माणिकरत्न शाक्यभैरवको नाम मेरो काम
भैरव दाइको बारेमा सवभन्दा बढी जानकारी र ज्ञान दिने व्यक्ति हुनुहुन्छ- हास्यव्यङ्ग्यका पितामह वासुदेव लुइँटेल, गुरुद्वय रमेश विकल र रोचक घिमिरे । उहाँहरूसँग फोनबाट होस् या घरमा पुगेर होस् आफूले नजानेका कुरा छन् भने प्रष्ट हुन गइहाल्यें ।
वि.सं. २०४९ सालबाट हास्यव्यङ्ग्य क्षेत्रमा केही कि भन्ने उद्देश्यले झ्याइँकुटी हास्यव्यङ्ग्य त्रैमासिक पत्रिका रहरै रहरमा जन्माइयो । यसको न्वारान र ०४९ सालको वैशाखबाट शुरू गरी मात्र ६ वटा अङ्क निकालियो । यसको दोस्रो अङ्क निकाल्ने बेलामा गाईजात्रा पर्व थियो । अङ्क तयार गरियो । त्यसैबेला हास्यव्यङ्ग्य समाज नेपालले विशेषाङ्क निकाल्ने पत्रिकालाई परस्कृत गर्ने घोषणा गर्यो । मैले पनि अँध्यारोमा गोली हान्दा लागे लाग्छ, नलागे लाग्दैन भन्ने हिसावले ३ प्रति पत्रिका बुझाएको केही दिनपछि झ्याइँकुटी पत्रिकालाई यो स्थान मिल्यो । उत्साहित भएर दिलोज्यान दिएर लाग्दै थिएँ ।
त्यसैवेला हास्यव्यङ्ग्य क्षेत्रमा राम्रो काम गरे बापत् भनेर भैरव पुरस्कार गुठीले भैरव नवप्रतिभा पुरस्कार दियो झ्याइँकुटी पत्रिकालाई । गुठीको मानलाई अपमान नगरी लिइटोपलें । पत्रिकामा सम्बद्ध साथीभाइहरू वीचमा, पत्रिकाले गरेको उन्नति सह्य नभएर वा के कारणले हो उनीहरूले मलाई उठ्नै नसक्ने गरी थला बसाले । मैले पत्रिका प्रकाशन गर्न छोडें । मेरो थाप्लोमा त पुरस्कार परेकोले केही नगरी वस्दा पुरस्कारको इज्जत जाला भन्ने कुराले मनमा चिमोट्न थाल्यो दिनका दिन ।
त्यसपछि अनेक सूत्र लगाएर अनेक दुःख कष्ट सहेर भए पनि कलाकार गोपालराज मैनालीको बारेमा साढे दुई वर्ष खोज/ अनुसन्धान गर्दा एउटा पुस्तक बन्यो- ‘खुसुक्क भन्नुस्’ क्वाँटी सङ्ग्रह) । सोही पुस्तकका नायक मैनालीले वि.सं. २०५० सालको रु १ लाख १ रुपैयाँको वासुदेव लुइँटेल पुरस्कार भेट्टाउन सफल भएका थिए । म एकपछि अर्को गर्दै सफलताका भरेङ चढ्न पुगें र मेरो उत्साहमा झन् वृद्धि हुन पुग्यो । कलाकार मैनालीले लेखेका रचनाहरूको वारेमा खोज्ने सिलसिलामा जहाँ जहाँ मैनालीका रचना छापिएका हुन्थmे त्यही भैरव अर्यालको पनि रचना पाउन थालेपछि के पर्छ के पर्छ भनेर दुवैका सामग्री थुपार्दै गएँ ।
मेरो कामले क कसको मनमा ठेस लाग्यो त्यो चैं जानिनँ । तर भैरव पुरस्कार गुठीका सदस्य सचिवले मलाई बोलाउनु भयो २०५० भदौ २३ गतेपछि भैरव दाइको बारेमा पनि शोध अनुसन्धान गरिदिनु पर्यो भन्नुभयो । मैले पनि हुन्छ भनेर स्वीकारेँ । भैरव पुरस्कार गुठीले मलाई कार्यमा सजिलो होस् भन्नाका खातिर अधिकारपत्र पनि दियो । त्यसैलाई हतियार बनाएर भैरव दाइको सामग्री जुटाउन २०५० सालदेखि नै म जुटेको हुँ ।
