साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन्नुहोस् त महाशय

नबाँडे हुन्छ आश्वासनका गुलिया लड्डुमिठाइहरू, अभावको तीतो स्वाद नचाखेको तपाईंलाई के थाहा, आदर्शले कसैका पेट भरिदैनन् र आश्वासन खाएर कोही बाँच्तैनन् ।

Nepal Telecom ad

तपाई गलगिद्ध अघाउनु भएको छ
बङ्गुर मोटाएझैं हुप्प फुलिनु भएको छ
यद्यपि भोकाहरूको दर्शन फलाक्न उधुम खप्पिस हुनुहुन्छ
तपाईं आफ्नो व्यक्तित्वमा खुबै खुल्नुभएको छ
र मौसम अनुसारको पोशाकमा सपक्क सजिनुभएको छ
तथापि नाङ्गाहरूको दारुणावस्थाको चित्रण गर्न साह्रै सिपालु हुनुहुन्छ
तर महाशय !
खालिपेटको दन्दनाउँदो ज्वालामा के कहिल्यै भोकको
शाश्वत स्वाद चाख्नु भएको छ ?
नाङ्गो आङको नाजुक आवरणमा
के कहिल्यै दर्के झरी र असिना, हिउँ र तुषारोको
दुर्दान्त पीडा खप्नु भएको छ ?
हो महाशय !
तपाईंको दर्शनको सारभूत सन्देश त साह्रै सुन्दर छ
तपाईंको चिन्तनको निष्णात् निचोड पनि असाध्यै आकर्षक छ
र जुनसुकै बेला र जस्तोसुकै विषयमा
निर्धक्क बोल्न सक्नुहुन्छ ।
तर महाशय !
के कहिल्यै भोकको भाषामा बातमार्नु भएको छ ?
के कहिल्यै अभावको वाक्यमा व्यथाको संवाद बोल्नु भएको छ ?
र भोक र अभावकै शब्दहरू छानेर
के कहिल्यै समस्या समाधानको कोठेपद भर्नुभएको छ ?
त्यसैले महाशय !
आदर्शका व्यञ्जनहरू कहिल्यै नपस्के हुन्छ भोकाहरूको अगाडि
यथार्थको ढिंडोरोटो नै अमृततुल्य छ उनीहरूका लागि ।
भोको पेटले आदर्शको परिकार पचाउन सक्दैन महाशय !
असंख्य कुपोषित केटाकेटीहरू
भोकै नाङ्गै सडकमा रोइरहेछन् यसखेर
असंख्य तिरष्कृत तरुनीतन्नेरीहरू
गल्ली र छिंडीहुँदै निरपेक्ष मोडतिर भागिरहेछन् यसखेर
र धर्तीका असंख्य निर्माणकर्ताहरू
अभावै अभावको सुस्केरा फ्याँकिरहेछन् यसखेर
रोग भोक र अभावको त्यो करुण क्रन्दन
पीडा वेदना र अवहेलनाको त्यो निर्मम रोदन
कुनै राष्ट्रिय गीतको मार्मिक धुन भएर गुञ्जिरहेछ
व्यथाको बाँसुरीमा बज्ने त्यो उत्तप्त आँसुको आलाप
पीडाको सारङ्गीमा रेटिने सन्तापको त्यो सरगम
के कहिल्यै सुन्न भ्याउनुभएको छ महाशय ?
तर समय नै कहाँ र देख्न र सुन्न भ्याउनु ?
कुनै सभा सम्मेलनको भीडमा भाषण भुक्दाभुक्दै
कुनै महँगा रेष्टुराँको चिल्लो कुर्सी र टेवल वरिपरि
सुस्वादु भुजा र पेयपदार्थसँगै बौद्धिकता डकार्दा डकार्दै
समय सुल्किरहन्छ तपाईंको ।
त्यसैले तपाईं मात्र अर्ती र उपदेश फलाक्नुहुन्छ
मात्र आदेश र निर्देश हाँक्नु हुन्छ
र आदर्शको गीता-पाठ वाँच्नु हुन्छ
जुँगामा ताउ दिँदै र दुनियाँभरको हाउभाउ देखाउँदै
दर्शन ओकल्न खुब सुहाउँछ तपाईंलाई
किनकि तपाईं धिरोदात्त नायक आदर्श अभिनयको
तपाईंसँग आलङ्कारिक वाक्पद्धतिहरू छन्
जसद्वारा उकालोमा ढुङ्गो गुड्दछ
र पश्चिमबाट घाम उदाउँछ
तर दुःखमा पिल्सेकाहरूलाई त
अभावको अङ्कगणित हल गर्दागर्दै समय सिद्धिसक्छ
ऋणमा डुबेको घरखेत निखन्ने सपना बुन्दाबुन्दै जुनी बितिसक्छ ।
त्यसैले सुन्नुहोस् त महाशय !
के आकाशको फल खाएर जर्जर अनुहारहरू झर्झराउँदा हुन्छन् ?
के अर्को सालको बालीको आसले यो सालको खोक्रो पेट भरिन्छ ?
त्यसैले महाशय !
नपस्किए हुन्छ आदर्शका परिष्कृत परिकारहरू
नबाँडे हुन्छ आश्वासनका गुलिया लड्डुमिठाइहरू
अभावको तीतो स्वाद नचाखेको तपाईंलाई के थाहा
आदर्शले कसैका पेट भरिदैनन्
र आश्वासन खाएर कोही बाँच्तैनन् ।

०००
पाँचथर
‘दन्त्य कथाको देश’ (२०७२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x