रामप्रसाद पन्थीपिंडालीज्यूको ‘जुवाइँनारान’ : एक दृष्टि
टेलिफिल्मले समाजका 'ठूलाबडा' भनिने व्यक्तिहरूको व्यवहारमाथि एकातिर व्यंग्य गरेको छ भने अर्कातिर आफ्नो चिन्तन प्रणालीमा परिवर्तन ल्याउने सङ्केत पनि तिनलाई दिएको छ ।
रमा शर्मा :
‘केशवराज लामिछाने’लाई चिन्ने व्यक्ति नेपाली पाठकहरूमा मात्र होइन, नेपाली साहित्यका जिज्ञासुहरूमा पनि धेरै कम पाइन्छन; तर ‘केशवराव पिडाली’ भनेपछि नचिन्ने कोही हुँदैनन् भने पनि हुन्छ । अझ यहाँ ‘केशवराज’को पनि दरकार पर्दैन केवल ‘पिंडाली’ भने पुग्छ । उनको पैतृक थर ‘लामिछाने’ लाई ‘पिंडाली’ले जितिसकेको छ ।
केशवराज पिंडालीले कथा, उपन्यास, निबन्ध आदि विविध विधामा महत्वपूर्ण योगदान दिए तापनि यिनको ख्याति बढाउने सर्वोपरि विषय हास्यव्यङग्य हो । पसैले गर्दा नै यिनी सर्वसाधारणका हृदयमा पनि पस्न सकेका हुन् । ‘साप्ताहिक विमर्श’ पत्रिकामा प्रत्येक हप्ता स्तम्भकारका रूपमा यिनको लेख प्रकाशित हुने हुँदा सर्वसाधारणमा पनि यिनको अमिट छाप रहन सकेको तथ्य बिर्सन सकिदैन । समाचारप्रति त्यत्ति जागरूक नभएका नेपाली पाठकहरूले पनि उक्त पत्रिका लिएर पाँचाैँ पृष्ठ (यस पृष्ठमा पिंडालीको लेख छापिन्छ) पल्टाई पढ्न थालेको यी पंक्ति कोर्नेले देखेको र अनुभव गरेको कुरा हो। पत्तो हुनाको मुख्य कारण यिनको हास्य व्यङ्ग्यात्मक अभिव्यक्तिप्रति पाठकको रूचि हो ।
हाल गरिमा (पूर्णाङ्क १३२ मंसीर) मा केशवराज पिंडालीको ‘जुवाइँनारान’ शीर्षक टेलिफिल्म छापिएको छ । समाजको विसङ्गतितर्फ आफ्नो सूक्ष्म दृष्टि केन्द्रित गर्न खप्पिस पिंडालीको यो टेलिफिल्म आजको आधुनिकतातिर लम्केको समाजको नौलो समस्या प्रस्तुत गरी यसतर्फ सतर्क हुनुपर्ने तिर लक्ष्यित छ । वास्तवमा नै समाज नयाँ नयाँ समस्याले ग्रसित हुँदैजाँदो छ । अबका देशका बासिन्दाले पहिले झैं आफ्नै देशमा शिक्षा प्राप्त गर्ने वा आवश्यक परे वनारस, कलकत्ता जस्ता छिमेकी मुलुक भारतका केही राज्यहरूमा मात्र पढेर एकतिर विज्ञानको विकास र अर्कातिर पाश्चात्य शिक्षा-तर्फकाे आकर्षण र अझ अर्कातिर आर्थिक समुन्नतिको आकाङ्क्षाले पनि नेपालीहरूलाइ समुद्रपारका मुलुरुहरूसम्मले तानिसकेका छन् । उच्च अध्ययनका लागि होइन, कामका लागि पनि र स्वस्थ प्रतियोगिताका लागि पनि आफ्नो अनुकूल वातावरणका अभावमा देशका बासिन्दाले विदेशी भूमिलाई नै कर्मक्षेत्र रोज्नु परिरहेको छ । देशका विभिन्न भागका केही टाठाबाठाहरू र भाग्यले साथ दिएकाहरु विश्वका विभिन्न मुलुकमा पुगिरहेछन् र आर्थिक उत्सर्गतिर लागिरहेछन् । उनीहरुको अधिकांश समय विदेशतिरै बित्छ । केही समयका लागि मात्र स्वदेशमा आउने हुँदा ती आफ्ना देशका लागि केबल पाहुना हुन्छन्। अनि यस्तै वातावरणले नयाँ नयाँ समस्याको सिर्जना गर्न थाल्छ ।
