
पीडा कि रहर ?
“कति खर्च गर्यौ र तिमीले ?” गोपीले सोध्यो । जवाफमा “घरबारी धितो राखेर, नेताकी श्रीमतीलाई कोटी बिन्ती गरेर, एक करोड पचास लाखमा भुटानी शरणार्थी भएर आएको ।” कृष्णले भन्यो ।

श्रीप्रसाद पोखरेल :
“अरे ! गोपी !”
“कृष्ण ! तिमी कहिले नि ?”
गोपी कृष्णकै घरमा डेरा गरेर एउटै विद्यालयमा शिक्षण गर्ने साथी थिए । अचानक गोपी अमेरिका गयो । कृष्ण र गोपीको सम्पर्क टुट्यो । एकै चोटी अमेरिकाको न्यूयोर्क शहरमा दुवैको भेट भएको थियो ।
“दुई महिना जती भयो ।”
“अनि गोपी भन न, स्कुल पनि अचानक छोड्यौ । कसरी मिलायौ ? र कति खर्च गर्यौ तिमीले ?”
गोपीले आफू भुटानी भएको कुरा भन्दा शिक्षणमा समस्या पर्ला भनेर केही नभनेको र भुटानी शरणार्थीलाई पुनर्वासका लागी अमेरिका लाने भएकोले अचानक हिडेको कुरा बतायो ।
कृष्णले भन्यो, “तिमी त भाग्यमानी खर्चै नगरी अमेरिका आइपुगेछौ ।”
“कति खर्च गर्यौ र तिमीले ?” गोपीले सोध्यो ।
जवाफमा “घरबारी धितो राखेर, नेताकी श्रीमतीलाई कोटी बिन्ती गरेर, एक करोड पचास लाखमा भुटानी शरणार्थी भएर आएको ।” कृष्णले भन्यो ।
गोपीले मनमनै सोच्यो, “भुटानी शरणार्थीहरूको पीडा कसरी नेपालीहरूको रहर बन्यो होला ?”
०००
इटहरी, सुनसरी
Subscribe
Login
0 Comments
Oldest