भैरव दाइको बारेमा सवभन्दा बढी जानकारी र ज्ञान दिने व्यक्ति हुनुहुन्छ- हास्यव्यङ्ग्यका पितामह वासुदेव लुइँटेल, गुरुद्वय रमेश विकल र रोचक घिमिरे । उहाँहरूसँग फोनबाट होस् या घरमा पुगेर होस् आफूले नजानेका कुरा छन् भने प्रष्ट हुन गइहाल्यें । उहाँहरूले यस कार्यका लागि धेरै बाटोहरू पहिल्याइदिनु भएको छ । जसका कारणबाट भैरव दाइको सामग्री जुटाउनमा मद्दत मिलेको छ । त्यसकारणले पनि म जस्तो भर्खरको ठिटोलाई उहिलेका के थाहा हुन्थ्यो र ? यसैले गर्दा मलाई यस्तो नशा लाग्यो कि नाथि उल्लिखित गुरुकहाँ कुराको विषय नै यही बन्थ्यो जहाँ भेटे पनि ।
भैरब दाइले यति विघ्न लेख्नुभएको रै’छ कि भनेर साध्य छैन । उहाँका यत्रतत्र पत्रिकामा छरिएका धेरजसो रचनालाई दिनरातको दौडधुपले आफ्नो कब्जाना पारिसकेँ जस्तो-उहीद्वारा लिखित रचनाहरू, फोटोहरू, चिठ्ठीहरू (हस्तलिखित) । अझ भन्नुपर्दा हालखबर पत्रिका (वि.सं. २०१२/१३ सालतिरको) ‘हाँस्नुहुन्छ भने’ स्तम्भमा भैरव दाइ र उहाँका गुरु दाताराम शर्मा (वासुदेव माड्सावको भनाइअनुसार भैरवका हास्यव्यङ्ग्य गुरु) का बारेमा यतिबिघ्न सामग्री उतार्न सकियो, हप्तादिन भित्रमा जुन सामग्री आजसम्म कुवाभित्रै लुकाएर राखिएको थियो । हालखबर पत्रिकाका केही बाइन्डिङहरू हराएकाले उतार्न बांकी छ अरू सबै सिध्याइसकें । आजको समय भनेको विश्वासमा संकट परेको युग हो । किनभने साहित्यिक क्षेत्रमा पनि साहित्यिक डाँकाहरूको बाहुल्य बढ्दै गएका कारणले गर्दा सच्चा इमान्दार व्यक्तित्वका धनीहरू जहाँ गए पनि पछारिदैछन् । त्यसको शिकार म पनि भएको छु । मलाई अनुसन्धानको काममा नेपाल प्रज्ञाप्रतिष्ठान भित्र रहेको पुस्तकालयका मित्रहरूले पनि शुभकार्य ठानी झिँजो नमानी सहयोग गरेका थिए । जसको फलस्वरूप भैरव दाइको सामग्री जम्मा गर्न र जुटाउन सकियो ।
एउटा दुःख लाग्दो कुरा के हो भने कोही काम गरेर माथि चढ्ला भन्ने पीर सबैको हुदोरै’छ, मुखले नओकले पनि व्यवहारले देखिइहाल्दोरै’छ । यसको फन्दामा परेर मैले पनि धेरैलाई साविति बयान दिँदै हिड्नु पर्यो । हौसला दिनु र सहयोग गर्नु त परै जावोस् बरू निमोठ्नै खोज्दारहेछन्, हामी नेपालीको क्या राम्रो बानी ! तर त्यस्ता चाउरे पिरती लाउनेहरूसँग पनि कसरी चाउरिएर काम लिइयो भने ती चाउरिने व्यक्ति नै दङ्ग परे मेरो कामदेखि । म काममा विश्वास राख्छु गफमा होइन, त्यसैले यहाँ जति नै लेखे पनि भने पनि गर्ने काम नै हो । त्यसैले तपाईंहरूको सामुन्ने भैरव दाइको नयाँ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हातमा पारिदिन लाग्या छु । चाँडै अनि थाहा पाउनुहोला । काम कल्ले गर्छ गफ गर्नेले कि काम गर्नेले ?
०००
चावहिल, काठमाडौं
‘भैरव स्मारिका’ २०५५
Subscribe
Login
0 Comments
Oldest






































