साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केरा

त्यति बिघ्न अटेरी गरेकाे केरा एकै झिमिकमा पोल्दापोल्दै उम्केको मसानसरी काला न काला भएर आए । तीस मिनेटको ट्याम मिलाएर सेकुवा गरेर मैले केरा निकालें। तासें । बाटुला पाङ्ग्रामा काटें। नुन-मरिच र कास्मिरी मिर्च छर्केर सोफाका दुई जनलाई पस्किएँ।

Nepal Telecom ad

– यम घिमिरे 

हुनलाई नियमित केरा नै किन्या हो सदाझैँ एक काँइयो । तर यसपालिको केराले भने दिनु गोता दियो । सधैं जाने दोकानबाट टिपेको उही कोस्टारिके केरा । केरा नियमित नै हुने गर्छ यताका घरमा । जतिखेरै भोक लागिरहने केटाकेटीको मुख बुजो लाउँदै गर्न वा आफैंलाई पनि के खाऊँखाऊँ पर्या बेला पाक्या केरा उदारेर थान्को लाग्न यसले खुब काम काट्छ । तर केराले पहिलोपटक काम काटेन।

२०११ मा यता बस्न आउँदा पाउन्डको ६९ पैसा थियो केरा । १४ वर्षमा अहिले ७७ पैसा पुग्या छ । हाम्रो मोल न तोलको मानिने गुन्द्रुकको भाउ बरु कहाँ पुग्यो अहिले, केरो खासै उक्लेको देख्दिन । केरा दर्जनले खाने उताको बानी यता आएर जोगिएन । तौलेर खानु पर्या छ । यो देशमा केराको बोट टिक्दैन । त्यसैले केरा फलाएर यहाँ खाऊँ भन्नु परेन । केरा नभए पनि पाकेको केरा भने बारैकाल पाइने देश हो यो । प्रमुख ग्वाटेमालापछि कोस्टा रिका, कोलम्बिया, इक्वेडर, होन्डुरस हुन् हामीलाई केरा खुवाउनेहरु ।

हाम्रोजस्तो टुप्पापटिबाट होइन भेट्नुपटिबाट तास्छन् पश्चिमाहरु केरा । त्यसो भएर सानासाना भुराभुरीलाई केरा तासिदिनुपर्छ ठुलाले। त्यो जब्बर भेट्नु फोरेर भित्रको सेतो केरा निकाल्न सक्दैनन् नानीहरुले । सजिलै तास्न सकिने टुप्पाबाट मरेकाटे तास्दैनन् । किनभने टुप्पाबाट मान्छेले केरा तासेको देखेको र सिकेकै छैन संस्कारले । हाम्रो काँक्रो चिर्दा काँक्राचोर चिन्ने ‘तिते हान्न’ छुटाउनै नहुने परम्परा भएजस्तै फेदबाट फोरेर केरालाई निर्वस्त्र पारेर बोक्रो मिल्काएर भित्रको सगुल सेतो मात्रै सिङ्गै हातमा लिएर चबाउन थाल्छ यताको केरा खुवाइमा मान्छे । हाम्रो जस्तो टुप्पाबाट उधारेर गाँस हाल्दै बोक्रो तलतल तर्दै गएर कताकता चिलाएका, कताकता कनाएका हातले नछोइकन केरा खान जान्दैनन् यताका । एकबेला मैले केही स्कुले भुराभुरीलाई टुप्पाबाट केरा तास्न र केरा तसाइमा आत्मनिर्भर हुन निक्कै मेहनतले सिकाइ पनि हेरें। तर ‘कुत्तम पुच्छरिका ढुंग्रम, घुम्रमको घुम्रम’ भयो ।

एकदिन केरा खाने बेलामा आफूले नेपाली पाराले केरा तासेर खाँदै एकजना शिक्षकलाई सोधें, “किन केरा सजिलो हुने टुप्पाबाट नतासेको होला क्यानाडाले ?”
“राम्रो प्रश्न, तर मलाई थाहा छैन, म त फेदैबाट तास्छु” उसले हाँसो गर्दै भनी।
अर्कीले ओर पस्दै भनी, “यिउ(छि:) ! पिलिंग बनान फ्रम द टप एन्ड इटिंग इट ह्वाइल द पिल इज स्टिल अन इट ? इट डजन्ट लूक द्याट ब्युटिफुल टू !” सबै हाँस्न थाले। हाँसिहाल्नु पर्ने केही नभए पनि म पनि रोममा फँसेको टुरिस्टजस्तो रोमेलीकै पारामा हाँस्न थालें।