हिजोआज छोराछोरीको विवाहका लागि बाबु-आमाले चिन्ता गर्नुपर्ने हुँदै आएको छ । छोराछोरीको विवाहमा बाबु-आमाको सहभागिताको अपेक्षा राख्नु पनि त्यति आवश्यक नदेखिने भएको छ। युवा-युवतीले दाम्पत्य सूत्रमा बाँधिइसकेर जुवाई वा बुहारीको तस्वीर देखाए हुन्छ बाबु-आमालाई । छाेराछाेरीले आफूलाई सम्मान गरेर देखाएको तिनै तस्वीर हेरेर जुवाई वा बुहारी चिन्ने हुन्छ बाबु-आमाले । छोरा वा छोरीको लागि योग्य जीवनसाथी खाेज्ने कामको मारबाट आफूलाई मुक्त पारिदिएकोमा के कृतज्ञ नहोलान् त आजका बाबु-आमाहरू आफ्ना प्रिय छोराछोरीसँग ।
केशवराज पिंडालीद्वारा लिखित यो टेलिफिल्मको विषयवस्तु पनि यस्तै वातावरणको सेरोफेरोभित्र परेको छ। अमेरिकामा काम गर्न बसेकी (आफ्नी छोरीले प्रेम विवाह गरेर जुवाई बनेको) जुवाईं ससुरालीमा काठमाडाैं आउँछ । न ससुरा न ससुराली चिनेको जुवाईं ससुराको नामको आधारमा घर फेला पारी जुवाईंका रूपमा सम्मानित हुन्छ । तर यो सम्मान केही समयसम्मका लागि मात्र हुन पुग्दछ। नयाँ पाहुना आउँदा बाहिर भएकी त्यस घरकी छोरी (अमेरिकामा प्रेम विवाह गर्ने) घरमा प्रवेश गरेपछि र उसले सो व्यक्ति आफ्नो श्रीमान् नभई अरू नै आएको कुरा व्यक्त गरी आक्रोशित भएपछि ‘जुवाईं’का रूपमा सम्मान पाएको व्यक्त ‘गुण्डा’मा परिणत बन्न पुग्छ र अपमानित भई निकालिन्छ।
अब अतिथि घरमा आश्रय लिनुबाहेक अरू विकल्प उसमा रहँदैन । उसले अतिथि भवनका कर्मचारीसँग आपनो ससुराली फेला नपरेको बताउँदा उसको ससुराको नाम डाक्टर सूर्यप्रसाद शर्मा भएका व्यक्त गर्छ ।त्यस टोल (नक्साल भगवती बहाल) मा तीन जना भएको जानकारी उसले पाउँछ । उसलाई आफ्ना ससुराको दर्जा र नाम मात्र थाहा छ पुन दर्जा (डाक्टर) हो भन्ने थाहा छैन ।
‘आकिटेक्चर’को डाक्टर, आँखाकाे डाक्टर र ‘पशुको डाक्टर यी सबैको नाम ‘सूर्यप्रसाद शर्मा’ भएकाले र आफू पहिले ‘धानि टेक्चर’ डाक्टरकहाँ पुगेकाले अब ‘आँखा’ को डाक्टर चा ससुरा हो कि भन्ने सोची ऊ त्यहाँ पुग्दछ, तर त्यहाँ अर्कै वातावरण बनिसकेकाे रहेछ । पहिलो डाक्टरले दोस्रो डाक्टरलाई फोनमा आपनो घरमा एउटा ‘जुवाइं नामधारी ठग व्यक्ति भरखरै आएको र आफूले लगारेको, अब त्याे दोस्राे डाक्टरको घरमा आउनसक्ने सम्भावना भएको बताई उसको हुलियासमेत दिइसकेको रहेछ । उसले पनि जुवाइँलाई चिनेको देखेको रहेनछ ।
