सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘एक पेज’ : सन्दर्भ वासुदेव

तर तर्कंदातर्कदै पनि लुइटेलहरूले छाड्दा रैनछन् ! पहिले वासुदेवले गरेका थिए ऐले नरनाथले भ्याए ! नरनाथले पनि मेरो पुच्छरलाई देखि सहेनन् । यी हास्यव्यङ्ग्यकारहरू त्यस्तै हुन् क्यारे । जसलाई पनि व्यङ्ग्यै गर्नखोज्ने ।

Nepal Telecom ad

‘हामी दूरभाषी भयौ’ भनेर ‘मुखपतित’ भैसकें म वासुदेव लुइटेलका बारेमा लेख्ता । तैपनि छाडेनन् नरनाथ लुइटेलले ! यी हास्यव्यङ्ग्यकारहरू त्यस्तै हुन क्यारे । जसलाई पनि व्यङ्ग्यै गर्नखोज्ने, व्यङ्ग्यै लेखाउन खोज्ने व्यङ्ग्यगुरु कहलिइसकेका वासुदेव लुइटेलका बारेमा विशेषाङ्कनै निकाल्ने रे ‘फित्कोली’ले ! यो सरासर व्यङ्ग्य भएन त व्यङ्ग्यशिरोमणिमाथि ? फुत्किन खोजें म, नरनाथको आग्रहबाट । तर त्यो ‘आग्रह’ त अगाडिको ‘आ’ पछाडि पुगेर ‘ग्राह’ पो भैराखेको ! छाडे पो ! अनि बचन धितो राखेर उम्केको म । एकै पृष्ठ भएपनि नदिई अब उपाय छैन । त्यै ‘एक पेज’ हो यो !

पुच्छर काटेको स्यालले काटिएको पुच्छरको महिमा गाउँदै, सबै स्याललाई पुच्छर काट्नै प्रेरित गर्छ रे । त्यस्तै हो मैले माथि भनेको- यी व्यङ्ग्यकारहरू पनि सबैलाई आफूजस्तै बनाउन खोज्छन् है ! भनेको । नपत्याए यही एक पेज हेर्नुस् । मैले नलेखी सुख्ख पाएँ त ? यो ‘एक पेज’ले मेरो इज्जत बढाउँदैन, मलाई थाहा छ । कसरी बढाउनु ? केही दिए न हो इज्जत बढ्ने भनेको ! यो पेज भरिंदासम्म पनि यसले केही दिने छैन । न वासुदेव लुइटेलको महिमामा एक तोला थप्न सक्नेछ यल्ले, न कमल दीक्षितकै निबन्धकारिताको अलिकति ओजन बढाउने छ ।

भनूँ न मैले लेखेँ रे ‘वासुदेव लुइटेल, नेपाली साहित्याकाशका उज्वल नक्षत्र थिए’ भनेर । मैले नयाँ कुरो के भनें त ? अथवा ‘नेपाली हास्यव्यङ्य विधाका अमर विभूति हुन् यी’ भनें रे ? यो पनि अरुले पहिले नै भनिसकेका कुरा भयो । पुरा जस्तो भएन त्यो पनि ! वासुदेव लुइटेलबारे मौलिक कुरा के भनूँ म ? वासुदेवले आफ्नो सम्पति सिध्याएर प्रकाशित गरिदिएका अनगिन्ती कितापहरूको उल्लेख गरूँ ? कि घर बेचेर हास्य व्यङ्ग्य पुरस्कार स्थापना गरेको कुरा भनूँ ? के कुरा गर्दा हुन्छ नयाँ ? बरु त्यो पुच्छर काटेकै कुरा गरे केही नौलो, अलि मौलिक हुन्छ कि ? भनूँ म- वासुदेव लुइटेलले मेरो पुच्छर काटिदिएका छन् एक पटक । तर त्यो पुच्छर फेरि पलाएर आयो र म ‘व्यङ्ग्यकार’ हुनबाट ‘बचेको’ छु । त्यही भनूँ क्यारे बेलिबिस्तार लगाएर ।

२०२४ सालतिर होला ‘छ्याकन’ जम्मा गर्न खोज्दै थिए ‘फित्कौली’का ‘प्रेरक व्यक्तित्व’ वासुदेव लुइटेल र उनका पनि ‘प्रेरक व्यक्तित्व’ भैरव अर्याल । जम्मा पार्न खोज्दै थिए के भन्नु, पाएसम्मको नेपाली कविलेखकहरूको पुच्छर काट्न कस्सिंदै थिए उनीहरू हास्यव्यङ्ग्यकार बनाएर । अनि वासुदेवले एकदिन मेरो ‘पुच्छर’ समाएर भने “बाबु, यो पनि काटेर मेरो ‘छ्याकन’मा हालूँ है ?” म आत्तिएँ तर ‘प्रेरक व्यक्तित्व’ लुइटेल के छाड्थे- मलाई ललाई फकाई काटिहाले पुच्छर र छयाकनमा बिटो पारे । मलाई पनि एक मन त बेसै भयो जस्तो लाग्यो त्यतिका पुच्छरकटुवाहरूसँग सँगै बस्न पाइने । आफ्नै ‘नाति’ भएका आदिकविसँग कुम जोर्न पाइने, महाकवि र भाष्यकविसँग बात मार्न पाइने अनि युवाकवि र आशुकविसँग साइनो जोर्न पाइने भएर म दंग परेको थिएँ । तर नपाएको पगरी लगाएको के स्वाउँथ्यो ! त्यताबाट उछिट्टिएँ म । उनीहरूजस्तासँग म अचेल म तर्केरै हिंडछु । तर तर्कंदातर्कदै पनि लुइटेलहरूले छाड्दा रैनछन् ! पहिले वासुदेवले गरेका थिए ऐले नरनाथले भ्याए ! नरनाथले पनि मेरो पुच्छरलाई देखि सहेनन् । ‘फित्कौली’मा ‘फिट’ गरिदिन पाए त यो फेरि ठेगानामा आउँछ भनेर होला उनले एउटा निहुँ समाते । “हाम्रा प्रेरक व्यक्तित्वलाई पनि प्रेरणा दिने तिमीनै हौ” भनेर उनले मलाई यहाँ छिराइहाल्ने भए !

एक पेज लेख्छु भनेर फुत्किएको थिएँ म । ‘फित्कौली’को पेज कत्रो हुन्छ थाहा छैन किनभने प्रेरक व्यक्तित्व’को श्राद्ध गर्न निस्कने भएको छ यो यसपालि । जेभए पनि कोरिहालें । यस्तै नै पठाइदिन्छु नरनाथकहाँ यो ‘एक पेज’ ।

१७ माघ २०६३
(‘फित्कौली’ अङ्क १२ , वासुदेव विशेषाङ्कबाट)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भल्डाँडे कविसँग बच्न खोज्दा

भल्डाँडे कविसँग बच्न खोज्दा

बालमुकुन्द देव पाण्डे
ङ माने ङिच्च

ङ माने ङिच्च

रमेश विकल
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
मेरो पुच्छर

मेरो पुच्छर

राजेन्द्र सुवेदी
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन