माधव पोखरेल गोज्याङ्ग्रेबेथितिका अतिथि
मैले नबुझेको हो कि वा बुझ्ने प्रयास नगरेको हो कुनै पनि कार्यक्रममा अतिथिलाई आसन ग्रहण गराउँदा बेथितिका अतिथि भनेर सम्बोधन गरेको देख्दिन ।

हाम्रो कार्यक्रममा केही जना अतिथि थिए केही नजान्ने बेथितिका । एउटा घर राम्ररी चलाउन नजान्ने आफैँ बेथितिको शिकार भएर विकार युक्त अवस्थामा लर्खराउँदै आएका ती व्यक्ति प्रविष्ट अतिथि थिए । प्रविष्ट अर्थात् उनी आफैँले कार्यक्रममा मलाई पनि अतिथि बनाउनु भनेपछि उनको अनुरोधलाई अवरोध नगरीकन स्वीकार्यौँ । प्रविष्ट जस्तो झ्यास झुस्मय अतिथि बनाउन पाउँदा हामी पनि लौकाको जत्रो नाक भएका मान्छे जिरे खोर्सानीको जत्रो नाक पारेर कार्यक्रमलाई सबैभन्दा असभ्य बनाउन पाउँदा खुशी भयौँ । किनभने नेपालमा बेथितिका अतिथि पाउनु भनेको ढुङ्गा खोज्दा देउता पाउनु बराबर हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । नेपाल अतिथि मात्र भएको देश हो । भएको थितिलाई बेथितिमा लगेर आफू खुशी जे मन लाग्यो त्यही गर्ने नीतिमा मलजल गर्ने घृष्टता हुन्छ ।
कार्यक्रम गर्दा बेथितिका अतिथि भनेर बोलाउ जस्तो पनि लाग्छ कुनै बेला तर आफैँ झोसिने डर र त्रासले झल्यास्स भै हालिन्छ । आफूलाई थितिका सच्चा नायक ठान्ने मान्ने मान्छेले बेथितिको कुटिल चाल चाल्दा नदुखेको पेट दुखेर, बाउडिएर वाक वाक आउँछ । आफूले नचिनेको नजानेको तर अतिथि हुन लायक ठानेर कार्यक्रममा प्रविष्ट गराउँदा आफ्नै औकात बिर्सेर बोल्दा कार्यक्रमका दर्शक श्रोता नै छक्क पर्छन् । आलु कार्यक्रममा पिंडालुको कुरा गर्ने, तामाको कार्यक्रममा निगुरोको कुरा गर्ने, फर्सीको कार्यक्रममा तामाको कुरा गरेर गन्तव्यहीन मन्तव्य दिन खप्पिस हाम्रा अतिथि महोदयले नेता हुन नपाएर त्यस्तो मन्तव्य दिएका हुन कि भन्ने लाग्छ । वा नेता हुनकै लागि असान्दर्भिक कुरामा जोड दिएर विषय बस्तुलाई बेजोड बनाउन गठजोडी कुरामा छुरा चलाएर बिग्रिन लागेका हुन् कि भन्ने डर पनि लाग्छ ।
साँच्चै भन्ने हो भने हामीले हरेक कार्यक्रममा बोल्ने अतिथिको कुरा बेथितिले जेलिएको पाउँछौँ । किनभने बोल्ने वक्ता आफैँ बेथितिको नायक हुन्छ भने उसले कसरी थितिको कुरा गर्छ त ? आफू चाहिँ बेथितिमा बस्ने र कुरा गर्दा थितिका विषयमा सविस्तार व्याख्या गर्ने गर्छन । ‘आफू बाहुनी बराजु ऐना हेर्दिनन् अर्कालाई काली भन्छिन्’ भन्ने उखानलाई चरितार्थ पार्ने खालको कुरा गराईलाई बेथिति नभने के भन्ने त ? फेरि अहिलेको समय पनि त्यस्तै आएको छ । छलफल विनाको सहमतीले बाहुल्यता पाउँछ । सहमती खोज्न बस्छन् हात लाग्यो शुन्य । पत्रकार सम्मेलन हुन्छ ‘अत्यन्त सौहार्दपूणर् वातावरणमा बोतलको पानी सकियो, सेकुवा भुटन बाँकी रहेन’ कुरा पचाउन नसक्नेले खाएनन्, पचाउन सक्नेले साता दिनलाई पुग्ने एकै दिनमा खाइसके । नखानेहरूसँग बसेर पुनः खाने सहमतीका लागि छलफल हुन्छ र हामी छिट्टै सहमतीमा पुग्छौँ भन्ने आशा छ भन्दै पत्रकार सम्मेलन समापन हुन्छ ।
