सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रखर व्यङ्ग्य चेतनाका कवि

भूपीले आफ्नो समयका राजनीतिक, सामाजिक, सांस्कृतिक जीवनका कुरुप पक्षहरू माथि गहिरो एवं मार्मिक व्यङ्ग्य गरेका छन् । आफ्नो समयको कुरुप यथार्थमाथि यति चोटिलो प्रहार त्यसबेलाका अरु कुनै कविहरूबाट भएको पाइन्न ।

Nepal Telecom ad

भूपी नेपाली काव्यफाँटका महत्वपूर्ण व्यक्तित्व हुन् । आरम्भमा मार्क्सवादी दर्शनबाट डोरिएका उनी आधुनिक नेपाली कविताका दोस्रो प्रहरका प्रखर प्रतिभा थिए । केही समय उनी कम्युनिष्ट राजनीतिमा पनि सक्रिय रहेका थिए । वि.स. १९९२ पुस १० गते मुस्ताङको थाक टुकुचेको सम्पन्न थकाली परिवारमा उनको जन्म भएको थियो । ०४६ साल जेठ १ गते उनको निधन भएको थियो । उनी साढे तीन दशक जति साहित्य सृजनमा सक्रिय रहे । तीसको दशकपछि सृजनशीलताका दृष्टिले उनी त्यति सक्रिय र उर्बर देखिन्नन् । उनका ‘परिवर्तन’ (नाटक, २०१०), ‘नयाँ झ्याउरे’ (कवितासंग्रह, २०११), ‘निर्झर’ (कवितासंग्रह, २०१२), ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (कवितासंग्रह, २०२७) र ‘भूपी शेरचनका कविता’ (कवितासंग्रह, २०५६) गरी पाँचवटा कृतिहरू प्रकाशित छन् ।

बीसको दशकको अन्त्यसम्मका उनका कविता मूलतः प्रगतिशील चेतनाबाट डोरिएका छन् । त्यसपछिका उनका कवितामा उनका पूर्ववर्ती कवितामा पाइने विशेषताहरू क्रमशः कमजोर बन्दै गएका छन् । उनमा निराशा, विसङ्गतिबोध र कुण्ठाको विकास हुन आरम्भ गरेको पाइन्छ । उनमा आएको यो परिवर्तन विचाराधारात्मक परिवर्तनसँग जोडिएको छ । दुईवटा ‘क’ अर्थात ‘कम्युनिष्ट’ र ‘कवि’ भएर बिग्रिएँ भन्ने उनको कथन यसैसँग सम्बन्धित छ । उनको लेखकीय जीवनको उत्तराद्र्ध लेखनका दृष्टिले त्यति महत्वपूणर् हुन नसक्नुमा यसले पनि काम गरेको छ । २०१६ देखि २०२५ सालसम्मको अवधिमा लेखिएका उनका कविता सर्वाधिक शक्तिशाली छन् । यस अवधिका केही कवितालाई छाडिदिने हो भने उनका समग्र कवितामा प्रगतिशील चेतना पाइन्छ । यही चेतनाको सशक्त कलात्मक अभिव्यक्ति उनको सबैभन्दा महत्वपूणर् विशेषता हो ।

