साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्नेही दाज्यू भैरव अर्यालसँग विगतको एक दिन

एउटा हास्य-व्यङ्ग्यकारको हृदयमा कुनै वेदना, कष्टहरू छैनन् होला तर, ‘हस्ताक्षर’ले मेरो त्यो धारणा मेटिदियो अनि, मैले मनमनै भनेथें ‘आफू रोएर पनि अरूलाई हँसाउन सक्नुः तब त एक सफल कलाकार !’

Nepal Telecom ad

स्कूलबाट हरि दाइ (हरिप्रसाद शर्मा), वैद्यजी (प्र.अ. रत्नदास वैद्य) र म काठमाडौं जान भनी बेलुकी ४ बजेतिर विद्यालयबाट अघि बढ्छौं । जोरपाटीबाट हामी देख्छौं- भैरव दाइ भयालबाट हेरिरहनुभएको छ । अनि, झट्ट हामी सम्झन्छौ— अघिल्लो दिन हामीले आज आउँछौं भनेका थियौँ । त्यसैले सायद हामी आउँछ भनेर बाटो हेरिरहनुभएको थियो ।

हामी (म र हरि दाइ) त्यहाँबाट अघि बढ्न सक्तैनौँ । वैद्यजी भोलिपल्ट कास्की जाने हुनुभएकाले अरू काममा व्यस्त भई जान सक्नुहुन्न, त्यसैले उहाँसँग बिदा भएर हामी भैरव दाइकहाँ लाग्छौं । यो ०३२ माघ १४ गते बुधबारको कुरा हो, जुन समय उहाँ अस्वस्थ भई अफिसबाट बिदामा बस्नुभएको थियो ।

शारीरिक रूपबाट अस्वस्थ एक ख्यातिप्राप्त नेपाली निबन्ध र हास्यव्यङ्ग्यका स्रष्टाको अनुहार एकदमै विचित्र देखिएको हुन्छ । सोहोरिएको नीलो अनुहारमा करुणा र वेदनाका लहरहरू प्रष्ट देखिएका हुन्छन् । हाम्रो आगमनले उहाँको अनुहारमा खुशीको लहर आउँदछ । त्यत्तिकैमा विभिन्न कुराहरू चल्छन् । त्यही सिलसिलामा उहाँ भन्नुहुन्छ, “हिजोआज ममा अन्तरविरोधी विचारधाराहरूले ज्यादै हलचल मचाउँदछन् । कहिलेकाहीँ त लाग्छ- मलाई समाजका सबै र अझ आफ्नै जहान-परिवारसमेतले पनि मिलेर मार्न लागिरहेछन् । त्यसैले ममा वीभत्स र डरलाग्दा-डरलाग्दा कल्पनाहरू खेल्न थाल्दछन्, जसबाट म भयाक्रान्त हुन्छु, अताल्लिन्छु ।”

यही क्रममा उहाँले भन्नुभयो, “एक महिनाअघि यही मनस्थितिको पूर्वाभासमा मैले लेखेको यो सुन्छौ ?” मोटो बत्तीस पाने कापीमा लेखिएको त्यो लेखको शीर्षक थियो ‘हस्ताक्षर’ । हुन पनि वास्तवमा त्यो एउटा दीन नेपाली साहित्यकारको विगतको हस्ताक्षर थियो, ऊजस्तै (अझ सम्पूणर् नै भन, किनभने हाम्रो देशमा दुई छाक पेटभरि राम्रो खाएर बाँच्न सकेका साहित्यकार एक-दुईलाई छाडेर को नै छ र ?) साहित्यकारको प्रतिनिधित्व गर्ने ?

मलाई लाग्थ्यो त्यो रसिक र सधैं हाँसिरहने अनुहारको मालिक, गहिरो विचारपूर्ण निबन्धका स्रष्टा, रोएको पाठकलाई हँसाउने र भ्रष्ट र अनैतिक सामाजिक मान्यता र कमजोरीको चिरफाड गर्ने एउटा हास्य-व्यङ्ग्यकारको हृदयमा कुनै वेदना, कष्टहरू छैनन् होला तर, ‘हस्ताक्षर’ले मेरो त्यो धारणा मेटिदियो अनि, मैले मनमनै भनेथें ‘आफू रोएर पनि अरूलाई हँसाउन सक्नुः तब त एक सफल कलाकार !’