हाम्रामा जस्तो पगाहा लाएर पाकेको केरा राख्नुपर्दैन यता । केराले बिझ्याइँ पनि गर्छ। मलाई पनि केराले दु:ख दियो यस बाजी। एकबार दशैंमा पाकेका केरा झुन्ड्याउन बाले केही डोरी नभेटेर नाम्लाको बरियो निकालेर बुइँगलमा लगेर केरा पगाहा लाउनुभएछ। आमालाई घाँस काट्न जान नाम्लो चाहियो । नाम्लोको पातो भेटियो बरियो छैन । रिसले भुत्भुताउदै आमाले पनि पाखा निकालेका बाख्राको खोरबाट एउटा बाख्राको दाम्लो लगेर बरियो पार्नुभएछ तत्काललाई । बेलुका बाले बाख्रा ल्याएर खोरमा बाँध्ने बेलामा एउटा बाख्राको दाम्लो छैन । अब बाको पालो रिसले कन्पारो तताउने । यो सब पाकेको केराले गरेको हो । यता केरा झुन्ड्याउन नाम्लो, बरियो, घाँस काट्ने तालिका, बाख्रा बाँध्ने बन्धन, मान्छेका रिस र संवेगका उत्तेजना साराको इकोसिस्टमलाई बिथोल्ने धन्दा पर्दैन । हरेक कुरालाई ‘साधारण यन्त्र’ले सजिलो पार्ने संस्कार बसाएका यिनले केरा सिउरिने पनि एक ‘तुन्द्रुङ्गखुट्टी’ बनाएका छन् धातुको । टुप्पामा अलिकति बाङ्खुरी झिकेर एउटा स्टिलको लौरोलाई उभ्याइदिएका छन् टेबिलमा । त्यसले केराको काँइयोलाई अँठ्याएर राख्छ तुन्द्रुङ्ग।

मैले भाषा जान्दा र यो फल चिन्दा ‘कोला’बाट सुरु गरेको हो । केरा त कम्मरमुनिको गाली गर्नुपर्यो मान्छेलाई भने मात्रै आउँथ्यो मैले जान्दा पूर्वी नेपालमा । यो फललाई जनाउन ‘केरा’ त सुन्दै सुनिदैन थियो भने पनि हुन्छ । पहाडबाट हजुरबा, हजुरआमा काकाहरु आउँदा ड्यामका ड्याम ‘केरा’ लाउँथे । हामी झापाली अलिक सर्माएजस्तो गर्थ्यौं । हाम्रो मेची-कोशीतिर त ‘केरा’ भन्न अझै धकाउनै पर्छ । ‘कोला’ भने मात्रै चार मान्छेले सुन्दा निको, इज्जतिलो मानिन्छ। राणाशाही ढल्दा दुई वर्षको बालक भइसक्नुभएका हाम्रा बाका पालामा माथि पान्थर पहाडमा केरै भन्थे रे । २०३० सालमा मणिपुर बस्न गएपछि पान्थरको ‘केरा’ भन्दा उता जोरीपारीले हाँस्न र उल्ल्याउन थालेपछि हाम्रा घरमा ‘कोला’ पसेछ । त्यसपछि बाहरु २०३६ सालमा नेपाल फर्केर झापाको मुकाम भएपछि ढुक्कै कोला भयो यो लाम्चो फलको नाम ।

अब ‘केरा’ भन्दा अलिक विचार पुर्याउनुपर्ने हुन थाल्यो मान्छेका मुखेन्जी । आसमतिरका आफन्त आए भने त अझ ‘केला’ पो सुन्नुपर्थ्यो । आमाले घिउ, दुधको मेजमानमा एउटा दुईटा कोसो पनि तासेर लडाइदिएपछि आमालाई “अँ ठुली, यो घिउ मोरोसँग केला दुध खुब मिल्छ” भन्दै सोप्र्याउँथे अतिथिजन। बालखै भए पनि कोलालाई ‘केला’ भनेको सुन्नुपर्दा मुर्मुरि रिस उठ्थ्यो मलाई। उसमाथि चियालाई ‘चा’ मात्रै भनेर मेरो बालरिस चौगुना पार्थे आसमे आफन्तहरु। वर भन्टाबारी आइपुग्दा चाहिं भाइहरु उही केरालाई “ऐ केले, ऐ केले” भन्दै उक्लिन्थे नाइटबसको रात्रीसेवामा। एक ल्याटिनोलाई सोधेंथें, स्पेनिसहरु प्लाटानो भन्छन् रे। अंग्रेजीको ‘बनाना’ फ्रेन्चले अन्तिमको आकार गाएब पार्देर ‘बनान्’ मात्रै भन्छन्। हे केरा, कति नाम तेरा !