भूपी नेपाली कवितामा विकसित आधुनिकतावादी धाराका विरुद्ध संघर्ष गर्दै आफ्नो कविता लेखनलाई उचाइ प्रदान गरेका स्रष्टा हुन् । २०१६ सालपछि आधुनिक नेपाली कवितामा आधुनिकतावादी दृष्टिकोण र प्रवृत्तिको विकास भएको थियो । पश्चिममा आधुनिकतावादको जन्म प्रयोगपरक एवं अम्बागार्द प्रवृत्तिका रुपमा भएको पाइन्छ । आधुनिक नेपाली कवितामा पाइने प्रतीकवादी, अतियथार्थवादी, विसङ्गतिवादी, शून्यवादी आदि दृष्टिकोण र प्रवृत्तिहरू आधुनिकतावादका दृष्टान्त हुन् । यस्ता कवितामा अन्तर्वस्तुका रुपमा विसङ्गति, कुण्ठा, निराशा, अराजकता, विद्रोह, पलायन आदि आएका छन् । प्रयोग, अमूर्तता, क्लिष्टतता, जटिलता, अबोधगम्यता यस्ता कविताका शिल्पगत विशेषता रहेका छन् । कवितामा आधुनिकतावादी स्वर र शैली बलियो हुँदै गरेको बेला भूपीले सरल, सरस, कलात्मक, सम्प्रेष्य र सामाजिक सरोकारका गम्भीर कविता रचना गरेर कवितालाई एक नयाँ रुप र दिशा प्रदान गरेका थिए । भूपी नेपाली कवितामा गोपालप्रसाद रिमालबाट आरम्भ भएको कविता परम्परालाई अघि बढाउने उल्लेखनीय व्यक्तित्व हुन् ।

भूपीको कविता लेखनका बारेमा आधुनिकतावादीहरूबाट तिखा टिप्पणीहरू पनि भएका छन् । उनका कवितालाई नारा, प्रचारमुखी र कलाविहीन भनेर पनि आलोचना गरिएको छ । भूपीले खपे जस्तो आलोचना कविताको सामाजिक सरोकारलाई महत्व प्रदान गरेका त्यस समयका अन्य कविहरूले पनि खपेका थिए । यस्तो आलोचना सृजनका क्षेत्रमा चल्ने वैचारिक संघर्षकै एक अंग थियो । यो कला, कलाको प्रयोजन र भूमिकालाई हेर्ने भिन्न दृष्टिकोण बीचको संघर्ष थियो । आधुनिकतावादी प्रवृत्ति फस्टाउँदै र बलियो हुँदै गरेको समयमा भूपीले जसरी कवितालाई आफ्नो समयको यथार्थसँग जोडेर त्यसलाई प्रखर अभिव्यक्ति दिए त्यो निकै महत्वपूणर् रहेको छ । उनका कविताको सामथ्र्य पनि उनीमाथि प्रहारको एक प्रमुख कारण थियो । आफ्नो समयलाई भूपीले जति सशक्त अभिव्यक्ति उनका समकालीन अरु कसैले दिएका छैनन् । कवितामा आफ्नो समयको यथार्थको अङ्कनका दृष्टिले उनी त्यस अवधिका श्रेष्ठ कवि हुन् । उनका कवितामा यथार्थको कलात्मक प्रतिबिम्बन आलोचनात्मक चेतनासहित भएको छ । भूपीले ‘कवि हुनु’ शीर्षक कवितामा कवि हुनुलाई परिभाषित गर्दै ‘कवि हुनु, अँध्यारो कोठामा प्रकाश ल्याउन बिजुलीका नाङ्गा तारहरूलाई छुनु हो’ भनेका छन् । उनले आफ्नो कविता मार्फत यही गरेका छन् । उनले साहसपूर्वक जसरी आफ्नो समयको कुरुप यथार्थको उद्घाटन गरेका छन्, त्यो बिजुलीका नाङ्गा तारहरूलाई छोए समान रहेको छ । कविमा रहेको उज्यालोको भोक यस साहसको मूल आधार रहेको पाइन्छ ।

