होम सुवेदीसबै कुरा रेडिमेड गरिदेऊ न
लौ न जुगर भाइ यति गरिदेऊ अरु छुटेका कुरामा ता तिमी नै जान्ने छौ विवेक पुगाउने काम गरिदेऊ लौ न यति गरिदेऊ ।। बरु महिना दिन भरिलाई पहिलो तारिखमै चारो छर सारै हत्तु भइयो लौ न यति काम गर ।।
हाेम सुवेदी :
हाव जुगर भाइ
मेरो गुनासो सुनिदेऊ न
मनमा गहिरो गरी गुनिदेऊ न
तिमी जे पनि गर्न सक्छौ
त्यसैले
एउटा नयाँ काम गरिदेऊ न
यी शुभकाना खोज्नेहरुलाई
केही चारो छरिदेऊ न
यिनको शुभकामना खोज्ने झोलामा
Happy birthday, congratulation,
waooo, very good !!! good luck !!
जस्ता शब्द हालेर भरिदेऊ न ।
दिनका दिन लेख्नु छ लेख्नु छ
लेखेन भने कस्तो कन्जुसको विशेषण खेप्नु छ
लेख्ता लेख्ता सारै दिक्क लागिसक्यो
अलिक सहयोग ता गरेकै छौ
अरु पनि सहयोगको
एउटा नयाँ कदम चालिदेऊ न
शुभकामनाको हड्डी
जसको जन्मदिन पर्छ
उसका झोलामा
पहिलेबाटै
अटोमेटिकल्ली फालिदेऊ न
लेख्तालेख्ता र
तिमीले बनाएका इमोजीहरु थिच्ताथिच्ता
सारै हैरानी भयो
यिनको भोको मुख
तिमी आफैँ टालिदेऊ न
Happy birthday congratulation नामक हड्डी
फालिदेऊ न ।
फेसबुक खोल्नै पाइन्न
फलानोको जन्मदिन आजै हो
शुभकाना दिइहाल भन्ने मात्र किन
तिमी नै सक्तैनौ शुभकामना दिन
जस परेन मलाई
जस सक्तैनौ तिमी नै लिन ।
फेसबुकमा यस्तो प्रविधि विकास गर
सबैलाई Happy birthday, congratulation !!
waooo, good luck,
क्या दामी, गजब, ओहो, आहा, स्यावास,
Happy anniversary, rip, sad
हामीले लेख्नै नपर्ने
तिमीले लेखेको ठाउमा
थिच्नै नपर्ने
अटोमेटिक दाना छर
लौ न यति गर
जुन मितिमा जसको जन्म दिन पर्छ
जुन मितिमा जसको विवाहवर्षगाँठ पर्छ
जुन मितिमा सराद्धे पर्छ
जुन मितिमा जुन मर्छ
ती सबै मितिमा
जे जे लेख्नु पर्ने हो
त्यो त्यो तिमीले नै दाना हालेर छर
यी सबै कुराको हड्डी
लौ न जुगर भाइ
अटोमेटिक फालिने बन्दोबस्त गर ।।
धेरै जसोमा
यिनलाई चाहिएको केक न हो
केकमा बत्ती आफैँ बालिदेऊ
हड्डी फालिदेऊ
जन्म दिन पर्यो भने
शुभकाना छरिदेऊ
कुरा अघि बढाइदेऊ
सराद्धेको दिन पर्योे भने पिण्ड लडाइदेऊ
मरेको दिन पर्यो भने
मरेको लाछको फोटो देखियो भने
समवेदना लेख्ने गरिदेऊ
रिप लेखे पनि हुन्छ
लेख्नु न हो कसले सुन्छ
अर्काको चित्कारमा
बरु आफैँ कान थुन्छ
अब तिम्रै जिम्मा भो सबै
ब्रतबन्ध पनि तिमी नै गर
बिहे पनि तिमी नै गर
हल्दीका रस्म पनि तिमी नै गर
अब त्यो सुहागरात चैँ भनिनँ ल ।।
दुःख पर्दा
आँसु खसाएर रोएजस्तो पनि गरिदेऊ
आजको जमानाको डलरको भोको मान्छे
अब को रुन्छ
रिप छरिदेऊ
जस्तो जस्तो चाहिएको हो
त्यस्तै त्यस्तै चारो छरिदेऊ
लौ न जुगर भाइ
यति गरिदेऊ
अरु छुटेका कुरामा ता
तिमी नै जान्ने छौ
विवेक पुगाउने काम गरिदेऊ
लौ न यति गरिदेऊ ।।
बरु महिना दिन भरिलाई
पहिलो तारिखमै चारो छर
सारै हत्तु भइयो
लौ न यति काम गर ।।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest








































