डा. मुकेशकुमार चालिसेपाकाले रमाइलो गर्ने पिरलो हटाउने !
परिवारजन दुष्ट मतिका भए आफ्नो व्यवस्था सकेसम्म मिलाएर बाँकी जीवन ‘काल पर्खने पिरलोको बुढेसकाल होइन, ज्ञान र अनुभव पुस्तान्तरण गर्ने, उमेरिएका पाका, सभ्य नागरिक’ बन्ने अनमोल मौका हो ।
डा. मुकेश चालिसे :
उमरिँदा पाका मान्छेहरूमा पहिलाको भन्दा फरक स्वभाव विकसित भएको हुन्छ, उनीहरू हाँसखेल नगर्ने, एकै ठाउँ थुप्रिरहने, कम बोल्ने र गम्भीर हुन्छन, भनिन्छ । त्यस्तै, पाको उमेरमा के गर्न सकिन्छ र ? अब त दिएको खाने, लाउने र चुपचाप भनेको ठाउँमा लडिरहने हो, दौडधुप गरेर नचाहिँदो धामा कसले गर्छ ? बरू आफ्ना इच्छा लुकाउने र घरका सामरथले भनेअनुसार सके गर्ने नसके अशक्तता जाहेर गरी बस्ने । यतिखेर उमेर र शारीरिक अवस्थाले दिँदैन भनी सक्ने काममा पनि निच मारेर बसिरहनु पाका मान्छेले सुख पाउने तरिका हो, भनिन्छ । चल्दै आएका यस्ता परम्परागत सोचाई अहिलेको समाज र स्वास्थ्य विज्ञानको विकासले पाका मान्छेबारेमा ठिक उल्टो किसिमले उहाँहरूलाई लिनुपर्ने भएको छ । पाका मान्छेलाई एकै ठाउँमा थच्च्याउने, हिँडडुल गर्न मनाही गर्ने र काल पर्खिन लगाएझैँ चुपलागेर बस्न घरका जिम्मेवारले अह्राएका हुन्छन् । के अब वयस्क र परिवारका सदस्यहरूले परिवर्तित परिस्थितिमा सोच्नु पर्दैन र ?
ईकिगाईः
जापानमा लामो आयु भएका र जीवन सक्रियतापूर्वक बिताइरहेका शताब्दी महिला-पुरुषसम्म भएको अति सुखी अवस्थालाई ‘ईकिगाई’ भनिने एक शब्दमा भनिन्छ । जापानी भाषामा ईकि भनेको बाँच्नु र गाई भनेको उद्देश्यमूलक बुझिन्छ र त्यस्तो भनाई समग्रमा कारणसहितको जीवन जिउनु भन्ने नै हो । दीर्घजीवनको अर्थसहित यस्तो दर्शन सातौँ शताब्दीमा रहेको जापानी हेआन काल (ई.सं. ७९४ देखि ११८५)मा सुरुवात भएको जनाउँछ । त्यो कालमा कला, साहित्य र न्याय व्यवस्था अतिनै राम्रो भएकोमा शान्ति काल भनेर जापानीहरू धेरै वर्ष बाँचेको कुरालाई अहिले करोडौंले प्रशंसा गरेका छन् । ईकिगाई भनिने जीवन प्रणाली खासगरी जापानका टापुसमुहमा ओकिनावा भन्ने ठाउँमा रहेको छ । यो टापुमा दीर्घजीवन भएका र शताब्दी मानिसको दर अतिउच्च भएका कारणले ‘अमरहरूको भूमि’ उपनामले विश्वभरी चिनिन्छ ।
विश्वप्रसिद्ध पुरस्कारबाट सम्मानित पत्रकार डान बुईटनरले संसारभरीका सबैभन्दा दीर्घजीवि मानिसहरू भएका ठाउँमध्ये पाँच ओटा माथिल्लो श्रेणीमा रहेका ठाउँमा ‘सय वर्षभन्दा बढी कसरी बाँचेका छन्’ भनेर अध्ययन गरे । बुईटनरको भनाईमा सबै नमुनालिन लायक ठाउँमध्ये ओकिनावाका बासिन्दा सबै ठाउँका भन्दा बढी बाँचेको पाइएका छन् । उनको अन्तरवार्ता टिभीमा प्रसारण हुँदा चालिस लाख भन्दा बढीले हेरेर तथ्य जानकारी लिएको पनि समाचारमा उल्लेख छ । स्नायुवैज्ञानिक टोकियोका प्राध्यापक डा. केन मोजीको मस्तिष्क स्नायुविज्ञानका तिसभन्दा बढी वैज्ञानिक लेखहरू प्रकाशित भइसकेका छन र त्यसै ज्ञानको आधारमा दीर्घजीवि हुने रहस्यबारेमा ‘आफुभित्रको ईकिगाई ब्युँताउनुहोस्’ भन्ने पहिलो जनभाषामा लेखिएको किताबनै करिब दश लाखप्रति बिकेको थियो । यसबाट हरेक मानिसलाई दीर्घजीवि बन्ने रहर र आकाङ्क्षा हुन्छ भन्ने पनि बुझिन्छ ।