भूपीले कविता पाठकबाट टाढिन र अलोकप्रिय बन्न आरम्भ गरेको बेला कवितालाई लोकप्रिय बनाए र यसको नैसर्गिक स्वभावलाई अझ सबल बनाउन महत्वपूणर् भूमिका सम्पादन गरे । कविताको नैसर्गिक स्वभावले आम मानिस, उनीहरूको संवेदना, व्यवहार, भाषा, अनुभव, स्वप्न, संघर्ष आदिसँग कविताको गहिरो सम्बन्धलाई बुझाउँछ । कविता आफ्नो कठिन यात्रामा यही विशेषताका कारण लोकप्रिय रहँदै आएको छ । यात्राको प्रारम्भिक चरणमा मनुष्यको हृदयलाई स्पर्श गर्ने दृष्टिले कवितामा पाइने असाधारण क्षमता यसैसँग सम्बन्धित रहेको छ । आफ्नो नैसर्गिक स्वभावलाई गुमाउँदै कविता आम मानिससँग टाढिदै जानु र अमूर्त, किलष्ट र जटिल बन्नु कविता अलोकप्रिय बन्नुको एक महत्वपूणर् कारण हो । पाब्लो नेरुदाले कविताको यस स्वभावलाई निकै महत्व प्रदान गरेका छन् । कविताले आम मानिससँग त्यसबेला संवाद गर्न सक्छ जब यसको नैसर्गिक स्वभावलाई स्रष्टाले आफ्ना रचनामा जीवित राख्छ भन्ने धारणा नेरुदामा पाइन्छ । कवितालाई हृदयस्पर्शी बनाउन नेरुदा आफ्ना कवितामा यसको नैसर्गिक स्वभावप्रति सधैं गम्भीर रहेका छन् । यो सचेतता भूपीमा पनि पाइन्छ । आम मानिससँग कविताको सम्बन्ध र संवादका सन्दर्भमा भूपी सधैं गम्भीर रहेका पाइन्छन् । यो गम्भीरता एक कविका रुपमा उनको सफलताको महत्वपूर्ण आधार रहेको छ ।

कवितामा आफैसँग गरिने संवाद अरुसँग जोडिनुपर्छ । कविताको ‘म’ नितान्त कविको ‘म’ का रुपमा रहन हुन्न । यसले भावको साधारणीकरणमा गम्भीर अवरोध सृजना गर्छ । कविताको ‘म’ एकवचन होइन बहुवचन हुनुपर्छ । कविताको सामूहिक ‘म’ र आवेगलाई एकल ‘म’ र वैयक्तिक आवेगमा परिसीमित गर्ने दृष्टिले पुँजीवादको ठूलो भूमिका रहेको छ । पुँजीवादमा कविता अलोकप्रिय बन्दै जानुको यो एक महत्वपूणर् कारण हो । पुँजीवादले मनुष्यलाई समाजदेखि मात्र होइन, आफैदेखि पनि अलग गर्छ । ‘एलियनेसन’ को डरलाग्दो तस्बिर पुँजीवादले उत्पन्न गरेको एक कटु यथार्थ हो । फलतः मनुष्य गम्भीर विरोधाभासको सिकार हुन्छ र ऊ आफ्नो नितान्त एक्लो र कहाली लाग्दो दुनियाँको किल्लाको कैदी बन्छ । कयौँ कविहरू यही प्रवृत्तिको सिकार बन्छन् । उनीहरूका कविता जीवन र धर्तीका गम्भीर सरोकारहरूबाट टाढिन्छन् र जीवनविहीन बन्छन् । भारतीय आलोचक मैनैजर पाण्डेले पुँजीवादी व्यवस्थामा मुक्तिधर्मी संघर्षसँग जोडिएर मात्र कविताले आफूलाई बचाउन सक्छ भनेका छन् । पुँजीवादी समाजमा कवितालाई समष्टिसँग जोडेर, उनीहरूका स्वप्न र संघर्षहरूको बाहक बनाएर मात्र एकालाप हुनबाट बचाउन र लोकप्रिय बनाउन सकिन्छ ।