पलायन र आत्महत्या होस् या स्वाभाविक मृत्यु चाहने भैरव दाइ आफू कठिन अवस्था र अन्तद्वन्द्वपूणर् मनस्थितिमा भए पनि हामी पाठकलाई कर्तव्यमा अड्ने प्रेरणा दिनुहुन्छ, हामीलाई हाँसी बाँच्ने प्रेरणा दिनुहुन्छ । त्यतिबेला उहाँले भन्नुभएको- “बुझ्यौ, अब म मृत्युलाई सजिलै ग्रहण गर्न सक्छु ! आत्महत्याद्वारा होस् या स्वाभाविक रूपबाट, अब मलाई केवल मृत्यु चाहिएको छ !” भन्ने वाक्यलाई जीवनभर भुल्न सक्तिनँ, आज उहाँले चाहेजस्तै हुन गयो ।

‘हस्ताक्षर’ भित्रका वास्तविक र पीडित भैरव हाम्रो सामु उदाङ्गयाउँदा उहाँको आफ्नै पनि भक्कानो फुट्छ, जसको साथ हाम्रो आँसुले दिन्छ ! पछि मनमनै भनेथेँ- ‘धन्य हुन् भैरव दाइ, छातीभरि वेदना र कष्टहरू लुकाएर पनि हामीलाई हँसाउन सक्छन् । बरु हामी कति कृतघ्न छौं- भैरवप्रति हामी कति गर्व गछौँ, नाक फुलाउँछौँ उनको साहित्य पाएर, कलेजतिर उनका सिर्जना पढाइन्छ, व्यक्तित्व घोकाइन्छ तर उनीभित्रको वास्तविक साहित्यकारलाई पढ्न जमर्को कोही गर्दैनौँ ! मरेपछि एक मिनट मौन बसेर र लासमाथि अबीर, सिन्दूर छरेर श्रद्धान्जली अर्पण गर्दै कतव्य पूरा गर्ने हामी नेपालीले जिउँदो शरीर जोगाउने प्रयत्न कहिले पो गयौँ र ?

घरमा मकै भटमास खाजा खाएर हामी गोकणर् वरतिर घुम्ने उद्देश्यले अघि बढ्यौँ । बाटाको कुराकानीद्वारा उहाँमा यस कठिन मानसिक स्थितिबाट गुर्जंदा उहाँमा— अब मेरो मस्तिष्क शिथिल र शून्य भैसक्यो भन्ने धारणा पाइयो । अनि, केही गर्न सकिनँ र सक्तिनँ भन्ने हीनताबोधको कारणले उहाँमा बाँच्नुदेखि नै वितृष्णा भएको कुरा बुझियो ।

उहाँको तत्कालीन आर्थिक समस्यासँग हामी परिचित थियौँ । भर्खरै भनेजस्तो जन्डिसको मृत्युपासबाट तीन-चार महिनाजति थलिएर उठेको, आफूसम्म आठ जनाको परिवार पाल्नुपर्ने भैरव दाइ कति पीडित हुनुहुन्थ्यो भन्ने कुरा हामीलाई थाहा थियो त्यसैले हामी (म र हरि दाइ) सकेको केही सहयोग गर्ने मनसायमा थियौँ । तर, मैले त्यो कुरा गर्न सकेको थिइनँ । एउटा संवेदनशील, भावुक र स्वाभिमानी साहित्यकारलाई मैले सहयोग गर्छु भन्ने धृष्टता र आँट गर्न सकिनँ त्यसैले हरि दाइलाई भन्न आग्रह गर्दछु । हरि दाइले कुरा गर्नुभयो तर ’एक स्वाभिमानी साहित्यकार यो स्वीकार गर्न सक्तैनन्, औषधी र पथ्य नपाएर मर्न परे पनि कसैसँग हात पसारेर याचना गर्दैनन्’- यो सम्भावना मैले हरिदाइसँग पहिले नै गरेको थिएँ । आखिर त्यही भयो । “आवश्यक परे पछि भन्ने नै पर्दैन” भन्ने जबाफ हामी पाउँदछौं । हुन त यो प्रस्ताव हामीले आफू अहिलेलाई समर्थ भएर एक स्वाभिमानी साहित्यकारलाई आफूप्रति कृतज्ञ गराउने उद्देश्यले गरेका थिएनौँ । किनकि, हामी पनि परिवार भएका एउटा साधारण निम्न-मध्यमवर्गीय स्कूलमास्टर थियौँ । त्यो प्रस्ताव त हाम्रो साहित्यकारलाई चढाउन खोजेको एउटा श्रद्धा-सुमन थियो, जुन एक स्वाभिमानी साहित्यकारले स्विकार्न सकेन ।

भोलिपल्ट धुलिखेलतिर घुम्न जाने कार्यक्रम बनाएर बिहान दश बजे भेट्ने सल्लाह गरी हामी छुट्टियौं- एउटा मर्मान्तक वेदना छातीभित्र लुकाएर अनि ‘हस्ताक्षर’द्वारा उदाङ्गिएका वास्तविक भैरव अर्यालको अनुहारको तस्वीर उतारेर ।

०००
‘सम्झना, भैरव स्मृतिग्रन्थ’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x