संसारका विभिन्न देशहरूमा सामाजिक र राजनीतिक प्रणालीले ल्याएको परिवर्तन अनुसार मानिसहरूका वर्ग विभाजन भएको हुन्छ साथै उमेरसमूहसहित जीवनलाई हेर्ने दृष्टिकोण फरकफरक पाइन्छ । अमेरिकामा वयस्क उमेरसमूहलाई मोटामोटी दुई समुहमा राखेर कुरा गरिन्छ, काम गर्ने उमेर र सेवानिवृत्त उमेर भनेर । नेपालमा केटाकेटी, किशोर, वयस्क, अर्धो र पाका मान्छे (बुढाबुढी, ज्येष्ठनागरिक) भनेर उमेर अनुसार विभाजन गरिन्छ । ओकिनावामा सेवानिवृत्त भन्ने शब्दनै प्रचलनमा छैन, त्यहाँ त ईकिगाई मात्र भनिन्छ र त्यसको मतलब ‘जिउँदो मान्छे बिहान उठ्नै पर्ने कारणले नै उठ्नै पर्छ’ भन्ने बुझाउँछ, अर्थात् ‘हामी बाँच्छौँ, त्यसैले बिहान हामी उठ्नै पर्छ, उठ्छौँ ।’
बुईटनरले थुप्रै ओकिनावाबासीलाई ईकिगाई नै भनेर सम्बोधन गरेका छन्, १०१ वर्षीय माझी बा आफ्नो परिवारको लागि हप्ताको तिन दिन माछा मार्न बिहानैदेखि व्यस्त देखिन्छन् । एउटी १०२ वर्षकी हजुरआमा आफ्नी चिचिली खनातीनीलाई ‘स्वर्गीय सुख पाउन’ भनी खोकिलामा घुसारी रहन्छिन्, अर्का १०२ वर्षका कराँते प्रशिक्षक अझै पनि कम उमेरकालाई आफ्नो प्रशिक्षणको सार सिकाई रहन्छन् । हार्वाडका पाका मान्छेका चिन्ता र शारीरिक प्रतिरक्षा प्रणालीका विज्ञ डा. दिपक चोपडा विशेषगरी पाका मान्छेको उन्माद तह लगाउन ईकिगाई धारणा सर्वोत्तम हुने बताउँछन् । नजिकै रहेर एकआर्कालाई सहयोग गर्दै साधारण तरिकाले जीवनयापन गर्ने जुक्तिनै ईकिगाईको प्रमुख सार हो, यसमा जीवनको उद्येश्य, माने र उत्प्रेरणा हुन्छ ।
ईकिगाईको स्वास्थ्यका फाईदा बारेका वर्षौसम्म अनुसन्धाताहरूले दीर्घ र स्वस्थजीवनको रहस्य पत्ता लगाउन कोशिस गरेका थिए । सबै विज्ञहरूको एकै मतोको जवाफ भेटिन्थ्यो, गुणवान वंशाणुको समिश्रण, पौष्टिक खाना र नियमित व्यायामले नै सबैथोकमा प्रभाव पार्दा पार्दै अर्थपूणर् जीवनको उद्देश्यसहित धामागरेमा ईकिगाई भनिरहनै पर्दैन । सन २००८ मा तोहोकु विश्वविद्यालयका अनुसन्धाताहरूले ४० देखि ७९ वर्षका करिब पचास हजार सहभागीहरूका आँकडा विश्लेषण गरेका थिए । त्यो विश्लेषणको परिणाममा ईकिगाई अवधारणा अवलम्बन गर्ने मानिसका जीवनमा भित्र्याँसका रोग लाग्ने खतरा घटेको पाइयो र मृत्युदर न्यून रहेको देखिएको थियो । यसलाई अर्को किसिमले भन्नु पर्दा सहभागीमध्ये ईकिगाई नगर्ने ८३ प्रतिशत भन्दा अभ्यास गर्ने ९५ प्रतिशत मानिसहरू पहिलो सर्वेक्षणको सात वर्ष पछि अझै जिवित थिए । यो एउटा अध्ययनले ईकिगाईले जीवनमा दीर्घता प्रदान गर्छ भन्ने प्रत्याभूति त गराउन नसक्ला तर त्यसको निश्कर्षले जीवनमा बाँच्ने उद्देश्यले सुखी र सक्रिय जीवन बनाईराख्न प्रोत्साहित त गर्छ ।
भित्री ईकिगाई जगाउनोस् :