पुँजीवादले उत्पन्न गरेको कवितामाथिको संकटलाई पुँजीवादको विकास भइनसकेका समाजमा पनि देख्न सकिन्छ । कलाका फाँटमा यस्तो स्थिति विचारधारात्मक रुपमा आउँछ । पुँजीवादी समाजको राम्रोसँग निर्माण भइनसकेको नेपालमा साहित्यमा आधुनिकतावाद र उत्तरआधुनिकतावादको प्रभाव यसको दृष्टान्त हो । मैनेजर पाण्डेका भाषामा भूपीले कवितालाई मनुष्यको मुक्तिधर्मी संघर्षसँग जोडेर त्यसलाई शक्तिशाली एवं लोकप्रिय बनाएका थिए । भूपीले जसरी हिमाल पग्लँदा निर्मल खोलाको जन्म हुन्छ त्यसरी नै कवि पग्लँदा कविताको जन्म हुन्छ भनेका छन् । भूपीको कथन कवितालाई सार्थक संवाद बनाउने कुरासँग सम्बन्धित छ । उनले कवि संवेदना र विचारका तहमा समाजसँग जोडिनुपर्ने कुरामा जोड दिएका छन् । कविको हृदयको पग्लाई जीवन र जगतका गम्भीर सरोकारहरूसँग सम्बन्धित हुनुपर्छ भन्ने उनको दृष्टिकोण थियो । उनी कवितालाई आम मानिस, उनीहरूका स्वप्न र संघर्षहरूसँग जोडेर मात्र शक्तिशाली संवादका रुपमा प्रस्तुत गर्न सकिन्छ भन्थे । उनका कविताको लोकप्रियता यसको दृष्टान्त हो । उनका कविता आफ्नो समयसँग सशक्त संवादका नमुना हुन् । उनका कविताले हामीलाई कवितालाई एकालाप वा स्वगत कथन हुनबाट बचाउनुपर्छ मात्र भन्दैनन्, यसको भाषालाई धारिलो बनाउनु पर्छ पनि भन्छन् । कवितालाई आम मानिसको भाषा बनाउन सक्दा नै यसलाई जीवित राख्न सकिन्छ भन्ने सन्देश भूपीका कविताले दिन्छन् । भूपीका कवितामा पाठकले गर्ने आत्मीयताको अनुभव भूपीका कवितामा पाइने सामूहिक आवेगसँग जोडिएको छ । पाठक उनका कवितामा आफूलाई पाउँछन्, नियाल्छन् र अघिल्तिर प्रस्थान गर्छन् । उनका कविताले कठिन बाटोमा हिड्न उर्जा मात्र प्रदान गर्दैनन्, दृष्टि पनि प्रदान गर्छन् ।