‘नेपालको कानून पशुका पतिले जानुन्’ भनाैँ वा नेपालको कानून लेख्ने लेखाउने पनि नजानुन् के भनौँ भनौँ भएको छु म । न्यायको नौ सिङ हुन्छ रे भन्ने सुनेको हुँ तर कुनै पनि सिङले न्यायिक काम गरेको देखिदैन । भनौँ न्यायमै बेथिति छ भने कानून त झन काम नलाग्ने खानै नहुने गन्धे नुन भै हाल्यो । अब बेथितिको जड नै यही देखिन्छ भने हामीले हामीभित्र थिति खोजेर कहाँ पाइन्छ । हाम्रो कार्यक्रममा हामी सधैँ बेथितिकै अतिथि पाउँछाैँ । थितिका अतिथि खोज्न त विदेशतिरै जानु पर्ला जस्तो लाग्छ । कार्यक्रम छ फलाम पिट्ने खोजी गर्छन सुन । कार्यक्रम छ तामा गाल्ने खोजी हिँड्छन बाँसको तामाको मुना । कार्यक्रम छ धार्मिक प्रवचनको मञ्चमा भाषण गर्छन माछा मासुको बारेमा । हाम्रा प्रविष्ट अतिथि वक्ताको बेथितिको बोलीले भोलि देश नै बेथितिमा जाने हो कि भन्ने डर लागेको छ मलाई । राम्रो कुरा राम्रै हुन्छ नराम्रो कुरा नराम्रै हुन्छ भन्ने कुरा बुझेर पनि गोबर गणेशको पूजामा हामी लागेको जस्तो भान भैरहेको छ मलाई ।
मैले एउटा कार्यक्रममा एक जना आफूलाई निकै ठूला भनाउँदा महासयलाई घनिष्ठ अतिथिको आसन ग्रहण गराएँ र मन्तव्य राख्न बोलाएँ । कार्यक्रम साहित्यिक थियो तर उनले वाहित्यिक भाषण ठोक्दै ‘मेरो घरमा एउटा किसानको छोरालाई राखेको थिएँ तर केही दिन बसेर ऊ भाग्यो । उसले गर्ने सबै खाले काम अहिले म आफैँ गर्दैछु’ भने । कार्यक्रममा विषयबस्तु बाहिर गएर र राजनीतिक कुरा नगर्न सबै वक्ताहरूमा अनुरोध गरिएको भए पनि उनले बेवास्ता गर्दै मनपरी बोले । घरको आन्तरिक कुरा खोले, छिमेकीले आफू उपर गरेको अन्यायका बारेमा मनपेट खोले । यस्तो बेथितिका अतिथि भए पनि कार्यक्रममा साह्रै रमाइलो र हाँस्न पाइने वातावरण उत्पन्न हुँदोरहेछ । भनौँ कार्यक्रमलाई रोचक मनोरञ्जनयुक्त बनाउन बेथितिका अतिथि बोलाएर गन्तव्यहीन मन्तव्य दिन लगाउँदा हुने रहेछ भन्ने मैले बुझेको छु ।
कतिपय ठाउँमा हुने कार्यक्रममा पनि यस्ता घटनाले स्थान पाएको छ । आँखा बन्द गरेर राजनीति गर्नेहरूले वा टाँगामा लगाएको घोडा जस्तो भएर हिंड्नेले न राजनीति बुझ्छ न साहित्य बुझ्छ । उसले त केवल आफ्नो सिधा बाटो कसरी हिंड्ने भन्ने सोंच र आज्ञा शिरोपर गरेर आदेश पालना गर्नु मात्र बुझेको हुन्छ । त्यसैले टाँगामा लगाएको घोडालाई आफू हिंड्ने बाटो मात्र थाहा हुन्छ । नजाने गाउँको बाटो सोधी खोजी नगर्नु भन्ने उखान चरितार्थ पार्ने अतिथि भएपछि त्यहाँ बेथिति हुँदो रहेछ भन्ने कुरा बुझ्न गाह्रो हुँदैन । मैले नबुझेको हो कि वा बुझ्ने प्रयास नगरेको हो कुनै पनि कार्यक्रममा अतिथिलाई आसन ग्रहण गराउँदा बेथितिका अतिथि भनेर सम्बोधन गरेको देख्दिन । न घनिष्ठ अतिथि नै भनेर सम्बोधन गरेको देख्छु न प्रविष्ट अतिथि नै भनेर सम्बोधन गरिन्छ । गर्नु पर्ने काम नगरेर अन्य विविधायुक्त काम गर्ने कार्यक्रम कार्यक्रम जस्तो लाग्न छाडेको छ मलाई ।
बेथितिका कुरा गरेर आफैँ उल्लु बन्ने रडाको मच्चाउने बेथितिका अतिथि ज्यूलाई हाई हाई गर्नुपर्ने सुनौलो अवस्था आइपर्ने स्थिति छ हामीले गरेको कार्यक्रममा । साहित्यिक कार्यक्रममा साहित्यका बारेमा बोल्नु पर्नेमा लाटो देशको गाँडो तन्नेरी बनेर गालित्य कुरामा अघि बढ्ने हाम्रो संस्कार छ । यस्तो संस्कार बोकेर कार्यक्रममा जाने र मन्तव्य दिने अतिथिलाई बेथितिका अतिथि नभनेर अरु के उपमाले सम्बोधन गरौ ? जय व्यङ्ग्य जय साहित्य ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































