साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको चिठी

बेलाबेला फुन गरेर सन्चो बिसन्चो सोधेकै छौ । अचेल त फुनमा पनि बेलाबेला अन्वार हेरेरै कुरा गर्न पाइएकै छ । आपत पर्दा छिमेकीहेरू छन्, अस्पताल जानु पर्‍यो भने कोई न कोई मान्छे जुटिहाल्छ ।

Nepal Telecom ad

सोस्ती श्री छोरा ठूले, धेरै धेरै माया । बुहारीलाई पनि प्यार आसिक छ ।

यहाँ मलाई र बालाई सन्चसुबिस्तै छ । तिमेरु पनि सन्चै छौ होला । मुङ्सिरमा मुबाएलमा फोटो हेरेर बात मारेदेखि एता तिमेरुले फुन पनि गरेनौ । मलाई यो मुबाएलको ठाँडो कालो अच्छेर भैंसी बराबर । तैंले टेर्लिङ दिएको सम्झेर कताकता थिच्यो, कहिले के हुन्छ कहिले के हुन्छ । अनेकका नाचेका, कुटाकुट गरेका, हाँसेका, रोएका, लुगै नलाका मान्छे, नौटंकी गरेका के के देखाउँछ देखाउँछ । काइँ थिच्दा पनि तिमेरु आउँदैनौ । अनि तिमेर्ले बिस्र्यौ कि क्या हो भनेर तेता आउन लागेका तिम्सिना भान्जालाई घरको खबर लगिदिनु भनेर खबर सुनाको, यति लामो खबर त बिर्सिन्छु, चिठी लेख्नु माइजू म लगिदिन्छु भने । अनि भान्जालाई नै लेख्न लार यो चिठी पठाकी छु । मैले जे भन्छु तेई लेख्नु, मिलाउनु पर्दैन भनेकी छु, भान्जाले हुन्छ भनेका छन् ।

बेला बेला फुन गर्नु, भिडियो गर्नु, एसरी खेताला लगाई लगाई फेरि चिठी लेख्नु नपरोस् । यो मेरो लास्ट चिठी हो ।
त्याँहाँ तिमेरुलाई कस्तो छ ? एसो दश दिन पन्ध्र दिनमा फुन गरे हुन्थ्यो । बिरामी भएर पो फुन नगरेको हो कि जस्तो लाग्छ । काममा पनि भ्याइनभ्याइ होला । साह्रै देख्न मन लाग्छ । माइलो, साइँलो पनि फुन गर्दैनन् । कान्छोको कुरै भएन । बरु माइली र काइँली बेलाबेला गर्छन् । धन्न कान्छी चैं एक मुइना दुई मुइना बिराएर के छ आमा भन्दै टुप्लुक्क आउँछे । चिया पकाएर खान दिन्छे र दगुर्छे । पसल बन्द गरेर आकी भन्छे, एक रात पनि कहिल्यै बास बस्ने गरी आउँदिन । एक दिन पसल बन्द गर्दा कोनि कति हजार घाटा पर्छ अरे, लाखै पो हो कि π पैसै पैसाले पुरिइसके । बजारमा चारतलाको घर बनाए । गाडी किने । सून चाँदी कति हो कति । घडेरी जोडेका जोडेकै छन् । सास फेर्ने, दुई गाँस राम्ररी खाने फुर्सद छैन । कमाउन पुगेकै छैन । मोटाएर भकारी जत्री भाकी छे । तेसको पारा देखेर छक्क पर्छु । कहिलेका लागि, कसका लागि कमाका हुन्, कुरा बुझ्दिन म ।

एताका खबर सबै राम्रा छन् । नराम्रो केई छैन । तिमेरुले पीर गर्नु पर्दैन । हामी बूढाबूढी आनन्दले बसेका छौँ, खाका छौँ, केई ट्यान्छेन छैन हामीलाई । अस्ति पनि तेती धेरै बिसन्चो भको होइन । तँसँग कुरा भएपछि पन्ध्र दिन जति भुँडी दुखेको हो, फत्रक् फत्रक् भाको त तेही एक हप्ता जति मात्रै हो ।

बूढाबूढीसँग जेमराजलाई पनि ठट्टा गर्न मन लाग्दो हो । माथिबाट बेलाबेला मट्याङग्रा हानेर जिस्क्याउँदै गर्छन् । कहिले भुँडीमा हिर्काउँछन्, कहिले टाउकामा हान्छन्, कहिले आँखा ताक्छन्, कहिले घुँडामा ठोक्छन् । यसो दुईचारोडा गोली खायो, टालटुल गर्‍यो, मलम लायो, ठिक पार्‍यो । कुन दिन ठाउँमै ताकेर बन्दुक पड्काउलान्, अनि बल्ल खेल खत्तम । यस्तै हो । बूढाबूढीलाई केई नभएर सधेंँ सन्चै बसे भने यो पिर्थिबीले कसरी थाम्थ्यो होला त π तेस्तो हुँदो हो त जेमराजले के जागिर खान्थे होला त !

