कमलमणि दीक्षितपटाक्षेप भयो !
त्यो हाम्रो पहिलो भेट हामीबीचको लामो र निकट सम्बन्धको जग नै बन्यो भन्ने बिर्सनुहुन्न । वासुदेवजी मेरा लागि नेपालका साहित्यकारहरूसँग चिनजानी गर्ने माध्यम नै बन्न पुग्नुभयो ।

कमल दीक्षित :

सुषमा हाम्रा वासुदेवजीकी छोरी । उनले आफ्नै ब्वाकै भाकामा जोडै गरेर मलाई फेरि भनिन्, “बाबाका बारेमा बाबुले नलेखेर हुन्छ ?”। म वासुदेवजीको ‘बाबु’ । पहिले-पहिले २०११ सालतिर म उहाँको “कमलजी” थिएँ । पछि त्यो ‘जी’ ‘बाबु’ मा फेरिई म ‘कमलबाबु’ भएथें । अलिपछि कसोकसो त्यो मेरो नामको कमल उडेर म उहाँको सम्बोधनमा ‘बाबु’ मात्र भएर रहेको थिएँ । त्यसैले वासुदेवजीका छोराछोरी पनि मलाई ‘बाबु’ नै भनेर सम्बोधन गर्छन् । हुन त वासुदेवजीको यो ‘बाबु’ मा एकपटक मलाई मन नपराउने उहाँकै एकजना चेलाले कटाक्ष गरेर लेखेको थियो, ‘कसको बाबु त्यो ?’ भनेर ।
अँ, त सुषमाले मलाई फेरि आग्रह गरिन्, “बाबु, म लिन आउँछु है, त्यो लेख । लेखिराख्नुपर्छ ।” सुषमाले यो भनेको पनि १५ दिनजति भइसक्यो । मैले केही लेखेकै छैन । अब त भएन भनेर लेख्न बसेँ, अनि लेख थाल्दा त पैलो शब्द नै सुषमा लेखेछु ।
धेरै वर्षसम्म मलाई उनको नाम थाहा थिएन । म त उनलाई ‘टमब्वाइ’ भन्थेँ । कट्टु र कमेज लगाएर हिँड्ने सानी सुषमा त्यस बेला केटाजस्तै देखिन्थिन् । यो वासुदेवजीहरू कमलपोखरीमा बस्दाखेरिको कुरा हो । वासुदेवजी आफ्नो मामाको घरमा डेरा गरी बस्नुभएको थियो तिनताका, उहाँलाई बिहान-बेलुका र रातीका स्कूलहरू भ्याउन पायक पर्ने गरी। विहान उहाँ कान्ति ईश्वरी स्कूलमा पढाउन जानुहुन्थ्यो, दिउँसो जुद्धोदयमा र राती नक्साल नन्दिकेश्वरमा रहेको रात्रि पाठशालामा । अनि म गिजाउँथे उहाँलाई- ‘विहान बैनीहरूलाई पढाउनुहुन्छ, दिउँसो भाइहरूलाई अनि राती काकाहरूलाई” भनेर ।
नभन्दै वासुदेवजीको नेपाली पढाउने तरीका अत्यन्त राम्रो थियो रे । त्यसैले ती तीनतिरका हेडमास्टरहरू वहांलाई उम्किनदिन चाहन्नथे । तर तीनतिर यसरी साइकल चढेर धाउँदा धाउँदै उहाँको स्वास्थ्यमा असर पर्न लागेको देखेर हामीले नै उहाँको स्कूल छुटाउन बल गर्याैं । मदन पुरस्कार गुठीमा र जगदम्बा प्रेसमा संलग्न गराएर, बल्ल हामीले उहाँलाई साइकल चढ्न नपर्ने तुल्यायौँ भन्नुपर्छ । किनभने, त्यस बेलासम्म उहाँ कमलपोखरी र ताहाचल छाडेर पुलचोकमा आफ्नो घरमा सरिसक्नु भएको थियो ।
मदन पुरस्कार र जगदम्बा प्रेसमा म र वासुदेवजी अत्यन्त निकट भयौँ। अभिन्न जस्तै भयौँ। हाम्रा रुचि धेरै समान रहेछन् । नेपाली भाषाप्रतिको भक्ति पनि । वासुदेवजीको संगतले नै हो मैले धेरै जना साहित्यिकहरूलाई भेटेको र चिनेको । संस्मरण लेख्न लागेपछि भन्नुपर्छ । कुरा लुकाउनुहुन्न। मेरो वासुदेवजीसँगको दोस्ती मन नपर्ने मान्छे पनि थिए। उनीहरू यदाकदा वासुदेवजीका ‘दुर्गुण’हरू मलाई बताएर ‘सचेत’ गराउन खोज्थे । तर मेरो नै कमजोरीले होला म भने सचेत भइनछु ।
