साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रखर व्यङ्ग्य चेतनाका कवि

भूपीले आफ्नो समयका राजनीतिक, सामाजिक, सांस्कृतिक जीवनका कुरुप पक्षहरू माथि गहिरो एवं मार्मिक व्यङ्ग्य गरेका छन् । आफ्नो समयको कुरुप यथार्थमाथि यति चोटिलो प्रहार त्यसबेलाका अरु कुनै कविहरूबाट भएको पाइन्न ।

Nepal Telecom ad

भूपी नेपाली काव्यफाँटका महत्वपूर्ण व्यक्तित्व हुन् । आरम्भमा मार्क्सवादी दर्शनबाट डोरिएका उनी आधुनिक नेपाली कविताका दोस्रो प्रहरका प्रखर प्रतिभा थिए । केही समय उनी कम्युनिष्ट राजनीतिमा पनि सक्रिय रहेका थिए । वि.स. १९९२ पुस १० गते मुस्ताङको थाक टुकुचेको सम्पन्न थकाली परिवारमा उनको जन्म भएको थियो । ०४६ साल जेठ १ गते उनको निधन भएको थियो । उनी साढे तीन दशक जति साहित्य सृजनमा सक्रिय रहे । तीसको दशकपछि सृजनशीलताका दृष्टिले उनी त्यति सक्रिय र उर्बर देखिन्नन् । उनका ‘परिवर्तन’ (नाटक, २०१०), ‘नयाँ झ्याउरे’ (कवितासंग्रह, २०११), ‘निर्झर’ (कवितासंग्रह, २०१२), ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (कवितासंग्रह, २०२७) र ‘भूपी शेरचनका कविता’ (कवितासंग्रह, २०५६) गरी पाँचवटा कृतिहरू प्रकाशित छन् ।

बीसको दशकको अन्त्यसम्मका उनका कविता मूलतः प्रगतिशील चेतनाबाट डोरिएका छन् । त्यसपछिका उनका कवितामा उनका पूर्ववर्ती कवितामा पाइने विशेषताहरू क्रमशः कमजोर बन्दै गएका छन् । उनमा निराशा, विसङ्गतिबोध र कुण्ठाको विकास हुन आरम्भ गरेको पाइन्छ । उनमा आएको यो परिवर्तन विचाराधारात्मक परिवर्तनसँग जोडिएको छ । दुईवटा ‘क’ अर्थात ‘कम्युनिष्ट’ र ‘कवि’ भएर बिग्रिएँ भन्ने उनको कथन यसैसँग सम्बन्धित छ । उनको लेखकीय जीवनको उत्तराद्र्ध लेखनका दृष्टिले त्यति महत्वपूणर् हुन नसक्नुमा यसले पनि काम गरेको छ । २०१६ देखि २०२५ सालसम्मको अवधिमा लेखिएका उनका कविता सर्वाधिक शक्तिशाली छन् । यस अवधिका केही कवितालाई छाडिदिने हो भने उनका समग्र कवितामा प्रगतिशील चेतना पाइन्छ । यही चेतनाको सशक्त कलात्मक अभिव्यक्ति उनको सबैभन्दा महत्वपूणर् विशेषता हो ।

