साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले चिनेका- केशवराज पिंडाली

हिजोआजको काल- यी चार कालका प्रत्यक्षदर्शी हुनुहुन्छ पिंडालीज्यू । उहाँको एउटा विशेषता छ जस्तो बोल्नुहुन्छ त्यस्तै लेख्नुहुन्छ । लेखाइ र बोलाइमा कुनै अन्तर नपाइने । आफू बाँचेको जुनसुकै कालको इतिहास उहाँलाई कण्ठाग्रै छ ।

Nepal Telecom ad

विष्णुविभु घिमिरे :

माध्यमिक शिक्षा पूरा गरेर क्याम्पस प्रवेश गरेपछि पहिलोपल्ट ‘खै खै’ शीर्षकको हास्य-व्यङ्ग्य निबन्धले मलाई वडा छोयो । यो छाप धेरै पछिसम्म मेटिएन- यही बीचमा कुन्नि कहाँबाट हो अहिले संझन सकिन ‘फेरि उल्टै मिल्यो’ हास्य-व्यङ्ग्य संग्रह मेरो हातमा प-यो । ‘खै खै’ बाट मैले असाध्ये मन पराएको लेखकको त्यस्तै निबन्धहरूको संग्रह एक्कासि प्राप्त गर्दा मलाई त्यसदिन हुनसम्मको खुशी लागेको थियो । मैले एकै बसाइमा ती सबै निबन्धहरू-चाटीचुटी पढेको पनि संझना छ ।

२०३२ सालमा महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा मैले पहिलोपल्ट मलाई अमिट छाप ठोक्ने उनै लेखकको ‘एकादेशकी महारानी’ पाठ्यक्रममा पढ्नु पर्याे । उहाँको हास्य-व्यङ्ग्य मात्र अतुलनीय सिर्जना ठान्ने मलाई ‘एकादेशकी महारानी’ ले झनै मोहनी लगायो । त्यसबेला मपनि साहित्यमा केही फूलबुट्टा भर्ने अभियानमा सरीक भइसकेको थिएँ – बराबरजस्तो उहाँका लेखहरू पढिरहन्थेँ । समसामयिक विषयमा लेखिएको उहाँका कतिपय लेख चार-चार पल्टसम्म पनि पढ्थें ।

यसरी झण्डै २० वर्ष अघिदेखि म उहाँको सिर्जनप्रखरताबाट मुग्ध हुँदै आएँ। आज पनि उहाँका रचनाहरू पढ्दा म उतिकै आत्मविभाेर हुन्छु- धेरै पाठकहरुले शायद लख काटिसक्नुभयाे होला । यहाँ जसको चर्चा भइरहेछ- त्याे लेखक को होला ? मलाइ औधी मन पर्ने लेखक केशवराज पिंडाली। रचनासँग चिरपरिचित भएर पनि उहाँसँग प्रत्यक्ष साक्षात्कार भने धेरै पछि भयो ।

‘गरिमा’ पत्रिकाको यस्तै दाेस्राे अङ्क प्रकाशन भइसकेपछि जस्तो लाग्छ । उनलाई फोनबाट सम्पादकीय नाताले एउटा लेखको अनुरोध गरें, मेरो पहिलो उहाँसँगको कुराकानी यही थियो । मलाई अहिले पनि संझना छ उहाँले त्यतिवेला भन्नुभयाे- पारिश्नमिक दिइन्छ कि सित्तैँ ? सित्तैँ हो भने त म लेख्दिन।

याे साझा प्रकाशनबाट प्रकाशित संस्थागत पत्रिका भएकाले हामी पत्रं पुष्पं स्वरूप केही पारिश्रमिक अवश्य दिन्छाैं भनेपछि उहाँले सहर्ष लेख पठाउनुभयो । पछि थाहा पाएँ लेखकहरुलाई साधारण पारिश्रमिक पनि उपलब्ध नगराउने पत्रिका र सम्पादकहरुको सित्तैँ छाप्ने मनोवृतिप्रति सुधार गर्ने ध्येयले विना-पारिश्रमिक लेख नदिने उहाँको लगभग निर्णय नै रहेछ । पछि लेख पठाउनुभयो छापियो पनि ।

उहासँगै मेरो प्रथम साक्षात्कार २०४२ सालतिर हरिहरमवनस्थित साझा केन्द्रीय कार्यालयमा भयो । क्षेत्रप्रताप (क्षेत्रप्रताप अधिकारी) दाइले मलाई परिचय गराउनुभयो । कफीको स्वादसँगै क्षेत्रप्रताप दाइ र उहाँबीचको कुराकानी सुनिरहें । आफूलाई मन पर्ने त्यति ठूलो लेखकसँग साक्षात्कार हुँदा भने मलाई एउटा अनौठो अनुभूति छातिभरि दोडेको थियो। यसपछि आक्कल झुक्कल पिंडालीज्यूसँग भेट भयो- २०४६ सालको जनआन्दोलनपछि भने उहाँसँग बराबर भेट भइरह्यो । आन्दोलनपछि ‘नेपाल साहित्यकार संसद्’को स्थापना भयो । कार्य समितिको अध्यक्ष केशवराज पिंडालीज्यू हुनुभयो । म पनि यस संस्थाको सदस्य भएको छु। आएर बराबर भेटघाट र कुराकानी हुन थाल्यो । उहाँको व्यक्तित्वसँग जति जति नजिक हुँदै गएँ- उति उति उहाँप्रति मेरो श्रद्धा बढेको छ । जब विमर्शको सहप्रकाशनका रूपमा ‘विमोचन’ पत्रिकाको प्रकाशन आरम्भ भयो- त्यहाँदेखि त पिंडालीज्यू र मेरो दिनदिनै भेट भइरहेछ । यो क्रम पनि दुई वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गर्दै छ ।

उहाँसँगको सामीप्यले मैले धेरै थोक प्राप्त गरेको छु। एउटा असल लेखक बन्न कति अध्ययन चाहिन्छ- पिंडालीज्यूको अध्ययनशील व्यक्तित्वले मलाई धेरै सिकाएको छ । राणाकाल, २००७ सालदेखि २०१७ सालसम्मको प्रजातन्त्रकाल, २०१७ देखि २०४६ सालसम्मको निर्दलीय पन्चायतकाल र त्यस-पछिको हिजोआजको काल- यी चार कालका प्रत्यक्षदर्शी हुनुहुन्छ पिंडालीज्यू । उहाँको एउटा विशेषता छ जस्तो बोल्नुहुन्छ त्यस्तै लेख्नुहुन्छ । लेखाइ र बोलाइमा कुनै अन्तर नपाइने । आफू बाँचेको जुनसुकै कालको इतिहास उहाँलाई कण्ठाग्रै छ । जुन पढ्न पाइँदैन, कतिपय यस्ता कुरा पनि छन् । जुन प्रकाशनमा ल्याउन मिल्दैन- त्यस्ता कुराहरूको जानकारी त उहाँसँग कति हो कति । माथिका ४ विविध कुनै पनि कालबारे अथवा कुनै पनि समयमा घटेको घटनाबारे बोल्न थालेपछि एक दुई घण्टा गएको त पत्तै पाइँदैन । इतिहास र संस्कृतिप्रति उहाँको गहिरो अध्ययन छ- बेला बेला प्रकाशित हुने यस प्रकारका लेखहरूबाट पनि यो तथ्य स्पष्ट नै छ ।

‘एकादेशकी महारानी’, ‘अन्त्यदेखि शुरु’, ‘साँझ घर फर्केको मान्छे’, ‘बाँच्ने एउटा जिन्दगी’ यी चारवटा उपन्यास ‘खै खै’, ‘फेरि उल्टै मिल्याे’ र ‘व्यंग्यै व्यग्य’ अहिलेसम्मका यी तीनवटा हास्यव्यंग्य संग्रह प्रकाशित छन्। उहाँका यसबाहेक कथाहरु, नाटकहरू, विविध ऐतिहासिक सांस्कृतिक लेखहरूकासाथै हस्यव्यंग्य लेखहरू अनगिन्ती पत्रपत्रिकामा प्रकाशित छन् । ती सबैको समुचित अध्ययन बिना पिंडालीज्यूको व्यक्तित्वको पहिचान अधुरो होला जस्तो मलाई लाग्छ ।

भैरव, वालचन्द्र, पुर्पुरो र वेदनिधि पुरस्कारबाट सम्मानित पिंडालीलाई ठूल्ठूला पुरस्कारका काेशहरूले भने अहिलेसम्म सम्मान प्रदर्शन नगर्नु एउटा आश्चर्यकै कुरा हो । मलाई लाग्छ पिंडालीको तिखो व्यंग्यबाट आहत उनीहरू अहिलेसम्म शायद छटपटाइरहेकै छन् । अब केशवराज पिंडालीको व्यक्तित्व यति लोकप्रिय छ; कुनै पनि यस्तो शिक्षित नेपाली नहोला- जसले पिंडालीज्यूकाे कुनै पनि एउटा लेख पढेको नहोस् यसभन्दा ठूलो सम्मान एउटा लेखकले शायद पाउला । अब पुरस्कारबाट पिंडालीज्यू सम्मानित हुने होइन, बस पिंडालीज्यूलाई सम्मानित गर्ने पुरस्कार नै मेरो विचारमा बढी सम्मानित होला। ८० वर्षको उमेरमा पनि पिंडालीज्यूको लेखन सिर्जना निरन्तर छ- समयसापेक्ष दृष्टिकोणमा उहाँको उत्तिकै नवीनता छ । नेपाली मात्र होइन विश्वका कुनै पनि साहित्यले यस्ता विशिष्ट लेखक पाउनु राष्ट्रिय गौरवकै कुरा हो। यस्ता गौरवको जति श्रद्धा गरे पनि शायद कमै हुन्छ ।

०००
उन्नयन, पिँडाली विशेषाङ्क (२०५०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x