रामकृष्ण ढकालपिंडालीको ‘व्यंग्यै व्यंग्य’ एक अवलोकन
अर्कोतिर झण्डै ३०० हास्य व्यङ्गय रचनाहरू 'गोरखापत्र' दैनिकका फाइलमा पनि छन् भन्ने उल्लेख पिंडालीकाे (व्यंग्यै व्यंग्य') को भूमिकामा आफैले उल्लेख गरेकाले एक प्रकारको भ्रम पर्न जानु स्वाभाविकै हो

रघु घिमिरे :
“खै खै” (२०१६) र “फेरि उल्टै मिल्यो” (२०३२) निबन्ध संग्रहपछि २०४५ सालमा छापिएको “व्यंग्यै व्यग्य” केशवराज पिडाली (जम्म १६७७) को तेस्रो निबन्ध संग्रह हो । यसमा पनि हास्यव्यङ्ग्य प्रधान गद्य रचना नै प्रमुख रूपमा राखिएका देखिन्छन् । छोटा-छोटा किमिमका तेईसवटा निबन्धात्मक रचनामा पिँडालीद्वारा आफ्ना पूर्व प्रकाशित संग्रहहरू “खे खै” र “फेरि उल्टै मिल्यो” मा जस्तै समसामयिक जीवनका विविध पक्षका कुप्रवृत्ति अनि कुसंस्कारप्रति हास्यलाई आधार बनाएर व्यङ्ग्य-वाण हानिएको भेटिन्छ । पहिलेका संग्रहमा २०-२० वटा रचना राखिएका थिए भने यसमा तीनवटा बढी रहेका छन् ।
‘विमर्श’, ‘नेपाली आवाज’, ‘जनज्योति’, ‘गोरखापत्र’, ‘मधुपर्क’ तथा ‘मिमिरे’ मा छापिएका व्यङ्गय रचनाहरूमध्ये छानेर “व्यंग्यै व्यंग्य” मा सङ्कलन गरिएको कुरा लेखक पिंडालीले यसै कृतिको ‘आफ्नो कुरो’ शीर्षकको भूमिकामा व्यक्त गरेका छन् ।
यस सङ्ग्रहको पहिलो रचना “रहँदा बस्दा जगल्टाको नाश” मा काठमाडौंका टेलिफोन धनीहरूले भोग्नुपरेका ‘रङ नम्बर’, लाइन जुध्ने, अनि तथानाम गाली सुन्नुपर्ने जस्ता भुक्तमानकाे चित्रण गरेका छन् साथै आफूले राजस्थानी भाषा जानेको प्रसङ्ग पनि उल्लेख गरेका छन् । दोस्रो रचना ‘म भगवानसँग सोध्ने छु’ मा निबन्धकार पिंडालीले पचास वर्षदेखि लेखन कार्यमा सक्रिय रहँदा आँखामा मोतीविन्दु भएर राम्रो उपचार हुन नपाएको जस्ता कुरा एकातिर प्रस्तुत गरेका छन् भने अर्कातिर आफूलाई प्रज्ञाप्रतिष्ठानले सम्मान सहयोग नगरेकामा व्यङ्ग्य गरेका छन्। यसै प्रसङ्गमा आफू मरेपछि आँखा दान गर्न चाहने दानी’हरू प्रति पनि व्यङ्गयवाण हानेका छन् । “लाेभीकाे भाँडो उभिण्डो” मा सामान्य मान्छेका लागि खसीको मासु खाने धोको पुग्न निकै गाह्रो हुने कुरा उल्लेख गर्दै जुद्धशमशेरकी छोरी पुतली महारानीकाे सम्झनामा नामकरण गरिएको पुतली सडकको नाउँ हटाइएकोमा दुखेसो गरेका छन् ।
भारतमा बस्ने नेपालीमूलका व्यक्तिहरूमध्ये कतिले नेपालमा आएर राम्रो राम्रो पद ओगटेको र कतिले भने मूर्ति तस्करी गर्ने गरेको कुरालाई आधार बनाएर व्यङ्गय गरिएको प्रसङ्ग ‘गोदीप्रसाद बदेहाम’ शीर्षक रचनामा रहेको छ । साहित्यकारहरूलाई कुन बेला लेख्न फुर्ने हो त्यसको केही थाहा पहिले हुँदैन । कथाकार भिक्षुलाई ब्रह्म मुहूर्तमा फुर्ने गरेको, महाकवि देवकोटालाई एक चोटि बाेकाको कान चुसेपछि फुरेको, धर्मराज थापाले एकपस्ट ‘फुर्याे’ भन्दै खाँदा खाँदैको