कृष्ण प्रधानहास्यव्यङ्ग्य सम्राट भैरव अर्यालप्रति
आफ्नै जीवनदेखि पक्कै हार खाएर उनले यो काम गरेका हुन् । दुई दिनपछि उनको लाश भेट्टाउँदा... कोट पहिरिएका थिए । आफ्ना उदगार, आफू यो संसारमा नबाँच्ने दृढ़ सङ्कल्प लिएको कुरा लेखेको यिनको कोटको गोजीमा भेट्टाइएको थियो भनिन्छ ।
असोज ५ गते (२१ सेप्टेम्बर)। संसारभरिका तमाम् नेपाली हास्यव्यङ्ग्यकारले स्मरण गर्नुपर्ने दिन- असोज ५ गते – २१ सेप्टेम्बर । यही दिनमा नेपाली हास्यव्यङ्ग्यका सम्राट भैरव अर्याल ललितपुर जिल्लाको कुपण्डोलमा भूमिष्ठ भएको दिन ।
नेपाली साहित्यको अखड़ा मात्र होइन विश्व साहित्यकै अखड़ामा हास्यव्यङ्ग्य लेखनमा पौंठेजोऱी खेल्ने प्रतिभाशाली साहित्यकार भैरव अर्याललाई सञ्चोले बाँच्न नदिएको हामीसित इतिहास साक्षी छ । सिङ्साँढ़े तथाकथित लबरपाँड़े साहित्यकारको जाल-झेल, छक्का-पञ्जा, आह्रिस-डाह, ह्याँकुला मिचाइ, षड़यन्त्र आदिका शिकारले रोमाँ रोलाँ, सनझेल्यात्सिनजस्ता अब्बल साहित्यकारहरू आफ्नै मातृभूमिबाट लखेटिए । सल्मान रुसदी, तसलिमा नसरिनहरू आफ्नै वासभूमिबाट उठिवास लागे ।
महाकवि देवकोटाको खपिनसक्नु प्रतिभाको डामले भेटेका उबेलाका तथाकथित साहित्यकारले बाह्र बत्तीसका कुरा लाएर देवकोटालाई घोक्र्याइँ-मुण्ट्याइँ गरी पागलको तोक लगाई राँची पुऱ्य़ाइछाड़े एकातिर भने अर्कोतिर नेपाली हास्यव्यङ्ग्य फाँटका पौरखी पुरुष भैरव अर्याल पनि जागिरे जीवनदेखि नै यिनका छिन्द्रान्वेषीहरूबाट शोषित, पीडि़त हुनमात्र होइन यथोचित सम्मानबाट समेत वञ्चित गराउने प्रयास नगरिएको होइन । त्यो बेलामै नेपाली विषयमा एमएका साथै बर्लिनको कलेज अफ सोलाडिरिटीबाट पत्रकारितामाथि डिप्लोमा गरिसकेका भैरव गोरखापत्रका सहायक सम्पादक र मधुपर्कका उपसम्पादकदेखि सम्पादकसम्म रही साहित्यिक पत्रकारितामा विशिष्ट योगदान दिँदै आएका हुन् ।
उनलाई कनिकेबुद्धि भएका झिल्के साहित्यकार बन्धु (सबै होइनन्), धूर्त अधिकारी, जाली साहित्यिक पत्रकारहरूले लहलह हुँदै गरेको अर्यालको झ्याङिन लागेको चिल्लो पातको लक्षण चिचिलामै झारिदिएपछि भैरव अर्यालको मानसिक सन्तुलन खल्बलिएको इतिहास छतछती साक्षी छ । उच्चाकाङ्क्षी भैरव अर्यालका उच्चाकाङ्क्षी हुने पखेटा काट्ने प्रयास त्यो बेलैदेखि नभएको हैन । अन्ततः खपिनसक्नु भई ४० वर्षको झर्झराउँदो उमेरमै भैरवले ज्यान गुमाउन वाध्य भएका हुन् । उच्चाकाङ्क्षी हुने उनको जल्पना-कल्पनामा आफ्नै साथी-भाइको विषनजर सहन नसकी अन्त्यमा आत्महत्या हेरे र श्वास बिसाए भैरवले ।
