फित्काैली डटकमअचम्मका मान्छे
हाँले सोध्नुभयो- मदनमणिको जन्ती जानुभएन ? मैले कुरो बुझिनँ । वहांले खुलासा गर्नुभयो प्रज्ञाप्रतिष्ठानमा प्राज्ञसभाको उद्घाटन छ नि । त्यसमा जानुभएन ? कमल बाबु त्यतै जानुभएको छ । मलाई न प्रज्ञा-प्रतिष्ठानबाट निम्तो थियो न त्यहाँ हुने कुनै कार्यक्रमको पूर्वजानकारी । अनि मैले के उत्तर दिनू ?

डा. केशव उपाध्याय :

संसारमा अनेकथरि मान्छे देखिन्छन्, तिनमा एकथरि अरूलाई मेटाएर आफू मोटाउन खोज्छन् भने अर्काथरि आफूलाई मेटाएर अरूलाई मोटो पार्न खोज्छन् । एकथरिलाई लिनमा नै सुखको अनुभव हुन्छ र कहाँबाट वा कसबाट कुन युक्ति र बुद्धिले स्वार्थसिद्धि गरौ भन्ने ध्याउन्न तिनको रहन्छ। यी आदानप्रेमीहरू दानमा आस्था राख्दैनन् र दानीहरूलाई मूर्ख ठान्दै आफूलाई ‘ल’ अक्षरको मात्र ज्ञान भएको र ‘द’ अक्षर आफूले जान्दै नजानेको कुरो सगर्व घोषित पनि गर्दछन् । अर्काथरि दिनमा सुखको अनुभव गर्दछन् र अरूलाई केही न केही दिन तत्पर रहन्छन् । दानप्रेमीहरू पनि समाजबाट आफ्नो योग्यता र सेवाअनुसार केही न केही लिइरहेका हुन्छन् अथवा भर्नु, आफ्ना कर्तव्य र कर्मका फलस्वरूप तिनले केही पाइरहेका हुन्छन् ।
यसरी आफ्नो योग्यता र श्रमबाट जे पाइन्छ ती त्यसैमा सन्तुष्ट रहन्छन् र ईमानदारीसाथ आर्जित गरेर संगालेको थोरै धनराशिलाई सम्भावित आपत् विपत्का लागि जोगाएर राख्नाको साटो परमार्थका लागि खर्च गर्नमा आनन्दको अनुभूति गर्छन्। ‘हाँस्नु र हँसाउनु’ तपाई-हामी सबैको अधिकार र कर्तव्य पनि हो, भन्ने सिद्धान्तमा आस्था राखी भूतको भिनाजु भएर हास्य व्यंग्यात्मक लेखनद्वारा सबैलाई हँसाउन खोज्ने श्री वासुदेव लुईटेललाई आफूसंग सञ्चित धन आफ्नो सुख-सुविधाको वृद्धिमा नभएर अरूको कल्याणमा खर्च गरेर सात्विक आनन्द लिने, आफू दुब्लाएर भए पनि अरूलाई मोटो पार्न खोज्ने र यसरी महाकवि देवकोटाको ‘सुख आफूलाई मिटाई अरूलाई दिनुमा छ’ भन्ने महान् आदर्शका सच्चा अनुयायीका रूपमा देखेर म वहांबाट ज्यादै प्रभावित छु र वहाँलाई श्रद्धापूर्वक प्रणाम गर्दछु ।
श्री लुइँटेललाई मैले किस्ता-किस्तामा चिन्दै आएको छु र मैले अझै, वहाँलाई राम्ररी चिन्न बाँकी नै छ कि जस्तो अनुभव मलाई भइरहन्छ । वहाँ काठमाडौंका निवासी र म तराईवासी हुनाले मलाई वहाँको संगत गर्ने, वहाँबाट केही सुन्ने, जान्ने र सिक्ने प्रशस्त अवसर प्राप्त हुन सकेन । वहाँलाई मैले पहिले वहाँका विचित्र प्रकारका हास्यव्यंग्यात्मक रचना र वहाँको झन् विचित्र प्रकाशन ‘कौवा प्रकाशन’का माध्यमबाट जानेको हुँ । वहांलाई मैले पहिलोपटक मदन पुरस्कार (जगदम्बा) गुठीको वहाँकै कक्षमा वहाँको आफ्नै आसनमा विस २०३२ मा देखेको हुँ ।