मानिसले आफ्नो प्रकारको ईकिगाई भेट्टाउन एउटै उपायमात्र नहुन सक्छ, त्यसैले आफैँलाई केही सामान्य प्रश्नहरू सोधेर सुरु गर्न सकिन्छ । जस्तो के हुँदा तपाईंलाई खुशी लाग्छ र मन प्रफुल्ल भई पाथीभात खाएझैँ हुन्छ ? तपाईं के कुरा राम्ररी फत्ते गर्न सक्नुहुन्छ ? तपाईं के कुरा र कस्लाई महत्व दिनुहुन्छ ? कुन कुराले उत्प्रेरित गरेर बिहान उठनु हुन्छ ? निद्रा खुल्नासाथ के काम र विचारले प्रेरित गरेको महसुस गर्नुहुन्छ ? हो, आफुभित्रको ईकिगाई पत्तो लगाउन मानिसहरूलाई केही समय लाग्ला, मेरो ‘तपाईंको ईकिगाई जगाउनु होस्’ भन्ने किताबमा ईकिगाईका पाँचखम्बे बुँदाहरूको चर्चा मैले भन्ने मूल गुप्ती तथ्य मध्येकै हुन् । तिनै मूल कुरालाई आफ्नो जीवनमा लागू गरेर तपाईंभित्रको ईकिगाईलाई फलिफाप बनाउन सक्नुहुन्छ ।
१. सानोबाट सुरुः
ससानो कुराबाट सुरु गर्ने र हरेक पाईला सावधानीपूर्वक परिपूर्ण गर्ने आचरणनै यस खम्बाको मूलाधार हो । तपाईंले जीवनमा गर्ने हरेक कुरामा यो धारणा लागू गर्नु पर्ने हुन्छ । उदाहरणको लागि, एक कुशल किसानले कसरी आफ्नो उत्पादन सबैभन्दा राम्रो र स्वादिलो बनाउने भन्ने ध्याउन्नामानै आफ्नो समय र समर्पण अर्पेको हुन्छ । त्यसकालागि उसले उब्जाउ माटोको छनौट पहिला गर्नैपर्छ । उसले अशल बी र सिँचाईको व्यवस्था गरेर उत्पादन गर्न खोज्दछ । हेर्नोस् त, उसले सानो एउटा कुराबाट सुरु गर्दै समयअनुसार चाहिने कुराको व्यवस्था गर्दै कति लामो अवधिमा आफ्नो मिहेनतको फल भनेजस्तो पाउँछ त ? त्यस्तै साउँ अक्षर चिनेपछि बिस्तारै एकएक कक्षा चढ्दै दशमा पुगिन्छ अनि एकएक गर्दै विविध विषय पढेर विषयविज्ञ बन्ने गरिन्छ । हरेक विधामा सुरुवात ससानै कुराबाट हुन्छ, एकैचोटी ठूलो कुरा हेर्ने होईन, ईर्ष्या पाल्ने होईन, वाञ्छित सफलता पाउन सम्बन्धित विषयमा सानो पाइलामा सन्तुष्ट भई पूरा गर्न बाटो रोज्ने हो, त्यसो भए रमाईलो मात्र हुन्छ, पिरलो होईन ।
२. पूर्वाग्रहबाट मुक्तः
आफ्ना अनुभव र पहिलेदेखि लागेका कुरालाई बिर्सने कोशिस गर्नुहोस, अर्थार्त पूर्वाग्रहबाट मुक्तहुने उपाय गर्नुहोस् । तपाईं आफ्ना आग्रहबाट टाढिने प्रयासमानै तपाईंले आफूलाई यस उमेरमा साँच्चिकै चाहिने वस्तुहरू अझ प्रष्टताकासाथ सकार्न सक्नुहुन्छ । यस बुँदाको मुख्य सारनै आफ्ना कमीकमजोरी स्विकारगर्न सक्ने मानसिकता व्यवहारमा ल्याउनु हो भने यही कुरा जीवनमा सबैभन्दा गाह्रो विषय पनि हो । आफ्ना सकारात्मक कुरा जस्ले पनि बखान गर्नसक्छ तर कमजोरी भन्न गाह्रो हुन्छ र विभिन्न पूर्वाग्रहले लुकाउँछ । यस समस्यालाई सजिलै हल गर्न सक्नुभयो भने मात्र आफ्नो हालतमा पनि तपाईं सुखी हुने उपाय झिक्नु हुन्छ । त्यस्तो गर्न सकेमा आफुलाई आफैँले चिनेको भनी बल्ल हैसियतअनुसार तपाईं स्वअनुभवको पुरस्कार पाएको गौरव महसुस गर्न सक्नु हुनेछ । आफ्नो आय स्रोत, शारीरिक र मानसिक अवस्था विचार गरेर आफुलाई अब पहिलेको तुजुकमा होईन अहिलेको अवस्थामा कम प्रभाविलोनै ठानेर परिवारका सबै सदस्यको प्रिय हुन खोज्नुपर्छ, अनि रमाइलो हुन्छ ।