भात छोडेर उठेको जस्ता प्रसङ्गलाई ‘वेदको हरफमा हरिताल’ मा उल्लेख गरेका छन् । ‘चिलाउनेको रूख र चाकडी महात्म्य’ मा चाकडी गरेपछि मान्छेको के कुरा गणेश जस्ता भगवान पनि खुशी हुन्छन् भन्ने देखाएका छन् । तत्कालीन राष्ट्रिय पञ्चायतको शून्य समय र पशुपति क्षेत्रको फोहरी वातावरणलाई “बम बम भोला !!!” मा व्यङ्गय गरिएको पाइन्छ । नेपालीले लगाउने दौरा सुरुवाललाई राष्ट्रिय पोशाक बनाइनु ठीक होइन भन्ने कुरा ‘राष्ट्रिय पोशाक गण थैलो ?’ मा व्यक्त भएको छ। लेखक पिँडालीले क्यानडाको टोरेन्टोमा केही महीना बस्दा दुःखै पाए पनि आफ्नै देश रमाइलो हुन्छ भन्ने अनुभव भएको प्रसङ्ग ‘आफ्नू मानु आफ्नै देश’ मा उल्लेख गरेका छन् ।
सरकारी सहयोग पाएपछि जस्तै आयोग्यले पनि चुनाव जित्छ भने कुरालाई ‘परमानन्द शरणं गच्छामि’ मा राखेका छन् । काठमाडौंमा घरका नम्बर ठीकसँग राखिएका छैनन्, नेपालको हुलाकमा राम्रो व्यवस्था छैन भन्ने कुरा ‘म त अज्ञात पो भएछु’ मा भनेका छन् । तत्कालीन मरीचमान मन्त्रीपरिषदप्रति व्यङ्गय गरिएको निबन्ध ‘यो किचकन्नी सरकार ?’ हो। तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्यहरूमध्ये विमलमान सिंहले राष्ट्रिय पञ्चायतमा बोल्दै नबोलेको र पद्मरत्न तुलाधरले भने खाँदै बोलेको प्रसङ्गप्रति ‘मेरा भोट तुहिने पो हुन् कि ?’ मा व्यङ्गय गरेको पाइन्छ । कविवर केदारमार व्यथित गृहमन्त्री भएको प्रसङ्गलाई ‘आखिर पुस्ता नेटेर्ने भए’ मा गुलाफी छेड हानिएको छ। नेपालमा साहित्यकारहरु भन्दा राजनीतिज्ञहरूले सम्मान पाएकाे र भ्रष्टाचार बढेको कुरालाई ‘म प्रधानमन्त्री भएपछि’ मा राखिएको छ।
‘किचिक्वमा परी परी दाँत ङिचिक्व पो हुने हो कि ?’ निबन्धमा काठमाडाैंमा ट्राफिक प्रहरीले एकतर्फी सवारी बनाउने नियम भर्खर-भर्खर लगाउदालाई कति अप्ठ्यारो परेको थियो भन्ने कुरालाई छेड हान्दै उतारेका छन् । काठमाडौंवासीहरूको फोहरी बानी वेहोरालाई देखाउन ‘म जन्मे हुर्केको काठमाडाैं शहर’ को रचना गरिएको देखिन्छ। ‘मनुवा ? हिंड् अब मिति पुग्यो’ मा एकातिर कुनैबेला नेपालमा चलाइएको ‘एशियाली मापदण्डमा पुग्ने नाराप्रति प्रहार गरिएको छ भने अर्कातिर साहित्यकारको दुर्गति र तस्कर वृत्तिमा लागेकाको उन्नतिलाई देखाइएको छ । सिनेमा बनाउनेहरुले लेखकको भावना विपरीत रचनालाई कसरी बाङ्गोटिङ्गो पारेर सिनेमा बनाउँछन् भन्ने भावलाई निकै राम्रोसँग हास्य र व्यङ्गयको सन्तुलित प्रयोग गरेर ‘फिल्म निर्माणका तीन घराना’ मा व्यक्त गरेका छन् ।
