डा. मुकेशकुमार चालिसेपाकाले रिसाउन छोडौँ, मस्कने गरौँ !
अरुको जीवनमा पनि सहने क्षमता विकसित भएर खुसहाली ल्याउन सक्छ । कोशिस गरौँ न, है, सकिन्छ क्या, एकबारको जीवन न हो, मरेको भोलिपल्ट दुईदिन भइहाल्छ, सम्झने त राम्रा कुरामात्र हुन् !
डा. मुकेश चालिसे :
मानिस उमेरिँदै जाँदा हाँसख्याल कम गर्ने, बढी गम्भीर हुन खोज्ने, चिन्ता बढाउने, पूर्वाग्रहले पीडित भएका त् आफुले भनेजस्तो भएन भनि हरेक नयाँ कुरामा झिँजो झर्को मान्ने, बर्कतले भ्याउने भए बातैपिच्छे रिसाउने हुन सक्छन् । कतिपय अझै हैकम राख्न पनि घरमा कम उमेरकाले गरेका हरेक कामकुरामा आफ्नो ‘भिमसेनी आदेश फर्मा नगर्न’ लालायीत हुन्छन् र परिवारका अरु सदस्य नरमनै भए त सहन्छन् नभए ‘वचनवाण फिर्तीले घाइते हुन’ बेर लाग्दैन । त्यसैले पाको उमेरमा जतिसुकै रिस उठे पनि भित्रभित्रै दबाएर, बोल्नै पर्ने सकस भए धेरै सम्हालिएर बोल्नुनै उमेरिँदा सुख पाउने उपाय हो भनि बुझ्नै पर्छ । पाका मान्छे रिसाउनु हुन्न त ? कमजोर भएपछि धेरै रिस उठछ कि ? कि रिस उठन रोगनै लाग्नु पर्छ ? रिसको मनोविज्ञान के हो ? रिस उठेमा कसरी समन गर्ने ? रिस समस्यानै भए कसरी नियन्त्रण र व्यवस्थापन गर्ने ? छलफल गर्नु राम्रो हुन्छ होला ।
रिसाउने बानीः
रिस उठने विभिन्न मानवीय गुणजस्तै भावनात्मक आवश्यक चेतना हो, रिस थाम्न नसकेर अनियन्त्रित हुँदा चाहीँ समस्याको स्तरमा देखा पर्दछ । रिस अभिव्यक्त गर्ने विभिन्न तरिका हुन्छन्, त्यसैले रिस नहुने प्राणी नहोलान्, अझ सबैभन्दा बढी मस्तिष्क क्षमता भएको प्राणी मानिसमा कसैमा त रिसको चरमचुली नाककै टुप्पोमा पनि भेटिन सक्छ । खतरा वा मन नपर्ने व्यवहारमा रिस उठनु जीवितमा हुने प्राकृतिक, स्वभाविक र स्वतः स्फूर्त प्रतिक्रिया हो । हामी राम्ररी बाँच्न पनि तत्कालीन अवस्थाप्रति रिस वा ईष्र्या वा प्रतिस्पर्धी भावना हुनै पर्छ, ‘हुती नभएको, निसोक भावना हुने, दोमनको मान्छे र घामट एक मनको डिँगो’ काम लाग्दैन भनेर त्यसै भनेको होइन । मान्छेमा जब ‘रिस खा आफु बुद्धि खा अर्को’ हुन्छ तब रिस व्यवस्थापन नभएर समस्या बन्छ अनि त्यो झमटमा गरिएका नचाहिँदा कामकुरा पछि पश्चाताप गरी थकथकी लाग्न थाल्छ ।