भूपी नेपाली कवितामा विकसित आधुनिकतावादी धाराका विरुद्ध संघर्ष गर्दै आफ्नो कविता लेखनलाई उचाइ प्रदान गरेका स्रष्टा हुन् । २०१६ सालपछि आधुनिक नेपाली कवितामा आधुनिकतावादी दृष्टिकोण र प्रवृत्तिको विकास भएको थियो । पश्चिममा आधुनिकतावादको जन्म प्रयोगपरक एवं अम्बागार्द प्रवृत्तिका रुपमा भएको पाइन्छ । आधुनिक नेपाली कवितामा पाइने प्रतीकवादी, अतियथार्थवादी, विसङ्गतिवादी, शून्यवादी आदि दृष्टिकोण र प्रवृत्तिहरू आधुनिकतावादका दृष्टान्त हुन् । यस्ता कवितामा अन्तर्वस्तुका रुपमा विसङ्गति, कुण्ठा, निराशा, अराजकता, विद्रोह, पलायन आदि आएका छन् । प्रयोग, अमूर्तता, क्लिष्टतता, जटिलता, अबोधगम्यता यस्ता कविताका शिल्पगत विशेषता रहेका छन् । कवितामा आधुनिकतावादी स्वर र शैली बलियो हुँदै गरेको बेला भूपीले सरल, सरस, कलात्मक, सम्प्रेष्य र सामाजिक सरोकारका गम्भीर कविता रचना गरेर कवितालाई एक नयाँ रुप र दिशा प्रदान गरेका थिए । भूपी नेपाली कवितामा गोपालप्रसाद रिमालबाट आरम्भ भएको कविता परम्परालाई अघि बढाउने उल्लेखनीय व्यक्तित्व हुन् ।

भूपीको कविता लेखनका बारेमा आधुनिकतावादीहरूबाट तिखा टिप्पणीहरू पनि भएका छन् । उनका कवितालाई नारा, प्रचारमुखी र कलाविहीन भनेर पनि आलोचना गरिएको छ । भूपीले खपे जस्तो आलोचना कविताको सामाजिक सरोकारलाई महत्व प्रदान गरेका त्यस समयका अन्य कविहरूले पनि खपेका थिए । यस्तो आलोचना सृजनका क्षेत्रमा चल्ने वैचारिक संघर्षकै एक अंग थियो । यो कला, कलाको प्रयोजन र भूमिकालाई हेर्ने भिन्न दृष्टिकोण बीचको संघर्ष थियो । आधुनिकतावादी प्रवृत्ति फस्टाउँदै र बलियो हुँदै गरेको समयमा भूपीले जसरी कवितालाई आफ्नो समयको यथार्थसँग जोडेर त्यसलाई प्रखर अभिव्यक्ति दिए त्यो निकै महत्वपूणर् रहेको छ । उनका कविताको सामथ्र्य पनि उनीमाथि प्रहारको एक प्रमुख कारण थियो । आफ्नो समयलाई भूपीले जति सशक्त अभिव्यक्ति उनका समकालीन अरु कसैले दिएका छैनन् । कवितामा आफ्नो समयको यथार्थको अङ्कनका दृष्टिले उनी त्यस अवधिका श्रेष्ठ कवि हुन् । उनका कवितामा यथार्थको कलात्मक प्रतिबिम्बन आलोचनात्मक चेतनासहित भएको छ । भूपीले ‘कवि हुनु’ शीर्षक कवितामा कवि हुनुलाई परिभाषित गर्दै ‘कवि हुनु, अँध्यारो कोठामा प्रकाश ल्याउन बिजुलीका नाङ्गा तारहरूलाई छुनु हो’ भनेका छन् । उनले आफ्नो कविता मार्फत यही गरेका छन् । उनले साहसपूर्वक जसरी आफ्नो समयको कुरुप यथार्थको उद्घाटन गरेका छन्, त्यो बिजुलीका नाङ्गा तारहरूलाई छोए समान रहेको छ । कविमा रहेको उज्यालोको भोक यस साहसको मूल आधार रहेको पाइन्छ ।