३. दिगो सहिष्णुताः
सकेसम्म धेरै मान्छेलाई विश्वासमा लिनसक्ने, नरम बोली, व्यवहार सहन गर्ने क्षमता भएका मानिस सबैका प्यारा हुन्छन् भने त्यस्तो आनीबानी भएका मान्छेलाई अरु बेलामा नभएपनि अति आवश्यकताहुँदा मद्दत गर्नेको ताँती लाग्छ । आफ्ना वरपर रहेका परिवार सदस्यहरू, परेको बेलामा मद्दत गर्ने साथी भाइ र इष्टमित्रहरूसँग निरन्तर मतभेद मात्र राख्ने, झगडा मच्च्याई दिने स्वभाव विकसित गरेका, उस्तै परे अपशब्द बोली लम्की झम्की गर्ने बाउँटा र रिसाहा पाका मान्छे भएमा उमरिँदा अप्ठ्यारोमा पर्छन । कोही भने सधैँ गनगन गर्ने, झर्को फर्को गर्ने, जस्मा पनि असन्तोषी, कुनै कुरा गर्यो कि अपजस लगाउने, टिमुर्किने, हरेक कुरामा निहुँ खोज्ने, मुखाले भएमा सामुहिक मायाको अभाव भएर जति पाको उमेर हुँदै जान्छ उति दुःख र पिरलो थपहुने सम्भावना हुन्छ । त्यस्ता पाका मान्छे आफन्तबाट अपहेलित भई शारीरिक कमजोरी र स्रोतको अभाव पनि बढेमा पिरलोले ‘आत्महत्या गर्न आँट आउँदैन, बरू ठूलै दुर्घटना भई ज्यान गए पनि हुन्थ्यो’ भनि भन्न सकिने मान्छे भेटेमा बिलौना गरिरहेका पाइन्छन् । उनीहरूका लागि सबैभन्दा शत्रु आफ्ना परिवार र आफन्तनै दुष्ट भएका हुन्छन् भने यस्तो परिस्थितिको जिम्मेवार बढी प्रतिशतमा पाका मान्छेकै व्यवहार हुन्छ ।
मिलाएर लैजाने र सबै परिवार सदस्यहरूको आवश्यकता र आशयलाई घरका जिम्मेवार भएका वयस्क सन्तानहरूले चाँजोपाँजो नमिलाउँदा समस्या चर्कन थाल्छ । कतिपय नयाँ पुस्ताको आचरण, वचन र कर्मले पाका मान्छे नियमित दुर्व्यवहार खप्नुपर्दा यो समस्या विकराल पारिवारीक झमेला बन्न सक्छ । नेपालमा शहरबजारमा छिमेकीबारे पनि पत्तो नपाउने परिस्थितिले बढ्दै गएको बेवारिस लाशहरूको बृद्धिको आँकडा यस्तै समस्याको पराकाष्ठा प्रतिविम्बित गर्छ । नेपाली समाजमा निकै शहरीया परिवार बाहेक गाउँघरतिर पाका मान्छेको अवहेलनामा जोरीपारीले ठाउँका ठाउँ आउरो नराखी अझैँ भन्ने चलन छ र परिवार सदस्यहरू पाकाको व्यवहारमा मुर्मुरिए पनि सार्वजनिकरूपले उहाँहरूलाई अमानविय व्यवहार गर्न डर तथा लाज मान्छन ।
४. साना कुरामा सुखानुभूतिः
जीवनका दैनिकीमा अनुभूत हुने परिस्थितिमा पनि हरेकमा राम्रा कुराप्रति बढी आकर्षित र आनन्दित हुन सिक्नु पर्छ । बिहान उठेर उदाउँदो सूर्यको रक्तिम लालिमा अवलोकनले हरेक जीवको नयाँ कार्यको सुरुवात भएको र आफू पनि केही फलदायी काम त्यसदिन गर्ने मन्सुवा राख्नुपर्छ । खुला आँगन र कौसिमा टहलेर शरीरलाई तरोताजा र फूर्तिलो पार्न बिहानीको शितल हावामा श्वासप्रश्वास सकेकोगर्न कोशिस गर्नु पर्दछ । सूर्योदयसँगै क्षितिजमा अम्बलअम्बल माथि चढ्दै गरेको प्रकाशपिण्डलाई आफुसँग दाँज्दै स्वअनुभव, ज्ञान र सिपका आधारमा अझै सकेको बहुजनहितमा आजै कुनै एक काम थालेर