राजधानी काठमान्डुले कोला, केला केहीमा नअल्मलिई ढुक्कै केरा भन्दोरहेछ। मेरो बोलीले त्यही काठमान्डुको केरा टिपेर गयो २०४८ सालमा। अनि म प्राय: केरा नै भन्न थालें । तर सुन्नेले कहिले सजिलै मानेनन् मैले बोलेको केरालाई । यसो मुखामुख गरेर, आँखा सन्काएर अबगाले बोली भएको छनक दिए सधैं । तर मैले केरा छोडिन।  मैले ‘तिहुन’ पनि छोडेको छैन । तिहुन भन्यो भनें कति असभ्य, गँवार, पाखेभित्ते ठान्छ मान्छेले तर मैले भनिरहेको छु । मलाई तिहुन साँच्चीकै चोटिलो लाग्छ । मैले ‘तिहुन’ भन्दा तिहुन मात्रै भनेर हुर्केका बालाई नै अहिले कन्पारो रन्किएर आउँछ ।

झप्री, मुङ्ग्रे, मालभोग, धुस्रे, जहाजी, चिनीचम्पा यी केराको नाम सुनेजानेको । तर केरा खान नामले नअड्किने रहेछ । अहिले १५ वर्षदेखि खाइल्याएको केरा कुन केरा हो नाम थाहा छैन ।

“केरा” केरा गुनिलो फल हो। प्रोटिन, पोटासियम, भिटामिन, म्याग्नेसियम पाइन्छ भन्छन् । आफूले देखेको छैन । जिउ बनाउन केरा खानुपर्छ भन्ने विश्वास थियो गाउँमा केटाहरुमाझ । गोर्खा राइफल्स भिड्न जाने याक्थुम-किराँतहरु बेलैदेखि केरा खान थाल्थे । ब्रिटिश आर्मीमा छाती नपाउन जानेहरु पनि पोखरासम्म पुगेर केरा खाएर आउँथे । हामी बन्दुक होइन सुरोचरु चलाउने बाउनचरीहरु भने कतै नगई घरमै कहिले दुध र घिउमा, कहिले चिउरामा केरा मुछथ्यौं ।

यही चिरपरिचित केराको एक काँइयो ल्याएँ सधैंझैं भनिसकें । शनिवार ल्याएको केराले हप्ताको गर्जो टार्न सोमबारदेखि शुक्रबारसम्म टिकोस् भनेर अलिक काँचोकाँचै देखिने छानेर ल्याउँने गर्छु म । केरा त्यो तुन्द्रुङ्ग खुट्टीमा टाँगिदिएपछि पाक्दै जान्छ, छिल्दै गइन्छ र शुक्रबारसम्म चल्छ । केरै नभएर छाक नचल्ने त होइन तर चाहिन्छ । केरो अलिक कचिलै छानिएछ यो पाली। शनिवार बिहान किनेको माल आइतबार बेलुकासम्म पनि ‘हिस्स बुढी हरिया केरा’ नै पारिराख्या छ मलाई। भोलिपल्ट सोमबार बिहान मलाई एउटा पाकेको केरा पनि चाहिन्छ ब्रेकफास्ट स्मुदीमा घोल्न । केरो अरमठ्ठ छ। गिलो हुनु त परै जाओस् छाम्दा, निचोर्दा झन् सारो पो मान्छु । अब केरा पाकेन भन्ने भयो । एभोकाडो गुम्स्याउने एउटा आरी र दरी छ भंडारमा। लेकको बालकलाई गुट्मुट्याएजस्तो गुटुमुटु पारेर आरीमा हालें केरा । बाले रातो शिरिष, धुसुरका सेउला र नुनपानी छर्केर केरा गुम्स्याउन हाल्ने गरेको यत्न सम्झिएँ । कहिलेकाहिं केरा कुनै उपायले गल्न मान्दैनथ्यो। दशैंमा यस्तो अररो केरा परेर एक साल हामीले अष्टमीको चिउरै खान पाएनौं । पाक्ला, पाक्ला भन्दाभन्दै अष्टमीले छोपिगो, केरा पाक्ने आसमा बाआमाले अर्को उपाय पनि तुरुन्तै निकालिहाल्नु भएन । भयो अष्टमी चिल्लै।

