अनिल KH पौडेल’मौन अवधि
चुनाउ मात्र जितौँ न... मौन व्रत तोडिन्छ खर्च सबै जोडिन्छ मेक्सिकोको मदिरा र हल्याण्डको ह्विस्की लाउँदै हल्का चुस्की नगदको बोट गोडिन्छ मौन मौन रहिकन गाउँ पस्नै छोडिन्छ !!

काम तमाम भो दिनको
अब सुरु रातको
देश खाने मुख बन्द गरौँ
काम खुवाउने हातको
भतेर मासु भातको
हल्का हल्का मातको
काम नग्दी खातको बिस्कुन सरी फिँजाउनु छ
यता वाटर उता क्वाटर जाँघे पुरै भिजाउनु छ
घैला घैला उठाइन्छ टाउकैबाट खन्याइन्छ
रातारात आफ्नो क्षेत्र सिङ्गानपुरै बनाइन्छ
मौन अवधि सुरु
विपक्षीलाई कसरी रूवाउने धुरुधुरु
भेडा जनता भोट हाल्देलान् उतै खुरुखुरु
भाषण गरौँ बोल्न मिल्दैन
मोटरको पाङ्ग्रो पोल्न मिल्दैन
मौन अवधि हो हजुर…
भात खाँदा बाहेक यो देश खाने मुख
खैनी चेप्न पनि खोल्न मिल्दैन
आजसम्म दौडादौड देशलाई विदेश बनाएर आइयो
हिमालदेखि तराई धाइयो कति खाइयो चाल पाइयो
रून्चे रछन् हिमालहरू तैपनि सब अग्लै छन्
जिल्ला हेर्नुस् नक्सामा सबका सब सग्लै छन्
कस्तो खालको शासन हो यो बोल्न खोज्दा मुखै थुनिन्छ
मौन रहेर भाषण गर्दा यो हल्लामा कस्तो सुनिन्छ !
मौन रहेर भोट मागिन्छ भाषण पुरै छोड्दिने हो
भोट त बढारेर ल्याउनु पर्यो अब मासुभातमा जोड दिने हो
चोक-चोकमा आइन्छ, चुपचाप लाइन्छ
नबोली थपेर खाइन्छ, बोल्न कहाँ पाइन्छ !
सेकुवा, साँप्रा खिलाइन्छ, खिलाउन बोल्नु पर्दैन
दुई रातमा सबै मिलाइन्छ, मिलाउन बोल्नु पर्दैन
आजसम्म प्रचार गरियो, भोट माग्न भ्याकै छैन
यतिञ्जेल त दिउसो जागियो, राती जाग्न भ्याकै छैन
दिउसो मागेर भोट खस्दैन, के अर्थ हुन्छ मागेर
दिउसो जागेर अर्थै छैन, के हात लाग्छ जागेर ?
तपैँ पनि मौन बस्नुस्, टाउको हल्लाएर काम चलाउँ
देश बनाउन दुईरात नलाउँ, हिरा, मोती सबै फलाउँ
म आउँछु लुसुक्क, पिँढीमा बस्छु टुसुक्क
काम तमाम खुसुक्क, तपैँ हास्नुस् मुसुक्क
निर्वाचन आयोगले बिदा दियो अब कोदो खोज्न हिन्ने हो
सितन चाहियो नि जनतालाई घोर्ले खसि किन्ने हो
चुनाउ मात्र जितौँ न…
मौन व्रत तोडिन्छ
खर्च सबै जोडिन्छ
मेक्सिकोको मदिरा र हल्याण्डको ह्विस्की
लाउँदै हल्का चुस्की
नगदको बोट गोडिन्छ
मौन मौन रहिकन गाउँ पस्नै छोडिन्छ !!
०००
मोरङ
Subscribe
Login
0 Comments
Oldest




