पूणर्गर्ने अठोट गर्नु पर्छ । यसरी हरेक बिहान प्राकृतिक रम्यताको आनन्द लिँदै आफैँलाई उत्प्रेरित गर्दै योजनाबद्ध तालिका बनाएमा तपाईं कस्को प्यारो नहुनु होलाा र ? हेर्नोस् र सम्झिनु होस् त, उही अनुहार र परिस्थिति भए पनि तपाईं आफ्नो विद्यालय नियमित जान कति आनन्द र उत्साहित हुनुहुन्थ्यो ? कहिल्यै नजाउँ भन्ने लागेन होला ? छालाको भकुण्डो नभए के भयो र ? भोगटेको वा पुराना कपडा डल्लो पारेको छँदै थियो, त्यहि पनि कति पसिना बगाएर खेलिन्थ्यो ? क्या रमाईलो हुन्थ्यो ! त्यो आनन्द कम थियो र ? त्यहि फूर्ति तथा जाँगर निकालेर अब पाको उमेरमा आफ्नो र समाजको हितमा सुहाउँदो तालिका कायम राख्नु तपाईंकै हितमा छ भन्ने नबिर्सनु होस् । हिँडडुल गर्दा आफुले घरका लागि गर्न सकिने काम केही भए जिम्मेवारलाई सोधि हिँडनु ‘पाका मान्छे सहयोगी हुन्छन्’ भन्ने अरुका मनमा पार्न र ‘नयाँ पुस्ताकालागि कामको उदाहरण’ पनि हो ।
५. वर्तमानमा अभ्यस्तः
जीवनको पाको उमेरमा सबैभन्दा महत्वपूणर् र जिम्मेवार शर्तमा यो गम्भिर चिन्तनयुक्त भनाईलाई मान्नु पर्ला ! वर्तमानमा आज जेजस्तो भोग्दै हुनुहुन्छ त्यहिनै वास्तविकता हो पाका मान्छेका लागि, हिजोको अवस्था र क्षमता त इतिहास भयो । विगत इतिहासबाट शिक्षामात्र लिन सकिन्छ, त्यहीँ अवस्था परिवर्तनशील समाजमा नदोहोरिएला ? त्यसैले पाका मान्छेले आजको आफ्नो अवस्थालाई दृष्टिकोणको मूल ध्यानमा लगाउनु उत्तम हुन्छ र गम्भिर चिन्तनबाट बाटो पहिल्याउन दैनिक मस्तिष्क सजग राखिरहनु पर्छ । हरेक खेलाडी वा पहलमानले आफ्नो क्षमता हरेक दिन त्यही कामगरेर आफु समयअनुसार प्रतिस्पर्धामा खरो उत्रिन सक्ने नसक्ने परिक्षण गरिरहेझैँ पाका मान्छेले समयसापेक्ष आफु कसरी ‘समयानुल ठिक’ भईरहने भनि योजनाबद्ध हुनैपर्छ । झिनामसिना काममा पनि अरुको भरपर्ने बानी छोडनु होस्, बरू सकेसम्म थोरैथोरै गरेर भए पनि आफ्नो आवश्यकता आफैँ पूरा गर्ने अठोट गनुहोस् । सकेमा अरुको मद्दत हुने काममा चाखराख्नु होस्, सबै उमेरसमुहले ‘सकेको गर्ने पाको मान्छे’ भनि अनुभवले गुणगान गरून् । त्यसो हुन उमरिँदा पनि सक्दो रमाइलोको ‘वसन्तले फूलका वास्ना छर्नेछन’ नसक्दा ‘शिशिर यामको ठिहिरीमा पिरलो गर्दै रात काट्ने’ जस्तै हुनेछ । नयाँ परिस्थिति अनुकूल आफु निपुर्ण नभए पनि जानेकालाई हौस्याई आफ्नो काम लिन सकिन्छ र गरिदिनेको मनमा ‘कर्तव्यबोध’ भन्दा ‘यथोचित प्रशंसानै लालायित’ भएको पाकाले बुझ्नै पर्छ ।
पाकाका समस्याः
शारीरिक अवस्था तलमाथि भएका पाका उमेरिएका मानिसलाई धेरै किसिमबाट परिवारका सदस्यहरूले हेरविचार र सहयोग गर्नुपर्ने हुन्छ । उमेरकै कारण पाका मान्छेहरू पहिले जतिको मात्रामा घरायसी र बाहिरीया काम गर्न फूर्तिला नहुन सक्छन् । आफ्नो नीजिकाम र दैनिकी सहजरूपले सम्पन्न गर्न सक्ने छन भने नसक्ने काममा घरकाले आफ्नो पनि त्यस्तो उमेर आउँछ भनि सहानुभूतिपूर्वक सघाउनु पर्छ । यसले