माणिकरत्न शाक्यसाडेसातको दशा
अत्तालिँदै लोग्नेले भन्यो– त्यसो नगर न प्यारी ! म सरुवा भएर जान्न के ! तिमीले जे जे भन्छौ त्यही त्यही मान्छु, मेरो वाचा भो ! श्रीमतीले हाँस्दै भनिन्– कस्तो लाग्यो त मेरो नाटक, लाइनमा आउनु भो होइन !

माणिकरत्न शाक्य :
कार्यालयबाट फर्केपछि घर पुगी ओच्छ्यानमा लम्पसार परें । मेरो अवस्था देख्ने वित्तिकै श्रीमती बम्किन थालिन्– ‘जहिले हेर्यो नून खाएको कुखुरो जस्तो, तपाईंको जीउमा फूर्ति चाहीि कहिले आउँछ हँ ! के भएको छ तपाईंलाई आजकाल । सिनेमा हेर्न लान्छु भन्ने मान्छेको हेर न ताल ! के ओच्छ्यानमा जाँतो जस्तो बसिरा’ जाने भन्या होइन र भन्या…. !!!
लोग्नेले दिक्क मान्दै भन्यो– आफूलाई भने यहाँ दशथरीको टेन्सनले टाउको खाइरा छ तिमीलाई भने उही सिनेमाकै कुरा छ । श्रीमतीले रिसाउँदै भनी– के भो त के भो ? लोग्नेले गाह्रो मान्दै भन्यो– के हुनु नि ! भोलि जुम्ला जान गुन्टा कस्नुपर्ने भो ! बुझ्यौ । तेरा बाउ मेरो ससुरो हाकिम भा’भे जान पर्दैन्थ्यो थियो होला के गर्नु ! छुट्टिएर बस्न मनै छैन । त्यसैले…. ।
श्रीमती रुन्चे अनुहार पारेर भन्न थालिन्– के रे जुम्ला ! अरु कोही पाएनछन् ! तपाई बाँस जस्तो सोझो नबन्नुस् भन्या मान्नुहुन्न, त्यही भएर तपाईंलाई मात्रै देख्छन् ! फेरि झर्केर भन्न थालिन्– हाकिमसाबको बुद्धि पनि कस्तो ? काठमाडौं घर भएकालाई जुम्ला ! तपाईंको साथी कृष्णले जुम्ला जान खोज्याथ्यो भन्या होइन र ? उसैलाई पठाएको भए कुरै सकिन्थ्यो नि ? श्रीमतीको कुरा सक्ने वित्तिकै लोग्नेले भन्यो– यो सब माथिको निगाहा हो । जसलाई जहाँ मन लाग्यो त्यही जान पाउने भा’ भे त म अमेरिका नै जान्थेँ नि बरु किन जान्थे जुम्ला ! लोग्नेको कुरा सक्नासाथ श्रीमती च्याँठिइन्– ‘हो ! हो ! कसैले नखाएको जागिर तपाईंले खानु भा’छ ! भर्खरै सरुवा भएर आएको दुइ महिना पुग्या छैन फेरि सरुवा !
‘मुख्य कुरो त चम्चा हुन जान्नु पर्ने रैछ, आफूले कहिल्यै जानिएन ! लोग्नेले मनको कुरा खोल्दै भन्यो । लोग्नेको कुरा श्रीमतीले सुन्ने वित्तिकै आँखा च्यात्दै भनिन्– ‘कस्तो चम्चा ? खाने चम्चा हो ? श्रीमतीको कुरा सुनेर लोग्ने हाँस्न थाल्यो । श्रीमतीले कुरा नबुझेर लोग्ने दिक्क भएँ । लोग्नेले चम्चाको अर्थ बताउँदै भने– ‘मैले त्यो चम्चाको कुरा गर्या होइन के लाटी ! तेरा दाजुले– अफिसका हाकिमको ब्याग बाेकेर पछिपछि लाग्छ । हाकिमले जे भन्यो त्यसैमा सही थाप्छ, गलत नै भए पनि ठीक हो ठीक हो भनेर ठिक्क पार्छ । हाकिमलाई भए नभएको कुरा सुनाएर हाकिमको एक्का बन्छ । त्यति मात्रै कहाँ हो र ! हाकिमको छोराछोरीलाई सित्तैमा पढाइदिन्छ, हाकिम्नीले अह्राएको जम्मै काम गरिदिन्छ । अनि आफ्नो दुनो सोझ्याउँछ । हो ! यस्तै काम गर्नेलाई भन्छ चम्चा, बुझिस् अब त !’