हार्वाड विश्वविद्यालयका विज्ञहरूले सन २०१०मा एकिकृत अनुसन्धान गरेको अध्ययन रिपोर्ट निकालेका छन । त्यस अध्ययन रिपोर्टमा अनियन्त्रित रिसले तपाईंका शारीरिक र मानसिक स्वास्थ्यमा खराब असर गरिरहेको हुन्छ भनेर उल्लेख गरिएको छ । सारमा रिसको आवेगमा मानिसको बोलीवचनमा अभद्रता आउने, स्तरहीन वाक्य निस्कन सक्ने र शारीरिक हातपात हुनसक्ने भएर तपाईं आफैँलाई र अघि परेकालाई नोक्सानमात्र गरिरहेको हुन्छ । वास्तवमा रिसको उत्पत्ति के कुराले हुन्छ होला ? मान्छेलाई असामान्य रिसमा लैजान सन्काउने कस्तो अवस्थाले होला ? त्यसो भएमा कसरी थामथुम पार्ने होला ? यस्ता कुरा मनोविज्ञानका जटिल भावनात्मक समस्या भएपनि हल निकाल्न सकिने विषयवस्तु हुन् । कस्ता कुराले आफुमा रिस बढाउँछ भन्ने थाहा पाउनु चाहीँ आवश्यक छ, अनि बल्ल समाधान वा व्यवस्थापन पहिल्याउनु स्थायी नियन्त्रणको लागि बाटो खुल्छ ।
चिन्ता, पिरलो, घरायसी किचकिच, आर्थिक समस्या र उन्मादका लक्षण लगायतले रिसलाई अघि बढाउन सघाउँ छ । कतिपय मान्छेमा चाहीँ मद्यपान र नशालु पदार्थ सेवनको बानीले बिना काम रिसाउने, झगडा झिक्ने र कचकच गरिरहने अवस्था बनाएको पनि देखिन्छ । कति मान्छेमा लघुताभाषको आनिबानीले हरेक कुरामा डराएर आफन्त कसैले नयाँ कुरा गर्यो कि डर मानेर गरिहालेर बिग्रेला भनि रोक्न खोज्दा रिसारीस हुन थाल्छ । कुरा बल्झिँदैँ जाँदा ‘रिसाउँदा वेद पढिन्न’ भनेझैँ मुख छोडने र हातपात हुनगई निकै झैँझगडा बढने हुनसक्छ । वास्तवमा रिसाउनु वा उत्तेजित भई आक्रोश व्यक्त गर्नु असामान्य आनिबानी होइन, रिसको मात्रा हेरेर नोक्सानदायी स्तरमा आउनु चाहीँ थुप्रै मानसिक स्वास्थ्य समस्याका लक्षण मान्न सकिन्छ ।
रिसका प्रकारः
रिस र रिसाउने बानी धेरै प्रकारले अभिव्यक्त हुनसक्छ, सबै खालका रिस उस्तै तरिकाले देख्ने, सुन्ने र अनुभूत नहुन सक्छ । रिसको आवेग र आक्रामक स्वभाव बाहिरी, भित्री र सामान्य निस्क्रिय (हलुका) हुनसक्छ । बाहिर देखिने रिस पोख्ने तरिकामा मानिस उत्तेजित भएर चिच्याउने, सराप्ने, चिजबिज फाल्ने, भाँच्ने, अरुलाई मौखिक कराउने, हातगोडा ठटाउने, लम्कीझम्की गर्ने आदि हुनसक्छ । भित्री रिस वा मन कुढ्याउँदा मानिस आफैँसँग केन्द्रित भई आफ्ना तथांकथित दुर्गुणबारे आफैँ भूतभुताई रहन्छ, आफैँलाई दोष दिएर आफैँलाई हानी हुने काम गर्न सक्छ । त्यस्ता मनमनै आफ्नै मगज चिस्याउने मान्छेले एक्लो रहन खोज्छन र खराबी हुने आत्मघाती निणर्य लिन पनि सक्छन् । सामान्य देखिने निस्कृय रिसको अभिव्यक्तिमा अरुको क्रियाकलाप देखेसुने पनि मौन रहने, केही जानकारी नदिई कसैसँग नबोल्ने, एकोहोरिएको वा टोलाए जस्तो गर्ने, बोल्नै परे एकैचोटी तीखा वाणजस्ता कणर् कर्कस भनाई सोझ्याउने आदि पर्दछन् ।
रिस कसरी ?
