हाेमनाथ घिमिरेआमाहरूप्रति !
आफ्नो जन्म दिने पिता र जननी सम्मान श्रद्धा गरौँ । हाम्रो धर्म यही छ कर्म पनि हो ; सत्कार सेवा भरौँ। सारा तीर्थ यही छ नित्य जननी स्याहार गर्नू बरु। नाता बन्छ हजार यो भुवनमा मिल्दैन आमा अरू ।

होमनाथ घिमिरे
आमाको गरिमा अपार भवमा को जान्न यो सक्दछ !
आमाको महिमा समस्त चरमा को भन्न यो सक्दछ !
सारा सृष्टि रचाउने भुवनकी हून् फूल आमाहरू!
सारा दृष्टि सजाउने मनुजकी हून् मूल आमाहरू !१।
धर्ती हून् जननी सुधा पवन हून् हून् प्राण सन्तानकी ।
आमा हून् धरणी छ उच्च महिमा कल्याण सम्पूणर्की ।
माटोमा जसरी पुगी बिजन ती उम्रिन्छ; दिन्छन् फल ।
आमाका दुधमा छ पोषण अझै पीयूष खाना जल ।२।
आमा; कष्ट सहेर जन्म शिशुको संसार टेकाउँछिन् ।
पीडा भित्र रहेर कर्म भवमा वात्सल्य देखाउँछिन् ।
भोको पेट रहोस्; तथापि कसरी सन्तानको खातिर।
दिन्छिन् प्राण समेत मात्र शिशुको कल्याणमा आखिर ।३।
देवी या जति देवता भुवनका; आमा अझै पूज्य छिन् ।
मायाँ प्रेम दया कृपा र करुणा सम्पूर्णमा उच्च छिन् ।
आमा शब्द स्वयम् छ पूणर् भवमा आमा स्वयम् ईश्वर ।
औँसी रात समान बन्छ नर हे ! आमा बिनाको घर ।४।
आफ्नो जन्म दिने पिता र जननी सम्मान श्रद्धा गरौँ ।
हाम्रो धर्म यही छ कर्म पनि हो ; सत्कार सेवा भरौँ।
सारा तीर्थ यही छ नित्य जननी स्याहार गर्नू बरु।
नाता बन्छ हजार यो भुवनमा मिल्दैन आमा अरू ।५।
०००
२०८०/१/६
भरतपुर, चितवन
Subscribe
Login
0 Comments
Oldest







































