गायत्री परिरोशनीशुभकामना
दिनदिनै राम्रो काम गरेर पसिना बगाउने हुँदा खानेहरू प्रमोशन भएर हुनेखाने बनून् ॥ खेती गर्ने जमिन र काम गर्ने घर साहुको होइन आफ्नो भनून् । अन्याय र अत्याचारसँग लड्ने आँट पलाओस्, आफ्नै घर आँगनमा नयाँ जोश, जाँगर र उमङ्ग फलाओस् ॥

गायत्री परिरोशनी :
अब आजका दिनहरूमा
असत्ती हुनेखानेहरूलाई
साँढे सात र राहुको दशा लागोस्,
परिश्रम नगरी कमाएको सम्पत्तिमा
अख्तियारको आँखा लागोस् ।
त्यस्ता बेइमानहरूलाई
असल भनेर मानसम्मान गर्ने
हाम्रो समाजको संस्कार भागोस् ॥
पुस्तौँ पुस्तालाई पुग्ने गरी कमाएको
कालो धनमा,
लाग्न मिल्ने जति सबै कुरा लागोस् ।
नैतिकता बिर्सिएका नेताहरूको
गुट/उपगुट अझै फुट्दै जाओस् ।
राम्रो काम केही नगरेको भनी
आफ्नै कार्यकर्ताको कुटाइ खाओस् ।
पटक-पटक गद्दार गर्नेहरूले
चुनावको बेला मतपेटिका भित्र
आलु मतदान पाओस् ।
असल र इमान्दार हुनेखानेहरूको
मान, सम्मान र प्रतिष्ठा
चुलिँदै जाओस्,
बुढेसकाल लाग्दा आफ्ना सन्तान
विदेश छोडेर आफ्नै काखमा आओस् ॥
बाँचुन्जेल मज्जासँग
नातिनातिना खेलाउन पाओस् ।
राज्यले दिने सबै सेवा सुविधा
नमागिकन घरभित्रै छिरोस् ॥
आजीवन सुखशान्ति र समृद्धि भिरोस् ।
दिनदिनै राम्रो काम गरेर
पसिना बगाउने हुँदा खानेहरू
प्रमोशन भएर हुनेखाने बनून् ॥
खेती गर्ने जमिन र काम गर्ने घर
साहुको होइन आफ्नो भनून् ।
अन्याय र अत्याचारसँग लड्ने
आँट पलाओस्,
आफ्नै घर आँगनमा
नयाँ जोश, जाँगर र उमङ्ग फलाओस् ॥
आजको महङ्गी अनुसार
आफ्नो परिश्रमको मूल्य पाऊन् ।
मिठो, मसिनो र पोषणयुक्त खाना खाऊन् ॥
मिल्ने जति सबै ठाउँमा
शान्तिको दियो बालुन् ।
विकृती, विसंगती र कुसंस्कारलाई
जरैदेखि उखालेर फालून् ।
पुरा हँुदै जाऊन्,
असल मनका राम्रा चाहना
हामी सबैलाई यही छ शुभकामना ॥
०००
स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest









































