साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी

हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने कसैले मिलाइदिनुपर्ने, हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने कसैले छुट्टयाइदिनुपर्ने, हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने हामी रङ्ग–रोगन छुटेका, टुटेका, फुटेका पुरानो क्यारमबोर्डका गोटी हौँ

Nepal Telecom ad

भूपि शेरचन :

हामी जतिसुकै माथि उठौँ,
जतिसुकै यताउति दगुरौँ,
जतिसुकै ठूलो स्वरमा गर्जौ
तर, हामी फगत् पानीको थोपा हौँ
पानीका निर्बलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौ
र बादल बन्छौँ,
हाबाको इसारामा यताउति दगुर्छौँ
र आफूलाई गतिशील भन्ठन्छौँ,
अनि एक चाेटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सर्न्छौँ
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुकेझैँ
हामी भुक्तछौँ
र आफ्नो कुकुरभुकाइलाई गर्जन भन्ठान्छौँ
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचूर हुन्छौँ
र फेरि परिणत हुन्छौँ पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर विताउँछौँ बाँकी जीवन
टर्र टर्र टर्टराउने घिनलाग्दा भ्यागुताहरु पालेर,
विष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठौँ
जतिसुकै यताउति दगुरौ
जतिसुकै ठूलो स्वरमा गर्जौ
तर, हामी भित्र–भित्रै खाक्रा छौँ
हाम्रो उठाइको कुनै महत्व छैन,
हाम्रो दगुराइको कुनै लक्षय छैन,
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टोको ‘छ्वाइँय’ भन्दा बढी वजन छैन।
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र–भित्र निरन्तर खिइदै र घिस्सिदै गइरहेका छौँ
हाम्रो बाहिरको उचाइ झुटा हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रेका च्याउका उँचाइभन्दा
यसको बर्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने
भारतीय चटकेको उँचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
सर्कसको जोकरको उँचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उँचामा रमेका छौँ, लट्ठिएका छौँ, फुलेका छौँ
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइदै र घिस्सिदै गइरहेको कुरालाई भुलेका छौँ
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौँ
हामीले आफ्नो विगत उँचाइलाई बिर्सिसक्यौँ
हामीले मानिसको सामान्य उँचाइलाई बिर्सिसक्यौँ
हामीले सामान्य मानिसको उँचाइलाई बिर्सिसक्यौँ
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वर्णित ‘गुलिभर’ झैँ
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौ
हामी उसलाई हेरेर छक्क पर्छौ
हामीलाई उसको उँचाइ देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काई देखेर डर लाग्छ
र त हामी आफ्नो हीन भावनाका
सियो जत्रा स–साना हतियारहरुको उसमाथि
प्रहार गर्छौ
उसको अङ्ग–प्रत्यङ्गमा चढ्छौँ
उफ्ररन्छौँ
टोक्छौँ
चिमोट्छौँ
र अन्त्यमा थकित भएर तल ओर्लन्छौँ
शान्त हुन्छौँ
समर्पित हुन्छौँ
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
ओर्लेर त्यसको पाउ पखालेझैँ
हामी पुज्न थाल्दछौँ त्यो साधारण मानवलाई
महान् भनेर
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र–भित्रै निरन्लर खिईदै गइरहेका छौँ
हामी ‘लिलिपुट’का मानव हौँ।
हामी लघुमानव हौँ।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टयाइदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग–रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौँ
एउटा मनोरञ्जक खेलका सामग्री,
एउटा खेलाडीमाथि आश्रित
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौँ।
हामी वीर छौँ
तर बुद्धू छौँ
हामी बुद्धू छौँ
र त हामी वीर छौँ
हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौँ
हामी महाभारतको कथामा वर्णित एकलव्य हौँ
प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
हामीलाई ज्ञान दान गर्नबाट इन्कार गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई
तर, हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउछौँ
आफ्नो झप्रो अगाडि,
त्यसलाई पुज्छौँ
ढोग्छौँ
निरन्तर धनुर्विद्याको अभ्यास गर्छौँ
र द्रोणाचार्यका अन्य कुलीन
चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्छौ
तर, हाम्रो कुशलतादेखि आश्चर्यचकित
र भयभीत भई
प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु–दक्षिणा माग्छ
र हामी सहर्ष उसको इशारामा
आफ्नो बूढी औंला काटेर उसलाई भेटी दिन्छौँ,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गर्छौ
र मक्ख पर्छाै आफ्नो गुरुभक्ति माथि
आफ्नो आत्मशक्तिमाथि
त्यसैले त हामी वीर त छौँ
तर, बुद्धू छौँ
हामी बुद्धू छौँ
र त हामी वीर छौँ
हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौँ
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनाैँ।
हामी पाइतला हौँ
केबल पाइतला
र फगत पाइतला
पाइतला : जसको भरमा शरीर उभिन्छ
पाइतला : जसको आधारमा शरीर हिँड्छ
पाइतला : जसको भरोसामा शरीर दगुर्छ
पाइतला : तर जो भन्ठान्छ कि
शरीरलै कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाइई सँगै–सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ
सधैँ शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधैँ–सधैँ नतमस्तक रहन्छ
हामी पाइतला हौँ
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लाउने घाँटी अर्कै छ
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इशारामा
टेक्ने, हिँड्ने र दगुर्ने पाइताला हौँ
केवल पाइताला
र फगत पाइताला।
हामी केही पनि ह्वैनौँ
र शायद त्यसैले केही ह्वौँ कि!
हामी कतै पनि, केही पनि छैनौँ
र शायद त्यसैले कतैै, केही छौँ कि!
हामी बाँचिरहेका छैनौँ
तर शायद त्यसैले पो बाँचेका छौँ कि !
त्यसैले आओ ए शून्य पूजकहरु !
हामी सब मिलेर पुजौँ यो शून्यतालाई
हामी सब मिलेर ढोगौँ यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई।

०००
रुपरेखा (२०१७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
हामी

हामी

भूपी शेरचन
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x