भूपीले कविता पाठकबाट टाढिन र अलोकप्रिय बन्न आरम्भ गरेको बेला कवितालाई लोकप्रिय बनाए र यसको नैसर्गिक स्वभावलाई अझ सबल बनाउन महत्वपूणर् भूमिका सम्पादन गरे । कविताको नैसर्गिक स्वभावले आम मानिस, उनीहरूको संवेदना, व्यवहार, भाषा, अनुभव, स्वप्न, संघर्ष आदिसँग कविताको गहिरो सम्बन्धलाई बुझाउँछ । कविता आफ्नो कठिन यात्रामा यही विशेषताका कारण लोकप्रिय रहँदै आएको छ । यात्राको प्रारम्भिक चरणमा मनुष्यको हृदयलाई स्पर्श गर्ने दृष्टिले कवितामा पाइने असाधारण क्षमता यसैसँग सम्बन्धित रहेको छ । आफ्नो नैसर्गिक स्वभावलाई गुमाउँदै कविता आम मानिससँग टाढिदै जानु र अमूर्त, किलष्ट र जटिल बन्नु कविता अलोकप्रिय बन्नुको एक महत्वपूणर् कारण हो । पाब्लो नेरुदाले कविताको यस स्वभावलाई निकै महत्व प्रदान गरेका छन् । कविताले आम मानिससँग त्यसबेला संवाद गर्न सक्छ जब यसको नैसर्गिक स्वभावलाई स्रष्टाले आफ्ना रचनामा जीवित राख्छ भन्ने धारणा नेरुदामा पाइन्छ । कवितालाई हृदयस्पर्शी बनाउन नेरुदा आफ्ना कवितामा यसको नैसर्गिक स्वभावप्रति सधैं गम्भीर रहेका छन् । यो सचेतता भूपीमा पनि पाइन्छ । आम मानिससँग कविताको सम्बन्ध र संवादका सन्दर्भमा भूपी सधैं गम्भीर रहेका पाइन्छन् । यो गम्भीरता एक कविका रुपमा उनको सफलताको महत्वपूर्ण आधार रहेको छ ।

कवितामा आफैसँग गरिने संवाद अरुसँग जोडिनुपर्छ । कविताको ‘म’ नितान्त कविको ‘म’ का रुपमा रहन हुन्न । यसले भावको साधारणीकरणमा गम्भीर अवरोध सृजना गर्छ । कविताको ‘म’ एकवचन होइन बहुवचन हुनुपर्छ । कविताको सामूहिक ‘म’ र आवेगलाई एकल ‘म’ र वैयक्तिक आवेगमा परिसीमित गर्ने दृष्टिले पुँजीवादको ठूलो भूमिका रहेको छ । पुँजीवादमा कविता अलोकप्रिय बन्दै जानुको यो एक महत्वपूणर् कारण हो । पुँजीवादले मनुष्यलाई समाजदेखि मात्र होइन, आफैदेखि पनि अलग गर्छ । ‘एलियनेसन’ को डरलाग्दो तस्बिर पुँजीवादले उत्पन्न गरेको एक कटु यथार्थ हो । फलतः मनुष्य गम्भीर विरोधाभासको सिकार हुन्छ र ऊ आफ्नो नितान्त एक्लो र कहाली लाग्दो दुनियाँको किल्लाको कैदी बन्छ । कयौँ कविहरू यही प्रवृत्तिको सिकार बन्छन् । उनीहरूका कविता जीवन र धर्तीका गम्भीर सरोकारहरूबाट टाढिन्छन् र जीवनविहीन बन्छन् । भारतीय आलोचक मैनैजर पाण्डेले पुँजीवादी व्यवस्थामा मुक्तिधर्मी संघर्षसँग जोडिएर मात्र कविताले आफूलाई बचाउन सक्छ भनेका छन् । पुँजीवादी समाजमा कवितालाई समष्टिसँग जोडेर, उनीहरूका स्वप्न र संघर्षहरूको बाहक बनाएर मात्र एकालाप हुनबाट बचाउन र लोकप्रिय बनाउन सकिन्छ ।

