हरि कोर्कालीसमयमै चेतना भए राम्रो
उनीहरूको अटल आस्थालाई समाप्त पार्न खोजे अनर्थ निम्तिएला ज्यादै संवेदनशील कुराहरूमा आफै अनुभवी बन्न खोज्नुको साटो अरूकै अनुभवको सदुपयोग गर्नु बेस भन्ने समयमै चेतना भइ दिए राम्रो ।

हरि काेर्काली :
नायक भनिएकाहरू सबै
आपसमा मिल्नै नसक्ने
उग्र वीरताको उच्च प्रदर्शन गर्दै
भाका फेरी फेरी
एकले अर्कोलाई नखाँदी नछाड्ने खाल्डो खन्नमै
निरन्तर व्यस्त रहेपछि पलाएको
अनेकौ दुखद दुराशा र निराशाहरुको
घनघोर अंध्यारोमा पनि
जनताहरू मनमा सुखद आशा जोगाएर पर्खि रहेछन्
देश स्वाधीन रहि रहोस् भन्ने आशा
देश सिङ्गै रहि रहोस् भन्ने आशा ।
नायकी चरित्रहरू सबै च्यातचुत पारेर
भाइ नायकमा झरि सकेका
ना(ला)यकहरूको सर्वस्वाहा नीतिले
बसि नसक्नु भए पनि,
खपि नसक्नु भए पनि
लायकहरू आशा मार्न सक्ता रहेनछन्
उनीहरू झन् झन् राम्रा सपना देखिरहेछन्
उनीहरूको सपनामा उनीहरूको देश
झन् धेरै हाम्रो छ
झन् धेरै राम्रो छ ।
जहाँ जाँदा पनि उनीहरू
मनमा सगरमाथा होस्
हिमाल पहाड तराई होस्
कोसी गण्डकी कर्णाली होस्
मेची महाकाली होस् भनि रहन्छन् ।
मेचीका मनमा महाकाली कलकलाइ रहेको
तराईका मनमा हिमालचुली चमचमाइ रहेको
पहाडले आफ्ना वैभवका किरणहरू
तराईभरि फिंजाइ रहेको र
तराईले आफ्ना पौरखका सुवासहरू
पहाडभरि फैलाइ रहेको
परस्पर पोषक
स्निग्ध, सौम्य सम्बन्धमा सुसङ्गठित देश नै
उनीहरूको आस्थाको नेपाल हो ।
घरी थरी स्वरूपका सौन्दर्यहरू
अनेक घरी वेशभूषाका महिमाहरू
ननाथरी लोली-बोलीका सुभाषहरू
किसिम किसिमका परिकारका सुवासहरू र
अनेकन आस्था र वास्ताका सुविस्ताहरू
जताततै मौलाइ रहेको
आपसी एकत्व र महत्त्वको
सङ्गम सौभाग्यमा रमाइ रहन पाइने देश नै
उनीहरूको विश्वासमा समृद्ध नेपाल हो ।
उनीहरूको यो सुन्दर सपनासंग
खेलवाड गर्न खोजे मूर्खता होला
उनीहरूको आत्मविश्वासलाई
कत्रन खोजे दुष्टता होला
उनीहरूको अटल आस्थालाई
समाप्त पार्न खोजे अनर्थ निम्तिएला
ज्यादै संवेदनशील कुराहरूमा
आफै अनुभवी बन्न खोज्नुको साटो
अरूकै अनुभवको सदुपयोग गर्नु बेस भन्ने
समयमै चेतना भइ दिए राम्रो ।
०००
लोकन्थली
नेपाल बन्द (२०७०)
Subscribe
Login
0 Comments
Oldest







