थाहा लागे अनुसार, भैरवले पटक पटक विषपान गरी आफूलाई विसर्जन गर्ने प्रयास विफल भएपछि यो जीवनदेखि वाक्कै दिक्कै भइसकेका अर्याल फेरि पाञ्चखोलाको भीरबाट झवाम्मै हामफाल्दा उनकै इष्टदेवताले हात थापेर रुखमा अड़्काइ पठाउँदा फेरि पनि उनको ज्यान बाँच्यो । ढीट भैरव अर्याल फेरि दोस्रो पटक पनि त्रिशूली नदीको पुलबाट हामफाल्न लाग्दा पुलमाथि भरिया आउँदा पुल हल्लिएकाले भैरवको आत्महत्या इच्छा अधूरो रहेको समेत बताइन्छ । उनलाई जोगाउने धेरै उनका शुभचिन्तक साहित्यकारले लाख प्रयास नगरेका होइनन् । चिताएँ कि बिताएँ भन्ने स्वभावका अज्जीर स्वभावका भैरव २०३३ असोज १९ गते (५ अक्टोबर सन् १९७६) का दिन गोकर्णेश्वर महादेव छेउको पहरो (बाग्मतीको ककारो)बाट हामफालेर आत्महत्या गरी ज्यान फालि छाड़े । भैरव अर्यालको दुस्साहस भावावेश पटक्कै थिएऩ ।
आफ्नै जीवनदेखि पक्कै हार खाएर उनले यो काम गरेका हुन् । दुई दिनपछि उनको लाश भेट्टाउँदा… कोट पहिरिएका थिए । आफ्ना उदगार, आफू यो संसारमा नबाँच्ने दृढ़ सङ्कल्प लिएको कुरा लेखेको यिनको कोटको गोजीमा भेट्टाइएको थियो भनिन्छ । त्यहाँ फेला परेको राजीनामा पत्रमा लेखिएको थियो- “गोरखापत्रको सेवा छाड़्नुको साथै म देश र धरतीलाई छाड़्दैछु, कारण मेरो क्षमता केही गर्न नसक्ने भई र कलम वा कोदालो केही चलाएर आफू र आफ्ना आश्रितलाई संरक्षण दिन या देशको निम्ति केही दिन नसक्ने भएकाले मैले आफू बाँच्नु पनि बेकार सम्झेको छु” (अर्याल, २०३८; ११)।
ठिटौले उमेरदेखि नै साहित्यिक प्रतिभाका घनी भैरव ठिटौले उमेरदेखि नै तथाकथित साहित्यकारहरूबाट शोषित, पीडि़त भएका साहित्यकार हुन् । कतिसम्म पनि हेप्नु र शोषण गर्नु जानेका ? आफूभन्दा ठूला-बड़ा भनाउँदा साहित्यकारलाई शुद्धाशुद्धिको निम्ति आफ्नो रचना दिन्थे- कतिले बनाइदिन्छु भनी भुसुक्कै बिगारिदिन्थे- कतिले छापिदिन्छु भने लगेर आफ्नै नाममा छाप्थे । कतिले विना पारिश्रमिक आफ्ना संस्मरणहरू लेख्न लगाउँथे र आफ्नै नाममा छपाएर गजक्क पर्थे ।
आफ्नो जीवनभरि भैरव अर्याल सञ्चोले बाँच्न पाएनन्- उनलाई सञ्चोले बाँच्न दिएनन् । साहित्यमा चलेको भाइबन्दी, नातावाद, लबीको शिकारमा पर्ने साहित्यकारहरू अहिले पनि छन् हाम्रै वरिपरि । यसको रोकथाम गरिएन भने फेरि थुप्रै भैरव अर्यालहरू आत्महत्या नगर्लान् भन्न सकिन्न ।
सानो डोरेटो (झिनो बाटो) बाट थितरिँदै हिँड़न थालेको नेपाली हास्यव्यङ्ग्य साहित्यलाई बामे सराउँदै, डोऱ्याउँदै राजपथसम्म पुऱ्याउनमा भैरव अर्यालको सिंहभाग भूमिका रहेको कुरा कसैले टार्न सक्दैनन् । नेपाली हास्यव्यङ्ग्यका अदभुत् शिल्पी भैरव अर्यालकै मलजल पाएर नेपाली हास्यव्यङ्ग्य साहित्य झाङिएर गएको छ । उबेला भैरवलाई, भैरवको अदम्य प्रतिभाको घाँटी अँठ्याउऩ प्रयास गरिए पनि (गरिएकै हो) आजसम्म भैरवलाई उछिन्ने अर्का हास्यव्यङ्ग्य प्रतिभा देखिएको छैन । नेपाली हास्यव्यङ्ग्य साहित्यका सम्राट हुन् भैरव अर्याल ।
उनै नेपाली हास्यव्यङ्ग्य सम्राट भैरव अर्यालको ८६ औं जन्मदिनमा सादर नमनाभिवादन ।
०००
सिलिगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest








