त्यसपछि आजसम्म मैले जतिपटक वहांलाई देखेको छु त्यही गुठीमा, त्यसै अफिसमा र त्यसै आसनमा देखेको छु कहाँसम्म भने उस्तै उस्तै मुद्रामा, एक-दुई पुराना र एक-दुई नयाँ अनुहारहरूका साथ घेरिएर केही सुन्दै गरेको अनि केही भन्दै गरेको अवस्थामा देखेको छु। वहाँको जीवनमा हुने गरेको मेरो ज्ञान पनि अत्यन्त सीमित छ । तर वहांको जीवनमा हुने गरेको मेरो आक्कल झुक्कल प्रवेश यत्तिमा नै सीमित छ र वहांबारेको मेरो ज्ञान पनि अत्यन्त सीमित छ। तर वहाँबारे मेरो जुन सीमित ज्ञान छ, वहांको मानवीय महत्ताको जानकारीका लागि पर्याप्त भएको छ । वहांका व्यक्तित्वमा अन्तर्निहित मानवीय महत्ताको जेजति अश मेरो दृष्टिमा परेको छ त्यो वहाँप्रति मलाई नतमस्तक तुल्याउन प्रशस्त छ ।
तीनधारा पाठशालामा ९ वर्ष बिताएका र जीवनको पाठशालाबाट सिक्नुसम्म सिकेका श्री लुईटेल नेपाली भाषा प्रकाशिनी समिति (विसं १९९९-२००४) र गोरखापत्र छापाखाना (विस २००५-२०२५), कान्ति ईश्वरी राज्यलक्ष्मी हाई स्कूल (विसं २००७-२०२६), रात्रिपाठशाला हाई स्कूल, नक्साल (विसं २०१०-२०१६) जस्ता शैक्षिक संस्थाहरूमा रहेर एक्काइस वर्षजति शिक्षादान गरी अन्तमा विगत ३६ वर्षदेखि जगदम्बा प्रकाशन, जगदम्वा प्रेस, मदन पुरस्कार गुठी, नेपाल टाइप फाउण्डी र जगदम्बा गुठीका विभिन्न जिम्मेवारी सँभाल्दै आउने एक उदाहरणीय कर्मयोगी हुनुहुँदो रहेछ भन्ने कुरा पनि मलाई विस्तारै-विस्तारै थाहा भएको हो ।
आरामका साथ घरैमा बसेर आफ्नो साहित्यिक साँस्कृतिक कल्याणका कार्य सञ्चालन गरी वृद्धावस्थाका दिन काटे हुनेमा पनि वहाँ गुठीको कार्यालय सचिवका आसनमा रहेर आफ्नो कामकर्तव्य परमनिष्ठाका साथ पूरा गर्दै कर्मयोगको जुन अनुपम आदर्श प्रस्तुत गर्दै हुनुहन्छ, त्यो जागीर खानुपर्ने वाध्यताको प्रतिफल नभएर बाबु (कमल दीक्षित) र गुठीप्रतिको अगाध मायाको प्रतिफल हो भन्ने मलाई लाग्छ । मायाको चुडाल्न नसकिने बन्धनमा बाँधिएर गुठीका कर्यकक्षमा वहां उपस्थित रहनु गुठी परिवारका लागि खुशीकै कुरो होला भन्ने मेरो अनुमान छ ।
त्यो जे होस्, वहाँलाई भेट्न र कुनै विषयमा वहाँसँग सरसल्लाह लिन इच्छुक कवि, कलाकार, लेखक र सम्पादकहरूक लागि गुठीमा वहांको उपस्थिति एक प्रकारको वरदान नै हुन पुगेको अनुभव म गर्दछु । कमल दीक्षितलाई भेट्न जाँदा होस् अथवा गुठीको पुस्तकालयमा पुस्तक पढ्न जाँदा होस्, श्री वासुदेव शर्मा लुईटेललाई नभेटीकन आउने साहित्यिक विरलै होलान् । म कुनै कामले त्यता जांदा श्री वासुदेव कार्यालयमा अनुपस्थित हुनुहुँदो रहेछ भने निकै शून्यता अनुभव गर्दछु र आफ्नो गुठीयात्रालाई अपूर्ण ठात्त्दछु । वहाँ भए पसेर वहाँसँग बसी केही सुन्न पाइन्छ, नयाँ-नयाँ व्यक्तित्वसंग चिनाजानी गर्न पाइन्छ । र, फेरि प्रायः कुनै न कुनै पुस्तक उपहार पाइन्छ । त्यहाँबाट रित्तै फर्कन पर्दैन, किताब पाइन्छ र नपाए किताबमा नपाइने सूचना वा ज्ञान पाइन्छ । किताबको कुरो चल्दा एउटा खास कुरो पनि गरिहालें ।