रिस सबैलाई उठछ र रिसमा आफुलाई लागेका प्रष्ट भन्छन तर कसैले दबाउन सक्छन भने कसैले थाम्नै सक्दैनन् र तत्काल मस्तिष्कमा घुमेका कुरा अभिव्यक्त गरिहाल्छन् । रिसको मात्रा मान्छेको अभिव्यक्त गर्ने तरिकाले फरकफरक र हरेक मान्छेपिच्छे फरक तरिकाले चरणबद्ध पनि हुन सक्छ । रोगव्याधकै समस्या भए, सोहीअनुसार देखा परेको हुन्छ ।
निरन्तर ग्लानीः
कसैलाई विभिन्न कारणले मनोविज्ञान बिग्रिएर लघुताभाष वा अवसाद हुने कारणले मानसिकता असामान्य भएको छ भने त्यस्तो पाको मान्छेमा अरुका कुनै कुराले पनि आकर्षण गर्दैन तथा विभिन्न लक्षणहरू देखाई पिरलो गर्ने र रिसाउने बानीनै परेको हुन्छ । त्यस्ता मान्छेमा हरेक कुरामा चिडचिडाहट, जुनसुकै कुरा पनि मन नपराएर टिकाटिप्पणीगर्ने, स्थिति बढदै गएमा थप रिसाउने झर्कने र अरुलाई सराप्न थाल्छन । गनगनबाट सुरुभएको उस्को रिस बढेमा उसले के बोलिरहेको समेत होश नराखी जथाभावी बोल्न सक्छन् र समाजिक मर्यादा पनि बिर्सन सक्छन् । अनावश्यकरूपले अवसादमा रहने मान्छेमा मानसिक स्वास्थ्य कमजोर हुँदैगएको कारणले थप अरु असामान्य लक्षणहरू पनि देखिन सक्छन् । कुनै पाको मानिस एकोहोरो दुखमात्र सुनाइरहन्छ, निराशाको कुरामात्र गर्छ र कुनै साँसारिक कुरामा चाख नराखी लगातार दुई हप्ताभन्दा बढी उस्तै स्थितिमा छ भने भित्री रिसले उसमा अवसाद भएको हुनसक्छ र बेलैमा विज्ञसँग सम्पर्क गरिहाल्नु पर्छ ।
थकानः
रिसाउने साथै कराउने पाको मान्छे हरेक कुरामा ठूल्ठूलो स्वरमा बोल्ने र शरीर असन्तुलित गराई लम्कीझम्की पनि गर्ने हुनाले शारीरिक उर्जा चाँडै नाश भई एकछिन रिसाउँदैमा लगलग काम्ने तथा पुरा शरीरनै झाँटिएको अनुभव गर्न थाल्छ । कतिपय मान्छे त रिसाउँदा भित्री जैविक रस उत्पादननै बिब्ल्याँटो भएर रातो निलो भई बोलेको प्रष्ट नहुने गरी बर्बराउने साथै दिमाग असन्तुलित भएको लक्षणहरू पनि देखाउँछन् । थाकेको वा शरीर अशक्त भएको मान्छेको अगाडी अरुले पनि असान्दर्भिक कुरा नगर्नु उसलाई आवेगमा आउने परिस्थितिबाट जोगाउने सबैभन्दा राम्रो ओखति बाधा नपुर्याउनुनै हो ।
निराशाः
झगडालु र रिसाउने मान्छे आफ्नै कारण एक्लिएको हुन्छ भने उसले समस्या जहिले पनि अरुलाई देख्छ । अरुका कुनै कुरा मन नपराउने भएर अरु पनि टाढा हुन खोज्छन् भने आफन्त र आफ्नो पक्षमा कोही नभएको अनुभूतिले उसले सँसारमा आफुलाई सहाराबिहिन एक्लो ठान्न थाल्छ । सारा संसार एकातिर, आफूमात्र एकातिर भएको भावनाले ऊ निसहाय भएको, जस्ले पनि उस्को गल्ती देख्ने भनि सबैलाई शत्रु ठानेर डराउने हुन्छ । अरुले बोलेका वा गरेका काममा उस्ले खोट देख्नेमात्र गर्छ र अरुले दिएका सरसल्लाहलाई उस्ले बिरोधि ठानेर मान्छे भेटिने सार्वजनिक ठाउँमा जान मन गर्दैन, देखा पर्नै खोज्दैन ।
आत्मघातः
