कमल भैरवेलीसरकारी शिक्षक / बोर्डिङ्ग शिक्षक
कराउँछन कराउँछ्न् दक्षिणा हराउँछन् चिटिक्क परि हिँड्दा ठिटीले मन पराउछन् दुब्लो खल्ती झनै दुब्लो हुन्छ । बिचराको हरिबिजोग हुन्छ ।

सरकारी शिक्षक
यसो हेर्दा को हुन् को हुन् जस्ता
न हाकिम जस्ता न पियन जस्ता
पहिल्याउनै कठिन
किन कि उनी सरकारी शिक्षक
न त अत्तरको बास्ना,
न कुनै खास हेयर स्टाइल
न टलक्क टल्केका जुत्ता,
बरु पटपटी परेका खुट्टा !
शहरका सरकारी शिक्षकको
भने अलि बोसिलो ज्यान
विद्यार्थीहरूको पढाइ, लेखाइमा
अलि कम्ता ध्यान
गाउँतिर पढाउने शिक्षक
दाउरा घाँसमै व्यस्त
विद्यालयको पढाइ अस्तव्यस्त ।
कक्षामा भारी मनले पुग्छ्न्
थचक्क कुर्सीमा बस्छ्न्
डण्डा देखाउछ्न,
आँखा देखाउछन्
अलि जान्ने विद्यार्थीबाट
नोट लेखाउछ्न्
यसैमा छ तिमिहरूको भविष्य भन्दै
मख्ख बनाउँछन् ।
थोरै पढाउँछ्न,
कोर्स सकाउँछन्
बर्षमा एकदिन परीक्षा लिन्छन्
उनी हुन् सरकारी शिक्षक ।
दुब्ला र ख्याउटे विद्यार्थीलाई पढाउँछ्न्
तलबको रूपमा मोटो रकम पचाउँछन् ।
एसइइमा धेरैलाई
अनुत्तीणर्को नतिजा पस्किन्छ्न्
एक दुई जना पास भए भने
खसी ढाल्न लगाउछन् ।
भोज गर्छ्न मोज गर्छन्
उनी हुन् सरकारी शिक्षक ।
बोर्डिङ्ग शिक्षक
यसो हेर्दा मोडेल हुन् कि जस्ता
चिटिक्क परेका क्रिम मुखमा घस्दा
राजकुमारै जस्ता गलामा टाइ कस्दा
लरक्क केश, ज्यान सुहाउँदो भेष
समयमा विद्यालय पुग्नै पर्ने उर्दी
न गर्मी, बर्षा न जाडो सर्दी ।
उनी हुन् बोर्डिङ्ग शिक्षक ।
अलि ढिलो हुँदा ज्यान कपाउदै पुग्छ्न्
ढिलो हुँदा क्षमा माग्दै नुग्छन् ।
मोटा विद्यार्थी पढाउछ्न्
बिचरा यी दुब्ला शिक्षक
पढाउँदा पढाउँदा थकित हुन्छ्न्
पढाइनस् भन्दा लज्जित हुन्छन्
उनी हुन् बोर्डिङ्गका शिक्षक ।
नून रोटी खान पुग्ने तलब पाउँछन्
साग सब्जी खान ट्युसन पढाउछन् ।
मीठो मसिनो खान साइड व्यापार गर्छन् ।
कराउँछन कराउँछ्न् दक्षिणा हराउँछन्
चिटिक्क परि हिँड्दा ठिटीले मन पराउछन्
दुब्लो खल्ती झनै दुब्लो हुन्छ ।
बिचराको हरिबिजोग हुन्छ ।
०००
भैरहवा
२०७९/६/२८
Subscribe
Login
0 Comments
Oldest








