श्री लुईटेल आफू लेखक हुनाले आफ्ना रचना र पुस्तक प्रकाशित गर्नु सामान्य कुरो हो। वहाँ प्रकाशक पनि हुनुहुन्छ तर कस्तो प्रकाशन भने नाम चलेका वा नचलेका जस्ता लेखकका पनि किताब प्रकाशित गरी निःशुल्क रूपमा वितरण गर्नमा आनन्दको अनुभव गर्ने प्रकाशक । वहाँ आफू अरूका किताब किनेर बाँड्ने काम पनि गर्नुहुन्छ भन्ने मलाई थाहा भएको छ र म चकित भएको छु। अरूका पुस्तक प्रकाशित गर्दागर्दै ऋणमा डुब्दा वहाँले आफ्नू कमाइबाट सिर्जिएको घर बेचेर त्यो ऋण तिरेको र यसो गर्दा वहाँले ऐय्या पनि नभनेको सन्दर्भ पनि मेरा लागि विस्मयजनक छ । वहाँ लेखकको हरतरहबाट सहयोग गर्न तत्पर रहनुहुन्छ, विपन्न लेखकहरूलाई औषधिखर्च पनि उपलब्ध गराउनुहुन्छ र लेखकहरूलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गर्नमा पनि वहां क्रियाशील रहँदै आउनुभएको छ भन्ने पनि मलाई थाहा भएको छ। वहाँको लेखकको कल्याणमा समर्पित व्यक्तित्व चर्चित र प्रशंसित छ र मेरा लागि झन् झन् श्रद्धेय हुँदै गएको छ ।
आफ्ना सुपुत्र विद्यादेवलाई पैतृक सम्पत्तिको लोभमोहबाट माथि उठेर घर बेचेको सम्पत्तिबाट १३ लाख रू को धनराशि लगाएर ‘वासुदेव-विद्यादेव लुइँटेल गुठी’ (विस २०५०) खडा गरी वासुदेव लुईटेल पुरस्कारको स्थापना गर्न प्रेरित गर्नु श्री लुईटेलको दानशीलताको अद्भुत उदाहरण हो । यस पुरस्कारको स्थापनाका लागि लेखक तथा कलाकारजगत् पूरै लुइटेलपरिवारप्रति आभारी छ तर यसको मूल श्रेय घरका मूली श्री वासुदेव लुइँटेललाई नै छ भन्ने म ठान्दछु । कुनै धनकुबेरले नभएर निम्नवेतनभोगी शिक्षकले दुःखजिलो गरी जोरेको अचल सम्पत्तिबाट स्थापित यस ठूलो पुरस्कारको ठूलो ऐतिहासिक महत्व छ भने आफ्नै विशिष्ट महिमा र गरिमा पनि छ । जुन समाजमा लेखकहरू एक अर्काको रीस गर्छन् र मानसम्मान र पुरस्कारका लागि चाकडी र भनसुनका अशोभनीय उपायको अलम्बन गर्न तँछाड मछाड गर्छन्, त्यसमा आफ्नो शक्तिले भ्याई नभ्याई लेखकहरूको सहायता गर्ने र आफ्नो आर्जनको ठूलो भाग साहित्यकार-कलाकारलाई पुरस्कार दिनका लागि अर्पण गर्ने श्री वासुदेव लुइँटेल जस्ता दानी र त्यागी लेखक देखिनु अचम्मै हो । नेपाललाई अजब देश भन्ने विदेशीहरूले नेपालका एक गजब लेखकबारे के भन्ने हुन् कुन्नि ?