रिसाहा र एकलकाँटे स्वभाव विकसित भएपछि ‘आकाशले थिच्ने र पृथ्वीले हल्लेर मार्ने’ डरले त्यस्ता मान्छे बसेको ठाउँबाट बाहिरफेर निस्कँदैनन् । एक्लोपनको शिकार भई नचाहिने, अप्राकृतिक कुरा सोच्ने, ख्यालख्यालमै मर्न खोज्ने र अरुले सम्झाउँदा ‘संसारमा गल्ती गर्ने आफूमात्र भएको र बाँचेर कसैलाई फाइदा नहुने भएकाले किन बाँच्नु ?’ भन्दै आत्महत्या गर्ने प्रयास पाका मान्छेले पनि गर्न सक्छन् । कतिपय त्यस्ता मान्छे घातक हतियारसँग खेलबाड गर्ने, अरुलाई पनि देखाएर तर्साउन खोज्ने र मान्छेलाई नसके घरपालुवा जनावर र अरु देखिएका जीवलाई दुःख दिने गरेका पनि पाइन्छन् । एउटाको रिस अरुलाई पोख्ने, आफूभन्दा बलियाको रिस फर्काउन नसकेपछि आफूभन्दा सानालाई ढुकढुक्याउने महिलाहरू यस श्रेणीमा पर्दछन् । त्यस्ता मान्छेमा स्वान्त्य सुखायको लागि ‘पर पिडनम् सुखः’ भन्ने खालको विचार र क्रियाकलाप गरेको धेरै उदाहरणहरू पाइन्छन् ।
हावा खुस्कनुः
सामान्य भाषामा दिमागी हालत ठिक नहुनु र विपरित मस्तिष्क क्षमताको व्यवहारलाई नेपाली समाजमा बहुलाउनु वा हावा खुस्कनु भनिन्छ । कसैकसैको स्वभाव इतरिने हुँदाहुँदै बिग्रँदै गएर अवाञ्छित र सामान्यतया नगरिने कुरा पनि बाध्यकारी बानी जस्तै गर्न थालेपछि ‘फलानो त् खुस्केछ कि क्या हो ? यस्तो कुरा पो गर्छ !’ भनेर कुरा काट्छन् । वास्तवमा मस्तिष्कमा चिन्ता र अवसादले अतिनै घर गरेर मनस्थिति ठिक नएर हुने व्यवहारले बहुलाएको जस्तो सोचाई आउने र तिनै कुरा साँच्चै लाग्ने बानी पर्न थाल्छ । यस्ता मान्छेमा नचाहिँदा, मन बिगार्ने विचार आउँछन र दिमागले आग्रह गरिरहेझैँ मूढाग्राही विचार र कल्पनाहरू मनमा खेलिरहन्छन साथै कतिपय अवस्थामा गर्न नहुने भनिएका त्यस्ता काम दोहोर्याई तेहोर्याई गरिरहन्छन् । कसैको कुरा नसुन्ने आफ्नै डम्फु बजाइरहने, अरुले सुने पनि नसुने पनि फतफताइरहने, एकोहोरो दारेहात लगाई कसैलाई सम्झेर सरापिरहने र अनेक गुनासो गर्दै आफ्नै पुर्पुरोमा हान्ने स्वभाव मस्तिष्क तलमाथि परेकाले गरेको भेटिन्छ । कतिपय पाका बाआमा छोराछोरीले दुःख दिँदा र सहन गाह्रो हुँदा ‘जन्मिनासाथ सिस्नाझालमा हुर्याउन बिर्सेछु’ भन्दै डाँको छोड्छन् ।
उदाहरणको लागि थपः
कोही एउटा कुरा थाहा पाएपछि त्यहीँ कुरा लगातार दोहोर्याई रहनु वा कोही गन्न थालेपछि एउटै शब्द, वाक्य र सङ्ख्या घोके जसरी भनिरहन्छन् । यस्तो आनीबानी हुनु र गर्नैपर्ने जसरी गरिनु पनि चिन्ताग्रसित र मस्तिष्क अस्वस्थ्यताको कारणले हो । बिर्सन सकिन्छ भनेर र नराम्रो नहोस् भनि सोचेर त्यसो गर्ने दुवै मानसिकता कमजोरीका उपज हुन् । उसो हुँदा यसो भन्ने भनि कुनै अवैज्ञानिक तर्कका आधारमा गरिने विधिविधान पनि मस्तिष्क क्षमता कमजोरीका कारणले हुन भने त्यसप्रकारको नियमित प्रक्रियाले उमेरिँदा पाका मान्छेमा पागलपनको प्रभाव देखिन सक्छ । गाउँघरमा अझै भजन किर्तनमा एकोहोरो शब्द भनि जोस्याउँदै भगवान चढेको र रामरामको एकोहोरो जपले हनुमान चढेको भनि काम्ने, उफ्रने र उटिङ्ग्या कर्तुत गराउने गर्छन । अचेल न्याय, ध्यान र प्रभूको प्रेम जागेको भन्दै ध्यान केन्द्रहरूमा मूल गुरुले छोएर आशिर्वाद दिन युवतीहरूलाई मुसारेपछि कपाल फिँजाएर उनीहरू छटपटाएको देखाउँछन्, यस्ता क्रियाकलाप सबै मस्तिष्कको असामान्य व्यवहार हुन लागेको लक्षण हुन । यो भक्ति चढेको वा देवता पसेको होइन, मानसिक भित्री आशक्ति र बाहिर नदेखिएको कुण्ठा स्वच्छन्द अभिव्यक्त भएको हो, त्यस्तो क्रियाकलाप भएका मान्छेमा मस्तिष्क स्वास्थ्य विचलनमा रहेको आँक्न सकिन्छ ।
