भूपी शेरचनहल्लै हल्लाको देश
म किरिया हाल्ने सामर्थ्यमा छु जीत तिम्रो हुनेछ जीत हाम्रो हुनेछ अन्तरिक्षमा मर्ने कुकुरको शोकमा गिर्जाघरमा रुने ढोंगी मानवता धरतीमा गरेको हत्याको पछुतोमा आत्महत्या गर्न बाध्य हुनेछ ।

आशिर्वाद जस्तो सिरानीमा उभिएको
माछापुछ्रे हिमालको छायामा उभिएर
म तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा हिमाल मानेर ।
अहिले तिमीलाई यो चिठी लेख्न बस्दा
मेरो कोठाको मौनता
परिणत भएको छ कुनै बौद्ध विहारको शान्तिमा
जहाँ बालेको धूपबाट निस्केका धुवाँझैं
बिस्तरी-बिस्तरी उठेर
मेरो अगाडि उभिरहेछ
तिम्रो बूढो र पातलो शरीर
एउटा अस्पष्ट तर पवित्र अनुहार बोकेर ।
र मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला छ- ‘लेते खोला’
तिमी जस्तै शान्त र दुब्लो
तर जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठुल्ठुला चट्टानहरूको पनि पाइला डग्मगाउँछ
र बाढी थामिएपछि
त्यसलाई छेक्न खोजेका घमण्डी पहराहरूले
आफूलाई भत्केको, भास्सिएको र चोइटिएको पाउँछन्
मेरो ‘लेते खोला’ !
म ढुक्क छु
तिम्रो बाढीले पनि मिल्क्याउनेछ
ती डलरका कात्रो बोकेर
तिम्रो देशमाथि आइलागेका बर्बरहरूलाई ।
भूगोलको परिधिले मलाई बाँधे तापनि
राष्ट्रहरूको बिचमा सिमारेखाहरूले
मलाई तिमीसँग बेग्ल्याए तापनि
यी सबभन्दा माथि जहाँ चेतना छ
यो सबभन्दा माथि सच्चा जहाँ मुटुको ढुकढुकी छ
त्यहाँ म तिमीसँग छु
र युद्धमा परेको छु
तिम्रो प्रत्येक घरको भत्काईमा म बेघर भएको छु
तिम्रो प्रत्येक पूलको टुटाईमा म टुटेको छु
तिम्रो प्रत्येक गोल-गोल मंगोल अनुहार भएकी
आइमाईको बेईज्जतीमा
मैले आफ्नी पत्नी र दिदी-बहिनीहरूलाई
बाटोमा निर्वस्त्र देखेको छु
तिम्रो प्रत्येक बौद्ध-बिहारको विध्वंसमा
मैले आफ्नो स्वयम्भुको ज्ञानचक्षुमा
आँसु उर्लिएको देखेको छु
तिम्रो हनोइमाथिको बमवर्षाको छिर्का
मैले आफ्नो धरहरामाथि परेको अनुभव गरेको छु
र बमवर्षाका रातहरू
मैले पनि जागरणका ट्रेन्चहरूमा बिताएको छु
को सक्छ निदाउन खरबारीमा
वरिपरी मुढाहरू दन्किरहेको बेलामा !
यी सबभन्दा बर्ता
यी सबभन्दा माथि
मैले तिम्रो प्रत्येक मृत सिपाहीबाट
बाँच्ने दर्शन सिकेको छु
जीवनको अर्थ बुझेको छु
र तिम्रो सानो देशको ठुलो आत्माबाट
मैले आफ्नो सानो सानो आत्माभित्र
एउटा ठुलो ज्योति सल्केको पाएको छु
हनोइमाथि होइन, मान्छेमाथि बम हो,
र मैले तथा मजस्तै
सारा मानिसहरूले ती बमहरूलाई
आफूमाथि पड्केको भन्ठानेका छौं
मेरो कमरेड !
मेरो हिमाल !
मेरो ‘लेते खोला’
विश्वास गर
मैले तिम्रो जीतको विश्वास गरेको छु
मानिस मर्छन्
जसरी डढेलोमा रुखहरू डढ्छन्
तर मानवता कहिल्यै मर्दैन
त्यो फेरि पलाउँछ
डढेलोपछि उम्रिने असंख्य च्याउहरूजस्तै
आशिर्वाद जस्तो सिरानीमा उभिएको
माछापुछ्रेको छायामा उभिएर
प्रतिज्ञाजस्तो वारिपरी दृढ उभिएका पहाडहरूलाई
हातेमालो गरेर
म किरिया हाल्ने सामर्थ्यमा छु
जीत तिम्रो हुनेछ
जीत हाम्रो हुनेछ
अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ ।
०००
‘घुम्ने मेचमाथि अन्धो मान्छे’
Subscribe
Login
0 Comments
Oldest











