जेमराजले घुँडामा चैं अलि बेस्सरी नै हानेछन् । पन्ध्रै बर्ख भयो होला, बिसेक हुँदैन । जति मालिस गरे पनि भएन । घुँडा खियो आमै भन्थ्यो डाक्टर, घुँडा खिएको भए यो पन्ध्र बर्खमा पैतालो मात्रै बाँकी हुन्थ्यो होला भनेको नस्र्नी हाँसेर झण्डै मुर्छा परी पोहोर साल बिराठनगरमा । कहिलेकाइँँ अलि बढी दुख्छ र मात्रै, नत्र त पचाइसकेँ । अस्ति पाँच दिन जति चैं थलै पारो । सतार माइलाले लाउरे भुजेलकाबाट राइफलको तेल मागेर ल्याएछ, त्यो लाएपछि तै बिसेक भो । तर तेसपछि खुट्टाले जिउ थाम्न छोड्यो । लट्ठी बलियोसँग नटेकी हिँड्न सक्न छाडेँ । जसरी पनि उठेँ उठ्न त । नउठी धर !! असी बर्खकै उमेरमा थला परियो भने कसले गरिदिन्छ हाओ मेरो काम π जे भए पनि निको भएर साग टिप्न पाएँ । साग टिपेर गुन्द्रुक हाल्देकी छु, कहिले आउँछौ र लान्छौँ, तिमेर्को खुशी । हरर्रर गुन्द्रुकको वास्नाले घरै मगमग भएको छ । खास्साको बनेछ ।

बालाई पनि अब त बिसेक भइसकोे । दूध दुहुन बसेका बेला गाईले लात्तीले हानेर झण्डै करङ भाँचेछ । तिमेर्ले पिर गर्छौ भनेर सुनाइनँ । फेरि त्यहाँ कतिवटा काम छाडेर हाम फालेर आउलान् भनेर बाले पनि नसुनाउनु भन्नुभो । न्यौपाने काइँलाले उसकै अट्टोमा हेलपोस्ट लगेर जँचाएर ल्यायो । नदुख्ने दबाइ खार मलम लाएपछि ठिक भयो । अब त अलिअलि घाँस काट्न थाल्नुभको छ । बेलाबेला ऐयाया भनेर थुचुक्क बस्नुहुन्छ, तेत्ती हो । निको भएकै मानौ न अब । तैंले गाई बेच्नू भनेको थिइस्, मैले पनि भनेको, बा मान्नुभएन । छोराछोरी आउँछन्, नातिनातिना आउँछन् त्यो बेला दूध खोज्न कहाँ जानु भन्नुहुन्छ, मान्नुहुन्न । छोराछोरी नातनातिना चैं गाई ब्याएर थाकेपछि पनि आउँदैनन् । अरु कुरा त सबै राम्रोे छ, तिमेर्ले कुनै पीर गर्नु पर्दैन । आफ्नु ख्याल विचार गर्नू ।