बालबालिका पुस्तामा संस्कार र सोचाईमा सकारात्मक प्रभाव पर्छ र उनीहरू वयस्क हुँदा त्यतिखेरका पाकाले उचित स्याहार सम्भार पाउँछन, आखिर ‘छेउको सियो माझमा आउन’ के बेर लाग्छ र ? पाको ज्यानमा शारीरिक प्रणालीले बिस्तारै कमजोरी देखाउने हुनाले उमरिँदा जाँगरिला देखिने पाका मान्छे चाँडै थकान महसुस गर्न सक्छन् र नातागत भएको भन्छन् । यो नातागतको समस्या पाका मान्छेमा हुनु शारीरिक कारणले स्वभाविकनै हो र यसले गर्दा उहाँहरू रमाइलो गर्न सक्नुहुन्न बरू पिरलो गरी कुसमयमानै मरियला कि भनि डराई गनगन गरिरहने गर्नुहुन्छ ।
शरीरको स्वप्रतिरक्षा प्रणालीको गडबडीले धेरै किसिमका रोग लाग्छन् र एउटा मानिसको जीवनयापनमा गरिने क्रियाकलापमा ‘आनका तान फरक’ पार्दछ । त्यस्ता रोग भएका मान्छेहरूलाई सामान्य उठबसमानै अत्यधिक र असहनीय थकाई लाग्ने तथा नातागत भएर काम गर्न जाँगर नलागेको गुनासो गरिरहेका हुन्छन् । स्वप्रतिरक्षा प्रणालीका रोगहरू र नातागत हुन्छ भन्ने कुरा सँगसँगै हुने गर्छ, तर किन शरीरको प्रतिरक्षाको समस्यासँग मान्छेको थकाईलाग्ने प्रक्रिया जोडिन्छ भनि ठ्याक्कै कारण अझै पत्तो लागेको छैन । शरीरमा देखापर्ने कारणसहित वा रहित भित्री औडाह, कुनै भागको दुखाई, अनिद्रा, क्रियाशिलतामा कमी, क्षणिक उत्तेजनायुक्त तनाव र मस्तिष्कको उन्माद आदि हुँदा देखिने लक्षणहरूले सुराक दिन सक्छन् ।
सामान्य थकाई लाग्नु भनेको हरेक मान्छेले लामो समय शारीरिक मानसिक श्रम गर्दा हुन जाने प्रक्रिया हो भने नातागत भन्ने अर्थ फरक हो । नातागत भनेको कमजोरी अनुभव हुने, जिउ फतक्क गल्ने, बसिरहँदा पनि शरीर ढल्न खोज्ने, नौ नाडी गलेर कुनै कुरामा मन नजाने, अल्छी लाग्ने, दिक्क मनस्थिति हुने, वरपरको वातावरणसँग झर्किने, न बसे ठिक न उठे ठिक भइरहने कमजोरी अवस्था हो । नातागत बारेमा खासै यसैकारणले भएको भनि चिकित्सकहरूले पनि ठम्याउन गाह्रो हुन्छ, तर तपाईं त्यसैबाट असजिलो र छटपटाईमा परेको हुनसक्छ । अमेरिकी हार्वाड मेडिकल स्कूलका विज्ञहरूले प्रसारित गरेका प्रतिरक्षा प्रणाली र नातागतयुक्त थकानबारेको निर्देशिका हामीलाई काम लाग्न सक्छ ।
समाधानका जुक्तिहरूः
तपाईं बेलबेला नातागत भोगेर आफ्नो शरीरको सम्पूर्ण शक्तिनै खिचिसकेको अनुभव गर्दै हुनुहुन्छ भने काममा अझै जोतिन नखोज्नोस । आफूलाई भाउन्न भएको, छटपटी भएको र शरीर शक्तिहीन भएको अनुभव गर्नासाथ शारीरिक क्रियाकलाप रोकेर आराम गरेर आफन्तको मद्दतमा बस्नु पर्छ । त्यस्तो भएका पाका मान्छेले कसरी शारीरिक पुर्नताजगी गर्ने भन्ने पनि आफैँ र हितैषी आफन्तलाई जानकारी दिएर व्यवहारमा ल्याउनु आवश्यक हुन्छ ।
सजिलो रोजौँः
