चाेलेश्वर शर्मासार बेसारको संसार
उसले भन्यो, ‘नूनदेखि सुन र जीरादेखि हीरासम्म जे मर्जी हुन्छ टक्रयाउँछु तर बेसार त सक्तिन मालिक ।’ साहूले कन्वारो कन्यायो ।

अस्सल विचार र अस्सल बेसार कहाँ पाइएला ठाकुरे भनी सुइँ सुइँ हिंडिरहेको थिएँ त्यस दिन विचार त आफ्नो पोल्टामा पार्न । सकेजति पाइहालियो । आखिर हाम्रो देश आचारमा हामी जस्ता भए पनि प्रचार र विचारका लागि फापिलो हावापानी र माटो भएको देश हो । तर दशैंको च्यांग्रा वा बितल परे मस्यौरा रङ्गाउने बेसार नपाइएला जस्तो पो भयो त, अचम्मै !
नयाँ बुद्धि पलायो घोंगी वा चिप्लेकीराको दौङ पलाए । गरेँ प्रयोग पत्नीमाथि ‘शून्यबुद्धि सुन् त, घिउ, तेल, मरमसला राम्ररी भएपछि बेसार जाबाले के गर्छ ? नभए पनि होला है ?’ एकछिन सन्नाटा छायो । आँधीअघिको शान्ति रहेछ त्यो ।
‘अँ, मान्छे त बेसार नघसेको पाउन गाह्रो छ आजभोलि । साराले पाउडर क्रीमको साटो बेसार घस्न थालिसके उहाँ । हज़ूरचाँहि सधै दुई दुने चार । तरकारी पनि विनाबेसार नै हसुर्न पनि तयार धन्य परमेश्वर ! यस्तै बुद्धिले त सधैँ ना.सु. को ना.सु. लागेको ।’ मै फुलस्टप । भालुको रिस खरायोमाथि भनेँ मेरी पत्नीलाई पनि ‘रिस मेरो ना.सु.माथि नैै रहेछ ।’
लामो सास तान्दै एकछिनपछि फेरि भनिन्, ‘यस्तै पानी आन्द्रे भएर त साडेसातीले छोडिसक्दा पनि ना.सु. ग्रहले छोडेन । एकवचनले सहानुभूति अर्को वचनले प्रहार । मनमा लाग्यो अब यसरी नवस् भाइ कल्याण छैन ।
ठाडो पुच्छर लगाएर म पुगेँ हान्निदै बजारतिर बेसारको खोजमा, ठीक त्यसै गरी जसरी हाम्रा बाबुबराजु ज्ञान वा ईश्वर वा मारको खोजमा हिमालयका कन्दराभिमुखी हुन्थे । उनीहरू सारका लागि पिरोलिन्थे । मचाहिँ बेसारको लागि । नहुने बेलामा गन्हाउने छोरो भनेको यही त होला नि । चिनेको बेसारे साहूलाई सोधें ‘साहूजी बेसार छैन ?’
उसले भन्यो, ‘नूनदेखि सुन र जीरादेखि हीरासम्म जे मर्जी हुन्छ टक्रयाउँछु तर बेसार त सक्तिन मालिक ।’ साहूले कन्वारो कन्यायो । चाहिएको कुरो नपाइए पनि यति ठूलो साहूले यति छिटो यति छर्लङ्ग पारेर बोलेकोमा मन सारै गद्गद भयो ।
घरमा आएर त्यही निवेदन गरेँ श्रीमतीलाई । उनले उत्तरदायित्व वहन नगरेको दोषारोपण गरिन् । मन्त्रि हुने जोगको आफ्नो पुर्पुरो मजस्तो ना.सु.को टाँसो लागेकोमा तीनपल्ट ठोकिन् । मलाई भान्छामा ठाडे गयल हाल्दै घोषणा गरिन् ‘यस्ता लोतिकान्तेले के सक्नु हुन्थ्यो ? बिहेअघि पो त त्यो तारा मात्रै होइन जून पनि झारि दिउँला हाँक्नु हुन्थ्यो ।’
म के बोलूँ ? सुनिरहे किंकर्तव्य विमूढ !