बा नातिनातिना आउँछन् भनेर कहिले बिगौती साँच्नुहुन्छ, कहिले पाकेका मेवा बिग्रियुन्जेल राख्नुहुन्छ । खबर नगरी केको आउँथे भन्छु, के बेर भन्नुहुन्छ । काँ छन् काँ छन् के आउँथे । अस्ति काइँलीले फोन गरिरथी अम्रिकाबाट । अम्रिका कि क्यानेडा कि मलेसिया कता पो हो तिनेरु बस्ने π नातिहेरुसँग बोल्न मन लागेर दे त भनेको के भन्छन् भन्छन्, बुझे पो । मेरा कुरा सुनेर उनेरु हाँस्ने, उनेरु हाँसेको देखेर म हाँस्ने । हाँस्न त हाँसियो, किन हाँसियो, कोसँग हाँसियो जस्तो लाग्ने । कुरा त बुझिएन बुझिएन, हेर्दा पनि आफ्ना केटाकेटी जस्तै नलाग्ने । येत्रा येत्रा तिघ्रा गरेका, राता न राता गाला छन्, कपाल तेस्तै, लुगा तेस्तै । विदेशीका भुरा जस्ता, बिराना । एस्सो हात हल्लाउँछन्, हाइहाइ भन्छन् । आफूलाई हाइहाइ न हुइहुइ । भन्न त हामी पछि नेपालै फर्किने हो भन्छ काइँलो तर तिनेरु आउँदैनन् अब । छेउघरे अचार्ज बा मर्दा विदेशमा भएका दुइटै छोरा किर्या गर्न त आएनन् । पैसा पठाका अरे, डलर कति होे थुप्रो । त्यही पैसाले किर्या गरिदिए छिमेकी सुभेडीहरूले । किर्या गर्ने चैं बाहुन राखेका अरे पैसा देर । कुरा त मलाई पनि काइदाकै लाग्यो है ठूले । मरिसकेपछि याँ झोक्राए जस्तो गर्न मात्रै किन पो आउनु पर्‍यो भाडा पिटाइपिटाइ । मरेका बाआमाले तिनेरुलाई देख्ने होइनन् । के पो गर्न आउनु त । विदेशमा दुःख गरेर कमाएको डलर कि सलर किन खर्च गर्नु !

मेरै मात्र के कुरा गर्नु ! तिमेरुलाई कस्तो छ, कान्छालाई खोकी लागेको सुनेकी थिएँ, कस्तो भयो । चिसो नखानू, जाडोको बेला छ, बाहिरफेर धेरै नहिँन्नू, ताता लुगा लगाउनू, डाक्टरलाई देखाउँनु भनेर त्यसलाई तैंले सम्झाउनू । आज रातभरि पनि सपनामा कान्छालाई देखिराथेँ, निन्द्रा पनि राम्ररी लागेन । साह्रै पिर लागेको छ । बिहे नगर् नगर् भन्दा भन्दै विदेशी ब्वारी ल्यायो । एउटा भको छोरो पनि विदेश पठायो । तेस्ती सज्जन बुहारीलाई पनि देखी सहेन, लखेट्यो । एसो गएर फकाएर, माफी मागेर भए पनि फर्काए हुने । खान नहुने झोल खान छाडे पनि हुने हो । कान्छालाई बिगारेकै तेसले हो । काम पनि गर्न सकेन, भएको जोगाउन पनि जानेन । के गरेर खाँदैछ त्यो ? बरु यतै आएर बसे हुने, हामी नै पाल्न सक्छौँ त्यो एउडालाई त । तेही भन्दिनू कान्छालाई, घर जा अरे भन्दिनू । बाले अब पुराना कुरा सबै बिर्सिसक्नुभयो अरे भन्दिनू । कान्छो आउँदैन अरे भनेर मलाई सोधिराख्नुहुन्छ । अरु कुरा त ठिकै छ ।

तैंले पोहोर परार भुइँचालो गका साल ल्याइदेको हिटर पोहोर साल सम्म चलिराखेको थियो, यसपालिबाट काम नलाग्ने भो । बा जान्ने भर कहिले भित्र कहिले बाहिर सारेर बाल्नुहुन्थ्यो । मैले एकै ठाउँ राख्नुपर्छ, दश ठाउँ बोकेर नकुद्नु भनेको मान्नुभएन । अस्ति धेर बाठो भर चलाउँदै गर्दा झ्यारझ्यार गर्दागर्दै पड्याङ्ङ पड्केर बिजुलीका पलगमै आगो लाग्यो । पलगबाट ढोकाको पर्दामा आगो सल्केर झण्डै घरमा डढेलो लागेको । पर्दाको आगो निभाउन खोज्दा बाको हात पनि पोलेछ । के के पो हुन्छ त नहुने बेलामा । त्यति साह्रै पोलेको त होइन । त्यही पाखुराको छाला चैं स्वाट्टै खुइलेको थियो । बूढो छाला हत्तपत्त त नखुइलिनु पर्ने हो, बाको त के हो के हो एत्ति केई हुनुहुँदैन साह्रै पारिहाल्छ । अस्पताल जानू भनेको त्यो दिन लाने मान्छे पनि कोई भएन, केके जाति झारपात, घोडताप्रे दलदाल गरेर एक महिनामा चट्टै पार्नुभो ।
अर्को हिटर ल्याउन खोज्दै हुनुहुन्थ्यो, मैले पर्दैन भनेँ । हामीलाई हिटर किन पो चाहियो र π मधेशाँ त्यै एक मुइना डेढ मुइना जाडो हुने हो, बाक्ला लुगासुगा लायो, आगो तापोे चलिहाल्छ । तिमेरुले ल्याइदिएका लुगा जति पनि छँदैछन् । कहिले जेठी बुहारीले ल्याएको लाउँछु, कहिले साइँली छोरीले पठाइदेको लाउँछु । पालैपालो गरेर लुगा लगायो तिमेरुको न्यास्रो मेटायो । जसले ल्याइदेको लुगा लगार सुत्यो, त्यो रात उसैलाई सपनामा देख्छु । तिमेरुलाई सपनामा हाँसेको, बोलेको देखेको दिन दिनभरि मन चङ्गा हुन्छ ।