श्रीमतीले दिक्क मान्दै भन्छिन्– तपाईंले बोलेपिच्छे धिक्कार होस् तेरो बुद्धि त भन्नुहुन्छ, नि, अब त हजुरको बुद्धिलाई पो धिक्कार्न मन लाग्यो ! मेरा दाजुले त्यति नगरेको भए न त विदेश घुम्न र न त प्रमोसन खान पाइन्थ्यो । अझै मेरै दाजुको बद्ख्वाईं…. ! लोग्नेले भन्यो– तेरा दाजुको जस्तो बुद्धि हुन त मेरी आमाले अर्को जन्म दिए कुन्नि, यो जन्ममा त खोई उही हो ! मलाई आइमाइ भएर नजन्मेकोमा साह्रै दुःख लागेको छ के गर्नु भन्न मिल्दैन….! श्रीमतीले के बुझिन् कुन्नि मुख बङ्ग्याउँदै जीउ बटार्दै भनिन्– ‘हो ! हो ! आइमाईं घरमा मात्र चुपो लागेर बस्छन् भन्ने सोच्नु भा’होला तपाईंले । घरको सबै काम कसले गर्छ नि !’ बिहान उठेदेखि बेलुकासम्म कामले कहिल्यै फुर्सद पाउनु छैन अझै बाह्रसत्तरी कुरा….!
‘हो बाबा हो ! हो ! सबै कामकुरो आइमाईले नै गर्छन् नि ! बच्चापनि आइमाईले नै पाउँछन्, सुत्केरी बिदा उनैले लिन्छन्, घरमा बसेर मोज गर्छन् ! लोग्नेले ठट्टा गर्दै भन्यो । लोग्नेको कुरा सुनेपछि श्रीमतीले या’मानको मुख फुलाउँदै भनिन्– ‘हो ! हो ! म मात्र ब्रम्ह्रा भएको भए तपाईं जस्ता लोग्नेमान्छेलाई बच्चा पाउने जिम्मा लगाइदिन्थे । अनि देख्नु हुन्थ्यो तिरीमिरीझ्याईं ! लोग्नेले हाँस्दै भन्यो– आजसम्म आइमाई ब्रम्हा भएको थाहा छैन, कसरी बन्छ यो ब्रम्हा ?
रीसले स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गरेकी श्रीमतीको मुख आफूतिर फर्काउँदै भने– धत्तेरीका लाटी, त्यसरी किन रिसाएकी ….। मैले त अफिसको हिसाबले पो आइमाई भएर नजन्मेकोमा दुःख लाग्या छ भनेको त ! आइमाई भएपछि प्रमोसन पनि पहिला, सरुवा भएर टाढा जान पनि नपर्ने, आइमाईका लोग्ने जता गयो उतै सरुवा मिलाउन पाइने कुरा पो गर्या त, !कहाँको कुरो कहाँ जोडेर फोकटमा टाउको दुखाउँछौ ! तिमी जस्तीले चित्त दुखाउन हुन्न क्या !
लोग्नेले आफ्नो तारीफ गरेको सुनेपछि श्रीमती मुस्कुराउँदै आएर गर्दनमा दुबै हातले अँगालोमा बेरिँदै लाडिदै भनिन्– मेरो बूढा ! सरुवा भएर नजाउँ है म त एक्लै बस्न सक्दिन है घरमा, भन्द्या छु नि ! श्रीमतीको कुरा सुनेर लोग्ने अकमकियो । १४ वर्षको जागिर खाएपछि छुसे हाकिम भइया छ । अब एकचोटी बाहिर बसेर आउन पाए त मेरो दुनियाँ नै अर्को हुन्थ्यो ! मनमनै लोग्ने बोल्छ । श्रीमतीले बीचैमा कुरा काट्दै भनिन्– सरुवा मिले अड्काउने, नत्र बिदा लिएर बस्ने, त्यो पनि नभए छोडिदिने…..! लोग्नेले कुरा काट्दै भन्यो– छोडिदिने रे ! वाह मेरो सल्लाहकार ! क्या सल्लाह दिन्छौ हँ ! तिम्रो सल्लाहलाई त मान्नै पर्छ बा ! अनि जागिर छोडेर के घाँसपात चपाएर बस्नु, यस्तो महङ्गी छ, बच्चाहरुको भविष्य हेनुपर्दैन !