पुँजीवादले उत्पन्न गरेको कवितामाथिको संकटलाई पुँजीवादको विकास भइनसकेका समाजमा पनि देख्न सकिन्छ । कलाका फाँटमा यस्तो स्थिति विचारधारात्मक रुपमा आउँछ । पुँजीवादी समाजको राम्रोसँग निर्माण भइनसकेको नेपालमा साहित्यमा आधुनिकतावाद र उत्तरआधुनिकतावादको प्रभाव यसको दृष्टान्त हो । मैनेजर पाण्डेका भाषामा भूपीले कवितालाई मनुष्यको मुक्तिधर्मी संघर्षसँग जोडेर त्यसलाई शक्तिशाली एवं लोकप्रिय बनाएका थिए । भूपीले जसरी हिमाल पग्लँदा निर्मल खोलाको जन्म हुन्छ त्यसरी नै कवि पग्लँदा कविताको जन्म हुन्छ भनेका छन् । भूपीको कथन कवितालाई सार्थक संवाद बनाउने कुरासँग सम्बन्धित छ । उनले कवि संवेदना र विचारका तहमा समाजसँग जोडिनुपर्ने कुरामा जोड दिएका छन् । कविको हृदयको पग्लाई जीवन र जगतका गम्भीर सरोकारहरूसँग सम्बन्धित हुनुपर्छ भन्ने उनको दृष्टिकोण थियो । उनी कवितालाई आम मानिस, उनीहरूका स्वप्न र संघर्षहरूसँग जोडेर मात्र शक्तिशाली संवादका रुपमा प्रस्तुत गर्न सकिन्छ भन्थे । उनका कविताको लोकप्रियता यसको दृष्टान्त हो । उनका कविता आफ्नो समयसँग सशक्त संवादका नमुना हुन् । उनका कविताले हामीलाई कवितालाई एकालाप वा स्वगत कथन हुनबाट बचाउनुपर्छ मात्र भन्दैनन्, यसको भाषालाई धारिलो बनाउनु पर्छ पनि भन्छन् । कवितालाई आम मानिसको भाषा बनाउन सक्दा नै यसलाई जीवित राख्न सकिन्छ भन्ने सन्देश भूपीका कविताले दिन्छन् । भूपीका कवितामा पाठकले गर्ने आत्मीयताको अनुभव भूपीका कवितामा पाइने सामूहिक आवेगसँग जोडिएको छ । पाठक उनका कवितामा आफूलाई पाउँछन्, नियाल्छन् र अघिल्तिर प्रस्थान गर्छन् । उनका कविताले कठिन बाटोमा हिड्न उर्जा मात्र प्रदान गर्दैनन्, दृष्टि पनि प्रदान गर्छन् ।

भूपीको काव्य सामथ्र्यलाई अन्तर्वस्तु र रुपको सुन्दर एकतामा हेर्नुपर्छ । उनका कवितामा कविताको बाह्य र आन्तरिक पक्षको सुन्दर एकता पाइन्छ । उनले आफ्ना कवितामा युग-जीवनका प्रतिनिधि पक्षलाई मात्र उठाएनन्, त्यसको प्रभावकारी अभिव्यक्तिका निम्ति त्यस्तै भाषाशैली, बिम्ब, प्रतीक, अलङ्कारहरूको प्रयोग पनि गरे । लयात्मकता उनका कविताको एक महत्वपूणर् विशेषता हो । भूपीको काव्यसामथ्र्यको मूल आधार विसङ्गति र विकृतिप्रति तिखो प्रहार, समानतामा आधारित न्यायपूणर् समाजको स्थापनाको आकाङ्क्षा, प्रगतिशील मानवतावादी दृष्टिकोण, प्रगाढ राष्ट्रवाद र भविष्यप्रतिको आस्था हुन् । रमेश श्रेष्ठले भूपीको लोकप्रियता र काव्य सामथ्र्यका रुपमा उनका कवितामा अन्तर्निहित सरलता र त्यसभित्र पाइने तिख्खर व्यङ्ग्यलाई मानेका छन् । उनी उनको कवितामा पाइने सम्मोहन उनको समकालीन स्थितिको मौलिक विश्लेषण र आलोचनामा देख्छन् । श्रेष्ठले भूपीले आफ्ना कवितामा आफ्नो समयको, आफ्नो जातिको, आफ्नो देशको नैतिक शून्यताको साह्रै तिखो ढंगले पर्दाफास गरेको उल्लेख गर्दै कविले समाज, देश र जातिको हाडसम्म पुगेर हेरेको भनेका छन् । श्रेष्ठले भने जस्तै भूपीको कविताको अन्तर्वस्तु समकालीन स्थितिहरूको मौलिक विश्लेषण र त्यसको आलोचनाबाट निर्माण भएको छ । त्यस अन्तर्वस्तुले आफूलाई प्रभावकारी शिल्पमा व्यक्त गरेको छ । भूपीले आफ्नो समयका राजनीतिक, सामाजिक, सांस्कृतिक जीवनका कुरुप पक्षहरू माथि गहिरो एवं मार्मिक व्यङ्ग्य गरेका छन् । आफ्नो समयको कुरुप यथार्थमाथि यति चोटिलो प्रहार त्यसबेलाका अरु कुनै कविहरूबाट भएको पाइन्न । भूपीका कवितामा गम्भीर इतिहास दृष्टि पनि पाइन्छ । उनी इतिहासप्रति आलोचनात्मक छन् । यसै अनुरुप कवितामा प्रस्तुत भएका छन् । उनका कवितामा उत्पीडित राष्ट्रहरूले उत्पीडक राष्ट्रहरूका विरुद्ध गरेको संघर्षको समर्थन र त्यसप्रति ऐक्यबद्धता पनि पाइन्छ । उनी साम्राज्यवाद, उपनिवेशवादका विरोधी थिए ।

भूपीका कविता सत्य, शिवं र सुन्दरम्का निम्ति आफ्नो समयसँग गरिएका प्रभावकारी संवाद हुन् । वस्तुतः एउटा कवि आफ्नो समयसँगको शक्तिशाली संवादमा जिउँछ । भूपीका कविताले आफ्नो समयसँग सार्थक संवाद गरेका छन् । आफ्नो समयसँग सशक्त संवाद गर्ने उनका कविताको भाषाशैली, सरल, सरस, अनुप्रासमय र कलात्मक छ । बिम्ब र प्रतीकहरू नेपाली माटो र जीवनबाट टिपिएका छन् । अलङ्कारको सुन्दर रुपमा प्रयोग गरिएको छ । भाषाको दुरुपयोग र विषयवस्तुको पुनरावृत्तिको दोषबाट उनी बचेका छन् । उनका कविता सरल भइकन पनि कसरी उत्कृष्ट हुन सक्छन् भन्ने कुराका दृष्टान्त हुन् । उनका कवितामा सामञ्जस्यता, सन्तुलन, आवेग, गहिरो व्यञ्जनात्मकता, तनाब, लालित्य, सुस्पष्ट काव्यदृष्टि र गम्भीर सामाजिक सरोकारहरू पाइन्छन् । कविता उत्कृष्ट हुनका निम्ति यी सबै कुरा आवश्यक छन् । कविता व्यक्तिगत प्रतिक्रियाभन्दा माथि उठेर जीवनका विपुल अनुभूति, वैविध्यपूणर् यथार्थ एवं तिनको सबल र सार्थक प्रकटीकरणमा बाँच्छ र त्यसले आफ्नो भूमिका प्रभावकारी रुपमा सम्पादन पनि गर्छ । उत्कृष्ट कविताको पहिचान आफ्नो समयको द्वन्द्वलाइ कविले कसरी अभिव्यक्ति दिएको छ र कविता समकालीन हुँदाहुँदै पनि कसरी सार्वकालीन भएको छ भन्ने कुराबाट हुन्छ । भूपीका कविताले समकालीन हुँदाहुँदै पनि सार्वकालीन चरित्र ग्रहण गरेका छन् ।