भूपीको काव्य सामथ्र्यलाई अन्तर्वस्तु र रुपको सुन्दर एकतामा हेर्नुपर्छ । उनका कवितामा कविताको बाह्य र आन्तरिक पक्षको सुन्दर एकता पाइन्छ । उनले आफ्ना कवितामा युग-जीवनका प्रतिनिधि पक्षलाई मात्र उठाएनन्, त्यसको प्रभावकारी अभिव्यक्तिका निम्ति त्यस्तै भाषाशैली, बिम्ब, प्रतीक, अलङ्कारहरूको प्रयोग पनि गरे । लयात्मकता उनका कविताको एक महत्वपूणर् विशेषता हो । भूपीको काव्यसामथ्र्यको मूल आधार विसङ्गति र विकृतिप्रति तिखो प्रहार, समानतामा आधारित न्यायपूणर् समाजको स्थापनाको आकाङ्क्षा, प्रगतिशील मानवतावादी दृष्टिकोण, प्रगाढ राष्ट्रवाद र भविष्यप्रतिको आस्था हुन् । रमेश श्रेष्ठले भूपीको लोकप्रियता र काव्य सामथ्र्यका रुपमा उनका कवितामा अन्तर्निहित सरलता र त्यसभित्र पाइने तिख्खर व्यङ्ग्यलाई मानेका छन् । उनी उनको कवितामा पाइने सम्मोहन उनको समकालीन स्थितिको मौलिक विश्लेषण र आलोचनामा देख्छन् । श्रेष्ठले भूपीले आफ्ना कवितामा आफ्नो समयको, आफ्नो जातिको, आफ्नो देशको नैतिक शून्यताको साह्रै तिखो ढंगले पर्दाफास गरेको उल्लेख गर्दै कविले समाज, देश र जातिको हाडसम्म पुगेर हेरेको भनेका छन् । श्रेष्ठले भने जस्तै भूपीको कविताको अन्तर्वस्तु समकालीन स्थितिहरूको मौलिक विश्लेषण र त्यसको आलोचनाबाट निर्माण भएको छ । त्यस अन्तर्वस्तुले आफूलाई प्रभावकारी शिल्पमा व्यक्त गरेको छ । भूपीले आफ्नो समयका राजनीतिक, सामाजिक, सांस्कृतिक जीवनका कुरुप पक्षहरू माथि गहिरो एवं मार्मिक व्यङ्ग्य गरेका छन् । आफ्नो समयको कुरुप यथार्थमाथि यति चोटिलो प्रहार त्यसबेलाका अरु कुनै कविहरूबाट भएको पाइन्न । भूपीका कवितामा गम्भीर इतिहास दृष्टि पनि पाइन्छ । उनी इतिहासप्रति आलोचनात्मक छन् । यसै अनुरुप कवितामा प्रस्तुत भएका छन् । उनका कवितामा उत्पीडित राष्ट्रहरूले उत्पीडक राष्ट्रहरूका विरुद्ध गरेको संघर्षको समर्थन र त्यसप्रति ऐक्यबद्धता पनि पाइन्छ । उनी साम्राज्यवाद, उपनिवेशवादका विरोधी थिए ।

भूपीका कविता सत्य, शिवं र सुन्दरम्का निम्ति आफ्नो समयसँग गरिएका प्रभावकारी संवाद हुन् । वस्तुतः एउटा कवि आफ्नो समयसँगको शक्तिशाली संवादमा जिउँछ । भूपीका कविताले आफ्नो समयसँग सार्थक संवाद गरेका छन् । आफ्नो समयसँग सशक्त संवाद गर्ने उनका कविताको भाषाशैली, सरल, सरस, अनुप्रासमय र कलात्मक छ । बिम्ब र प्रतीकहरू नेपाली माटो र जीवनबाट टिपिएका छन् । अलङ्कारको सुन्दर रुपमा प्रयोग गरिएको छ । भाषाको दुरुपयोग र विषयवस्तुको पुनरावृत्तिको दोषबाट उनी बचेका छन् । उनका कविता सरल भइकन पनि कसरी उत्कृष्ट हुन सक्छन् भन्ने कुराका दृष्टान्त हुन् । उनका कवितामा सामञ्जस्यता, सन्तुलन, आवेग, गहिरो व्यञ्जनात्मकता, तनाब, लालित्य, सुस्पष्ट काव्यदृष्टि र गम्भीर सामाजिक सरोकारहरू पाइन्छन् । कविता उत्कृष्ट हुनका निम्ति यी सबै कुरा आवश्यक छन् । कविता व्यक्तिगत प्रतिक्रियाभन्दा माथि उठेर जीवनका विपुल अनुभूति, वैविध्यपूणर् यथार्थ एवं तिनको सबल र सार्थक प्रकटीकरणमा बाँच्छ र त्यसले आफ्नो भूमिका प्रभावकारी रुपमा सम्पादन पनि गर्छ । उत्कृष्ट कविताको पहिचान आफ्नो समयको द्वन्द्वलाइ कविले कसरी अभिव्यक्ति दिएको छ र कविता समकालीन हुँदाहुँदै पनि कसरी सार्वकालीन भएको छ भन्ने कुराबाट हुन्छ । भूपीका कविताले समकालीन हुँदाहुँदै पनि सार्वकालीन चरित्र ग्रहण गरेका छन् ।