त्यसैले ससुरा ठानिएको दोस्रो सूर्यप्रसादले उसलाई अपमान गर्दै ठाडै खुट्टा लगार्छ। एक छिनपछि छोरी बाहिरबाट घर आइपुग्छे । ऊ आएपछि एउटा टेलिग्राम प्राप्त हुन्छ, खोलेर हेर्छ- आफ्नो श्रीमान् अमेरिकाबाट आज यति बजे आइपुग्ने भन्ने खबर रहेछ । यसअनुसार अघि लगारिने व्यक्ति त्यस घरको ‘जुवाई’नै पो रछ । छोरी रून थाल्छे, बाबुलाई पश्चात्ताप हुन्छ । अब ऊ अतिथि भवनमा जुवाइँलाई लिन जाने बन्दछ ।
यसरी एउटा नयाँ समस्या यस टेलिफिल्म ‘जुवाईंनारान’ले प्रस्तुत गरेको छ । अबकाे शिक्षित समाजमा युवा युवतीहरू प्रेमविवाहप्रति आकषित हुँदै जानु, जुवाई हुने व्यक्तिलाई छोरोको विवाह हुनु अगाडि सासू-ससुराले देख्न नपाउनु वा देख्नुपर्ने नहुनुबाट एक प्रकारको सुविधा बाबु-आमालाई भए पनि यस्तो वातावरणबाट अर्कै प्रकारको समस्या देखा परेको वा पर्नेतर्फ यस टेलिफिल्मले सङ्केत गरेको छ । त्यस्तै देशमा अब बढ्दो जनसंख्याका कारण उही नाम भएका त्यति धेरै हुनसक्ने मात्र होइन, विभिन्न व्यक्तिको दर्जा पनि उही हुनसक्ने हुँदा अब आफूले चाहेको व्यक्तिको खोजी गर्नुपर्दा आफूले चाहेको व्यक्तिको नाम मात्र भनेर त कुरै भएन, ठेगानासहितको नाम तथा दर्जामात्र भनेर पनि नपुग्ने भएको छ ।
यसभन्दा पनि अझ मसिनिएर सोच्नुपर्ने भएको छ । डाक्टर मान्न भन्दा अब ठीक मानिसको पहिचान गर्न नसकिने अवस्था भइसकेको छ – विद्यावारिधि प्राप्त गर्ने डाक्टर हो वा औषधिमूलो गर्ने डाक्टर ? औषधि-मूलो गर्ने भए पनि मानिसको रोग निको पार्ने डाक्टर हो कि पशुको ? औषधि-मूलो (मानिसको) गर्ने डाक्टरमा पनि हाड विषयको हो कि, मुटु विषयको हो कि नाक-कान-घाँटी विषयको हो, गहिरिदै जानु आजको आवश्यक्ता हुन थालेको छ । तसर्थ यसतर्फ पनि सम्बन्धित व्यक्तिले सोच्नुर्ने भएको छ ।
सुप्रसिद्ध साहित्यकार केशवराज पिंडालीले यस टेलिफिल्मका माध्यमबाट देखाउन खोजेका अन्य कुराहरूमा आजका युवा पिढीमा देखिदै आएको शास्त्रीय सङ्गीतप्रतिको घृणा र पप सङ्गीतप्रतिको आकर्षण पनि हो। त्यस्तै शिक्षित प्रौढ व्यक्तिले पनि जबसम्म अर्काकाे लहैलहैमा लागेर निर्णय लिने हुन्छन् तबसम्म तिनले ठीक कार्य गर्न सक्दैनन् र तिनले आफ्ना गल्लीमा पछुताउनु पर्ने हुन्छ भन्नेतर्फ पनि पिंडालीजीको सङ्केत पाइन्छ । यस टेलिफिल्मले समाजका ‘ठूलाबडा’ भनिने व्यक्तिहरूको व्यवहारमाथि एकातिर व्यंग्य गरेको छ भने अर्कातिर आफ्नो चिन्तन प्रणालीमा परिवर्तन ल्याउने सङ्केत पनि तिनलाई दिएको छ ।
०००
उन्नयन, पिँडाली विशेषाङ्क (२०५०)
Subscribe
Login
0 Comments
Oldest





































