प्रमोद अमात्यपढैया नम्बर १ (भाग १)
त्यहाँ मिस नदेखेपछि हेड सरको कोठाभित्र पर्दा अलि खोलेर चियाएँ । मिस त सोफामा बसेर मेरो किताब मख्ख परेर पढ्दै हुनुहुन्थ्यो । 'यो किताब भोलिमात्र पाउँछौ' मलाई चियाएको देखेर किताबबाट आँखा नहटाई नै निर्णय सुनाउनु भयो वहाँले ।

प्रमाेद अमात्य :
म नम्बरी पढैया थिएँ । नपत्याए भवानी मिसलाई सोध्नुहोला । म श्रीचण्डी विद्याश्रमको कक्षा ९ को विद्यार्थी थिएँ । स्कूलको किताब भित्र नेपाली जासूसी उपन्यास लुकाएर पढ्थेँ । यसरी कक्षाभित्र शिक्षकको सामु पाठ्य पुस्तक पढेजस्तो गरेर उपन्यास पढ्न सक्ने थोरै बहादुरहरू मध्ये म एक थिए । पढैया पनि कस्तो भने दिनको तीनवटा उपन्यास पढ्न सक्ने । एउटा उपन्यास एकै बसाईमा सक्नु मेरोलागि दाल भात खाए जत्तिकै सजिलो थियो । त्यस्तो पढन्ते थिएँ म ।
एकदिन भवानी मिसले कसोरी कसोरी उपन्यास पढ्दै गर्दा फेला पार्नुभयो ।
‘मैले पढाएको बुझेका छौ ?’ मिस कड्किनु भयो । मिस भूगोल पढाउनु हुन्थ्यो ।
‘बुझेको छु ‘ मैले भने, भन्नै पर्यो। ।
‘फिलिपिन्सको राजधानी के हो ?’
‘मनिला’
‘इथियोपियाको राजधानी ?’
‘अडिस अबाबा’
अब मिसलाई अलि गाह्रो भयो । मिस म छेउ आउनु भयो र उपन्यास खोस्नु भयो ।
‘अबदेखि बाहिरी किताब पढेको भेटेँ भनेँ…’
वहाँको प्रश्नहरूको सही जवाफ दिन सकेकोले होला मिसले पिट्नु भएन । पिट्न र सिस्नोले पोलाउन खप्पिस हुनुहुन्थ्यो मिस । हुन त उबेला विद्यार्थी कुट्नु भनेको एकदमै सामान्य कुरा थियो ।
अब परेन फसाद ! किताब युगेशको थियो, मिसले लग्नु भयो । साथीले त्यो उपन्यास हःखा टोलको युवा पुस्तकालयबाट ल्याएका थिए । किताब फर्काउनु पर्ने मिति त्यही दिन थियो । नफर्काए, दिनको ५ पैसा जरिबाना लाग्थ्यो ।
त्यो बेला हामी जस्ताका लागि मनोरञ्जनको साधन सिनेमा र उपन्यास थियो । सिनेमा अलि महँगो थियो, तेस्रो श्रेणीको टिकट नै २५ पैसा थियो । फेरि सिनेमा हेर्न गएको कुरा घरमा थाहा पाए गाली खाइने डर हुन्थ्यो । त्यसैले मनोरञ्जनक सस्तो र सुलभ साधन उपन्यास नै थियो । टोलै पिच्छे साना पुस्तकालयहरू खुलेका थिए । मङ्गल बजारमा तत्कालिन नगर पञ्चायत भवनमा शारदा पुस्तकालय, महापालमा मित्र पुस्तकालय, ईखामा अमर पुस्तकालय, टङ्गलमा चक्रवर्ती पुस्तकालय । त्यस्तै कुतिसौगलमा चन्द्रसूर्य पुस्तकालय, सौगलमा लूजः पुस्तकालय, सुन्धारा (नुगः)मा रेड स्टार पुस्तकालय, बालिफलमा स्नेह पुस्तकालय, भिमसेन स्थानमा पनि पुस्तकालय थियो ।
मिसले लग्नु भएको किताब फिर्ता माग्न म स्कूलको अफिसमा बिस्तारै गएँ । अफिसमा दुईवटा कोठा थियो, पहिलो कोठा सर, मिसहरूका लागि, जहाँ मेच र बेन्चमात्र हुन्थ्यो । त्यहाँ मिस नदेखेपछि हेड सरको कोठाभित्र पर्दा अलि खोलेर चियाएँ । मिस त सोफामा बसेर मेरो किताब मख्ख परेर पढ्दै हुनुहुन्थ्यो ।
‘यो किताब भोलिमात्र पाउँछौ’ मलाई चियाएको देखेर किताबबाट आँखा नहटाई नै निर्णय सुनाउनु भयो वहाँले । म बिचरा त्यहाँबाट लखरलखर फर्किएँ ।
त्यो बेला पुस्तकालयबाट हामी नेपाली जासूसी उपन्यास धेरै ल्याउँथ्यौँ । दीर्घबाहुका उपन्यासहरू धेरै पढियो । केही सम्झनामा रहेका नामहरू: छ औंले मान्छे, बाह्रबजेको घण्टी, बिषालु ईच्छापत्र, मेजरको सर्प, भेनिसका हिप्पीहरू आदि । सामाजिक उपन्यासमा युधिर थापा, प्रकाश कोविदका किताबहरू धेरै पढ्यौँ, जस्तै- एक फूल धेरै काँडा, कक्टेल्स, फेरि कहिले भेट होला, सिस्टर कल्पना, रातो दरबार, लुकेको समाज । पछि पछि गुलशन नन्दा, रानू, मनोज बाजपयी, कर्नल रञ्जित, ओमप्रकाश शर्मा, वेदप्रकाश शर्मा, वेदप्रकाश काम्बोज, सुरेन्द्रमोहन पाठक आदिका हिन्दी उपन्यासहरू पनि पढ्न सिक्यौँ ।
उपन्यास पढ्दा जुन दृश्य र सम्वाद हामी हाम्रो दिमागमा देख्छौँ र सुन्छौँ नि, त्यो अद्भुत हुन्थ्यो, सिनेमा हेरे जस्तै नै हुन्थ्यो । अर्को कुरा पाठकै पिच्छे फरक फरक अनुभुति हुने भएकोले, उपन्यास पढ्नुको मजा अर्कै हुन्थ्यो । खः लाकि मखु पासा ?
क्रमशः …बाँकि भाग २ मा ।
०००
Subscribe
Login
0 Comments
Oldest







