आकाशलाई थाम्छु, पातालै भ्याउँछु जसरी पाको उमेरमा वयस्क हुँदाझैँ धेरै कामधाम जिम्मा लिएर लगातार गर्ने बानीमा सुधार ल्याउनु होस्, उमेर, बर्कत र शारीरिक अवस्था अनुसार सक्रिय रहनु अहिलेको बेला हो । थकाई लागेको महसुस हुनासाथ आराम गर्नुहोस् ‘आ, के काम बाँकी राख्नु, पछि आफैँलाई हो’ भनि एकोहोरो काम नगर्नोस् । कामको बिचमा थरक मार्ने, एकछिन ढल्कने, तन्द्रामा रमाउने र कामनै गर्न मनलागे मनपर्ने सङ्गित सुन्ने, अखबार हेर्ने, आदि श्रम कमपर्ने साथै सजिलो लाग्ने काममा समय बिताउनु होस् । यसो गर्दा तपाईंको नातागत हट्छ भने बिहान उठेदेखि बेलुका नसुतेसम्म दिनभरिको बेलाबेला आरामगर्ने समय तालिकानै बनाउनु होस् ।
अग्रिम योजनाः
नातागत भएर शरीरनै एकातिर थुप्रिनु पर्ने अवस्था छ र काम पनि केही आफैँले गर्नु छ भने आफ्ना कामको फेहरिस्तमा तत्काल अति जरुरी काम प्राथमिकतामा राख्नुहोस् । आउने दिनहरू अति व्यस्तरही काम फत्ये गर्नुपर्ने छ भने अघिल्लो दिनदेखिनै शक्तिसञ्चय गरेर गतिविधि गर्नुहोस् र राति शरीरले पूर्ण आरामी पाउने गरी समयमा सुत्ने व्यवस्था गर्नुहोस् । कामलाई हेरेर अगाडिनै योजना बनाएर चल्दा शरीरले साथदिने सम्भावना बढी हुन्छ । हो, अरिष्ट मतिका परिवार र आफन्तजन हुँदा मन माफिकको काम गर्न गाह्रो होला, अनि नातागतले अँगार पारेको शरीरले परिवारले आशा गरेको काम गर्न सक्तैन तर के गर्नुहुन्छ त ? रसिला गलेका आँखा लगायर एकातिर बचनबाण सहँदै बस्ने न हो पाका मान्छेले ! यो तपाईंको वर्तमान छ भने यसको ओखती त्यति सजिलै पाईने छैन, संस्कार र चरित्रको परिवर्तन भएको दिव्य घटना भएमात्र ।
परिवारलाई जानकारीः
परिवारजन र आफन्तलाईमात्र होइन घनिष्ठ साथीभाइलाई पनि आफ्नो अवस्थाको जानकारी दिनुहोस् । परिवारजन तपाईंले हुर्काउँदा बढाउँदा सकारात्मक विचारले प्रभावित पार्नु भएको भए र बाहिरीया समाजका उल्टापाल्टा कर्तुत नसिकेका भए तपाईंको आवश्यकतामा पूरा गर्न खुशी हुनेछन् । तपाईंको तालिका र शारीरिक अवस्था हेरेर उनीहरू सबै चल्ने छन् साथै उनीहरूलाई आवश्यक पर्दा तपाईं पनि आफ्नो तालिकामा फेरबदल गर्न सकि हाल्नुहुन्छ । आधुनिकताको नाममा व्यक्तिवाद र पुरातन नमान्ने नाममा आदरणीय मानिला पाका मान्छेलाई ‘बुढापुराना, बोझ’ सम्झने परिवारको सदाचार पनि लत्याउने भएका छन् भने त, ‘तपाईं आफु जोगिएर खाना, नाना र छानासहित बाँच्नुनै भाग्य’ हो ।
स्वस्थ खानाः
नातागतले थलानै पारेको छ भने जई, कोदो, फापर जस्ता हिजोसम्म हेलाँ गरिएका खाद्यान्नको भूटेर बनाएको पिठो पच्न सक्नेजती समयसमयमा खानाले शरीरमा तागत बढन सक्छ । स्वास्थ्यले साथदिन्छ भने त्यसमा मह, सख्खर, मिश्री मिसाएर स्वादिलो पार्न सकिन्छ । त्यस्तै गरेको काँचो पिठोको रोटी ठिक हुनसक्छ भने गरुङ्गो भई पेट बिग्रने सम्भावना छ भने गेडागुडी र हरिया साग मिसाएर पानरोटी बनाएर खाए चाँडै तागत आएको अनुभव हुनेछ । बिहान र दिउँसो तातो पानीसँग बियाँजन्य र ओखर, काजु, देशी बदाम, तागतिला मानिएका फलहरूको गुदी खानाले शारीरिक तन्दुरुस्ती कायमगर्न मद्दत पुग्ला । बजारका बोतल र बट्टामा आएका फलरस भन्दा आफ्नै अघि पेलेका ताजा फलहरूको रस राम्रो तर सँक्रमणबाट बच्न घरमानै बनाएर पनि दिनको एक पटक पिउँदा फाईदा होला । फलरस आफ्नो शरीरको फापअफाप हेरेर पिउनु राम्रो, अन्यथा ‘भिटामिन सि प्रसस्त हुन्छ भनेर रुघाखोकीको ज्वरो आउँदा ज्यामिर खाने’ भन्नेजस्तो गल्तीगरी दोष नहोस् ।
