात्रै हो । तर के चाहिँ बिर्सनुहुन्न भने त्यसरी प्राप्त धनऐश्वर्यको काममा पनि दशाशंह भने ईश्वरभक्तिमा अर्पण गर्नुपर्दछ र हामीजस्ता ईश्वरका प्रतिनिधिप्रति सधैं नतमस्तक भइरहनुपर्दछ ।”

महात्माको त्यस्तो अमृतवाणी सुन्न पाएर सम्पूर्ण भक्तगण आनन्दले गद्गद हुन्छन् । महात्माको त्यस्तो वचनामृत सुनेर म आफैं पनि हर्षले गद्गद बन्नपुग्छु । आजसम्म त्यस्ता साक्षत् कृष्णवतार महात्माको दर्शैन गर्नबाट वञ्चित रहनु परेकोमा दुःख पनि लाग्छ । यस अगाडि नै यस्ता भगवान्‌रूपी महात्माको दर्शन र वलचनामृत सुन्न पाएको भए पक्कै पनि म कहिल्यै सूर्यदर्शन गर्न नपाउने दुम्सीको खोरझैं डेरा र खरिदारको नोकरीबाट फड्कोे मारेर पक्कै पनि शादार बङ्गला र ठूलै हाकिम पदको मालिक बनिसक्थें होला ! हुन पनि कतिले प्रत्यक्ष लाभ पाएरै त होला यत्तिका धेरै भक्त अघिपछि लागेका ! यतिञ्जेल त मूर्ख भइयो, भइयो– अब त म पनि पक्कै मूर्ख बन्दिन । आजैदेखि कृष्णरूपी भगवान् र उहाँका वरिष्ट भक्त महापुरुषहरूको सेवासुश्रुषाद्वारा आफ्‌नो उन्नतिको भर्‍याङ ठड्याउँछु । …बुझ्‌नुभो अब त म पनि शंसयहीन सौगात र उपहार दुवै हातले सोहोर्छु ।

भगवान्‌का प्रतिनिधिले निर्धारित गरेका दशांश यिनै महात्मारूपी प्रतिनिधिहरूलाई अर्पण गरेमा जतिसुकै कालो पनि सेतो भइहाल्छ भने किन पो डराउने हँ ? त्यमाथि डुब्नै लागिएछ भने पनि टुप्पी समातेर उतार्ने र सात पुस्तासम्म ऐश्वर्यको वैतरणी पार गराउने महात्माको पाउ र बलिष्ठ भक्तहरूको बलियो पाखुरा छँदैछन्। तिनलाई टपक्कै समातिहाल्छु भने किन पछाडि हट्नु र बुझ्‌नुभो’ अब म पनि महात्माको भक्ति गरेर उन्नतिको गोरेटो फारकिलो पार्छु– म पनि सन्तभक्ति गर्छु ।

०००
परिप्रेक्ष्य द्वैमासिक, फागुन–चैत (२०३८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x