सोमबार बिहान केरा हेरें । अजम्बरी छ केरा । गिलिंदै जानुको साटो बज्रतुल्य गिठ्ठिएर गएको छ फल । छोपछाप पारेर हिंडेँ। बेलुका घर आएर हेरें । श्रीमती उठेर हिंड्ने पालो आएपछि खाजालाई एभोक्याडो खोज्न होला आरी खोतलेर बिथोलबाथोल पारेर चोर पसेको आलामारीजस्तो छ्यालब्याल पारेर हिंडिछ । गुम्सिनुको साटो केरा खुल्ला हावा खाएर, धुसा पन्साएर बिन्दास गिठ्ठिएर बसेछ दिनभरि। फेरि गुटुमुटु पारें । यसपालि बाको तकनिकि सम्झिदै तै गुलियै केरा खाइ पो हालिन्छ कि भन्दै अलिअलि नुनपानीले सेरगेम पनि गरें काँइयोलाई । माङ्लबार बिहान हेरें । केरा उस्तै छ । थिचिहेरें । केरो अब ठिंगुरियो, पाकेन भन्ने तय भयो । मेरै पास परेर हप्तै खान आँटिसक्यो । ग्वाटेमालामा टिपेको कहिले, काटन बाकसमा खाँदेर पानीजहाज चढेर अनि टडकमा लादिएर दोकानदोकान पुगिसकेको कति दिन भयो । नहुने केराको हरियै चाल छ ।

श्रीमती घर आएपछि बेलुका चर्चा गरें, “केरा पाकेन ।  गुम्स्याएको पनि सब खोलखाल पारेर स्यालले खोस्रेको खाडलजस्तो पारेर छोडिछ ।”
“ए बुडाका काँचा केरा पो रछन् भनें, हो र हतारमा बन्दै गर्न बिर्सेंछु ?” उसले बिना चिन्ता दिल्लगी स्टाइलमा अलिअलि ‘स्ट्याण्ड अप कमेडी’को भाषा गर्न खोज्दै भनी।
केरा सबैका काँचा पल्टिएका हुन्।

कौडी हालेर ल्याएको छ माया किन मारिहाल्नु भन्छ मन । तै बरु अब एकदिन हेरम भनेर फेरि आरी-दरी गरेर छोडें। बुधबार बिहान केरो ज्युँका त्युँ छ। एक्कैचोटी शुक्रबार हेर्नलाई फेरि छोपें । शुक्रबार बिहान पनि केरा गलाउन सकिएन । अब केरा झिकेर काउन्टरमै लडाइदिएर हिंडे । दुई दिनसम्म त्यस केराको मुख हेरिन । हेर्दा सग्लै छन्, केरा सारसउँदा छन् । गार्बिज गरिहाल्नुपर्ने छैन ।

यसबीचमा छेपाराले कति रंग फेर्यो होला, केराले हरियो फेरेर पहेंलो हुने छन्द दिएन । केरा जसरी पकाउनुपर्छ भन्ने आइतबार एक जुक्ति आयो मनमा। आमाछोरी टिभीमा थिए बिदाको दिन । मैले अम्बाको गिठ्ठोजस्ता केरालाई ४ सय डिग्री सेल्सियसमा पकाएँ । रंग फेर्न त्यति बिघ्न अटेरी गरेकाे केरा एकै झिमिकमा पोल्दापोल्दै उम्केको मसानसरी काला न काला भएर आए । तीस मिनेटको ट्याम मिलाएर सेकुवा गरेर मैले केरा निकालें। तासें । बाटुला पाङ्ग्रामा काटें। नुन-मरिच र कास्मिरी मिर्च छर्केर सोफाका दुई जनलाई पस्किएँ।

“ओ प्ल्यान्टिन ? आइ लाइक प्ल्यान्टिन” भन्दै कान्छीले गम्क्याउँन थाली। किन हुन्थ्यो प्ल्यान्टिन । प्ल्यान्टिन भन्ने एउटा पोलेर, उसिनेर, ओइरेर खाने केराको एक अफ्रिकी प्रजाति हुन्छ। त्यो तरुल, पिंडालुजस्तो ओभानो, मिठो हुन्छ । कान्छीले त्यही ठानी। आमाचैंलाई पनि मन पर्यो । मैले नि खाएँ उसिनेको तरुल जस्तो पाकेको केरा । नौ कोसा केराको सेकुवा कसले खाला र फाल्ने नै हो लास्टाँ ठानेको थिएँ। टापटिप्प भयो केरा। कान्छीले नै तीन कोसा लडाई।
ठुलै गुह्य पत्ता लाएँ- केरा नपाक्नुको विकल्प केरा पकाउनु हुनेरहेछ।

तपाईं पनि
जुक्ति खोज्न अन्त नजानू
केरा नपाके सेकुवा खानू।

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x