खोलाघरे साहिँलोे‘नवीन’ प्रति शब्द सलाम
प्रखर हुन् प्रतिभा युगका तर समयले नचिनेपछि के छ र ? पछि चिने पनि जीवनका रवि सहज अस्त भए झरिला छवि ।

प्रखर हास्यकला अतिचार छ
सफल व्यङ्ग्य जहाँ भरमार छ
विकृतिमाथि छ झापड तेजिलो
नव ‘नवीनपना’ अडिलो किलो ।
न त अभाव भएर बिसाउँछन्
न त प्रभाव छरेर रिसाउँछन्
बरु विकार चिनेर ठम्याउँछन्
अनि त तीर प्रहार मिलाउँछन् ।
पुुरुष रूप गुन्युँ पनि लाउँछन्
सडकमा कति अन्य लजाउँछन्
छनन छन्छन बाहु बजे चुरा
तर चुराभरि व्यंग्य छ उर्वरा ।
न त घरायश ऐश दिने भयो
न परिवेश कतै पनि वेश भो
फगत जीवनयापन क्लेेश भो
सुफत दु:ख सधैं अवशेष भो ।
प्रखर हुन् प्रतिभा युगका तर
समयले नचिनेपछि के छ र ?
पछि चिने पनि जीवनका रवि
सहज अस्त भए झरिला छवि ।
विकृतिमाथि सधैं असहिष्णुमा
अपरिमेय प्रभायुत ‘विष्णु’ मा
सदर आदरसाथ सुकामको
विनत शब्द सलाम इलामको ।
०००
इलाम
Subscribe
Login
0 Comments
Oldest







