सन २०११ म गरिएको हार्वाडको एउटा अध्ययनले रिस उठिरहनु र हरेक कुरामा रिसाउनु मस्तिष्क विचलनको लक्षण रहेको जनाएको छ । निरन्तरको त्यस्तो बानीले एक किसिमको अवसादसम्बन्धि रोग निम्त्याउँछ र आखिरमा बहुलाहपन देखा पर्दछ । रिस गर्ने स्वभाव भएका मानिसमा गरिएको अनुसन्धानले आँकडा लिईएका आधाभन्दा बढीमा त्यो बानी बहुलाउने अवस्थामा पुगेको खुट्ट्याएको छ । मनमा (दिमाग) अवाञ्छित र अत्यधिक निराशाको कहर मडारिरहने मान्छेमा हरेक कुरामा रिस उठने बढी भइरहेको हुन्छ, कहिलेकाँही चाहँदाचाहदै पनि बानी बिग्रिएकाले त्यस्ता विचार त्याग्न सकिरहिएको हुँदैन । धेरैजसो मानिसको मन कुँढिने गरेर व्यवहार भोग्न बाध्य हुँँदा मनमा प्रतिशोध भई अमुक व्यक्ति र सन्दर्भ प्रति आक्रोश हुन्छ, रिस उठछ, तर विभिन्न कारणले अभिव्यक्त गर्न सक्तैन । त्यस्तो परिस्थिति लगातार व्यहोर्ने अवस्थामा मान्छे एकोहोरो, रिसाहा र सबैप्रति घृणा गर्ने बन्न जान्छ । त्यस्तो स्वभावको रूपमा विकसित हुँदा घुर्की लगाउने, एउटा कुरा चल्दा विगतको कुराले करचेप गर्ने र एउटा कुरा भन्दा अर्को बुझि झगडा मच्चाउने हुन जान्छ ।
त्यस्ता पाकामा आफ्नो क्षमताको कदर ‘अरुले त अरु भएर गरेनन्, हुँदाहुँदा परिवारले समेत गनेनन्’ भनि सधैँ गर्धन फुलाएर बस्ने र नजिक पर्नेलाई विभिन्न अडबाङ्गे कुरा गरेर मनमुटाव गराउने स्वभाव बन्छ । पाका मान्छेमा उमेरिँदा ‘पूर्वाग्रहको शनि ग्रहले थिचिएका’ मानिस समाजमा मात्र होइन, परिवारमानै पनि एक्ला परेका धेरै ‘अभागी रुगरुगाउँदा’ भेटिन्छन्, वयस्कले विचार पुर्याई घरमै मानसहित थान्को नलगाए वृद्धाश्रममा पनि एक्लो परेका भेटिन्छन् । आफ्नो ज्ञानअनुसार काम त हरेक मानिसले गरिरहनुनै जीवित भएको गुण हो तर अरुलाई अर्तीउपदेश थोपर्न वा भन्दै हिँडन त परिस्थिति हेरेरमात्र गर्नु ठिक हुन्छ । समय अगाडि भविष्यद्रष्टा भई आफुले जानेको भन्दा र लेख्दा कति महान् लेखक, कवि र राजनीतिज्ञलाई ‘बहुला तथा एक्लो वृहस्पति’ भनि प्रचार गरेको नेपालकालागि नौलो होइन । त्यसैले आफूले बाञ्छित कुरा लागु गर्न नसक्दा ‘लङ्गडाको बीचमा पुगे खुट्टा खोच्याउनु र कानाको ठाउँमा पुगे एउटा आँखो चिम्लनु’ भन्ने सहमति, सम्झौताको उखान चलेको होला !
मद्यपानः
मद्यपान सामान्यतया सगुनको रूपमा चल्ने समुदायमा समेत दुरुपयोगको तहमा ठाडो घाँटी लगाउनेहरूले झगडा, दङ्गाफसाद र आक्रामक व्यवहारनै देखाएका भेटिन्छन् । कमजोर पाको शरीरले मद्यपानलाई वयस्कमा जति पचाउन र सहन पनि सक्दैन, त्यसैले त बानी लागेका भलादमी मानिस छोड्न नसकि चुसुक्क एकदुई घुटकोमा नै धितमार्ने गर्छन । मद्यपानको लागि बजारमा उपलब्ध कतिपय पेय सामाग्री ‘अखाद्य पदार्थबाट बनाई नशा बढी लागेर जड्याँहाले पत्याउन भनि विषालु झोल मिसाई कडा बनाईएको हुन्छ’ भनि पारखी भन्दछन । एसियाका धेरै मुलुकमा विशेषगरी बेलाबेला भारतमा ‘जहरिले शराबसेँ मौत’ भन्ने समाचार प्राय अखवारमा छापिन्छन् । नेपालमा मादक पदार्थ सेवन पछिका बेला झगडा, हत्या-बलात्कारका घटना भएका हुन्छन । अमेरिकामा भएका कुल अपराधजन्य दङ्गामा आधा जति घटना मद्यपान सेवनका कारणले भएको आँकडा पाइन्छन् ।