नियमित व्यायामः
शारीरिक गतिविधिले शरीर स्वस्थराख्न निकै मद्दत गर्छ, सकेको काम गर्न छोडनु हुन्न । काम गर्ने बानीले शरीरका प्रणालीहरूमा सकारात्मक प्रभाव पार्छ, त्यसैले त, खाना खानासाथ सुति नहाल्नु, बेलुका खाना खाएको दुई घण्टापछि मात्र पल्टनु, केही नसके खाना खाएर कोठामा दस मिनेट भए पनि हिँडनु, भनिन्छ । आफुले जे जस्तो व्यायाम सकिन्छ नियमित गर्नु शरीरमा उर्जा उत्पादन गर्ने राम्रो अभ्यास मानिन्छ, केही नसके हात गोडा तन्काउने र श्वासप्रश्वासको व्यायाम गरे हुन्छ । व्यायामको कमीले पिसाब त ठिकै होला तर दिसा खलास हुन पाको उमेरमा समस्यानै परेको धेरै भन्दछन् ।
पर्याप्त निद्राः
हरेक मानिसले प्रयाप्त मात्रामा शारीरिक आरामी र उर्जा उत्पादनको लागि उमेरअनुसार मस्त निदाउन सक्नुपर्छ, ‘एक रातको निद्राले सात रात पिर्छ’ भन्ने उखान त्यसै चलेको नहोला । मस्त निदाउनुको मतलव शरीरमा कमी हुन थालेका जैविक रस उचित मात्रामा नियमितहुनु र प्रणालीका अनबरत कामबाट हुने थकाई मर्नु आवश्यक छ, त्यसकोलागि परेमा अभ्यास पनि गर्नु पर्दछ । निद्रा कचमचिनुको अर्थ भोलीपल्ट तपाईंका दैनिक कार्यमा बाधा पुर्याउनु हो ।
मानसिकता बलियोः
असाध्यै रोगले पनि नातागत गराउँछ भने शरीरनै जीणर् हुनसक्छ । रोगको पिरले हुने तनावले परिवारजन मात्र होइन आफैँलाई झर्को लाग्न सक्छ र मानसिकता कमजोर भई जहिले जोसँग भेटे पनि के छ हजुर हालखबर भन्दा ‘खै, कालले बिर्सेछ क्यार ? कति दुःखदिन लेख्या रहेछ, घुप्लुक्क हुन नि सकिएन’ भन्ने निराशाको सुस्केरा मात्र आउँछ । मानसिकता साह्रै कमजोर भएर घरीघरी आँखा रसाउने, डरलाग्ने, आत्तिने र मननै मरेर आएजस्तो भएको भए उचित विज्ञलाई देखाएर समाधानको बाटोमा लाग्न परिवारलाई आग्रह गर्नुपर्छ । परिवार ‘मुख बोल्दो नभए, चडकेर अपशव्दले अत्तो थाप्नेमात्र भए’ मनमिल्ने दौँतरीलाई भनि चिकित्सकको सेवा लिनु अति जरुरी हुन्छ ।
अन्त्यमा,
पाको उमेरले बाँकी जीवन सरल र सहज बनाउन रमाइलो खोज्छ । रमाइलो दिनचर्याले पाका मान्छेको आरामीको बेला थप उमेरिन मद्दत गर्छ । घरमा अनुकुल वातावरण बनाउँ, वृद्धाश्रमतिर घच्याडिनु नपर्ला, परिवारजन दुष्ट मतिका भए आफ्नो व्यवस्था सकेसम्म मिलाएर बाँकी जीवन ‘काल पर्खने पिरलोको बुढेसकाल होइन, ज्ञान र अनुभव पुस्तान्तरण गर्ने, उमेरिएका पाका, सभ्य नागरिक’ बन्ने अनमोल मौका हो । परिवारजन बेढङ्गका भएपनि आफु सतर्क हुँदा पाकाहरूका दैनिक दिनचर्या जिम्मेवारीको कमीले सबैभन्दा सुखपूणर् हुनेमा दुईमत छैन ।
०००
चालिसे डाँडा, ललितपुर
वैशाख १३, २०८१
Subscribe
Login
0 Comments
Oldest



































