साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दावाद दशैँ

मूलतः चाडको अन्तरलयलाई विपरीत दिशातिर हाँकेर समाजका बुझक्कड र शिक्षितमा दरिएका जमात, बुर्जुवा र नव धनाढ्यले संस्कार, पर्व, उत्सव र दैनन्दिनीलाई विकारका भारी कुर्कुस्त बोकाइरहेका छन् ।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

पुस्तौ पुस्तादेखि सभ्य, अपसभ्य, भव्य, नव्य, खुसी हुँदै, दुःखी बन्दै चाउरिँदै, मस्याउरिँदै हव्यकव्य भकुर्दै मान्दै आएको दसैँलाई मुर्दावाद त सपनामा पनि नचिताउने मान्छे हो म । त्यसैले यतिखेर जिन्दावादको फूलपाती चढाएर जय दसैँ भनिरहेको छु । सानै बेलामा सुनेको दसैको गीति उखान ‘दसैँ आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, हट् पापी छुट्टै बसौँला’ हो । यो उखानले हातका औलाहरूलाई बिम्ब बनाएर समाजको वर्गीय भेद र असमानतालाई उजागर गरेको छ । त्यसैले त दसैँको आगमनलाई उत्साहको चाड, नयाँनयाँ परिकारहरू खाने रमाइलो बहाड, अभाव र विपन्नताले चिन्तित भएर कसरी मनाउँन सकिएला भन्ने चिन्ताको पहाड, चोरी डकैती पनि गर्न तयार हुने बदमास मनोदशाको गलत लाड र अनि काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यबाट पर रहने दार्शनिक चिन्तनका भाव एकमुष्ट सपाट प्रस्तुति नएको देखिन्छ । दसैँ सम्बन्धमा चलेका केही उखानलाई हेरेर तिनको सूत्रात्मक सूक्तिभित्र पस्दा मलाई असाध्यै रमाइलो लाग्दछ ।

जस्तै- ‘दसैँका कुरा गरन संधी खाएकोझै होला । दसै के लाग्यो, दशा जाग्यो । दसैको मासु र बेहुलीको आँसु । दसैंखाने खसी, जोत्ने गोरु र बाबुआमा भनेका उस्तै हुन् । दसैँमा धनीका छोराछोरी हाँसीखुसी, गरीबका छोराछोरी रूवाबासी । दसैँका कामीलाई र जात्राका धामीलाई जिस्क्याउन हुँदैन । दसैँको टीका र जमरा । दसैँपछिको टीको खोप्रो पछाडि कान्छाको घरमा, तिहारको टीका जेठाको घरमा । दसँैको सोच अगाडि नै । दसैको बेलामा एकपटक भुइँ छाड्नुपर्छ । दसैँको टीका लगाउने गर्नुपर्छ । यी विभिन्न दसैँकेन्द्रित उखानभित्र दसैको बहुपक्षीय मानव दशाको तस्विर अभिधा, लक्षण र व्यञ्जना अर्थ राखेर कोरिएका छन् ।

हामीले मनाउने चाडहरूमध्ये सबैभन्दा खचर्िलो चाड भनेर यसलाई आरोप लागेको छ । हुन त पन्ध्र दिनसम्म मनाइने यो पर्व शक्ति आराधनाको पुण्य याम हो । पैसाशास्त्रीहरूको भनाइअनुसार दसैँमरमा नानाको बाना मिलाउन र चिची पापा क्याम गर्दा हाम्रो देशमा चाचा एक खरबभन्दा बढी झ्वाम हुन्छ भन्ने तथ्याङ्क दिएका छन् । नेपालमा सरकारी कर्मचारीले मात्र दसैँ खर्चका नाममा झन्नै २६ अर्ब रुपयाँ पाउँछन् । सबै निकायका गरी झन्नै पौने पाँच लाख कर्मचारी रहेछन् यतिखेर नेपालमा केन्द्रीय तथ्याङ्क विभागको आकडामा मुलुकभर नौ लाख बाईस हजार उद्योगधन्दामा काम गर्नेहरू चौतीस लाख रहेछन् । जसको लागि दसैँ खर्च पचास अर्ब लाग्छ । केन्द्रीय सरकारदेखि स्थानीय सरकारसम्मका कार्यकारी व्यवस्थापिका लगायतका र अन्य राजनीतिक नियुक्तिका पदहरूको दसै खर्च त अझ यहाँ उल्लेखै छैन । हाम्रो संस्कृति परम्परालाई उत्पीडक रूपमा उभ्याउने वर्ग प्रायः ठूला बडा नै हुन् । किनकि ठूलाबडा नै रोलमोडल भएको हुँदा साना मानिसहरूले अनुकरण गर्न परिगो, अनि परम्परादेखि चल्दै आएका पर्वनै गर्वबाट स्खलित हुँदैनन् त ? यहाँ मान्छेहरू पदीय र पूँजीको कोणबाट हेर्दा त ठूलो देखिए तर असल आचरण, मितव्ययी बानी, सादा र सात्विक जीवन बिताउन तामसी भोजनको कटौती किन गर्न सक्दैन ? जो ठालू उही बाघभालु, जो गाउँको मखिया उही बाटो हगुवा बनेपछि कसैको बाउको केही तागत चल्दो रहिन्छ ।

यो फेसनेबल जमानामा पचासौ थरीका टाइटभन्दा महा टाइट पाइन्ट, छोटा-छोटा परिधान डिजाइन डिजाइनका जुत्ता, क्याप, सड़क बढार्ने खाले लहँगा के के हो के के नामधारी महँगा लुगाले कान्छीनानी अर्थात् लित्का मासेको देख्दा खित्का छोडेर जिब्रो टोक्न पर्ने थिति आइसक्यो गाँठे । किशोर र युवा उमेरका छोराछोरी, नातिनीनाति स्मार्टफोनमा झुन्निएका आँखा घोच्ने दृश्यले मुटु नै टोक्छ बा ? अनि तीजलगायत विभिन्न पर्व उत्सव बिहेबर्तनमा चलेका गहना र परिधान प्रदर्शन प्रतियोगताले बालबालिका, स्त्री, प्रेमिकाहरूका हठबाट पीडित राष्ट्रसेवक, देश निर्देशक शीर्ष, मझौला र सक्रिय नायक, सबैको आँखा द्रव्यलुटको कम्पिटिसनमा गएकै कारण आज आदर्श भ्वाँङ परेको हो । सुशासनलाई कुशासनले डल्याएर पारदर्शिताको नाममा नक्कली बिल चिल र गिद्ध घुमेका हुन् ।

मूलतः चाडको अन्तरलयलाई विपरीत दिशातिर हाँकेर समाजका बुझक्कड र शिक्षितमा दरिएका जमात, बुर्जुवा र नव धनाढ्यले संस्कार, पर्व, उत्सव र दैनन्दिनीलाई विकारका भारी कुर्कुस्त बोकाइरहेका छन् । अग्रगमनको ढोल कान फुट्ने गरी बजाएर पश्चगमनको कथा मञ्चन गर्ने। भुइँफुट्टावर्गलाई मुर्दावाद लाउन नसक्नेले दसै-जिन्दावाद । कसरी भन्न सक्छ ? देशविदेशबाट चाडको लागि झिकाइएका मदिराका नदी भेडाच्याङ्गा, बोकाबाखा, राँगाभैंसी र नाना भाँति तामसी भोजन र पैय पदार्थले संस्कृतिगानलाई गेय बनाउलान् भनेर नसोचे हुने भैसक्यो । भावनामा आदर्शको पुनर्ताजकीकरण, वीजारोपण र विनिधान गरेर मान्छेभित्रका गलत दम्भ, अहं, ढोंगढर्रा चकनाचुर पारी ‘पत्र पुष्प फलं तोय यो मे भक्त्या प्रयच्छति’ लाई गलहत्ती लगाउने चरम भोगवादी विलासी मानसिकतामा आज गरमभन्दा गरम क्रान्ति चाहिएको छ । अघिपछि भगवान् वा ईश्वर छैन भनेर ललकार्ने कथित प्रगतिशील गफाडीहरूले दसैँको मुखमा गरेका पशुपंक्षी वलिदान हाम्रा उत्प्रेरक पर्व तथा संस्कृतिमाथिको डेङ्गो हो, जनै खटिरा हो र एड्स वा नयाँ क्यान्सर र भयावह कोभिड हो । त्यसै कारण सबैले ‘जय दसैँ’ भन्न यी विसङ्गति हटाउने प्रण गरौँ ! अनि भन्न पनि सुहाउँछ जिन्दावाद दसँै । जय दसैँ ।

०००
माला चिन्तन (२०७७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x