‘अलि धक्का मुक्का र रेलपेल खप्न सक्ने भए त कहाँ पुगि सकिन्थ्यो । बेसार किन्न पनि मै जानुपर्यो । मै जान्छु । भुजासुजाले पनि जुरो हालिरहोस् ।’
म फेरि खर्लप्प फर्केर टकटकिदै पुगेँ बजारमा उसै साहूकहाँ र भने साहूजी बेसार हराएकै हो ?’
साहूले भन्यो, ‘बेसार नहराए के हराओस् त ख्वामित् ? बेसार नलगाए-नघसे तिहुन तरकारी र सरकारी कामकाज समेत खुल्दैन ।’ एकछिन अडिएर साहले फेरि भन्यो- ‘बेसार नलगाए कण्ट्रोल तेल पाइस् । अनिकालको मार्ग होइन सहकालको पनि ब्यू पाइन्न, उपरे आफ्नो ज्यूमा सिमेन्ट पाइन्न । सिमेण्ट नपाइए घर नबने संसार बन्दैन । सारा संसार बेसारमा अडेको छ । कमभन्दा कम हाम्रो नेपाल र हाम्रा छिमेकी देश त सानु भेट्नुमा अल्झिएको काँक्रो थाँक्रोमा तुर्लुङ्ग झुण्डिएको बेसारमै कुण्डिएका छन् त्यसकारण जसलाई नजर होस् बेसार लगाउनको ध्याउन्नमा छ । सिचादु चादेखि सचिव मन्त्रीसम्म सबै बेसारकै खोजीमा छन् । अनि बेसार गधाको सीङ जस्तो नभएर के होस् ? बेसारलाई बेसार होइन सार मर्जी होस् सार ।’
अन्धा धृतराष्ट्रलाई मन्त्री संजयले महाभारतका घटना बेलिबिस्तार गरेझैै बेसारमा साहुले सारपूणर् प्रकाश पार्यो । घैँटोमा अलिअलि घाम लाग्यो । धन्य भएँ । कृष्णको गीता सुनेर अर्जुनले आफ्ना बन्धुजनको हत्या गर्न सुरिए झैै म पनि साहूको मुखबाट बेसार गीता सुनेर पत्नीसँग महाभारत मचाउने दृढ संकल्प गरी घरतर्फ लागें ।
लड्ने बलियो अस्त्र पाएकै थिएँ । लागिरहेको थियो यस पटक त अवश्यै हारियोइन । हार्दिन हार्दिन । एक हार्दिन दुई हार्दिन ।
साहूको बेसार गीताले रङ्गमगिदै म घरतर्फ फर्कदो थिएँ । बाटोमा कुषि कुन प्रसारण केन्द्रबाट रेडियोमा आइरहेको सुरिलो गीत सुनिदै थियो ।
मन खिन्न हुँदै थियो । मलाई पनि बडो लहड चल्यो गीतको । यस्तै बेला त मुटु छुने गीत गाइन्छ । त्यही टुक्को भट्याउँदै हिँड्न लागें । बर्षौ नजानेर पनि । एकमन लाग्यो टिमुरे विना सुझ न बुझ नगा । अर्को मनले भन्यो गा टिमुरे मज्जासँग गा । यहाँ कसले लय जानेर गीत गाएको छ ? कसले यहाँ अर्थ जानेर भाषणको प्रकाशन गरेको छ ? कसले यहाँ अर्थ जानेर जिन्दगानी जिएको छ ? तँलाई मात्र किन अर्थ जान्नुपर्यो । उदेक ! म अब मजासँग त्यो टुक्को भट्याउन थालें ।