मेरो सानो बेलादेखि पाठेसाथी, ‘क्लास फ्रेण्ड’ विष्णु (प्रसाद धिताल) चाहिँ ‘वासुदेवले कमलबाबुलाई मसँग खोस्याै’ भनेर ईर्ष्या गरेजस्तो गर्थे कहिलेकाहीँ । तर सस्कृत विष्णुहरू ‘पाखे’ थिए । विष्णुहरूका भाकामा भने वासुदेवहरू ‘शुद्ध काँठे’ थिए । उनीहरू दुईजनाका यी घोचपेच सुन्दा मलाई रमाइलो लाग्थ्यो । तर गए ती दिनहरू ।
अब ती दिनहरू याद गर्दा वासुदेवजीसँग मेरो पहिलो भेट नेपालमा होइन भारतमा, त्यो पनि पटनामा हुन पुगेको हो, र त्यो समेत विष्णुकै नाताले भएको थियो भन्ने सम्झिनै हालिन्छ । त्यो भेट र हाम्रो चिनजान कुन परिवेशमा कसरी भएको थियो भन्ने कुरा विस्तारमा मैले अन्यत्र लेखिसकेकाले यहाँ दोहऱ्याउन आवश्यक नहोला । तर त्यो हाम्रो पहिलो भेट हामीबीचको लामो र निकट सम्बन्धको जग नै बन्यो भन्ने बिर्सनुहुन्न । वासुदेवजी मेरा लागि नेपालका साहित्यकारहरूसँग चिनजानी गर्ने माध्यम नै बन्न पुग्नुभयो । बालकृष्ण शमशेर मैले नचिनेका व्यक्ति होइनन्, मेरा गुरु पनि भएका थिए उनी स्कूल र कलेजमा । तर बालकृष्ण समकहाँ म पुगेर नजिकिएँ वासुदेवजीले नै गरेर । सुब्बा ऋद्धिबहादुर मल्लको परिवारसँग पनि मेरो सम्पर्क उहाँकै निकटताले भयो । वासुदेवजीको मल्लहरूसँग पारिवारिक सम्बन्ध जस्तै रहेछ ।
कवयित्री गोमालाई मैले भेटेको र अन्तर्वार्ता लिएको पनि वासुदेवजीको ताहाचल घरमै हो, पूर्णप्रसाद ब्राह्मणजीलाई चिनेको पनि । शंकर लामिछानेसँग समेत भेट भएको त्यहीँ हो । गनीसाध्य हुँदैन मैले वासुदेवजीमार्फत चिनेका साहित्यिक अवतारहरूको । त्यस्तै हो मदन पुरस्कार पुस्तकालयको कुरा पनि । त्यसका लागि किताब खोज्दै हामी दुईजना कहाँकहाँ पुग्यौँ सम्झीसाध्य छैन । कतै पुराना किताब छन् भन्ने थाहा पाएपछि हामी कुदिहाल्यौँ मेरो ‘दुइपांग्रे’ फक्स-भ्यानमा । त्यसै गरी जगदम्बा प्रेसमा अनगिन्ती नेपाली साहित्यिकसँग मेरो भेटघाटको चाँजो जुर्यो ।
वासुदेवजीले नछाडुन्जेल उहाँ (प्रेस) को अफिसमा प्रत्येक दिन ‘जीरो आवर’ हुन्थ्यो निःशुल्क चियापानको । दिउसो एक बजेको त्यस चियापानका बेला नित्य चार-पाँच जना कवि-लेखकहरू आइपुग्थे, कैले-कैले त आठ-दश जनासम्म पनि पुग्थे । पुराना त हुने नै भए नयाँ-नयाँ अनुहारहरूसमेत झुल्किन्थे त्यहाँ, उहाँकै चुम्बकले तानेर । त्यसबाट लाभान्वित भने म हुन्थेँ ।
त्यो सबैको अन्त्य भयो वासुदेवजीले जगदम्बा प्रेस छाडेपछि । अझ उहाँले पुलचोकको घर बेचेर नैकाप, ढुंगाअड्डा सरेपछि त रहेपहेको सम्पर्क पनि खतम भयो । मेरो आफ्नै स्वार्थमा मैले वासुदेवजीलाई ढुंगाअड्डा नजान धेरै जोड गरेको थिएँ। तर परिवारका लागि उहाँले जाने नै निर्णय गर्नुभयो र जानुभयो । अनि हाम्रो चालीस वर्षजतिको निकटतामा पटाक्षेप भयो ।
०००
१ चैत २०६५
वासुदेव तुइँटेल स्मृतिग्रन्य (२०६८)
Subscribe
Login
0 Comments
Oldest





