बालाई पनि अब चैं बुढेसकालले छोए जस्तो छ । अलि हुस्सु हुन थाल्नुभाछ । अहिलेको कुरा अहिले बिर्सिनुहुन्छ । बेलाबेलै टाउको दुखेर मरेँमरेँ भन्न थाल्नुहुन्छ अनि पेसरको दबाई खानुभएन कि क्या हो भनेपछि, हो कि क्याहो भन्दै खानुहुन्छ । हुँदाहुँदै कहिलेकाइँ त भात खाको र नखाको पनि बिर्सन थाल्नुभा छ । कम्ति हँसाउनुहुन्न π वाँ भात पस्किराखेको छ, मैले त खाइसकेँ त, त्यो तिम्रो भाग हो भन्नुहुन्छ । जिस्केको भनौँ भने उहिले जोवनमा त कहिल्यै नजिस्किने मान्छे । गाई दुहुन बिर्सेर राति गाई ड्वाँ ड्वाँ गरेर कराउँदा थाहा हुन्छ कहिले त ।

अरु कुरा सबै राम्रा छन् । पैसाको खाँचो छैन । वृद्ध भत्ता आउँछ, अध्याँबाट धान आइहाल्छ । त्यही कुटाउन मिलसम्म लान चैं कसकसलाई गुहार्नुपर्छ । लौरामा झुण्डेर भए पनि म भान्सामा पुगिहाल्छु, भान्सामा पुगेपछि त के भो र, भात पकाउन, भाँडा माज्न सकिहाल्छु । साइँलीले बन्दोबस्त गरेकी भाँडा माज्ने केटीको केटो विदेश गएर पैसा पठाउन थालेपछि त्यसले भाँडा माज्न छाडी । छाडे छाडोस्, मेरा हात भाँचिएका छन् र भनेर आफैंले गर्दैछु । भान्सामा बाहिरका मान्छे को को पसाउन पनि उति मन लाग्दैन ।

पेसर कुकरले ठुस् ठुस् गरेर सिटी लाउन छाडो । पैसा भयो भने एउटा ल्याइदिनू, सस्तो खालकै भए हुन्छ, महंगो नकिन्नू । तिमेर्ले चलाउने गरेको फाल्टू छ भने त्यही भए पनि हुन्छ । चार वर्र्ख अघि ल्याएको तिमेर्ले पुरानो भयो भनेर थन्क्याएको फ्यान याँ अझै चलिराछ । थोत्रा घरमा, थोत्रा बूढाबूढीलाई किन चाहियो नयाँ भाँडावर्तन !

कान्छीले अस्ति आउँदा उसकै दोगानबाट एकभारी सामान ल्याकी थिई । चिउरा, दाल, तेल, सरफ, साबुन, चाउचाउ, बिस्कुट । सबैथोक छ । हामीलाई केईको खाँचो छैन । परेका बेला तिमेरुले हेरेकै छौ । आउन मन लाग्दा, काम पर्दा आकै छौ । बेलाबेला फुन गरेर सन्चो बिसन्चो सोधेकै छौ । अचेल त फुनमा पनि बेलाबेला अन्वार हेरेरै कुरा गर्न पाइएकै छ । आपत पर्दा छिमेकीहेरू छन्, अस्पताल जानु पर्‍यो भने कोई न कोई मान्छे जुटिहाल्छ । खेत कमाउने धिमाल माइलाले कतिपटक बालाई जँचाएर ल्यायो, परिआउँदा जल्ले पनि सघाउँछन् । अस्ति एक राति चैं अलि आपत परो, बाले दबाई खान बिर्सिनुभो कि के भो, राति किचेनमा गएर लड्नुभएछ । घड्याङघुडुङ आवाज आएर मैले थाहा त पाएँ, पाएर के गर्नु । बोलाएँ, घचच्याएँ, पानी छम्केँ । कसैलाई बोलाउन गाउँतिर जाउँ भने हिँडेर पुग्दिनँ, पुगेपनि आधारातमा कसलार्ई बोलाउनु, कसले सुन्छ π फुन गर्न जान्दिनँ । भगवान पुकारा गर्दै घचघच्याउँदै गर्दा बल्ल बल्ल उठ्नुभयो । हाडमासुको शरीर यस्ता सानातिना के के आपत त आइहाल्छन् । अब शरीरको इन्जिन थोत्रो भाको होला नि त । अस्सी कुनामा बस्सी भन्थे, होइन पो रछ । हुन त पाए पनि किन बस्नु, सकेसम्म त काम गरेकै राम्रो नि ।