‘भो नापियो ।’ मन अमिलो हुँदै आउँदा तर्कना चल्यो बेसार जाबो त पाइन के हो यो छुसी जिन्दगी र गीत गाउनु । ‘टिमुरे भाइ कता ?’ चिरपरिचित साथी जिम्बु भाइले अगाडि उभिएर मेरा दुवै हात जोल्ट्याउँदै सोध्यो । मलाई बेसार नपाइँदाको तोड थियो । के के न गरूँला भनेर बलभद्र र भीमसेन थापाको देशमा, सगरमाथा र पारसमणिको देशमा उत्रिएको म, नेपाली छोरो आफ्नो सारा समय र सामर्थ्य बेसारमा घुम्दा र उडाउनु पर्दा तोरीको फूल देख्दो थिएँ । मान्छेले बेसार घस्न आफ्ना काला व्यवहार- छालालाई पहेंल्याउन, उजिल्याउन टुप्पीले टेकेका कुराले म चक्कराउँदो थिएँ । ‘सार बेसारको यो संसार’ मैले भने ।
‘तै थिइस् यौटा अलिकति नबहुलाएको साथी भने पनि सहभागी भने पनि- को नाउँमा अब तैँ पनि लागिछस् खोलाको बाटो ।’ जिम्बुभाइले घिउमा कानेको जिम्बुकै गन्ध छोड्यो ।
धेरै बेरमम्म पर्खेर गहिरो सास तानेर उसले फेरि भन्यो, ‘तर महाजनो येन गतः स पन्थाः भन्छन् । सबै बोलाएर गएका हुन् तेरा पुर्खा । तैंले पनि बाटो बिराइनछस् । बिरालोले काटेर बाटो बिराउलास् भन्ने ठूलो डर थियो, राम्रो भयो ।’ कोक्किएझैँ बस्तै उसले भन्यो ‘खै एउटा याक झिक । अब याक नभई पाक विचार आउन्न ।’ मेरो गोजीमा भएको याकको बट्टाबाट एउटो कोसो झिकेर ओठमा छड्के च्यापेर बट्टा बन्द गरी बट्टाचाहिँ आफ्ने गोजीमा राख्यो । गोडा सत्रेक चुरोट थिए- पुत्ताउने भयो । कण्ठेकै सराद भयो उसलाई । म- बोल्दै बोलिन टुलुटुलु हेरिरहें । मेरा चुरोटको हत्या । किन, के भयो ए उल्लू ? लामो सर्को तानेर नाक र मुखबाट एक मुरीजति धूवाँ छाड्दै बेहोस भएर लडेको मान्छेको कानमा गरेर प्राणवायु फुकी बौराउन अटक हाइड्रोजन पेरोक्साइडले नमरेका मेरा कानका जब्बर कीरा मार्ने ढङ्गले सोध्यो, ‘हँ के भयो बौलाहा ?’
सबैले आफूबाहेक सारालाई बौलाहा ठान्ने यस संसारमा ऊ मात्र किन पछि पथ्र्यो ? ‘बेसारी बेसारको धुरीमा साँढे छ यासा अंशको कोण बनाउँदै घुम्ने यो संसार कति अड्ला ?’ मैले फेरि भटयाएँ । साँझ भन्छु मलाई बेसारको धङ- धङीले छोडेको थिएन । म त्यही बसिरहें ।’ मरिरहेको भाकामा मलाई हेरेर चुरोट उडाउँदै हिँड्यो ऊ ।
बिचरो जिम्बुलाई मैले केही बताउन पाएको छैन । तरकारीको सार बेसार खोज्न हिँडेको कुरा । अर्काको कुरा पनि त सुन्दैन ऊ आफू मात्र खास नेपाली छोरो हूँ भन्छ । शायद हामी सबै नेपालीको गुण बोकेको छ उसले । ऊ रोकिएन ।
बेसार खोज्न हिँडेको म यहीं यसरी बसिरहें । हिँड्ने जाँगर पनि छैन । मेरी श्रीमती हातमा कुचो लिएर ढोकामा उभिएकी हुनिन् स्वागतका लागि । तर खै यसै भन्न पनि सक्तिन म त । मौकामा त्यति बुद्धि पुऱ्याउन सक्ने भए नाम शून्यबुद्धि हुँदो हो र !
‘म त अप्रिल फूल भएँछु !’ २०४२
Subscribe
Login
0 Comments
Oldest







