अजब नेपालका गजब लेखक श्री लुइँटेलको एक अर्को गजब बानी पनि रहेछ । वहाँ कुनै मान-सम्मान र पुरस्कारको चाहना नराख्ने लेखक मात्र नभएर कुनै सभा, समारोह र गोष्ठीमा पाइला नहाल्ने लेखक पनि हुनुहुँदो रहेछ । यो कुरो विस २०५० मा पद्मकन्या क्याम्पसमा आयोजित भएको देवकोटा स्मृतिसभाको व्याख्यान समारोहमा वहाँलाई प्रमुख अतिथि भइदिने अनुरोध गर्दा मलाई थाहा भएको हो। एकातिर साहित्यकार-कलाकारप्रति त्यस्तो अनुराग र अर्कोतिर साहित्यिक सांस्कृतिक कार्यक्रमप्रति यस्तो विराग, मैले यस्तो साहित्यिक सन्न्यासी अर्को देखेको छैन ।
श्री लुइटेल कहीं जानुहुन्न तर आफ्नो कार्यालयको कुर्सीमा बसी-बसी सारा संसारको गतिविधि वहांलाई थाहा हुन्छ, वहाँको कार्यालयकक्ष एक प्रकारको सूचनाकेन्द्र जस्तै छ । मलाई कुनै न कुनै नौलो कुरो त्यहाँबाट थाहा हुन्छ ।
श्री लुईटेल कसैको मरमोलाहिजा नगर्ने प्रखर व्यंग्यकार मात्र नभएर खस्रो र रूखा बोली बोल्ने अनि रीस उठ्दा कुरा गर्ने मुखर व्यग्यमूर्ति हुनुहुन्छ पनि भन्दा रहेछन् तर वहाँलाई राम्ररी चिनेपछि लोलोपोतो नगरी स्पष्ट कुरा गर्ने व्यक्ति भनेर श्रद्धा गर्न थाल्दा रहेछन् । लेखक र साहित्यिक कार्यक्रमको अनौठो अनौठो नाम राख्नेमा वहां नामुद हुनुहुँदो रहेछ । यसले गर्दा कति कुरा सितिमिति बुझ्न नसकिने रहेछ। भर्खरै म वहाँलाई भेट्न गएको थिएँ । वहाँले सोध्नुभयो- मदनमणिको जन्ती जानुभएन ? मैले कुरो बुझिनँ । वहांले खुलासा गर्नुभयो प्रज्ञाप्रतिष्ठानमा प्राज्ञसभाको उद्घाटन छ नि । त्यसमा जानुभएन ? कमल बाबु त्यतै जानुभएको छ । मलाई न प्रज्ञा-प्रतिष्ठानबाट निम्तो थियो न त्यहाँ हुने कुनै कार्यक्रमको पूर्वजानकारी । अनि मैले के उत्तर दिनू ?
एकपटक म वहाँलाई भेट्न जाँदा वहाँले मेरा केही फोटा खिच्नुभयो र मेरा साथ उभिएर आफ्नो फोटो पनि खिचाउनुभयो । अर्कोपटक जांदा वहाँले ती फोटाहरूको एकएक प्रति मलाई सम्झिने उपहार दिनुभयो । मसँग अरू कसैले यस्तो व्यवहार नगरेकाले वहाँले गरेको व्यवहार मेरा निम्ति सुखद आश्चर्यको विषय बन्यो ।
मैले श्री लुइँटेललाई विनम्र, शिष्ट र सहृदयीका रूपमा देखेको छु र वहाँको लेखन र व्यवहारमा असामान्यताको अनुभव गरेको छु । त्यसैले यस्ता मान्छेलाई म अचम्मका मान्छे नभनेर के भनूँ ?
यस्ता अचम्मका मान्छे शतायु हुनुहोस् र शतशत सत्कार्य गरिरहनुहोस् भन्ने शुभकामना म गर्दछु ।
सं. २०५१-१२-१६
सरस्वती नगर, चावहिल-७
०००
वासुदेव तुइँटेल स्मृतिग्रन्थ (२०६८)
Subscribe
Login
0 Comments
Oldest










































