सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भैरवलाई सम्झँदा

राम्रो लेखेर ल्याऊ, म छापिदिउँला ।’ म लडेको रुखजस्तै लल्याकलुलुक भएँ र ‘हस् कोशिस गर्छु र ल्याउँछु’ भनेर ‘बाघको अगाडिबाट मृग फुत्केझैँ’ हतारहतार दुबैले बाटो ततायौँ ।

Nepal Telecom ad

अलिअलि नेपाली हास्यव्यङ्ग्यका साहित्यबारेमा मेरा घरमा बाले किताबहरू ल्याएकाले थाहा पाएको थिएँ । मलाई पनि बाको ब्याख्यासहितको प्रस्तुतिले आकर्षित गरेको थियो । २०२७ सालमा विज्ञान पढ्ने चाहानाले काठमाडौं आएपछि बाले भोटाहिटीतिरका पुस्तक पसलबाट विद्यालयका किताबसहित ‘काउकुती’, ‘गलबन्दी’, ‘छ्याकन’ र ‘जयभूँडी’ किनेर ल्याउनु भयो । प्रायः किताबहरू ल्याएपछि बाले सबैमा जिल्दा हालिदिने र कतिपय आफैँ पढेर सुनाउनु हुन्थ्यो । दैनिक विद्यालयको पाठ्यक्रमबाहेक हामी भर्खरका केटाकेटी त्यस्ता किताबहरू पढ्थ्यौँ । त्यो समय म ‘गोरखापत्र’मा विभिन्न प्रशङ्गमा सम्पादकलाई चिठी स्तम्भमा लेख्थेँ र मेरा केही चिठी छापिएका पनि थिए । त्यसरी राष्ट्रिय पत्रिकामा आफ्नो नाम छापिएपछि एक प्रकारको हौसला आउँदो रहेछ । मेरो आँट बढेर देशभक्तिपूर्ण केही कविता पनि लेख्न थालेँ ।

अब गोपमा छपाउन के गर्ने भन्ने चिन्ता लाग्न थाल्यो । मेरा सहपाठी, गोपालप्रसाद रिमालका माहिला सुपुत्र मदन रिमालले जुक्ति सुझाए, ‘जाउँ भैरव अज्र्याललाई भेट्न, गोपमा नै काम गर्ने हो’ । दुबै जना गोपको कार्यालय नयाँसडक गयौँ । भेट भएन, फेरि अर्को दिन गयौँ, त्यही बेला मैले भैरव अज्र्याललाई भेटेँ । उहाँले नेपाली टोपी, दौरा-सुरुवाल, कम्मरपेटी र कालो कोट लगाउनुभएको थियो र अग्लो पनि हुनुहुन्थ्यो । उहाँका अगाडिका दाँत ठूला र सेतासेता थिए । भेटेपछि उहाँसँग आफ्नो उत्सुकता भनेँ, ‘मैले कविता लेखेको छु । कविता छाप्न मन लागेको छ ।’ त्यो बेला म देशभक्तिले भरिएका, अन्त्यानुप्रास मिलाउन कोशिस गरिएका कविताहरू लेख्थेँ । हत्तनपत्त एउटा कागज खल्तीबाट झिकेर एकदुई हरफ बाचन गरेँ ।

मेरो कुरा र कविताका हरफ गम्भीर भएर सुनेपछि अज्र्यालले भन्नुभयो, ‘बाबु, तिम्ले लेख्ने कोसिस गर्‍यौं, यो राम्रो कुरा हो । कविता भनेको पेन्सिल तिखारेजस्तो हुनुपर्छ । पेन्सिललाई तिखारेर जति मिहिन बनाइन्छ, त्यसले त्यति नै राम्रो र गहकिलो रेखा कोर्छ । मोटो र चौडा भयो भने रेखा राम्रो मानिदैन । राम्रो लेखेर ल्याऊ, म छापिदिउँला ।’ म लडेको रुखजस्तै लल्याकलुलुक भएँ र ‘हस् कोशिस गर्छु र ल्याउँछु’ भनेर ‘बाघको अगाडिबाट मृग फुत्केझैँ’ हतारहतार दुबैले बाटो ततायौँ । त्यसपछि मलाई कविता छपाउने हौसला आएन, तर दैनिक वा साप्ताहिक लेख्थेँ र आफ्नै डायरीमा राख्थेँ । सम्पादकलाई चिट्ठी चाहिँ लेख्न छाडिन, नियमित लेख्थेँ । सिंहदरबार जलेपछि मैले ‘सिंहदरबारलाई यसरी बनाउनुपर्छ’ भनेर पनि लेखेको थिएँ र त्यो पनि गोरखापत्रमा छापिएको थियो । भैरवसँगको परिचयको फल होला पठाएका सबै पत्र छापिन्थे । उहाँसँग भेटिन चाहिँ प्रायः साँझ मदन र म रत्नपार्क घुमेर वा त्रिचन्द्रमा ढिलोसम्म कक्षा हुँदा फर्कने क्रममा भूगोलपार्क नजिक हुन्थ्यो । नमस्कारको सट्टामा उहाँले आफ्ना कोदालीपाते दाँत देखाउँदै मसक्क परेको जवाफबाट हामी केटा मख्ख पथ्र्यौँ । मलाई चाहिँ ‘ख्वै कविता ?’ भन्नुहोला कि भन्ने लागिरहन्थ्यो । तर कुनै भेटमा पनि त्यो बरदानरुपी भनाइ सुन्न पाइएन ।

हरिप्रसाद रिमाल र कल्याणी रिमाल दम्पतिका छोरा अरुण पनि मेरा सहपाठी थिए । त्यसैले हुनुपर्छ, मलाई, मदन र अरुणलाई रिमाल दम्पत्तिले केही रेडियो नाटकमा अभिनय गर्न दिनुभएथ्यो । नाटकमा खेलेपछि छसात रुपियाँ पनि पाइन्थ्यो । बाल कार्यक्रमहरूमा भाग लिँदा भने मैले केही पुरस्कारसमेत पाएको थिएँ । प्रमाणपत्र सकेर स्नातकमा भर्ना भइयो २०३३ मा । पहिलो सेमेस्टर सकिएको पनि थिएन, गोकणर्को ककारोमा भैरवले ‘आत्महत्या’ गरेको भन्ने अपत्यारिलो समाचार सुनियो । हेर्न र अन्तिम यात्रामा सहभागी हुन जाने नजाने दोधारमा परेँ, किन कि म कतैबाट जोडिने त हैन उहाँको, प्रशंसक मात्र हुँ । साथी पनि भएन गइनँ ।

एकै पटक दुइ दशक जति अघि त्रिविविका प्रगतिशील शिक्षकहरूको विज्ञानप्रविधि सम्बन्धी एक भेलामा भैरवकै बान्की र थरका प्रा.डा. दिपक अज्र्याललाई भेट्दा म झस्केँ । कहीँ भैरवकै कोही त होइन ? एक पटक त आँट गरेरै सोधेँ, ‘छोरा’ भन्ने सकारात्मक उत्तर पाएपछि मैले भैरवलाई नै साक्षात्कार गरेको अनुभूति भयो । त्यसमाथि मलाई दाइ भनि सम्बोधन गरेकाले भैरवको चार दशक अघिदेखिको न्यास्रो र खोजेको आत्मीयता पाएझैँ पुलकित भएँ ।

वासुदेब लुइँटेलले दिनुभएका उहाँका केही कृतिमा सन्दर्भ भेटे पनि भैरवका अरु सामग्री त मैले पाइनँ । रोचक घिमिरेले सदाशयतापूर्बक दिनुभएका ‘सम्झना’ भैरव स्मृतिग्रन्थ, ‘सम्झनामा फक्रिएका थुँगाहरू’ र ‘अनुहार र अनुभूति’ जस्ता पुस्तकहरूबाट भैरव बारेमा मनग्य जानकारी पाएँ ।

विजय चालिसे, रोचक घिमिरे, केके कर्माचार्य, रमेश विकलको सालिक हेर्न आउने विजयबाट जानकारी पाएपछि पाटन औद्योगिक क्षेत्रमा म पनि खुर्मुरिएर गएँ । त्यहाँ विकल साथै भैरवको पनि सालिक बन्दै रहेछ । विजयले सल्लाह मागेपछि विकल बारेमा हुनुपर्ने बान्की सच्च्याउन भने, सबैले मान्नुभयो । छेवैको भैरवको सालिक हेर्दा कताकता के के नमिले जस्तो लागेर मूर्तिकारलाई भनेँ । उहाँले छोरा दिपकले हेरेर अन्तिम गरेको हो भन्नु भयो । ‘खिसी गरेर पार्कोटे’ भनिने जस्तो कोट र नमिलेको टोपी लगाईमा धेरै ख्याउटे अनुहार, मेरो मनले मानेन । तुरुन्त फोन गरेर दिपकलाई भने । ‘हेरेको दाइ ठिकै थियो’ भन्नु भयो । मैले ‘यो त हुँदैहुन्न, सार्वजनिक ठाउँमा राखिने, तुरुन्त आऊ, म पनि छु अझ भनुँला’ भने । उनले ‘मिटिङमा भएकाले समय लाग्छ, मिलाएर आउँछु’ भने ।

अर्को पटक विकलको सालिक अन्तिममा बसन्त रिजाल र विजयसहित हेर्न जाँदा अलि सुधार भएको भैरवको सालिक देखेर मूर्तिकारलाई सोधेँ । उनले ‘तपाइँले भनेको भोलिपल्ट दिपक आए । के के भन्नुभाथ्यो भनेर सोधे र हुन्छ’ भने रे । आकर्षक सालिक बनेकोमा मनमनै सन्तोष लाग्यो, करिब पाँच दशक अघि गोपमा भेटिएका भैरवले ‘ख्वै त कविता अब छाप्छु नि’ भनेको जस्तै लाग्यो ।

०००
२०७९ असोज ३
ल.पु. चालिसेडाँडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाले रिसाउन छोडौँ, मस्कने गरौँ !

पाकाले रिसाउन छोडौँ, मस्कने...

डा. मुकेशकुमार चालिसे
पाकाले रमाइलो गर्ने पिरलो हटाउने !

पाकाले रमाइलो गर्ने पिरलो...

डा. मुकेशकुमार चालिसे
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई