वासुदेव पाण्डेयनव-भस्मासुर
लिप्सा, दम्भ र मूर्खता जब चढ्यो भन्दैन पालो कुर आफ्नै कारणले डढीकन मऱ्यो त्यो जन्ड भस्मासुर । बिर्स्यो जो निजको धरातल तथा कर्तव्य, दायित्व के आफैँ हेतु बनी सकिन्छ सजिलै गाँज्यो भने दम्भले ।।
वासुदेव पाण्डेय :
हुन् नेता दलका वृकासुर सबै गर्छन् तपस्या कडा 
माग्दै भोट समीप नागरिकका आएर हुन्छन् खडा ।
गर्छन् भाषण जोसिलो र जनता ठान्छन् यही हो सही
पाई भोट जितेर गाउँघर को फर्कन्छ मन्त्री भई ।।
सत्ता वा पदनिम्ति जे पनि गरे आफू परे जेलमा
छन् आफ्ना दलभित्रका गुटहरू सत्तामुखी खेलमा ।
धेरै वर्ष खटे लडे र थुनिए त्यो नै तपस्या भयो
के गर्ने शिवतुल्य बाध्य जनता साँच्चै समस्या भयो ।।
देखी त्याग खुसी भएर शिवले आई दिएझैँ वर
नेताले वर-दानमा मत लिए दाता भए शङ्कर ।
पाएको वरको परीक्षण गरूँ भन्दै भयो आतुर
थाल्यो मत्त भएर खेद्न शिव नै बेकाबु भस्मासुर ।।
नेता राक्षसतुल्य, नागरिक हुन् मानूँ यहाँ शङ्कर
भोगेको जति जेलनेल तप हो सत्ता मिलेझैँ वर ।
पाएको वरदानबाट जब यी उन्मत्त हुन्छन् बढी
छुन्छन् माथ लगेर हात निजको हुन्छन् खरानी डढी ।।
लिप्सा, दम्भ र मूर्खता जब चढ्यो भन्दैन पालो कुर
आफ्नै कारणले डढीकन मऱ्यो त्यो जन्ड भस्मासुर ।
बिर्स्यो जो निजको धरातल तथा कर्तव्य, दायित्व के
आफैँ हेतु बनी सकिन्छ सजिलै गाँज्यो भने दम्भले ।।
०००
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