मद्यपानको दुरुपयोग भन्नाले शरीरले सहने, रमाइलो गर्ने, भेटघाटलाई धक नमानी सार्थक पार्न खुल्ला वातावरण बनाउन भन्दा ‘कस्ले बढी पिउन सक्छ ? कस्ले आक्रोश कति दुर्वाच्य प्रयोग गरी गर्छ ?’ भनेजस्तो गरी पूर्वाग्रह मनमा राखेर साटो फेर्नलाई निहुँ खोज्ने स्थिति बनाउने, सित्तै पाएको भनि खाली पेटमानै सकेको धोक्ने र गन्धमात्रै भए पनि गुणस्तर नहेरी सेवन गर्ने कारणले भएको देखिन्छ । रक्सी भनिने जुनसुकै पेय भनिएको झोलमा अल्कोहलको मात्रा हुन्छ र त्यो मानिसको शरीरमा चाँडै सोसिएर रगतमा पस्छ । एक प्रकारको तागत शरीरमा जाँदा भात खाएपछि पनि जिउ लट्ठिएझैँ चाँडै एक्कासी त्यस्तो वस्तु शरीरको रक्तप्रणालीमा जाँदा मस्तिष्कलाई समेत असरगरी लट्ठ्याउँछ । यसैलाई सर्वसाधारणले नशा लागेको भनेको हो, थोरै हुँदा अलिअलि लरबरिए पनि धेरै सेवनले मस्तिष्कको सोच्ने र छ्यानबिछ्यान छुट्ट्याउने क्षमतामा र्हासआई सामान्य कुरामा पनि मानिस आफ्नो स्नायु प्रणालीको सहयोगमा ठिक कुरा केही गर्न सक्तैन । त्यसलेगर्दा अरु शारीरिक प्रणालीले पनि ‘बिजुली नआएको तारमा करेण्ट नलागेझैँ’ आफ्नो प्राकृतिक काम सहि किसिमले गर्न सक्तैनन् । रक्तसञ्चार पनि छिटो र अनियमित हुन्छ भने मानसिक ईच्छाको नियन्त्रण पनि आफ्नो अधिनमा हुँदैन, मातेको मान्छेले सामान्य भनिएको सभ्य तरिका छोडेर मनलागी गर्न आईतबार पर्खिरहँदैन ।
प्राथमिकता रिसः
पाका मान्छे आफुलाई प्राथामिकतामा राखिनु पर्छ भन्ने मानसिकता लिने भएमा परिवारका अरुसँग रिस गर्न थाल्दछन् । हरेक घरायसी चिजविज आपुर्तिमा आफ्नो अनुकुल भएमात्र खुसी हुने, अरुको आवश्यक्तालाई गौण ठान्ने प्रवृत्तिले रिस र आक्रोश उत्पन्न गराउँछ । कतिपय बालबालिकामा आमाले अर्को बच्चा पाएपछि आफ्नो माया घटेको अनुभुत गरी बाबुआमाले नयाँ बच्चालाई रेखदेख बढि गरेकोमा ईश्र्या गरेको भेटिने स्वभाव पाका मान्छेमा पनि आएको पाइन्छ । पाका मान्छेले उमेरिँदा कतिपय वयस्क हुँदाको आवश्यकता र आफ्नो स्वभावको समीक्षा नगरी परिवारका नयाँ पुस्ताले गरेको क्रियाकलापबारे नकार्ने कुरा गर्दा र आलोचना गर्दा पारिवारिक कलह बढ्ने स्तरमा रिस अभिव्यक्त हुन्छ ।
विशृङ्खलित दिमागः
कोही पाका मान्छेहरू पूर्वाग्रहले अति पीडित भएका र परिवार इष्टमित्रमा आफैँलाई सर्वोत्कृष्ट ठान्ने भएर कसैसँग कुनै मतलव नराख्ने भई एक्लिएका पनि रिसाहा हुन सक्छन् भने आफुले देखेको मात्र ध्रुवसत्य अरुले भनेको फाल्तु भनेर त्यहीँ काल्पनिक दुनियाँमा रमाएका पनि हुनसक्छन् । त्यस्ता मान्छेको मानसिक स्थिति अपर्झट परिवर्तन भई मगनमस्तबाट एकै पटक आक्रोश व्यक्त गरी वेपत्ता रिसाउने, ससाना बालबालिका जस्तै हितीती हाँसिरहने र अनौठा कुरा गर्ने हुनसक्छ । यस्तो अवस्था प्राय मस्तिष्क स्वास्थ्यको गडबडीले भएको हुन्छ र द्विअर्थी स्वभाव मानसिक स्वास्थ्य बिग्रेको लक्षण हो । घरी माया र घरी सराप्ने स्तरमा सम्बन्ध भएको देखिनु, आक्रोश, चिडचिडापन, एक्कासी रिस व्यक्त र लोलोपोतो जस्ता अनमेल स्वभाव आउन थाल्छ ।