अरु भन्दा पनि मेरो यो हात चिलाउने रोगले अलि दुःख देको छ । चिलाउँछ, कनायो, सबै डाबरै डाबर आउँछ । पाक्छ, फुट्छ, अनि जोरो आउँछ । आ…..भैगो भान्जा, यो कुरा नलेख्नू । तिनेर्लाइ पिर हुन्छ । बरु पोहोर माइली बुहारीले पठाइदिएको दबाइले अलि कम भाको थियो, भान्जा फर्किँदा त्यो दबाइ पाइयो भने ल्याइदिनू । चिठीमा नलेख्नू ।

मलाई अलिकति पिर चैं बाकै छ । दिनदिनै बेहोरा छाड्दै जानुभको छ । कहिले रातरातभरि ननिदाई कटाउनुहुन्छ, कहिले दिनभरि नबिउँझिकनै बिताउनुहुन्छ । कहिले कानमा किरा कराए भन्नुहुन्छ, कहिले घण्टी बजो भन्नुहुन्छ । पोहोरसम्म दिनको एकपल्ट कुनै न कुनै छोराछोरीसित कुरा नगरी भातै नखाने मान्छे अचेल वास्तै गर्नुहुन्न । अस्ति एकदिन त हँसाएर झण्डै मार्नुभयो, जेठो छोरो र जेठी छोरी कुन पहिला जन्मेका हँ भनेर । खुस्क्यो कि क्या हो तपाईँको भनेको, बिर्सेँ नि त भन्नुहुन्छ । भर्खर बयासीको हुँदै यसरी बिर्सन थालेपछि, कान सुन्न छाडेपछि, आँखाले राम्रो भेउ पाउन छाडेपछि कसरी गरिखानु भन्छु म । केई भा छैन, ठिकै छु त भन्नुहुन्छ फेरि । यस्तै रमाइलो भइरन्छ घरमा ।

हुन पनि बूढाबूढी भए पछि अलि अचम्मै पनि हुँदोरछ । कहिले हड्डी दुखे जस्तो लाग्छ, कहिले मुटु दुखेजस्तो लाग्छ । हड्डी मकाएको हो कि माया मकाएको हो, मुटु दुखेको हो कि मन दुखेको हो, घुँडा खिएको हो कि सम्झना खिएको हो छुट्याउनै गाह्रो ।

ए माइजू, यो के भनेको मैले त बुझिनँ नि, भनेर भान्जाले चिठी लेख्न बिसाएर बिचैमा सोधे, मैले पनि भन्दा भन्दै केके भनेँछु, आफैं छक्क परेँ । डर पनि लाग्यो कतै मेरो पनि होस उड्न थालेको त होइन π तर तेस्तो छैन, म पूरै सद्धे छु, एकदमै होसहवासमै चिठी लेखाएकी हुँ । । मलाई चिन्ता त बाको र तिमेरुको मात्र हो ।

तिमेरुको अफिस, जागिर, काम कस्तो चल्दैछ । राम्ररी गर्नू, यताको चिन्ता नगर्नू । धेरै यता आउन र जान गर्दा पनि तिमेरुको धेरै खर्च हुन्छ, केले पुर्‍याउँछौ ? फलफूल, तरकारी, मासु खानू । बिमार बोकेर नबस्नू । बुहारीलाई पेसर भयो भन्ने सुनेँ, अलि राम्रो अस्पतालमा राम्रो डाक्टरलाई जँचाउनू ।
अरु त के भन्नु, बाँकी खबर भान्जालाई सोध्नू ।

-आमा

०००
सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x