
पाँच ठोक्तक
नाम तथा बदनाम धुवाँ बराबर रहेछ मित्र ! धुवाँ त यज्ञ गरे नि आउँछ, टायर जले नि आउँछ ।

१.
अनाचारी प्रवृत्तिको दूरदर्शी मित्र हुँदैन
कर्मठ राजनेताको दोधारे चरित्र हुँदैन
पारदर्शीतानै व्यवहार कौशल हो नेताजी !
जिम्मेवार राजनीति कालो पर्दाभित्र हुँदैन ।
२.
यहाँ जन आवाज नयाँ चलन चले नि आउँछ
सहयात्रीलाई बिच बाटोमा छले नि आउँछ
नाम तथा बदनाम धुवाँ बराबर रहेछ मित्र !
धुवाँ त यज्ञ गरे नि आउँछ, टायर जले नि आउँछ ।
३.
जनमत लहर हो आउन जान सक्छ
उस्तै परे कुनै पुरानो नेता खान सक्छ
युवा शक्तिको सही प्रयोग भयो भने त
विकसित नयाँ गोरेटोतिर लान सक्छ ।
४.
गतिशील छ, न रोकिन्छ, न पर्खिन्छ
न कुनै छुटेको वस्तु लिन फर्किन्छ
जति शक्तिशाली भए पनि समय
महत्व नबुझ्नेसँग भने तर्किन्छ ।
५
कसैलाई चारैतिर सत्रै सत्र छ
कसैसँग जन्मजात अधिपत्र छ
छ, सबै कुरा छ, के छैन ? तर यहाँ
सामाजिक उपक्रम अलपत्र छ ।
०००
पोखरा-१०
हाल- ओहायो, संयुक्त राज्य अमेरिका