नेपालमा विपरित स्वभाव देखाउनेलाई ‘औँसीपूर्णे लाग्ने’ भनेजस्तै मानसिकरूपले अस्वस्थ यस्ता मान्छेहरूले वाक्क लाग्ने गरी रमाइलो गर्न खोज्ने, सामान्य कुरामा पनि हलल्ल हाँसिरहने, अनौठा उडन्ते कुराहरू गरिरहने, प्रसङ्गविहीन र तारतम्य नमिल्ने गतिविधि गर्न खोजेका हुन्छन् । फेरी अर्को अवस्थामा उस्का सकारात्मक पक्ष हुरीले बढारेझैँ उन्मादका तरङ उर्लेर दुःखी हुने, निराशाका सुस्केरा हाल्ने र केके सम्झेर गहभरी आँसु पारिरहन्छन् । हिजोअस्ती रमाइलो मानेका सन्दर्भ र कामकुरामा वास्ता नगर्ने, कुनै कुरामा सकारात्मकता नदेख्ने, ‘बाँचेर किन अन्न नाश गर्नु ? तिमीहरूलाई बोझ भएँ, बरू मर्न पाए हुन्थ्यो’ भन्दै अँध्यारो कान्तिहीन अनुहारकासाथ आत्महत्याका उपाय सोधखोज गर्ने गर्दछन् ।
शोक सन्तापः
कतिपय उमेरिएका पाका मान्छे रुखा, अप्ठ्यारा र आफू हुँदो मात्र खोज्ने बाउँटा हुन्छन् भनि अरु उमेरसमूहकाले वणर्न गरेको भेटिन्छ । वास्तवमा मानिस सामाजिक प्राणी भएकाले उसमा यस्ता नकारात्मक भावना आउनु भवितव्य र परिस्थितिको उपज भएको मान्नुपर्ने हुन्छ । हो, समय नपुग्दै अधिग्रो गएर कैयौँ पटक रगतको तालीमा परेकी आमा, जन्मदै हाँ हाँ हुँ हुँ गर्ने बेलामा विभिन्न रोगका शिकारभई अल्पायुमै मरेका सन्तानका बाआमा र आफुलाई अचाक्ली मायागर्नेको आकस्मिक मृत्युले अति शोकमा परेका मान्छे एकोहोरा हुन सक्छन् । उनीहरू सबैकुरा एकातिर आफ्नो पिर एकातिर राखी तुलना गर्दा आफ्नो पिर र सन्तापनै भारी पाउँछन् । त्यस प्रसङ्गका सहानुभूतिबाहेक अरु सबै कुरा उनीहरूलाई मिथ्या लाग्छ, कसैले अरु कुरा गर्दा काम नपाएका भनि चित्त दुखाउने हुन्छन् । उनीहरूका आपदमा साथ नभएका भन्ने सोचेर अरुहरूले गरेका क्रियाकलापप्रति रिस गर्ने हुन थाल्छन् । यस्तो स्वभाव ठूलो दुर्घटना पछि बेहोस भएका, घात अनुभव भई ईन्तु नचिन्तु भएका, ‘बेलामा बुद्धि पुर्याउन सकिनँ’ भन्ने ग्लानी भएका, विभिन्न घटनाको डरले आक्रान्त, एक्लो महसुस गरी असहाय भएको अनुभव हुने मानिसमा रिसको मात्रा बढन सक्छ ।
समाधानः
आक्रोश, रिस, ईष्र्या, प्रतिस्पर्धा आवश्यक ठाउँमा आवश्यक मात्रामा मानिसमा हुनु ठिक हुन्छ तर यस्ता मानविय सम्वेदनाका स्वभाव यदि नकारात्मक दिशामा गए र हानी हुने तहमा पुगे भने नोक्सानी बाहेक केही हुन्न । तपाईंको स्वभावले तपाईंका आफन्त, साथी, दौँतरी, सहपाठी, सहउमेरका मानिससँग सम्बन्धनै बिग्रन्छ र पछि सरसहयोग पाउने बाटोनै अवरुद्ध हुन्छ भने तपाईंको स्वभाव परिवर्तन गर्नु दिर्घकालीन हिसाबले राम्रो हुन्छ । यदि तपाईंको स्वभाव आफ्नो नियन्त्रण बाहिर छ, रिसमा भनेका कुरा बिर्सनु हुन्छ, समीक्षा गर्ने सम्भावनानै छैन, रिसाउँदा मुटुको चाल घटबढ हुन्छ, श्वासप्रश्वासमा तलमाथि हुन्छ र शरीरका अरु प्रणालीले पनि प्रतिक्रिया देखाउँछन भने मस्तिष्क विज्ञलाई देखाउनु राम्रो हुन्छ । लामो समयसम्म रिसको व्यहोरा रहिरहनु थप मानसिक र शारीरिक रोगहरू निम्त्याउनु हो, बेलैमा उपचारको थालनी गरिहाल्नु पर्छ ।