साहित्यकार र कलाकारलाई बाँचुञ्जेल त्यति वास्ता गरिंदैन मरेपछि भने सालिक बनाएर पूजा गर्ने गरिन्छ भन्ने भाव ‘चिठी पुगोस् भानुभक्त आचार्यकहाँ’ मा प्रकट गरेका छन् । काठमाडौंमा दुग्ध विकास संस्थानले कुनैबेला विकिरणयुक्त दूध बेच्दा उपभोक्तामध्ये अधिकांशले कागती चिया खानु परेको मर्मस्पर्शी प्रसङ्गलाई ‘मुख अझै पनि टर्राको टर्रै’ मा निकै राम्रोसँग प्रस्तुत गरिएको छ । खानेपानीको वितरण सुचारुरूपबाट नभएकोमा “भूतको टुप्पो समातेर बाँचौंला’ रचनाबाट व्यङ्गय गरिएको छ। “व्यंग्यै व्यंग्यै” को अन्तिम निबन्ध ‘एक सासमा त्यहाँबाट टाप कसें’ मा चुरोट रक्सीविरुद्ध गरिने प्रचार र वास्तविकताप्रति हास्ययुक्त व्यङ्गय गरिएको भेटिन्छ ।
“व्यंग्यै व्यंग्य” भित्रका अधिकांश रचनाहरू पत्र-पत्रिकाहरूका लागि लेखिएका तत्कालीन वातावरण र परिस्थितिमा आधारित भएका हुनाले त्यस बेलाका समस्या अनि घटनालाई राम्रोसँग उतारिएको पाइन्छ । “खै खै” का दाँजामा “व्यंग्यै व्यंग्य” सरल देखिदैन । २०४५ मा नै प्रकाशित भैसकेको ‘ व्यंग्यै व्यंग्य” को चर्चा जति हुनु पर्ने हो त्यति भएको पाइँदैन । २०४६ मा प्रकाशित राजेन्द्र सुवेदीको स्रष्टा-सृष्टि: द्रष्टा दृष्टिमा पनि “व्यंग्यै व्यग्य” को उल्लेख भएको छैन । १९९६ सालभन्दा पहिलेदेखि साहित्यिक क्षेत्रमा संलग्न भएका पिंडाली नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यता पनि गहकिला पुरस्कारबाट पनि बन्चित भएका हुनाले होला यस संग्रहमा “म भगवानसँग सोध्ने छ”, “वेदको हरफमा हरिताल”, “म प्रधानमन्त्री भएपछि”, “किचिक्कमा परी दाँत ङिचिक्क पो हुने हो कि ?’ जस्ता निबन्धमा लामो समय (पचास वर्षभन्दा धेरै) सम्म निरन्तर रूपमा ताहित्य साधना गरे पनि उपेक्षित जस्तै हुनु परेकोमा दुःखेसो प्रकट गर्दै एक प्रकारले आत्मप्रशंसा पनि गरेको पाइन्छ । तर अरू निबन्धका दाँजामा “मनुवा ! हिंड अब मिति पुग्यो ?” “फिल्म निर्माणका तीन घराना”, “चिट्ठो पुगोस् भानुभक्त आचार्य, कहां” शीर्षकका निबन्ध निकै घत लाग्दा छन् । हास्य सँगसँगै व्यङ्गयकाे संयोजन पनि राम्रोसँग भएको देखिन्छ । “व्यंग्यै व्यंग्य” मा संग्रहित कुन-कुन निबन्ध कुन-कुन पत्रिकामा कुन कुन मितिमा प्रकाशित भएको हो भन्ने कुरा खुलस्त पारिएको छैन । त्यसैले कहिलेदेखि कहिलेसम्मका रचनाहरू यसमा परेका छन् भने छुटपाउन गाह्रो हुन्छ ।
“खै खै” (निबन्ध संग्रह) का माध्यमबाट आधुनिक नेपाली हास्यव्यङ्गय निबन्ध फाँटमा सुपरिचित अनि नेपाली पाठक माझ लोकप्रिय हुन पुगेका पिंडालीका निबन्ध संग्रहहरू ‘खै खै’, ‘फेरि उल्टै मिल्यो’ र ‘व्यंग्यै व्यंग्य’ बाहेक अरू निबन्ध संग्रह प्रकाशित भएका देखिदैनन् । लेखकले नेपाल टेलिभिजनलाई हालै (२०५०/६/१८ मा) दिएको एउटा अन्तर्वार्तामा चालीसवटा निबन्धहरुको अर्को सङ्ग्रह साझा प्रकाशन’ ले छाप्न लागेको कुरासँगै ‘गोरखापत्र’ का विभिन्न अङ्कमा दुई हजार पच्चीस सय जति निबन्धहरू प्रकाशित भएका छन् पनि भनेका थिए । अर्कोतिर झण्डै ३०० हास्य व्यङ्गय रचनाहरू ‘गोरखापत्र’ दैनिकका फाइलमा पनि छन् भन्ने उल्लेख पिंडालीकाे (व्यंग्यै व्यंग्य’) को भूमिकामा आफैले उल्लेख गरेकाले एक प्रकारको भ्रम पर्न जानु स्वाभाविकै हो । २०३० सालदेखि २०३८ सालसम्म ‘गोरखापत्र’ र ‘मधुपर्क’ को कार्यकारी सम्पादक भएका हुन् भनेर राजेन्द्र सुवेदी र हीरार्माण शर्मा (२०४७) ले उल्लेख गरेका पिंडालीका कृति रचना ‘गोरखापत्न’ मा प्रकाशित भएका हुन् । तिनलाई एकत्रित गरेर सङ्ग्रह प्रकाशित हुन् सकेमा नेपाली हास्यव्यङ्गय विधामा एउटा ठूलै उपलब्धि हुने थियो भन्ने कुरामा शङ्का छैन ।
निकै लामो (छ दशकभन्दा बढी) समयसम्म साहित्य साधनामा लागेका मानिएका पिँडालीलाई स्तरीय व्यङ्गय रचना गर्ने लेखकहरूमा अग्रणी छन् भन्ने गङ्गाप्रसाद उप्रेती (२०४७) को भनाई युक्तिसङ्गत नै छ । धेरै पहिलेदेखि साहित्य रचनामा संलग्न भएका पिंडालीलाई सबैभन्दा पहिले नेपाली हास्य-व्यङ्गय निबन्धका अग्रणी लेखक स्व. भैरव अर्यालको नाउँमा स्थापना भएको ‘भैरव पुरस्कार गुठी’ ले २०४६ सालको ‘भैरव पुरस्कार प्रदान गरेर सार्वजनिकरूपमा अभिनन्दन गर्याे । त्यसपछि २०४८ सालको ‘बालचन्द्र पुरस्कार’ द्वारा पिंडालीलाई विभूषित गरिएको देखिन्छ । यसवाहेक हालैमात्र १०५० सालको ‘वेदनिधि पुरस्कार’ द्वारा पनि केशवराज पिंडाली सम्मानित भएका छन्। बितेका चारपाँच वर्षभित्र हास्य-व्यंग्य निबन्धकार पिंडालीलाई तीनवटा पुरस्कारद्वारा सम्मानित गरिनु नेपाली साहित्य प्रेमीहरूका लागि समेत खुशीको कुरा हो । रू. पच्चीस हजारको ‘वेदनिधि पुरस्कार’ ग्रहण गर्दा पिंडाली (२०५०) ले पुरस्कार पाउँछु भनेर साहित्य रचना नगरेको र लेखक अनवरत चलिरहने एक मेसिन हो भनेकाले पिंडाली साहित्य रचनामा निरन्तर लागिरहने कुरा स्पष्ट हुन्छ । साहित्यकार पिंडालीबाट नेपाली साहित्य अझ समुद्ध हुनेछ भन्ने आशा गर्नु अर्घेलाे नठहरिएला ।
सन्दर्भ सूची
१. केशवराज पिंडाली (२०५०), ‘खै खै’ साझा प्रकाशन
२. केशवराज पिंडाली (२०४५), ‘व्यंग्यै व्यंग्य’ एजुकेशनल इन्टर प्राइजेज प्रा. लि.
३. गङ्गाप्रसाद उप्रेती (२०४७) नेपाली निबन्धमा व्यङ्ग्यको प्रयोग ‘श्रृङ्खला’ १३.२५ ६६-७२
४. तारानाथ शर्मा (२०३६), ‘नेपाली साहित्यको इतिहास’ सङ्ल्प प्रकाशन
५. राजेन्द्र सुवेदी (२०४६), ‘स्रष्टा सृष्टि दृष्टा दृष्टि’ साझा प्रकाशन
६. राजेन्द्र सुबेदी हीरामणि शर्मा, (सं) (२०४७), ‘नेपाली हास्यव्यंग्य निबन्ध’ साझा प्रकाशन
७. रामलाल अधिकारी (१६७५ ई.), नेपाली निबन्ध यात्रा’ दार्जिलिङ, नेपाली साहित्य सञ्चयिका
२३ असोज २०५० को कान्तिपुर (दैनिक) मा प्रकाशित ‘पिंडाली हास्यव्यंग्यका जेठा प्रतिभा’ शीर्षक समाचार लेख
०००
उन्नयन, पिंडाली विशेषाङ्क (२०५०)
Subscribe
Login
0 Comments
Oldest






