भूपीको काव्य संवेदना नेपाली काव्यसाहित्यको ऊध्र्वगामी धाराबाट निर्मित छ र यो आफ्नो माटोसँग गहिरो गरी जोडिएको छ । भूपीको काव्य संवेदनाको चर्चा गर्दा प्रसिद्ध रुसी कवयित्री आख्मातोवाबारे अर्का प्रसिद्ध रुसी कवि ओसिप मान्देलस्तामले गरेको टिप्पणीको सम्झना हुन्छ । मान्देलस्तामले आख्मातोवाको काव्य संवेदनाका जराहरू उन्नाइसौँ शताब्दीको यथार्थवादी रुसी साहित्यसँग जोडिएको उल्लेख गरेका छन् । यसको केन्द्रमा तोल्सतोय, गोगोल, चेखब र दोस्तोयवस्कीहरू थिए । भूपीको काव्यसंवेदनाको निर्माण नेपाली काव्य परम्परा, आफ्नो माटो, त्यसका सुख-दुःख, स्वप्न-संघर्षहरूबाट भएकाले उनका कविताले आफ्नो समयलाई सजीव अभिव्यक्ति दिएका हुन् । संवेदनाको निर्माण कविको विश्वदृष्टिसँग जोडिन्छ । काव्यदृष्टि विश्वदृष्टिसँग गाँसिन्छ । काव्यदृष्टि कविता र त्यसको सृजनका सम्बन्धमा कविको दृष्टिकोण हो । कवितामा पाइने विचार कविको विचारधारात्मक पक्षधरताबाट निर्माण हुन्छ ।

भूपीका कविताले कलाका शर्तहरूभित्र रहेर विचारको प्रक्षेपण गरेका छन् । विचारका कारण उनका कविता कमजोर छन् भन्नेहरू पनि छन् तर विचारका कारण उनका कविता कमजोर छैनन् । विचार कवितामा आवश्यक मानिन्छ तर त्यो जीवनका अनुभवहरूसँग एकीकृत भएर, संवेदनासँग जोडिएर, आफ्नो समयसँग सार्थक संवाद गर्दै व्यक्त हुनुपर्दछ । भूपीका कवितामा विचार यसैगरी आएको पाइन्छ । उनका कविताको प्रभाव समकालीन नेपाली कविहरूमा पनि परेको छ । उनले निर्माण गरेको काव्यमार्गलाई आजका कयौँ कविहरूले पनि पछ्याइरहेका छन् । समकालीन नेपाली कविता मूलतः रिमाल र भूपीद्वारा निर्मित काव्यमार्गमा नै हिडिरहेछ । सरलता, व्यङ्ग्य, आलोचना र गम्भीर सामाजिक सरोकार समकालीन नेपाली कविताका महत्वूणर् विशेषता हुन् । समग्रमा भन्दा भूपी कवितामा प्रगतिशील स्वरलाई उच्च कलात्मक अभिव्यक्ति दिने आधुनिक नेपाली कविताको दोस्रो चरणका विशिष्ट प्रतिभा हुन् ।