श्रीमतीले हात नचाउँदै मुख बङ्ग्याउँदै भनिन्– तपाई त्यही सोझो हरिलक्ठक भएर पो रैछ नि ! हाकिमले सरुवा गर्दै लखटेको । नत्र के लखट्थे । केही गर्छु भन्ने खोई आँट, खोई हिम्मत ! त्यहाँ भने हाकिमसाब रे ! हेर न हेर, हाकिमसाबको बुद्धी भने मकैको गडो जत्रो । आँटे पछि पुर्याई हालिन्छ नि केको पीर छ र !
लोग्नेले भने– त्यस्तो कुरा नगर, अब केही बर्ष मात्रै बाँकी छ, त्यसपछि त घरमा बसी बसी पेन्सन आउँछ, नगर अहिले गलफत्त्ती ! श्रीमतीले फेरि बम्किदै भनिन्– जाने भए जाउ न त ! म मरेपछि तपाईंलाई आनन्दै हुन्छ नि ! श्रीमतीको एकोहोरो गनगन सुनेर लोग्नेले रिसाउँदै भने– मरे मर त, के घुर्की लाउँछस्, के के न भा जस्तो ! श्रीमतीले भुँइमा खुट्टा बजार्दै भनिन्– हो त हो ! मेरो वचन त खेर जाँदैन नि बुझ्नुभो । म त तपाईंजस्तो होइन नि ! मर्द हुँ मर्द ! लोग्नेले पनि भुँइमा खुट्टा थचार्दै भने– मेरो पनि वचन खेर जाँदैन बुझ्यौ ! लागें म त गुन्टा कस्न ।
त्यतिनै बेला भान्छा कोठाबाट एक्कासी केटाकेटी कहालिएको आवाज सुनेर लोग्ने त्यतैतिर दौडे । देखे, श्रीमतीले आत्महत्या गर्न ठिक्क परेकी रैछ । अत्तालिँदै लोग्नेले भन्यो– त्यसो नगर न प्यारी ! म सरुवा भएर जान्न के ! तिमीले जे जे भन्छौ त्यही त्यही मान्छु, मेरो वाचा भो ! श्रीमतीले हाँस्दै भनिन्– कस्तो लाग्यो त मेरो नाटक, लाइनमा आउनु भो होइन !
अनि श्रीमतीले के के मात्र हो सबैखाले कसम ख्याइन्– पेटै डुम्म हुने गरी । कसम बढी खाएर हो कि एक्कैछिन अगाडिको घटनाको डरले हो, त्यस रात मलाई निस्लोट ज्वरो आयो, सुतायो । पछि कार्यालयबाट खटिएर आएको डाक्टरले भन्दा पो थाहा पाएँ, मलाई त टाइफाइड पो समातेछ ।
त्यति नै बेला श्रीमतीको दाइ अर्थात् मेरो जेठान आएर भन्छ– बधाई छ ज्वाइँसाप, बधाई छ, यता तपाई बिरामी पर्नु उता कृष्ण जुम्ला जानु क्या संयोग ! अब ढुक्क भएर बस्नुस्, आराम गर्नुस् ! दाइको कुरा सुन्ने वित्तिकै म त एकछिन ट्वा परें अनि भने– है दैव ! मलाई मात्रै साडेसातको दशाले किन घेर्नु पर्या होला ! यी खाइस् बढुवा ! भन्दै आफैले आफैलाई लोपारेँ । अरु हेरेको हेर्यै भए । म चाहिं ट्वाँ परें ।
०००
चाबहिल सरस्वतीनगर
Subscribe
Login
0 Comments
Oldest






