भूपीको काव्य संवेदना नेपाली काव्यसाहित्यको ऊध्र्वगामी धाराबाट निर्मित छ र यो आफ्नो माटोसँग गहिरो गरी जोडिएको छ । भूपीको काव्य संवेदनाको चर्चा गर्दा प्रसिद्ध रुसी कवयित्री आख्मातोवाबारे अर्का प्रसिद्ध रुसी कवि ओसिप मान्देलस्तामले गरेको टिप्पणीको सम्झना हुन्छ । मान्देलस्तामले आख्मातोवाको काव्य संवेदनाका जराहरू उन्नाइसौँ शताब्दीको यथार्थवादी रुसी साहित्यसँग जोडिएको उल्लेख गरेका छन् । यसको केन्द्रमा तोल्सतोय, गोगोल, चेखब र दोस्तोयवस्कीहरू थिए । भूपीको काव्यसंवेदनाको निर्माण नेपाली काव्य परम्परा, आफ्नो माटो, त्यसका सुख-दुःख, स्वप्न-संघर्षहरूबाट भएकाले उनका कविताले आफ्नो समयलाई सजीव अभिव्यक्ति दिएका हुन् । संवेदनाको निर्माण कविको विश्वदृष्टिसँग जोडिन्छ । काव्यदृष्टि विश्वदृष्टिसँग गाँसिन्छ । काव्यदृष्टि कविता र त्यसको सृजनका सम्बन्धमा कविको दृष्टिकोण हो । कवितामा पाइने विचार कविको विचारधारात्मक पक्षधरताबाट निर्माण हुन्छ ।

भूपीका कविताले कलाका शर्तहरूभित्र रहेर विचारको प्रक्षेपण गरेका छन् । विचारका कारण उनका कविता कमजोर छन् भन्नेहरू पनि छन् तर विचारका कारण उनका कविता कमजोर छैनन् । विचार कवितामा आवश्यक मानिन्छ तर त्यो जीवनका अनुभवहरूसँग एकीकृत भएर, संवेदनासँग जोडिएर, आफ्नो समयसँग सार्थक संवाद गर्दै व्यक्त हुनुपर्दछ । भूपीका कवितामा विचार यसैगरी आएको पाइन्छ । उनका कविताको प्रभाव समकालीन नेपाली कविहरूमा पनि परेको छ । उनले निर्माण गरेको काव्यमार्गलाई आजका कयौँ कविहरूले पनि पछ्याइरहेका छन् । समकालीन नेपाली कविता मूलतः रिमाल र भूपीद्वारा निर्मित काव्यमार्गमा नै हिडिरहेछ । सरलता, व्यङ्ग्य, आलोचना र गम्भीर सामाजिक सरोकार समकालीन नेपाली कविताका महत्वूणर् विशेषता हुन् । समग्रमा भन्दा भूपी कवितामा प्रगतिशील स्वरलाई उच्च कलात्मक अभिव्यक्ति दिने आधुनिक नेपाली कविताको दोस्रो चरणका विशिष्ट प्रतिभा हुन् ।