भूपी नेपाली काव्यफाँटका महत्वपूर्ण प्राप्ति हुँदाहुँदै पनि उनका केही अँध्यारा पक्षहरू पनि छन् । उनको मूल्याङ्कन गर्दा उनको यस पक्षलाई बिर्सन हुन्न । उनले आफ्नो काव्य यात्राको आरम्भ एक प्रगतिशील कविका रुपमा गरेका थिए । उनको काव्य यात्रामा बीसको दशकदेखि बिस्तारै परिवर्तन आउन आरम्भ गर्‍यो र तीसकको दशकमा यसले पुरै कोल्टे फेर्‍यो । ‘होचिमिन्हलाई चिठी’, ‘हामी’, सधैं सधैं मेरो सपनामा’ आदि जस्ता कविता लेख्ने उनी निराशा र विसङ्गतिको सिकार हुँदै गए र अन्ततः पञ्चायतलाई समर्थन गर्न पुगे । यो भूपीमा आएको गम्भीर वैचारिक परिवर्तन थियो । यो एउटा काव्यदृष्टिबाट अर्को काव्यदृष्टितर्फको प्रस्थान थियो । यो आफ्नो समयको सबैभन्दा शक्तिशाली, लोकप्रिय र सशक्त आलोचनात्मक चेत भएको कविको जीवनको एक दुःखद मोड थियो । भूपीको काव्ययात्रा नेपाली समाजको रुपान्तरणको एक कडी थियो । यो कडी टुट्दा उनको गम्भीर आलोचना हुनु स्वभाविक थियो र भयो । भूपीबाट आँखा चिम्लनै नसकिने गल्ती भएको थियो । आधुनिकतावादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै आफ्नो समयलाई सशक्त अभिव्यक्ति दिएका भूपीमा आएको परिवर्तन लोकतन्त्रका निम्ति संघर्ष गर्दै गरेका गैर प्रगतिशील स्रष्टाहरूका निम्ति पनि छक्क लाग्दो थियो । यस परिवर्तनबाट भूपीले मात्र क्षति र पीडा व्यहोर्नु परेन, आधुनिक नेपाली काव्य लेखनले पनि क्षति उठाउनु पर्‍यो ।

आफ्नो समयलाई जसले जति बढी प्रभावित गर्छ, बाटो बदल्दा त्यसले बढी जोखिम पनि उठाउनुपर्छ । भूपीले जोखिम उठाएका थिए । यही जोखिम उनको आलोचनाको मुख्य कारण थियो । भूपीले यस अवधिमा राजाको प्रशस्तिमा पनि केही कविता लेखेका छन् । उनले यस समयमा लेखेका केही कवितामा समकालीन यथार्थप्रति आलोचनात्मक चेतना पाइए पनि उनले गरेको पञ्चायतको समर्थनका कारण उनका यस्ता कविताले पनि खासै महत्व पाएनन् । अलग बाटोमा हिडेपछि भूपीसँग रहेको पहिलेको तिक्ष्ण काव्य संवेदना नै रहेन ।

जीवनको पुछारतिर उनलाई आफ्नो कमजोरीको महसुस पनि हुन थालेको थियो तर त्यतिञ्जेल धेरै अबेर भइसकेको थियो । उनी बाँचेको भए सायद आफूलाई सच्याउँदा हुन्, गल्ती स्वीकार गर्दा हुन् तर अब यस्तो भनाइको कुनै अर्थ छैन । भूपीले गम्भीर गलती गरेका थिए र यसको चर्चा पछिसम्म पनि भइरहनेछ तर यसको आधारमा उनको समग्र काव्यिक योगदानलाई नै ओझेलमा पार्ने काम गर्न हुन्न । उनका कमजोरीको आलोचना गर्दै उनलाई यथोचित सम्मान प्रदान गर्न कन्जुस्याँइ गर्न हुन्न । उनको योगदानको अवमूल्यन गर्नु आधुनिक नेपाली कविताको जीवनपक्षीय धारालाई नै अबमूल्यन गर्नु र कमजोर बनाउनु हुन्छ । केही कमजोरीहरूका अतिरिक्त उनको लेखनको ठूलो हिस्सा समाजप्रति जिम्मेवार एक कविको लेखन हो । भूपीलाई सबल र दुर्बल पक्षहरूको योगमै हेर्नुपर्छ र दुर्बल पक्षको नाममा उनका सबल पक्षहरूलाई पनि पाखा लगाउने प्रवृत्तिबाट बच्नुपर्छ । यही नै भूपीको उचित मूल्याङ्कन हुनेछ र उनीप्रतिको साँचो सम्मान पनि ।

०००
‘नयाँ युगबोध’ शनिबार, पौष ५, २०७६

Fitkauli Publication Books comming soon
Nepal Telecom ad