असाध्यै रिसको मात्रा देखिएमा शरीर शान्त र आरामी अवस्थामा शवासनमा बस्नु ठिक हुन्छ । शरीरका सबै प्रणालीलाई आरामी पुग्ने गरी निश्छल उत्तानो सुतेर एकोहोरो मन्दगतिमा श्वासप्रश्वास कायम राख्नु रिस नियन्त्रणको सबैभन्दा सजिलो तरिका हो । कतिपयको स्वभावनै झगडालु र अरुप्रति गरिने उत्तेजक व्यवहारनै बलशाली ठान्ने प्रवृत्तिले काम गरिरहेको हुन्छ, मानिस सामाजिक हुन सिक्नलाई उमेरले छेक्दैन जहिले पनि सिकारु बन्ने बानी राखेमा खराव भनिएका कुरा हटाउन सकिन्छ । वर्गीय समाजमा देशमा मात्र होइन परिवारमा पनि घरको अनुशासन र शिक्षादीक्षाको एकोहोरो प्रभावलाई बाहिरी समाजका राम्रा नराम्रा स्वभाव, प्रवृत्ति र विचारबाट ग्रसित तुल्याएको हुन्छ । तपाईंको घरमा भएका विविध उमेरसमूहमा कुच्चोको मुख जस्तो मिलेको एउटै बैचारिक मिलन नहोला, समाजको वर्गीय स्वार्थअनुरूप प्रतिनिधित्व भइरहेको होला ! त्यस्तो परिस्थितिमा ‘आफूले खोजेको स्वर्ग बनाउन’ शारीरिक र भौतिक कारणले असफल भइरहेको छ भने ‘तपाईं मनमनै रामराम गर्नु बाहेक’ कुनै नियन्त्रणका उपाय पहिल्याउन सक्नु हुने छैन । तपाईंको उमेरले गर्दा पाका मान्छे आफुलाई गल्ती भइरहेछ भन्ने लागेका हरेक कुरामा भनेर काम नहुने बुझिसके पछि ‘ङिच्च रुञ्चे हाँसो अनुहारमा ल्याई मस्किन’ सक्नु हुन्छ । त्यो मस्कनु तपाईंलाई प्रत्युत्पादक नभई ‘जतिखेर पनि ङिच्च गर्न सक्या !’ भन्ने बाहेक अरु अत्तो आउने छैन, बरू कालान्तरमा राम्रो नराम्रो सबैमा ङिच्च गर्ने पाका बाआमासँग आजित भएर अरु उमेरसमूह आफू र आफ्ना व्यवहारलाई समीक्षा गरी सुधार्न सक्लान् कि ?
अन्त्यमा,
उमेरिँदा अरु उपायले पाका मान्छेले आफ्ना चिनजानका बीचमा अस्तित्व कायम राख्न नसकिने अवस्था हुन सक्छ, सबै पक्षका व्यवहारमा उहाँहरू ओरालो लागेको बेलामा कम्तिमा परिवारमा मात्र भएपनि सहिष्णुता कायम राख्न रिस देखाउने र फन्किने होईन त्यसलाई समनगर्न सिकौँ । जसरी भए पनि हाँस्दा र हँस्यौली गर्दा आफु र अरुलाई पनि सकारात्मक प्रभाव शारीरिक तथा मानसिकरूपले पर्ने हुनाले खुलेर हाँस्न नसके ‘भित्र भित्रै पिर दबाएर ङिच्च थोते मुख वा नक्कली दाँत देखाएर हाँस्ने’ प्रयास गरौँ । तपाईंको मसक्क मस्कने बानी धेरै मान्छेका लागि बाँच्ने एक मानक स्वभाव बन्न सक्छ र अरुको जीवनमा पनि सहने क्षमता विकसित भएर खुसहाली ल्याउन सक्छ । कोशिस गरौँ न, है, सकिन्छ क्या, एकबारको जीवन न हो, मरेको भोलीपल्ट दुईदिन भइहाल्छ, सम्झने त राम्रा कुरामात्र हुन ! यस्तो बाहेक अरु आनीबानी नगरौँ, किनकी अहिलेको व्यक्तिवादी र पूँजी सबथोक भन्ने समाजमा टिक्न र प्रशंसा पाउन गाह्रो हुन्छ भन्ने कुरा पाका मान्छेले भोगेका हण्डरठक्करले चेत आईसकेको पक्कै छ होला !
०००
चालिसे डाँडा, ललितपुर
वैशाख २६, २०८१
Subscribe
Login
0 Comments
Oldest



