भूपी नेपाली काव्यफाँटका महत्वपूर्ण प्राप्ति हुँदाहुँदै पनि उनका केही अँध्यारा पक्षहरू पनि छन् । उनको मूल्याङ्कन गर्दा उनको यस पक्षलाई बिर्सन हुन्न । उनले आफ्नो काव्य यात्राको आरम्भ एक प्रगतिशील कविका रुपमा गरेका थिए । उनको काव्य यात्रामा बीसको दशकदेखि बिस्तारै परिवर्तन आउन आरम्भ गर्‍यो र तीसकको दशकमा यसले पुरै कोल्टे फेर्‍यो । ‘होचिमिन्हलाई चिठी’, ‘हामी’, सधैं सधैं मेरो सपनामा’ आदि जस्ता कविता लेख्ने उनी निराशा र विसङ्गतिको सिकार हुँदै गए र अन्ततः पञ्चायतलाई समर्थन गर्न पुगे । यो भूपीमा आएको गम्भीर वैचारिक परिवर्तन थियो । यो एउटा काव्यदृष्टिबाट अर्को काव्यदृष्टितर्फको प्रस्थान थियो । यो आफ्नो समयको सबैभन्दा शक्तिशाली, लोकप्रिय र सशक्त आलोचनात्मक चेत भएको कविको जीवनको एक दुःखद मोड थियो । भूपीको काव्ययात्रा नेपाली समाजको रुपान्तरणको एक कडी थियो । यो कडी टुट्दा उनको गम्भीर आलोचना हुनु स्वभाविक थियो र भयो । भूपीबाट आँखा चिम्लनै नसकिने गल्ती भएको थियो । आधुनिकतावादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै आफ्नो समयलाई सशक्त अभिव्यक्ति दिएका भूपीमा आएको परिवर्तन लोकतन्त्रका निम्ति संघर्ष गर्दै गरेका गैर प्रगतिशील स्रष्टाहरूका निम्ति पनि छक्क लाग्दो थियो । यस परिवर्तनबाट भूपीले मात्र क्षति र पीडा व्यहोर्नु परेन, आधुनिक नेपाली काव्य लेखनले पनि क्षति उठाउनु पर्‍यो ।

आफ्नो समयलाई जसले जति बढी प्रभावित गर्छ, बाटो बदल्दा त्यसले बढी जोखिम पनि उठाउनुपर्छ । भूपीले जोखिम उठाएका थिए । यही जोखिम उनको आलोचनाको मुख्य कारण थियो । भूपीले यस अवधिमा राजाको प्रशस्तिमा पनि केही कविता लेखेका छन् । उनले यस समयमा लेखेका केही कवितामा समकालीन यथार्थप्रति आलोचनात्मक चेतना पाइए पनि उनले गरेको पञ्चायतको समर्थनका कारण उनका यस्ता कविताले पनि खासै महत्व पाएनन् । अलग बाटोमा हिडेपछि भूपीसँग रहेको पहिलेको तिक्ष्ण काव्य संवेदना नै रहेन ।

जीवनको पुछारतिर उनलाई आफ्नो कमजोरीको महसुस पनि हुन थालेको थियो तर त्यतिञ्जेल धेरै अबेर भइसकेको थियो । उनी बाँचेको भए सायद आफूलाई सच्याउँदा हुन्, गल्ती स्वीकार गर्दा हुन् तर अब यस्तो भनाइको कुनै अर्थ छैन । भूपीले गम्भीर गलती गरेका थिए र यसको चर्चा पछिसम्म पनि भइरहनेछ तर यसको आधारमा उनको समग्र काव्यिक योगदानलाई नै ओझेलमा पार्ने काम गर्न हुन्न । उनका कमजोरीको आलोचना गर्दै उनलाई यथोचित सम्मान प्रदान गर्न कन्जुस्याँइ गर्न हुन्न । उनको योगदानको अवमूल्यन गर्नु आधुनिक नेपाली कविताको जीवनपक्षीय धारालाई नै अबमूल्यन गर्नु र कमजोर बनाउनु हुन्छ । केही कमजोरीहरूका अतिरिक्त उनको लेखनको ठूलो हिस्सा समाजप्रति जिम्मेवार एक कविको लेखन हो । भूपीलाई सबल र दुर्बल पक्षहरूको योगमै हेर्नुपर्छ र दुर्बल पक्षको नाममा उनका सबल पक्षहरूलाई पनि पाखा लगाउने प्रवृत्तिबाट बच्नुपर्छ । यही नै भूपीको उचित मूल्याङ्कन हुनेछ र उनीप्रतिको साँचो सम्मान पनि ।

०००
‘नयाँ युगबोध’ शनिबार, पौष ५, २०७६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लय

लय

डा. अमर गिरी
धोका

धोका

डा. अमर गिरी
पाखण्ड

पाखण्ड

डा. अमर गिरी
लाजको मृत्यु

लाजको मृत्यु

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x